‘हिमालतिर’ विचरण गर्दा

प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल
फागुन ८, २०७७

फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद बास्तोलाजीले ‘हिमालतिर’ नामक कविता संग्रह (२०४५) उपहार नदिने कुरै थिएन तर म उहाँको छापाखाना र आवासमा एक्लै पुगेजस्तो लागे पनि पूरै विश्वास लिन सकिरहेको छैन । उक्त पत्रिकाले लेखनाथ पौड्यालको विषयमा अध्ययन गर्न खुब सघायो, मलाई त्यस रात उहाँले अतिथिका रूपमा स्वीकार गर्नुभयो तथापि त्यतिबेला नछापिएको भएर हो कि सकिएर हो, ‘आमा नरोऊ अब’ कवितासंग्रह भाग एक र दुई (?) पनि मलाई दिनुभएन । यहाँसम्म कि कवि कृष्णप्रसाद बास्तोला (२०१५) का कतिवटा कविता संग्रह वा अन्य कृति प्रकाशित भए मेरो जानकारीमा छैन । यत्ति जानकारी छ कि उहाँ कवि, नियात्राकार, कथाकार, नाटककार आदि मात्र होइन पत्रकार पनि हो । पोखराको फूलबारीमा पिता नूरप्रसाद बास्तोला र माता धनकुमारीका पुत्ररत्नका रूपमा जन्मेर कानुनको उपस्नातक बनी वकालत गर्न छोडेर पत्रकारितामा लागि छापाखानासमेत सञ्चालन गरेर साहित्यकार–पत्रकार, समाजसेवीका रूपमा उदाएका कृष्णजी एक अब्बल सम्पादक रहेको कुरामा दुईमत छैन । यिनै विशेषताका कारण उहाँलाई दर्जनौं संघसस्थाले सम्मान पनि गरेका छन् ।

मुस्कान (त्रैमासिक–२०३७), पार्वती (पाक्षिक–२०४१), पोखरेली पराग (२०४६), नयाँ मञ्च (मासिक–२०४७) का साथै २०५३ देखि आदर्श समाज (दैनिक) आरम्भ गर्नुभयो । म २०५८ मा पोखरामा लेखनाथबारे अध्ययनको सन्दर्भमा झन्डै ३ महिना बस्दा यस दैनिकमा केही उपलब्धिपूर्ण लेखहरू छापिए भनेपछि उहाँको टिमले गैंडाकोट, नवलपरासीबाट यो पत्रिका प्रकाशन आरम्भ ग¥यो, त्यसमा पनि मेरा केही छापिए तर आज उहाँले गैंडाकोटबाट छापाखाना र प्रकाशनको संरचना पोखरै लगेपछि धेरै वर्षपछि ‘स्वतन्त्र पत्रकार संघ नेपाल’ गठन गरेर त्यसको केन्द्रीय अध्यक्षताको भार सफलतापूर्वक वहन गरी नेपालमा स्वतन्त्र पत्रकारिताको जग मजबुत बनाउने दिशामा पूर्व–पश्चिम दौड लगाउँदै चितवन–नवलपरासी (गैंडाकोट) आउँदा सौभाग्यवश उहाँसँग भेट भयो– खुसियालीको उपलक्ष्यमा पेडा–मिठाइ खुवाउनुभयो र हाम्रो सुखदुःखको आदानप्रदान भयो । उहाँले ‘आदर्श समाज’ लाई लेख दिन प¥यो भन्नुभयो– त्यसैको परिणाम हो म केही लेख्दैछु ।

माघ १५ को आदर्श समाज (दैनिक) र त्यसभित्र स्वतन्त्र पत्रकार संघको विधान तथा स्वतन्त्र सन्देश (वर्ष ४, अंक १, पूर्णांक २ वैशाख २०७४) र त्यसभित्र खुसुक्क राखिएको ‘हिमालतिर’ कवितासंग्रह कृष्णले सुदामालाईझैं ऐश्वर्य दिनुभयो किन्तु सुदामा त सुदामा नै हो । अब मेरा आँखा गाडिए ‘हिमालतिर’ माथि । यो सानो पकेट साइजको पुस्तिका हो, यसको विषयवस्तु १६+८ पृष्ठमा छ । यो लेटरप्रेसको उपलब्धि हो र आफ्नै छापाखानामा छापिएको हो भने प्रकाशक ‘पार्वती प्रकाशन पोखरा’ हो । पहिलो पटक ५०० प्रति छापिएको र रु. २।– मूल्य रहेको यो कवितासंग्रहमा धमिरा नलागेको मलाई पढ्ने सौभाग्य जुटाउन नै होला भन्ने ठान्छु ।

