होली पर्व : थिति र वेथिति

shiva prasad gautam शिवप्रसाद गौतम
चैत्र ६, २०७५

नेपालमा मनाइने चाड पर्वहरुमा फागुन शुक्ल पूर्णिमाका दिन राक्षस हिरण्यकशिपुकी बहिनी होलिकाको चीर दाह गरी अवीर र रङले फागु फगुवा वा होली खेल्ने गरिन्छ। फागुन शुक्ल अष्टमी देखि पूर्णिमासम्म रङ छ्यापेर वा अवीर दलेर आनन्दका साथ मनाइने उत्सव, फागु अर्थात् होली हो। फागुन शुक्लपूर्णिमाका दिन दहन गरिने चीर होलिकाको प्रतीक हो भनिन्छ।

नेपालमा विभिन्न क्षेत्रमा विभिन्न किसिमले होली खेलिन्छ। तराइमा चीर दाह गरेर फागु खेलिन्छ। फागुन शुक्ल अष्टमीका दिन काठमाडौँ वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजालाई  चीर भनिन्छ। चीर हरण भनेको कृष्णले गोपिनीहरुको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला हो।

दाहको भोलिपल्ट देखि धुमधामसँग आमन्त्रण गरेर फागु खोलने, रिस राग र शत्रुता त्यागेर मित्रताको गाँठो बलियो बनाउने पर्वको रूपमा यस चाडलाई मनाइन्छ। उपत्यकाका तीन शहर र अधिराज्य भरिका प्रमुख शहरहरुमा विना रङ र रङ घोलिएको रङ्गिन पानीलाई बेलुनमा भरेर विशेषगरी उच्छिृङ्खल युवायुवतीले युवायुवतीहरुलाई नै बेलुनका लोलाले हिर्काउने परम्परा फागुन कृष्ण अष्टमी अर्थात वसन्तपुरमा चीर ठड्याउने दिनदेखि नै एक हप्तासम्म चलिरहन्छ। यति मात्र होइन पिचकारीले रङ्गीन पानीले आपसमा छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।

पानी आदि पन्यालो पदार्थ भरेर टाढा सम्म पुग्ने गरी छर्कने ढुङ्गाका आकारको बाँस, फलाम, प्लाष्टिक, पीतल आदिको साधन, पिचकारी हो। पिचकारीको व्यापार फागु पूर्णिमामा प्रशस्त हुन्छ। विभिन्न प्रकारका रङ, आपसमा मेलमिलाप भएका व्यक्ति बीच एक अर्कालाई दलेर वा पिचकारीले छ्यापेर रमाइलो गरी मनाइन्छ। होली खोलेका व्यक्तिहरुलाई रङले पोतिएको हुनाले एक आपसमा चिन्न पनि गाह्रो हुन्छ।

होली पर्व एक आपसमा मित्रताको गाँठो मजबुद बनाउन खेलिने परम्परा हो।  परन्तु आजकलका युवा युवती बालबालिकाहरुले होली पर्वलाई सकारात्मक होइन नकारात्मक रूपले मनाई आएका छन्। यो रमाइलो गर्ने धार्मिक पर्व हो। तथापि आजका युवा युवतीले यो पर्वलाई उच्छृङ्खल रूपमा मनाइ आएका छन्। बाटोमा हिँड्ने बटुवाहरुलाई उसको इच्छा विपरीत फोहोरी पानी भरिएको प्लाष्टिकको लोला र पिचकारीले छ्यापेर हाँसोठट्टा गर्ने नकारात्मक प्रचलन छ। शहरका गल्लीहरुका बीचमा हिँड्ने व्यक्तिहरुलाई घरको झ्यालबाट फोहोर पानीले छेप्ने काम उपत्यकाका युवा युवतीहरुले गर्दछन्। कसैको इच्छा विपरीत कार्य, उ माथि रङ दल्ने र पिचकरीले छेप्ने काम गैह्रकानुनी कार्य हो। यस्तो गर्नु स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ। स्वास्थ्यको ख्याल राखेर रमाइलो गर्नु यो पर्वको महत्व हो तर यसतर्फ ध्यान दिएको पाइदैन।

