परिचयः
नेपाल कुषि प्रधान देश हो। २०६८ सालको जनगणनामा कृषिमा आधारित जनताहरुको तथ्यांक सार्वजनिक नभए पनि हाल नेपालका वहुसंख्यक जनता कृषि व्यवसायमा निर्भर छन्। किसान जनताहरुले धुमधाम र विशेष लगाव साथ मनाउने पर्वहरुमा असारपन्ध्र, हरेलो, न्वागि खाने आदि पर्दछन्। असारपन्ध्र त हिजो आज राजनितिक पार्टीका किसान सम्वन्धि जनवर्गिय संगठन र पर्यटन सम्वन्धी व्यवसायीहरुले पनि मनाउन थालेका छन्। तर हरेलो र न्वागी खाने पर्व भनेको विशुद्ध किसानहरुले अद्यावधि मनाउने गरेको पाइन्छ।
कसैले भन्छन् ‘हरेलो’ हरियाली कायम होस भन्ने आकांक्षा संग सम्वन्धित रहेको छ। कसैकसैले त मान्छेको अनुपस्थितिमा रोग व्याध, चरा, मुसाबाट बाली विरुवा जोगाउन हेरालोको प्रतिक तयार गर्न हरेलो गरिनछ, भन्छन्। भाद्र महिनाको पहिलो मंगलबार हरेलो पर्व पर्दछ। यो पर्व सौरमासमा आधारित पर्व हो तर चैतमा हरेलो गरिनु भनेको अनिष्टको द्योतक हो। ‘तरो चैतमा हरेलो होस्’ भन्नाले संकटको सामना गर्नु परोस् भन्ने गालीको रुपमा लिइन्छ।
मनाइनुको कारण :
असार र साउन महिना सम्ममा किसानहरुले धान र कोदोको रोपार्इं गरिसकेका हुन्छन्। भाद्र महिना लाग्दा नलाग्दै बाली विरुवाहरु लहलहाउदो गरी हरियो हुन्छ। यसैले भनिन्छ ‘साउनमा सरिलो, भदौमा भरिलो’। रोपाई समापनको खुशियाली एवं लहलहाउदो बाली देख्दा किसानको मन प्रफुल्ल हुन्छ। यहि प्रसन्नता सधै रहिरहन र राम्रो उव्जनी प्राप्त हुन बाली विरुवामा रोग व्याधी, मुसा र चराको प्रकोप र नोक्सानीबाट तथा बाढी, पैहृो, खोलो जस्ता दैवी प्रकोपबाट सुरक्षित हुनुपर्छ। यस्तै रोग व्याध मुसा, चरा एवं दैवी विपत्तीबाट वाली विरुवा नकुहियोस, बाली नोक्सानी नहोस, खोलो पैहृो नलागोस भन्ने कामनाका साथ हरेलो गरिन्छ। हरेलोमा ‘चराको चुच्चो भाँच्चीयोस, मुसाको दाँत कुढियोस’ भनि प्रार्थना गरिन्छ। वर्षायाममा हुने लहरे तरकारी वाली जस्तै कांक्रो , घिरौलाको झालमा पनि हरेलो गरिन्छ। यो एउटा कृषि पूजा, भूमि पूजा वा कृषि अधिष्ठादाताको पूजा/आराधाना हो।
मनाइने तरिका :
हरेलो पर्वको अगाडिको दिनमा पूजा सम्वन्धी सामाग्रीहरु तयार गरिन्छ। नयां वावियोको २ हात जति लामो हत्तेउरी बाटिन्छ। जतिबटा ठाउँमा खेतवारी र कांक्रा, घिरौलाका झालहरु छन्,त्यतिकै संख्यामा हत्तेउरी तयार पारिन्छ। प्रत्येक हत्तेउरीमा एउटा एउटा पोको झुण्डाइन्छ। कुनै कूनै ठाउँमा एउटा खेतमा ३ वटा सम्म पोको झुण्डायाउने पनि गरिन्छ। मकैको भूत्लामा पोको पारेर बनाइएको पोकामा भोजपत्र, भुस, मकै, गहुँ, जौ, तिल, जातोको हातो र ढिकी ताछेका काठका टुक्राहरु मिसाइएको हुन्छ। कतै कतै यस्तो पोका टांकीको पातमा पनि बनाइएको हुन्छ।