यति बेला कविता छपाउने भएपछि कविहरू नामुद समीक्षक वा लेखकसँग महँगो रकम तिरेर भूमिका लेखाउँछन् तर यस संग्रहले जवाफ दिइसकेको छ– पुस्तक विनाभूमिका पनि प्रकाशित हुन सक्छ तर लेखकीय मन्तव्यका रूपमा यसले पाएको शीर्षक हो ‘दुई थोपा आँसु’ । सर्वप्रथम त म झस्केँ, ‘यो त शोककाव्य पो रहेछ !’ भनेर तर हेर्दै जाँदा त ‘अपांगता भएका छोराछोरीको माया आमाबाबुलाई अरूभन्दा बढी लाग्छ’ बाट यो प्रारम्भ गरिएको रहेछ । कविलाई के लागेर यसअघिका कवितासंग्रहमा यी समावेश नभएका रहेछन् भने यी अपांग छन् । तर एक दिन कविलाई अपांग सन्तानलाईझैं बढी माया लागेछ र सिकारु भए पनि प्रकाशन गर्न मन लागेकाले यो आकार पाएको रहेछ ।

पहिलो कविता ‘हिमालतिर’ शीर्षक लिएर चार पद्यमा गजधम्म परेको छ । पढ्दै जाँदा को भन्छ यसलाई अपांग सन्तति ? स्वच्छन्दतावादी भावधारामा रचित यस कविताले हिमालबाटै सूर्य निस्कने, सुन्दरीले ढुंगामाथि फूल चढाएर प्रस्थान गर्ने, गुराँसका झुप्पा फुल्ने यस्ता ठाउँमा पनि बलात्कारी बसोवास गर्छन् र चेलीलाई विदेशमा बेच्दछन्, जुन कुरालाई सरोकारवालाहरूले चूपचाप हेरेकोमा कवि दुखित छन् । यो त्यही हिमाल हो, जसका चुचुरा देखाएर धन कमाउँछन् र यहाँका चेलीलाई दुर्गातिमा पु¥याउँछन् । तिनका आँसुले पोलिनुको साटो शीतल मान्ने समाज कस्तो गएगुज्रेको होला– कवि प्रश्न खडा गर्दछन् । दोस्रो ‘आह्वान’ शीर्षकको गद्य–गीति लयात्मक तीन गुच्छनको कवितामा एकजुट भई देश निर्माणमा लाग्न आह्वान गरिएको छ । यो कवि कृष्णजीको त्यस्तो रचना हो, जो सर्वप्रथम पोखराबाट प्रकाशित हुने आह्वान (साप्ताहिक–२०३३) मा छापिएको थियो ।

३२ वर्ष अघि छापिएको र त्योभन्दा १०–१५ वर्ष अघि रचित यस कविताको मर्म भर्खर यति बेला सरकारले बुझ्न थालेछ क्यारे !