होली खेल्ने नाममा अबिर नाक, मुख आँखा र कानमा कोच्दा व्यक्तिको श्वास प्रश्वास बन्द भै मृत्यु भएका छिटपुट घटना पनि घटेको पाइन्छ। अंग भङ्ग भएर अपाङ्ग हुन पुगेका घटनाहरु त धेरै घटेको पाइन्छ। होली खेल्ने नाममा लागु पदार्थ सेवन गर्ने प्रवृत्ति पनि दिनप्रतिदिन बढ्दै गएको छ। यस्ता विकृतिहरुलाई त्याग्नु पर्दछ।

यो पर्वमा बारुद र गन्धकबाट तयार गरिएका पट्याक पट्याक पड्कने वस्तु पटाका, भईँमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदि झैँ पड्कने एक मिसिमको आतसबाजी पटका पड्काएर जनमानसमा आतङ्क फैलाउने छिटपुट घटनाहरु पनि घटेका उदाहरणहरु छन्। यो समयमा सरकारले यस्ता सामग्री खरिद बिक्रीमा प्रतिवन्ध लगाए पनि व्यापारीहरुले लुकाई छिपाई भारतबाट नेपाल आयात गरी बिक्री गरी अथाह नाफा कमाएका छन्। होली खेल्ने क्रममा पटका पड्काउदा केही युवा युवती र बालकहरुको आँखामा लागेर आँखा र कानमा लागेर कान बन्द भएर अपाङ्ग भएका घटनाहरु पनि घटेका छन्।

यसपटक पहाडमा चैत्र ६ गते र तराइमा ७ गते यो पर्व मनाइँदैछ। अघिदेखि चलिआएको पर्व पहिले थितिमा रहेर मनाइन्थ्यो अहिले यो पर्वमा वेथिति छाएको छ। वेथिति भनेको अस्तव्यस्त र नराम्रो किसिमले मनाउनु हो। यो पर्वको महिमा शान्त, सौम्यम र अनुशासित तवरले मनाउनु हो तर आजकल विकृति फैलिएको छ। यो चाड मनाउन बालबालिका पनि अत्यन्त लालायित हुन्छन्।

आजकै दिन थकाली जातिले तोरन्लपर्व मनाउँछन्। यो खेलमा एउटा गोलो निसान काठमा टाँसेर भुइँमा गाडिन्छ र त्यो गोलो निसानका बीचमा लक्ष चिन्न राखिन्छ। केही दूरीबाट तीर अर्थात धनुकाँणले त्यो चिन्नमा हानिन्छ। निसानमा तीर लाग्यो भने विजय हासिल हुन्छ। यस खेललाई तारो हान्ने पनि भनिन्छ। सेना प्रहरीलाई तारो हान्ने प्रशिक्षण पनि दिइन्छ। यो खेल थकालीहरुमा मात्र सीमित छ।

हाम्रा सांस्कृतिक पर्वहरु सुमधुर वातावरणमा मेल मिलापका आधारमा मनाइने र खेलिने पर्वहरु हुन्। शुक्ल अष्ठमीदेखि पूर्णिमासम्म रङ अबिर आदि आपसमा दलेर नाच्ने गाउने तथा प्रीतिभोज आदि गरी रमाइने उत्सव होली हो। तर यो पर्वले आजकल विकृतिको रूप लिएको पाइन्छ। यो पर्व सकारात्मक रूपले मनाएर रमाइलो गर्ने पर्व हो। नकारात्मक सन्देश दिने पर्व यो होइन। बालबालिका, युवायुवतीले रमाइलो गरी एक आपसमा मिलेर खेल्ने होली पर्व खेल हो। यसमा भित्रिएका विकृति हटाएर यो पर्व मनाऊँ यसैमा सबैको कल्याण छ। अस्तु। ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

ताकाशी मियाँहारा, विकास र विचौलिया

नेपाल–चीन सम्बन्ध र सीको भ्रमण

सुख–शान्तिको चाहना

धर्म र संस्कृति राष्ट्रका धरोहर हुन्

मालसिरी गीत लोप हुनेभयो !

प्रमुख समाचार

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा लिने कानून बदर

थप प्रमुख समाचार

यातायात सम्बन्धी विधेयक प्रमाणिकरण

सडक महोत्सवको संयोजकमा बराल

स्वतन्त्रका राष्ट्रिय सल्लाहकार सम्मानित