हिमाल पारीको जिल्ला मनाङ् जहाँ पानी छ माछा छैन

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७१

सुन्दा पनि अचम्म लाग्ने ⁄ पानी छ माछा छैन र धानखेती पनि हुँदैन भन्दा। नेपालको दुर्गम हिमाली जिल्ला मध्ये मनाङ जिल्लामा पानी भएर पनि माछा र धानखेती हुँदैन। मनाङ जिल्लामा हिमाली क्षेत्रमा बस्ने भोटे, गुरुङ घले, लामा र तिनै जातिसँग मिल्ने भेषभूषा र भाषा बोल्ने दलित वाहेक अन्य जातिको बसोबास छैन। कर्णाली अञ्चलको विकट जिल्ला मानिने हुम्ला, मुगु र डोल्पा जिल्लामा समेत उत्पादन धेरै नभए पनि धानखेती हुन्छ। तर हिमाल पारीको जिल्ला मनाङमा पानी भएर पनि धानखेती हुँदैन। पश्चिमी भेगमा दामोदर हिमाल पूर्व भेगमा मनास्लु र दक्षिण तिर लमजुङ हिमाल एवं अन्नपू हिमाल उत्तरमा स्वसासित तिब्बत क्षेत्र र पेरी र चिन हिमालको बिचमा मनाङ जिल्ला रहेको छ। हिमालको बिचमा रहेको जिल्ला भएर मनाङ लाई हिमालपारीको जिल्ला भनेर पनि चिनिने गरिन्छ।

जिल्लाको कुल क्षेत्रफल २ हजार २४६ वर्ग किलो मिटर भएको मनाङमा जम्मा १३ गाविस रहेको छ। जिल्लाको सदरमुकाम चामेलाई केन्द्र मान्दा भौगोलिक हिसाबले मनाङ जिल्ला लाई तीन भागमा विभाजन गर्न सकिन्छ। मनाङ भनेर पहिचान भएको उपत्यकामा पिसाङ्, ध्यारु, ङ्ावल, भ्राका, मनाङ, टंकि र खाङ्सर गरी ७ गाविसमा विभाजन भएकोे छ। पर्यटकहरूको लागि दृष्यावलोकन गर्ने मनाङ गुम्वा, भ्राका गुम्वा, केरापगोम धार्जे, मिलेरेपा गुम्वा, याक खर्क र घले राजाको दरवार यही क्षेत्रमा पर्दछ। पर्यटकहरू मनाङ जिल्लाबाट पैदल यात्राको थोराङ्पास र मेसाकान्तापास को पहाड पनि यही उपत्यकाको टंकि र खाङ्सार गाविसमा पर्दछ। दुर्गम मनाङ जिल्लाको पनि अति दुर्गम र कम जनसख्या भएको गाविस नार र फू हो। फू गाविसमा मनाङ जिल्लाकै ऐतिहासिक मानिने टसीलाकाङ् गुम्वा, सम्डुलिङ् गुम्वा, गुरु साङमो गुफा समेत रहेको छ। भने नार गाविसमा काङ्लापास रहेको छ। फू गाविसको कुल जनसंख्या मात्र १२५ जना रहेको छ। तल्लो मनाङ, मनाङ जिल्लाको जुन भागलाई सुगम मानिन्छ ती गाविसमा ताचैवगरछाप, थोचे र धारापानी पर्दछन्। यसै क्षेत्रमा मनासलु ताल र नमोपास समेत पर्दछ। थाचे गाविसमा थोचे गुम्वा र तिब्बत जानको लागि लार्केपास समेत पर्दछ।  जनसंख्याको हिसावले नेपालको सबै भन्दा सानो जिल्ला मनाङमा राष्ट्रिय जनगणना २०६८ को तथ्याड्ढ अनुसार कुल ६५३८ मात्र  जनसंख्या रहेको छ।