हरेलोको दिन विहानै शुद्ध सफा भएर धुप, निवुवा (अमिलो), लावारोटी (प्रसाद), सहित पुत्ताउदै गरेको गुँइठा लिएर खेतवारीमा गइन्छ। विगतमा भकारी टाल्दा बनाइएको सुकेको गोवरलाई गुंइठाको रुपमा प्रयोग गरिन्छ। प्रत्येक खेतको मूहाने गरामा स्याउलाको हांगा वा टांकीको हांगा काटेर ठड्याइएको लिंगामा पोका झुण्डाएर हरेलो गरिन्छ। हरेलो गर्दा विशेष पूजा र कामनाका साथ गरिन्छ। खेतमा पूजा गर्दा निवुवा काटेर निचोरी मूल गहृाको पानीको प्रवाहमा मिसाइन्छ। पानी सगै गहृामा पुग्दा अमिलाको प्रभावले रोग र किरा नियन्त्रण हुने र मुसाको दाँत कूँढिने विश्वास गरिएको हुन्छ। गुंइठा धुँवाएर धुपहरु बालिन्छ, रायो र सस्र्र्यूका गेडाहरु पडकाइन्छ , लावारोटी प्रसादको रुपमा चढाइन्छ। लिंगामा पोका टांसिन्छ। खोलो पैहृो नलागोस, चराको चुच्चो भाँच्चीयोस, मुसाको दाँत कुढियोस भन्ने कामनाका साथ हा ( हा हु ………..हु गदै पोको टांगिएको लिंगा हल्लाइन्छ। हरेलोमा टांगिएको पोकामा चरा र मुसाको लागि खाना राखिएकोले ती जीवहरुले त्यसैबाट चित्त बुझाउनु पर्ने र वाली विरुवा नोक्सान पार्न नहुने सोच पालिएको हुन्छ।
हरेलोमा लगिने गुंइठा मुख्यतः धुप वाल्न, धुप हाल्ने कार्यको लागि हो। आजभोलि सलाई वा लाईटर
पर्याप्त पाइनाले गुंइठाको प्रयोगमा कमि आएको छ। सवै खेतवारीको पूजा गरिसकेपछि, पुजा कर्ताले त्यहि वसेर लावारोटीलाई प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन्। त्यस दिन खेतवारीमा खन्न, खोश्रन वा काम गर्न निषीद्ध मानिन्छ।
अन्त्यमा, हरेलो कृषिसम्बन्धी किसानहरुले सम्पन्न गर्ने एउटा पर्व हो। यो भुमि प्रतिको अगाध आस्था, पुजा/आराधाना हो। किसानहरु श्रम र पसिना चढाएर माटोको पूजा गर्ने पुजारी हुन। खेतमा खनजोत गर्नु अगाडि, टिके रोपाईको दिनमा, खाजा भूजा खानु अगाडि र दा“इ हाल्नु अगाडि भुमिको पुजा गर्दै प्रसाद चढाउने गरिन्छ। किसानहरुले राष्ट्रका लागि खाद्यान्न उत्पादन गर्ने महान कार्य गरिरहेका हुन्छन्। यस्को वदलामा राष्ट्रबाट सुशासन वाहेक केहि चाहंदैनन्। आज किसानहरु महङ्गीको मारले आक्रान्त छन्। आपनो उव्जनी वाहेक हरेक कुरा महङ्गोमा किन्नुपर्ने उनिहरुको नियति बनेको छ। हरेक क्षेत्रको सिन्डिकेट प्रणालीको मार अन्ततोगत्वा किसानहरुमा गएर थोपरिन्छ। यदि किसानहरु मिलेर सिन्डिकेट प्रणाली लागु गरी १ पाथी चामलको मूल्य १ तोला सुनको मूल्यसंग समतुल्यता कायम गरी त्यसभन्दा कम मूल्यमा १ गेडा चामल पनि नवेच्ने नियम बसालेमा के होला ? के देशका सिन्डिेकट वाला नेता र व्यवसायीले यस वारे सोचेका छन् ? विचरा इमान्दार, देशभकत र स्वाभिमानी किसानहरु त्यसो गर्न पनि चाहँदैनन्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०