‘झुक्न दिदैनौं’ यो तेस्रो रचना हो, जो तीन गुच्छकभित्र स्वेच्छिक गीतलयमा प्रस्तुत भएको छ । राष्ट्र–राष्ट्रियताको अभिव्यक्ति दिइएको यसको अन्तिम स्थायी ‘झुक्न दिदैनौं शिर कहिल्यै हामी नेपाली’ चरण तीन पटक आएर यस गीतलाई लयात्मक बनाइदिएको छ । अर्को ‘बागलुङ’ कविता शार्दूलविक्रीडितका एक पद्यमा रचित देवी वा बागलुङ कालिकाको वर्णनपरक मीठो स्वच्छन्दतावादी भाव बोकेर अभिव्यक्त भएको छ । ‘यौटै गीत सधैं वसन्त ऋतुमा के गाउँछेस् कोइली’ यो एउटै चरणले यस संग्रहमा चार चौद लगाइदिएको महसुस हुन्छ । अनुष्टुप छन्दका चार चरणको पद्यमा ‘नयाँ’ शीर्षक लगाइएको छ र नयाँको प्रशंसा गर्दागर्दै ‘एड्स’ नै नयाँ महारोग भएर आएको देखाइएको छ । अर्को कविता शीर्षक हो, ‘रक्सी चुरोट नखानोस् !’ स्वेच्छिक लयको आठ गुच्छाहरूमा विस्तारित यो कवितामा झगडा–वैमनस्य–मारामार–कुटाकुट सिर्जना गर्ने, लोग्ने–स्वास्नीबीच मनमुटाव गरी घृणाको पात्र पियक्कडलाई र यस्तो मन्दविष उत्पादन गर्ने सरकारलाई नराम्ररी कटाक्ष गरिएको छ । विकृति–विसङ्गति वर्णित यो कविता हल्का हास्योत्पादक पनि रहेको छ भने व्यङ्ग्य त छ नै ! ‘मेरो राजा’ यस संग्रहको सबभन्दा लामो स्वेच्छिक गद्य लयात्मक कविता हो । धेरै गुच्छकमा रहेको यस कविताको सार हो राजासँग जनतालाई टाढै राख्ने प्रवृत्तिको विरोध ! साथै राजाले नै इतिहास निर्माण गर्ने हो र यस्ता राजालाई कसैले नहेपून्, राजा मान्नेलाई कसैले नहेपून् भन्ने सन्देशका साथ कविता सकिएको छ । यसमा राजा नै राष्ट्रिय एकताको प्रतीक हो भन्दै तत्कालीन राजधर्मको गौरव प्रस्तुत भएको छ । व्यंग्यात्मक कविता ‘बोक्सी’ हो । स्वेच्छिक गद्यलयका चार गुच्छकमा रचित यस कवितामा बोक्सी, बोक्सी नचाउने पाँडे, जोशी र रातविरात हिँड्ने जस्ता कुरा गर्दै जो रातविरात रोदीघर धाउँछ, ऊ निद्रा कचल्टिएर विरामी पर्छ । धामीले धाउँदा यही तथ्य देख्छ र डाम्छ अनि रोदीघर जाने कुरा रोकिन्छ र मदौरु निको हुन्छ भन्ने भाव व्यङ्ग्यसहित प्रस्तुत भएको छ ।

‘को छ यहाँ तिमी बाहेक ?’ यो प्रश्नात्मक कविता कुनै आर्या छन्दको नाममा एक पद्यमा रचिएको छ । यसले नेपाल आमालाई छातीमा हिमालका टाकुरा, केश सुन्दर वन, आँशु पसिना नदी, मायाप्रेम पवन, काखमा वैकुण्ठ, ढोग्नलायक पाउ र कहाँसम्म भने सम्पूर्ण विश्वलाई सुन्दर पार्ने नेपालबाहेक अरू को छ भनेर प्रश्न तेस्र्याइएको छ अर्थात् यस्तो मुलुक नेपाल बाहेक कुनै छैन भन्ने प्रकारान्तरबाट अभिव्यक्त भएको छ । यस्तै ‘नरनारी’ लोकलय सदृश भाकामा दुई गुच्छकमा रचित कविता हो । यसले नारी–पुरुषबीच कुनै असमानता नरहेको भाव प्रकट गर्दछ । ‘नांगो सडक’ गद्य कविताले दुई गुच्छकमा विभाजित भएर मानवताको वकालत गरिरहेको छ । सडकमा गिद्ध–स्याल मात्र होइन आगो पनि दन्केको र भोका टिठलाग्दा मान्छेले भरिएको, ब्रेक नभएका गाडी चलाउनेबाट मान्छे मिचिएको तथा मानवघात भइरहेकाले डामरहरू गुहार्दै पृथ्वीमा मानव नभए सच्चा मानव कहाँ छन् त ? भनेर प्रश्न तेस्र्याइएको छ र समसामयिक यान्त्रिक गडबडीबाट हुने मानवीय क्षतिप्रति आक्रोश व्यक्त भएको छ ।