प्राकृतिक रूपले मनाङ रमणीय जिल्ला छ। हिमाल पारीको जिल्ला चारैतिर हिम श्रृखंला, अग्ला पहाड, नदी र खोला, पहाडको बीचमा अग्ला मनमोहक झरना, सल्ला र धुपीको जंगल, बौद्धमार्गीहरूको संस्कृति मनाङ जिल्लामा पाइन्छ। मस्र्याङ्दी नदीको उद्गमस्थल, खाङ्सार गाविसको विश्वको अग्लो स्थानको तिलिचो ताल, मनाङ गाविसको गंगापू ताल, भ्राका गाविसको केचो ताल, फू गाऊँको छोकर्णतालले मनाङ जिल्लाको महत्व बढाएको छ। मरस्याङ्दी नदीको सहायक खोलाहरूमा दुध खोला, नारखोला, फूखोला, थोराङ् खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन्। तर खोला छ, ताल छ मनाङ जिल्लामा माछा हुँदैन। नदी र खोला किनार र ताल जस्तो समस्थल जमिनमा पनि धानको खेती हुँदैन। पञ्चायती कालदेखि कृषि अनुसन्धान केन्द्रलाई यो अनुसन्धानको विषय बन्दै आएको छ। वि.सं. २०३२/३३ मा धानखेतीको लागि मनाङ जिल्लाको तिमाङ्लेख, कुन्चोक गाऊ, सदरमुकाम चामेको कोतो, माडाका जमिनमा परिक्षण गर्दा पनि कृषि अनुसन्धान केन्द्र नार्क सफल हुन नसकेको मनाङको इतिहास छ। नेपालको लागि यो अहिले पनि अनुसन्धानको विषय भएको छ।

नेपाल एकीकरण हुनुभन्दा पहिले मनाङ लमजुङकै भूगोलमा थियो। सन् १७८१ मा रणबहादुर शाहको पालामा मनाङ पनि नेपाल राज्यमा बिलय भएको थियो। लमजुङ जिल्लासँग जोडिएको अन्नपू र लमजुङ हिमाल पारीको भूगोलमा रहेको मनाङ जिल्ला उपल्लो, बीचको र तल्लो गरी संस्कृति भेषभूषा र अन्य रहन सहन पनि फरक रहेको छ। तिब्बती भाषामा म्हनाङ् शब्दबाट अपभ्रंश भएर जिल्लाको नाम पनि मनाङ रहन गएको पाइन्छ। जसको अर्थ तिब्बती भाषामा म्ह को अर्थ सहायता र नाङ्को अर्थ देउ भन्ने हो। नामको अर्थ जस्तै मनाङ जिल्लामा सबै खाद्यान्न, लत्ताकपडा र अन्य सबै बस्तुहरू छिमेकि जिल्लाबाट लैजान पर्ने हुन्छ। चारैतिरबाट हिमालले घेरेको मनाङ जाने नाका अर्थात् बाटोहरू गोरखा जिल्लाको सामागाँउ हुँदै लार्केबाट थोचे हुँदै पनि जान सकिन्छ। तर यो बाटो मनाङ पुग्नको लागि लामो मानिन्छ। कास्की जिल्लाको सिक्लेस गाउँको ज·लहुँदै मनाङको तिमाङ् ल्क भएर पनि मनाङ जान सकिन्छ। तर यो बाटो हिउँ परेको बेलामा जान सकिन्न। मुस्ताङ जिल्लाको मुक्तिनाथ हुँदै थोराङ्पास भएर पनि मनाङ पुग्न सकिन्छ। तर यो पनि वर्षायाममा मात्र सम्भव छ। हिउँ परेको बेलामा बाटो बन्द हुन्छ। तिव्बतबाट आउने नार-फू बाट हिमाली बाटोको नाका रहेको छ। यो नाका पनि हिउँ परेको बेलामा बन्द हुन्छ। सबैभन्दा सुगम बाटो भनेको लमजुङको बेसिशहर हुँदै मस्र्याङ्दीको तिर-तिरैको बाटो लमजुङ जिल्लाको स्याङ्गे, जगत हुँदै मनाङ-लमजुङको सिमाना ताल गाउँ भएर जान सुगम छ। अहिले लमजुङ-मनाङ मोटर मार्ग पनि यही बाटोमा बनेको छ। वेसिशहरदेखि मनाङको सदरमकाम चामेसम्मको दूरी ६५ किलोमिटर रहेको छ।

