हत्याकाण्डको जगमा स्थापित राजनीति

shiva prasad gautam शिवप्रसाद गौतम
श्रावण २६, २०७६

नेपालमा २०५८ साल जेष्ठ १९ गते नारायणहिटी दरबारमा वीभत्स हत्याकाण्ड भयो। यो हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भयो। यो घटनाले नेपालीलाई मात्र होइन विश्व जनमानस पनि स्तब्ध भयो। नेपालको इतिहासमा यो महान् हत्याकाण्डको रूपमा अंकित छ।

प्रकृतिको सृष्टिमा मानव जीवन सर्वश्रेष्ठ जीवन हो। प्राणीको जन्मदेखि मृत्युसम्मको समय, शरीरमा प्राण रहेसम्मको अवस्था, प्राणीको जीवित अवस्था, प्राणवान अवस्था, बाँच्ने ढङ्ग वा बचाउँने शक्ति (प्राणतत्व), जिउँदोपन जीवन हो। यो जीवनमा मानिसले नानाप्रकारका उतार चढाउ भोग्दै जान्छ। जीवनमा सुख शान्ति, अमन चयन प्राप्त गर्ने मानवको परमलक्ष्य र ध्येय हुन्छ। दुःख झेल्न कोही चाहँदैन।

बाँच्नका लागि मानिसले विभिन्न पेशा अपनाउँछ। जस्तै कृषि, उद्योग, व्यापार, राजनीति आदि। कृषि, व्यापार, उद्योग, नाफामूलक व्यवसाय हुन् भने राजनीतिलाई आयमूलक व्यवसाय नमानी सेवामूलक व्यवसाय मानिन्छ। तर नेपालमा राजनीतिलाई सेवा होइन व्यवसायमूलक पेशा बनाइएको छ। अहिले राष्ट्रपतिदेखि गाउँपालिकाको सदस्यसम्मको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले लोकसेवा उत्तीर्ण गरी सरकारी जागिरमा प्रवेश गरेका निजामती शिक्षक सेना प्रहरीलाई राष्ट्रसेवक भनी तलब निर्धारण गरे झैँ। यी पदमा रहने को भन्दा अत्यधिक बढी राज्यले थेग्नै नसक्ने गरी तलबभत्ता र नानाप्रकारका सुविधा राज्यकोषबाट उपभोग गर्नु लाजमर्दो कुरा हो। कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ भएको छ।

राजनीति भनेको के हो? बुझ्दै नबुझी राजनीति गर्नेहरूको बाहुल्यताले गर्दा देश बरबाद भइरहेको छ। शैक्षिक योग्यता नभएका, बौद्धिक स्तर नभएकाले राजनीति गरेका छन्। मूढे बलको राजनीति चलेको छ। साम, दाम, दण्ड, भेदको नीति अपनाएर राजनीतिको उच्च पदमा पुगेका व्यक्ति राजनीतिक दलका नेताले सर्वसाधारण जनता, आफ्नो दलका तल्ला तहका कार्यकर्ताको हकहितमा कुनै काम नगरी खोला तर्यो, लौरो बिर्स्यो भन्ने उखान झैँ आफू विलासी भएर जनतालाई दासी बनाएका छन्। जनताले सामान्यभन्दा सामान्य सुविधा पाएका छैनन्। तर आफूलाई र आफन्तकालागि भने राज्यकोषबाट ब्रह्मलुट भइरहेको छ।

दशवर्षे जनयुद्धमा तत्कालीन माओवादी र सरकारद्वारा सत्र हजार नेपालीको हत्या भयो। देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक शासन ल्यायाँै भनेर नेता भनाउँदा कुर्लिरहेका छन्। यो व्यवस्था नेताले होइन जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्था हो। यो व्यवस्था जनहितकारी हुनु पर्ने हो, भएको छैन।

प्रजाको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्यकार्य गर्ने नीति, राज्यको शासनव्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक संस्थाको नाम हो राजनीति। राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने, राजनीतिशास्त्रका ज्ञाता, राजनीति बुझेको, कुटनीतिजानेको व्यक्ति वास्तविक राजनीतिज्ञ हो। नेपाल राजनीतिमा यस्ता व्यक्ति विरलै छन्। औपचारिक रूपले नै राजनीतिक रूप लिने काम, अन्य घटना वा व्यवहारलाई राजनीतिक रूपमा मुछ्ने काम नेपालको राजनीतिमा छ। नेपालको राजनीति हत्याकाण्डले मौलाएको छ।