दानवले इन्द्रको सत्ता डगमगाउने गरेको पौराणिक प्रसंगसँग राणाशासनका कर्तुतलाई जोड्दै वीर सहिदहरूका बलिदानले नेपालमा प्रजातन्त्र आएको खुलस्त पार्दै ‘प्रजातन्त्र दिवस’ कविता रचिएको छ । सात पद्यमा विस्तृत यी श्लोकमा राजा र प्रजा मिलेर राणाशासन हुत्याई ल्याएको प्रजातन्त्रप्रतिको यस विशेष दिवसमा देश विकासलाई प्रमुख कर्तव्य ठानेर अगाडि लम्कौं भन्ने राष्ट्रवादी भावधारा व्यक्त भएको छ । सम्भावना अलङ्कारले आक्रान्त ‘मेरा विरुवा’ कविता मुक्तलय ढाँचामा रचिएको छ र यसमा विरुवाले खप्न बेहोर्न परेको प्राकृतिक आघात, झुसिल्किराको डसाइ, ठूला रुखको ओसेप, स्वच्छ हावा पनि रोकावट, लाटो कमजोर भएकाले हातहतियारको अभाव, वृक्षको प्राकृतिक नियमले सङ्गम गर्न नपाउनुको पीडा, बैंसले निम्त्याएको उन्माद, कडा पत्थरमा उम्रेर पनि फुल्ने–फक्रने अभिलाषा, चुसाहहरूको हुर्मत लिने जोशको अभिवृद्धि, खडेरीले ओइलाउन पर्ने विवशताले ग्रस्त विरुवा र तपजन्य सकल वृक्ष–वनस्पति वा उद्भज्ज वर्गप्रति अति सुन्दर ढंगले उपर्युक्त पीडाहरूको सम्झना गरेर पूरै कवितालाई विरुवा शीर्षकका माध्यमबाट यसरी समुत्थापन गरिएको छ मानौँ विरुवा एक अवोध बालक हो– भाग्यमानी बालक हो, जसको हृदय रसाउन र पोषण शक्ति प्रदान गर्न एक दिन त पानी बर्सन्छ होला भन्ने पूर्ण आशावादिताको राग अभिव्यक्त भएको छ ।

‘बाटो त चाक्लै बनाउनुपर्छ’ शीर्षकको यस गद्य कवितामा बाटोलाई साँगुरो बनाउने, अप्ठेरा र घाम नलाग्ने अँधेरा बनाउने, साँगुरो विचार लिनेहरूले नै साँगुरो बाटो बनाउने, महल मालिकले बाटो मिच्ने, कहाँसम्म भने ढुंगाका शालिकले अर्थात् जस्ताले पनि बाटो छेक्ने, बाटैमा कुल्चिने जस्तो गरी पसल थाप्ने प्रवृत्तिलाई अत्यन्त कसिलो व्यङ्ग्य प्रहार गरिएको छ किनभने यो जुन बाटो हो, त्यो मूल बाटो हो–सार्वजनिक बाटो हो–कुनै चोर डाँका वा बदमासमात्र हिँड्ने बाटो होइन । अतयव सारा विवेक–बुद्धि भएका भाइबहिनीहरूलाई घाम लाग्ने गरी, ठेस नलाग्ने गरी चाक्लो बाटो बनाउन कुटो–कोदालो, गैंची–साबेल बोकेर अघि लाग्न आह्वान गरिएको छ । आजभन्दा ३२ वर्ष अघि छापिएको र त्योभन्दा १०–१५ वर्ष अघि रचित यस कविताको मर्म भर्खर यति बेला सरकारले बुझ्न थालेछ क्यारे ! भत्काउँदै छ राजमार्ग छेउछाउका घर–टहरा र अवैधानिक निर्माणहरू ! यसैलाई भन्छन्– ‘कवयस्तत्वदर्शिनः ।’ अथवा ‘जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि !’ कविहरू समयभन्दा धेरै अगि हुन्छन् ।

यस संग्रहको अन्तिम कविता हो– ‘कल्पना गर्न पनि’ । कविहरू सत्य कल्पना गर्छन्– उडन्ते र गफास्टक कवि हुन सक्दैनन् कारण साहित्य र जीवन एकअर्काका बिम्बप्रतिबिम्ब हुन्छन् । यस कवितामा कृष्णजीले मलाया र सिङ्गापुर ताक्ने नेपालीहरूलाई विदेशीको चौकीदारी गरेर आफू कदापि सुरक्षित हुन नसक्ने र भविष्य पनि चकनाचुर हुने उद्घोष गरेको पाइन्छ । वर्तमानमा त नेपालमा विदेशबाट भित्रिने लासको गणना नै हुन सक्ने छैन । नेपालीहरूले विदेशीका सैनिक बनेर लडे पनि सर्वप्रथम त यिनकै टाउको ताकिने र हात भाँचिने हो । यसैले आफ्नै देशमा बसेर यहीं ढुक्कसँग सास फेरेर बस्दा कुनै दिन बिजुली बल्ला, पानीको धारा कलकल गर्ला, त्यसैले गोरखालीले हरेश खान हुँदैन बरु चौकीदारी गर्ने, लठ्ठी र बन्दुक बोक्ने हातहरूले पुस्तक बोकेर ज्ञान र सीप हासिल गरेर आफ्नै देशमा काम गरी उद्योगपति हुन सिक्नुपर्छ भन्दै कोशी–कर्णालीबाट बिजुली निकालेर बिजुली बत्ती बल्न सक्ने कल्पनालाई साकार पार्न किन हिचकिचाउँदै छन् नेपालीहरू ? भन्ने प्रश्न तेस्र्याइएको छ । वस्तुतः नेपाल हर दृष्टिले सुन्दर छ, धनी छ, नेपालीहरू वीर छन्, पौरखी छन्– यस्ता प्रतापी पुर्खाका सन्तानले देशमा उज्यालो भविष्य देख्न सक्नुपर्छ र सोही अनुसार कर्तव्यपथमा लाग्नुपर्छ भन्ने कविताको आशय रहेको छ ।