धान खेती नहुने मनाङ जिल्लामा आलु, गहू, करु, जौ र तल्लो मनाङका केही गाउँमा मकै खेती पनि हुन्छ। तर उत्पादनले कसैलाई पनि खान भने पुग्दैन। मनाङमा कुल खेती योग्य जमिन २ हजार १५३ हेक्टर रहेको छ। उच्च हिमाल, उच्च पहाड र मध्य पहाड गरी तीन भागमा विभाजन भएको जिल्लाको भू-बनोट मा हिमश्रृखंला, चट्टान तथा पिर पहराको क्षेत्रफलमात्र १,५४,२९१ हेक्टर रहेको छ। अग्ला पहाड हिमालको फेदीका घासे मैदान र अन्य बन ज·लले ढाकेको क्षेत्रमा बहुमूल्य जडीबुटीको पाइन्छ। मनाङ जिल्लाको पनि दुर्गम मानिने नार र फू गाविस र अन्य हिमालका फेदीका घासे मैदान, भिर पहरा र चरिचरणका क्षेत्रमा बहुमूल्य जडीबुटी यार्चागुम्वा, पाँचऔंले, जटामसी, शिलाजीत, जिम्वु, सिबाकथ्रोन, कुटकी, निरमसि, तिक्का, सुगन्धवाला, पदमचाल, चिराइतो, गुच्छेच्याऊ, कुरिलोजस्ता बहुमूल्य जडीबुटी प्राकृतिक रूपले मनाङमा उत्पादन हुने गर्दछ। तल्लो मनाङ थोचे, बगरछाप, ताचे, नाचे, वडारगाँऊ, धारापानी, ताल र घेराङ गाउँका मानिसहरू कृषि र पशुपालन ब्यवसायमा पनि लागेका छन। तल्लो मनाङमा गुरुङ र घलेको बसोबास धेरै छ। जुन रूपले मनाङ अर्थात् मनाङे भन्नासाथ बाहिरका मानिसले धनीवर्गको रूपमा सोच्दछन् तल्लो मनाङका बासिन्दाहरूको अवस्था ज्यादै कष्टकर छ।

मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीबन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्वा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको मनाङको भूमि। राजा महेन्द्रले ०१७ साल पछि नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने समयमा मनाङ गण्डकी अञ्चलको एउटा जिल्ला बन्यो। तर सरकारले मनाङ जिल्लाको सदरमुकाम मनाङको भूगोलमा राख्न सकेन। कारण थियो मनाङेहरूले नेपालको सरकारलाई नमान्नाको कारणले। त्यतिबेला सम्म मनाङे बौद्ध भिक्षुहरूले आफ्नो राजाको रूपमा दलाई लामालाई मान्ने गरेका थिए। त्यसैले त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो। बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ। मनाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने पञ्च नेताहरू पनि लमजुङ जिल्लाबाट मनोनीत हुन थाले। मनाङ बासीहरूलाई यो भूमि नेपाल हो, तपाईहरू नेपाली हुनुहुन्छ, त्यसैले अब तपाईहरूले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनु पर्यो। लामो समयपछि तल्लो भेगका मनाङबासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोचे मा लमजुङको बाहुनडाँडाबाट सारिएको मनाङको इतिहास छ।

सदरमुकाम थोचेमा रहे पनि उपल्लो मनाङेहरूले  पूर्रूपले सरकारलाई समर्थन गरेनन्। पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङेहरूलाई तेस्रो मुलुकमा विना भंसार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो। मनाङ जिल्लाको चामे भौगोलिक हिसावले बीचमा पर्दछ। माथिल्लो मनाङ र अति दुर्गम भनेर चिनिने नार र फू गाउँमा जान पनि चामे बाट सजिलो हुन्छ। चामेमा मस्र्याङ्दीकोतिरमा प्राकृतिक तातोपानीको मूल छ। जुन मूलको पानीले कर्मचारीहरूलाई नुहाउन सजिलो पनि भएको छ। चामेमा सदरमुकाम सारेपछि महेन्द्रको हुप्रको आदेशमा विना भंसार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दामात्र भए। मनाङको पनि अति दुर्गम मानिने नार र फू गाऊँ र तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट बञ्चित भएका थिए। जसको परिणाम अहिले मनाङमा दुर्इखाले जनजीवन देखिन्छ। उपल्लो मनाङवासीहरू आर्थिकरूपले सम्पन्न छन्। अधिकाशंको घर काठमाडौं र पोखरामा बनाएका छन। ठूला व्यापारी भएका छन्। तर अन्य भू-भाग अर्थात् तल्लोभेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको छ।

नेपालमा बढ्दै गएको पर्यटन व्यवसाय र व्यापारले गर्दा अहिले मनाङ जिल्लामा अवस्था बदलिएको छ। दैनिक हजारौंको संख्यामा पर्यटकहरू लमजुङको बेसिशहर हुँदै पैदल यात्रामा मनाङका हिमश्रृखंलाको दृष्यावलोकन गर्दै थोराङपास भएर मुस्ताङ जिल्लाको मुक्तिनाथ भएर पोखरा आउनेको सङ्ख्या बढदै छ। पर्यटकहरू यात्रा गर्ने प्रमुख मार्ग ताल, धारापानी, सदरमुकाम चामे, एरपोर्ट हुम्डे, मनाङ गाँउ, ढुकुरपोखरी, पिसाङ्, थोराङ् र तिलिचो बेस क्याम्पमा व्यापारी केन्द्रहरू बनेका छन। पर्यटकहरूलाई बास बस्न ठूला साना होटल खुलेका छन्। गाउँ, गाउँमा साना जलविद्युत आयोजना बाट विद्युत उत्पादन गरिएको छ। अपर मस्र्याङ्दी भनेर चिनिने १ सय ४१ मेगावाट क्षमताको विद्युत गृहको निर्माण ताचेबगरछापमा हुन लागेको छ। मस्र्याङ्दी नदीमा बाध बनाएर सुरुम मार्गबाट पानी लगेर धारापानीको कोत्रोमा विद्युत गृह बन्न लागेको छ। प्रत्येक गाँउमा स्कूल खुलेका छन्। पछिल्लो अवधिमा मनाङ जिल्लामा प्रा.वि. १३, नि.मा.वि. १०, मा.वि. २ र उच्च मा.वि. २ खुलेका छन्। तर मनाङ जिल्लामा शिक्षाको तथ्याक हेर्दा सबै तहमा जम्मा ८ सय ५७ जना विद्यार्थी मात्रको सङ्ख्या देखिन्छ। विद्यालयको सख्याको अनुपातमा शिक्षकहरूको सङ्ख्या भने धेरै रहेको छ। शिक्षाको तथ्याकले मनाङ जिल्लामा २०० शिक्षकको दरबन्दी रहेको देखिन्छ। त्यसबाट प्रतिफल भने न्यून छ। लमजुङको सदरमुकामदेखि भुलभुले, स्याङ्गे, जतत हुँदै मनाङ-लमजुङ जिल्लाको सिमानामा पर्ने ताल हुँदै मनाङको सदरमुकाम चामेसम्म ६५ कि.मि.मोटर मार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएर साना जीपका साधन गुड्न थालेका छन्। पोखरा-हुम्डे हवाई जहाजको सेवा छ। चामे-खाङ्सर २४ कि.मि.को मोटर मार्ग र तिल्चे लार्केपास सडकको ३८ कि.मि. मोटरमार्गको निर्माण कार्य निर्माणाधीन अवस्थामा छ। नेपालको दुर्गम ‘क’ मा पर्ने हिमाल पारीको जिल्ला मनाङ एक पटक भ्रमण गर्न सके दुर्गम जिल्लाको वास्तविक अध्ययन गर्न सकिन्छ। सबैले सोच्दा राम्रो हुन्छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width