कोतपर्व, भण्डारखालपर्व, दरबारहत्याकाण्ड, दासढुङ्गा हत्याकाण्डहरूको वास्तविक दोषी पत्तालगाएर सजायदिने काम र निर्मला बलात्कार पछिको हत्याकाण्डले नेपालको राजनीतिमा सदैव स्थान पाइरहन्छन्। सत्तामा बस्नेहरू यी विषयमा खासै चासो राख्दैनन्। प्रतिपक्षमा बसेकाहरू यिनै विषयलाई कोट्याएर घाउमा नूनखुर्सानी छर्केर यी विषयमा पीडितहरूलाई अझ पीडा थपिरहेका छन्

। नेपालमा जति पनि राजनीतिक दलका नेताहरू छन् यिनीहरूले आफ्ना दलका कार्यकर्ता र आफन्तलाई मात्र दुःख विमार हुँदा भेटघाटको सुविधा दिएको पाइन्छ। नेतासँग अपरिचित तर पार्टीका शुभचिन्तकहरूलाई कुनै चासो राख्दैनन्। राख्छन् त कतिबेला राख्छन् कुनै पार्टी शुभचिन्तकले हाम्रो दलको सक्रिय कार्यकर्ताको देहावसान भयो भनेर कसैले जानकारी दिए भने त्यति बेला गोरु बेचेको साइनो नभए पनि दलको शुभचिन्तकको नाताले लाशको मुख हेर्न पुग्छन्।

यति मात्र होइन शोक सन्तप्त परिवारलाई समवेदना र लाश जलाउने घाटमा पुगेर लाशमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली सभामा सहभागी भई एक मिनेट मौनधारण गरेर परिवार जनले दागबत्ती दिएपछि घाटबाट फर्कन्छन्। यसरी पार्टीका नेताले दिवंगत व्यक्तिका परिवारजनमा अर्को पटकका लागि पनि मत सुनिश्चित गरेर लाश माथि पनि राजनीति गरी प्रभाव पारेका छन्। यस्ता कार्य गर्नमा देशमा जति पनि राजनीतिक दल छन् सबैमा यो रोग छ।

जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्याकाण्ड ठूलो राजनीतिक घटना हो जसलाई कोतपर्वका नामले बुझिन्छ। यसमा ५५जनाको हत्या भएको थियो। यो काण्ड गरेर जङ्गबहादुर देशको शक्तिशाली प्रधानमन्त्री र सेनापति भए त्यस्तै भण्डारखाल पर्व पनि राणाहरूको पालामा भयो। यो काण्डमा जङ्गबहादुरले २४ जनाको हत्या गरेका थिए। यो हत्याकाण्डलाई पनि पर्वको रूपमा उल्लेख गरिएको छ। राणाहरूले आफ्नो विरोधीलाई हत्या गर्दथे। सांस्कृतिक वा सामाजिक दृष्टिले महत्वपूर्ण मानिने दिन, उत्सव, चाड आदिलाई पर्व भनिन्छ। तर अपवादस्वरूप यहाँ हत्याकाण्डलाई पर्वको रूपमा मानिएको छ। यो अमिल्दो कुरा हो।

नेपालमा २०५८ साल जेष्ठ १९ गते नारायणहिटी दरबारमा वीभत्स हत्याकाण्ड भयो। यो हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भयो। यो घटनाले नेपालीलाई मात्र होइन विश्व जनमानस पनि स्तब्ध भयो। नेपालको इतिहासमा यो महान् हत्याकाण्डको रूपमा अंकित छ। यो हत्याकाण्डले ज्ञानेन्द्र शाह राजा भए। दरबार हत्याकाण्डको छानविनको लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा एमालेका नेता माधवकुमार नेपाल र काँग्रेसका नेता तारानाथ रानाभाट सदस्य रहेको तीन सदस्यीय छानविन आयोग गठन भयो।

माकुनेले पार्टीको समर्थन नभएको भनी राजिनामा दिएका थिए। यो समितिले मृत्यु भइसकेको युवराजाधिराज दीपेन्द्रलाई दोषी ठहर्याएर प्रतिवेदन दियो। यो प्रतिवेदनलाई जनताले स्वीकार गरेनन्। अहिलेसम्म पनि यो हत्याकाण्डको सही छानविन हुन नसकी अन्योलमै रहेको छ। गोरखा फुजेलका नन्दलाल अधिकारी र गंगामायाले जनयुद्धमा मारिएका छोराको खोजीका लागि अनुरोध गर्दा सरकारले वास्ता नगरे पछि अनशन बसेका नन्दलालको मृत्यु भयो। उनको लासको अझै सतगत भएको छैन। गंगामायाको पटक पटक अनशन बस्दा पनि सरकारले वास्ता गरेको छैन।