यसरी जम्मा सोह्रवटा कविताको प्रस्तुत संकलन कविको तेस्रो कवितासंग्रह हो भन्ने बुझिन्छ । पहिलो संकलन २०३८ मा नपरेका र त्यतिबेला अपांग भनिएका कविताप्रति अपार माया गरेर प्रकाशन गरिएका यी कविताभित्र नया ऊर्जा नयाँ सौन्दर्य, नयाँ राग–अनुराग र नयाँ स्पन्दन रहेको देखिन्छ । कविले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गौरवलाई केन्द्रबिन्दु बनाएर रचिएका यी कविता प्रकृतिचित्रणका दृष्टिले उत्तिकै स्वादिष्ट रहेका छन् भने स्वस्थ कल्पनाका कारणले हृदयग्राह्य छन् । यिनमध्ये केही कवितामा रहेको व्यङ्ग्यले देशमा मौलाउँदै गरेको विकृति र विसंगतिमाथि ढाड सेकिने गरी प्रहार गरेको छ । बोक्सी, रक्सी र चुरोट वर्तमान युगका पनि समस्या हुन् भने हिजो पनि तिनले समस्या नै खडा गरेका थिए भने समाधान कहाँ छ त ? वस्तुतः यी असमाधेय समस्या समस्या हुन् ।

कविको भाषा बाल्यकालीन जरुर छ तर कुन बालकले बोलेको बोली नमिठो हुन्छ र ? लय परिमार्जन गर्नुपर्ने देखिन्छ तर कुन बालकले गुन्गुनाएको अमधुर हुन्छ र ? कविलाई यी कविताले पूर्वसंग्रहमा स्थान नपाउँदा पश्चात्ताप भयो– ‘अपांग भए पनि त यी आफ्नै सन्तान हुन् । अपांग भनेर किन हेला गरे हुँला ?’ तर विगतलाई बिर्सेर विगतकै पाठ पढेर किशोरावस्थामै रचित यी कविताप्रति पर्याप्त माया गरिएको छ किनकि यिनको प्रकाशन यथावतर भइसकेको छ ।

अन्त्यमा कविताको आराधना गर्दै पत्रकारको रूपमा अग्रसर भई विभिन्न पत्रपत्रिका, स्मृतिग्रन्थ आदि र मूलतः आदर्श समाज (२०५३) हुँदै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय कार्यसमितिको अध्यक्ष भई राज्यको चौथो अंग पत्रकारितालाई राजनीतिनिरपेक्ष बनाउन कृतप्रतिज्ञ कृष्णप्रसाद बास्तोलाको कवित्व शक्ति अझ जोडदारका साथ पुनर्जीवित हुनुपर्छ । म कृष्णजीको सुस्वास्थ्य, दीर्घजीवन, सामाजिक प्रतिष्ठा, यशोभिवृद्धिका साथ सफल मनः कामना परिपूर्तिको चाहना गर्दै बिदा हुन्छु तैपनि भन्छु कवि कृष्ण फेरि पनि नवयुवक कवि कृष्ण भएर नेपाली कविता साहित्याकाशमा उदाउनुपर्छ र कविशिरोमणि लेखनाथझैं पोखराको मात्र होइन मुलुककै साहित्याकाश चकाचौंध बनाउनुपर्छ ।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…
    • जनमत, संविधान र संसद विगठन

      gehendramanudas डा. गेहेन्द्रमान उदास “पोखरेली” फागुन ७, २०७७
      राज्यका तत्वहरू– जमीन, जनता, सार्वभौमिकता र सरकार यी चार तत्वहरू मध्य जनता सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व देखिन्छ । किनभने…

    hero news full width