नेकपा एमालेका तत्कालीन महासचिव मदनभण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गाको राजनीतिक हत्याकाण्डमा गाडीचालकलाई दोष लगाइयो। पोल खुल्ला भन्ने डरले उसको पनि हत्या गरियो। यसलाई पनि जनताले स्वीकार गरेनन्। यो घटना पनि अहिलेसम्म रहस्यमय रूपमा नै रहेको छ। जनताको बहुदलीय जनवादका प्रणेता मदनभण्डारीकी धर्मपत्नी विद्यादेवीभण्डारी राष्ट्रपति हुनुहुन्छ। उहाँको राजनीतिक पार्टी सरकारमा छ र पनि दास ढुङ्गा हत्याकाण्डको छानविन गरी हत्यारा पत्ता लगाउने सम्बन्धमा सरकार मौन छ। आफ्नै दलका प्रतिभाशाली नेताको हत्या उपरान्त आफू सत्तामा जाने नेपाली राजनीतिको ठूलो रोग हो। नेपालको कम्युनिस्ट पार्टीमा जो चोर उसको ठूलो स्वर भएको छ। हत्याकाण्डद्वारा सत्तामा आएको ने.क.पा दल भ्रष्टाचार गरी जनताले तिरेको राजस्व कोष सर्वसञ्चित कोषको रकम दुरूपयोग गरेर अकूत सम्पत्ति कमाएर राष्ट्रलाई ऋणमा डुबाउन तल्लीन रहेको छ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार पछिको हत्याकाण्डले पनि नेपालको राजनीतिक वृत्तमा बहुत चर्चा पाएको छ। एउटा बालिकाको हत्यारा पत्ता लगाएर कारवाही गर्न नसक्ने सरकार पनि के सरकार? । यस पछि पनि बलात्कार र हत्याका थुपै्र काण्ड घटिरहेका छन् तर सरकार मूकदर्शक भएर वसेको छ। नेपालको विगत देखि वर्तमानको राजनीति रक्तरञ्जित हुँदै आएको छ। यहाँ शासनमा रहेका व्यक्तिलाई हत्या गरेर आफू सत्तामा जाने राजनीतिक रोगको रूपमा विकसित भएको छ। प्रत्येक हत्याकाण्डले राजनीतिक परिवर्तन ल्याएको छ। दशवर्षे जनयुद्ध र २०६२। ६३ को जनआन्दोलनले नेपालमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आयो। यो शासन व्यवस्थामा जनताले देशमा राजनीतिक स्थिरता आउला र जनताले सुख पाउलान् भन्ने सोचाइ विलकुल गलत भएको छ। देशमा भ्रष्टाचार, अन्याय, अत्याचार, ठगी, चोरी बढ्नु, नेताहरूमा आर्थिक र राजनीतिक अनुशासन नहुनु मूल कारणहरू हुन्।

वि.सं. १९०३ आश्विन २ गतेदेखि २०७६ श्रावणसम्म १७३ वर्षको अन्तरालमा नेपालमा विभिन्नखाले हत्याकाण्डहरूबाट राणाहरूको जहानिया शासन संसदीय शासनव्यवस्था, पञ्चायती व्यवस्था, संसदीय व्यवस्था र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था अपनाउँदा पनि जनतालाई अझै शान्ति प्राप्तभएको छैन। व्यवस्था राम्रो भएर हुँदो रहेनछ। शासन चलाउनेहरूले राम्रो सँग शासन गरे मात्र राजनीति सफल हुने रहेछ। नेपालमा जति पनि राजनीतिक व्यवस्था आए तिनमा शासन चलाउनेहरू लोभी पापी भएकोले प्राप्त संघीय लोकतान्त्रिक शासन व्यवस्था पनि असफल हुने प्रवल सम्भावना रहेको छ। अस्तु

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

बाल दिवस : एक सन्दर्भ

नेपालको शैक्षिक गतिविधि एक समीक्षा

धर्मनिरपेक्षताको सवाल र धर्मसापेक्षता

आत्महत्या र त्यसको रोकथाम

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु