स्वास्थ्य क्षेत्रका विकृति र डा केसीको अनसन

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७१

एक डाक्टरका लागि चिकित्सा क्षेत्र के हो – जागिर, सोख, सेवा, लत, टाइमपास जे पनि हुन सक्छ। कुनै पनि पेशा र सेवा फरक फरक कुरा हुन्। जुनसुकै क्षेत्रमा पनि कसैले गरेको पेशा सेवामुखी हुन पनि सक्छ तर सबै पेशालाई सेवा हो भन्न सकिँदैन। नेपाली समाजमा जहाँ मानवीय संवेदना जोडिएको छ, त्यही पेशा नै व्यापक रूपमा फस्टाएको छ। शिक्षा र स्वास्थ्य यस्तै विषय हुन्। तपाई भन्नुस् स्वास्थ्य र शिक्षा क्षेत्रमा जस्तो लुट यो देशमा कहाँ छ – अहिले शहर बजारको कुन गल्लीमा छैन निजी अस्पताल र स्कुल ?

प्रसङ्ग डा. गोविन्द केसीले हालै गर्नु भएको आमरण अनसनकै हो। एउटै विषयमा उहाँ पटक पटक अनसन बस्दै आउनु भएको छ। पारिवारिक मायामोहबाट केही अलग रहेर सादगी जीवन बिताइरहनु भएका डक्टर गोविन्दले जे जति माग राख्नु भएको छ त्यसलाई बुँदागत रूपमा पढ्दा ठीकै लाग्छ। सरकारबाट अधिकांश माग पूरा गर्ने सहमति भएपछि आमरण अनसन त्याग गरिनुका साथै सहमतिलाई कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइसकेको अवस्था छ। माग राखिएका विषयमा आपत्तिपूर्ण लाग्ने केही देखिँदैनन्। तर के त्यत्ति मात्र हो र ? भन्ने प्रश्न पनि उठ्छ।

डा. गोविन्द केसीले राख्नुभएको मागमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिइनुबाट रोक लगाउनुपर्ने मुख्य देखिन्छ। हालै दिइएको सम्बन्धनको स्वीकृतिको पनि खारेज गर्नुपर्ने भन्ने समेत उल्लेख छ। ताजुबको विषय, सबैजसो चिकित्साकर्मीहरू डा. केसीले राख्नुभएको मागको समर्थन गर्छन तर आफ्नो चिकित्सकीय धर्म पूरा गर्न उत्सुक छैनन्।

२०४६ सालपछि आर्थिक उदारीकरणको नाममा भएको निजीकरणको जालोले स्वास्थ्य क्षेत्रलाई आकर्षक व्यवसायको रूपमा स्थापित गर्‍यो। कुन क्षेत्रमा कति संख्यामा मेडिकल कलेज आवश्यक हो ? कति र कस्ता अस्पतालहरू आवश्यक छन् – पूर्वाधार कस्तो चाहिन्छ – जनशक्ति कस्तो हुनुपर्छ ? आदि प्रश्न अहम् छन्। यी केहीको पनि लेखाजोखा नगरी अन्धाधुन्ध रूपमा दिइएको स्वीकृतिले शहर बजारको सबै टोल विभिन्न अस्पतालका साइनबोर्डले रङगिएका छन्। के यो मानव स्वास्थ्य प्रतिको खेलवाड होइन ? अधिकांश निजी क्षेत्रका अस्पतालहरू भाडाको घरमा सञ्चालन गरिएका छन्, जुन आवासीय प्रयोजनका लागि बनाइएका हुन्। त्यस्तो घरहरूमा अस्पताल सञ्चालन गरिएको छ। न त अशक्त विरामीहरूका लागि लिफ्टको व्यवस्था छ, न त सुलभ शौचालय तथा पानीको व्यवस्था। राम्ररी स्वच्छ हावा र प्रकाश छिर्ने कोठा छैनन् । मात्र अगाडिबाट हेर्दा ठूलो आलिसान भवन देखिन्छ, भित्र पूर्वाधार केही छैन। किनकि त्यो भवन अस्पतालको प्रयोजनका लागि भनेर बनाइएकै होइन। के यस्तो जोखिम मोलेर पैसाकै लागि अस्पताल खोल्न पाइन्छ – के यी विषयहरू डा. गोविन्द केसीको मागमा पर्नुपर्ने होइन ?

डाक्टरलाई भगवानकै रूपमा हेरिने चलन अझै पनि छ। हुन पनि विरामीका लागि डाक्टर भगवान नै हुन्। भगवान रूपी डाक्टरहरूको धर्मले नै चिकित्सा पेशा आजको दिनमा गरिमामय छ। डाक्टरी विषय पढाउने र पढ्ने दुवैको लागि गाह्रो मानिन्छ। पढाउनेलाई खर्च पुर्‍याउनको गाह्रो होला, नसक्नेका लागि पढ्न। लाखौं खर्च लाग्ने डाक्टरीको पढाइको खर्च बढेर करोडमै पुगेको सुनिन्छ। कतिपय हुनेखानेहरूले आफ्ना छोराछोरीलाई विदेश पढाउन पठाउँदा धेरै नै खर्च लाग्नु स्वाभाविक नै भयो। दुर्गममा डाक्टर भएनन् भनिए पनि वर्षैपिच्छे स्वदेश तथा विदेशबाट अध्ययन पूरा गरी डक्टर हुनेहरूको संख्यामा क्रमशः वृद्धि हुँदै आएको छ। यो सकारात्मक पक्ष हो। तर डक्टरी पढाइ पास गरेर पनि मेडिकल काउन्सिलको परिक्षामा असफल हुनेहरूको संख्या पनि धेरै छ। स्वदेशमा पढेकाभन्दा विदेशबाट पढेर आएकाहरू ठूलो संख्यामा अनुत्तीर्ण हुँदै आएका छन्। यसबाट उत्पादित जनशक्तिको कार्य क्षमता र गुणस्तरमा शंका गर्न सकिने प्रशस्त ठाउँ छ। वषौर्ंको कडा मिहिनेत, अभिभावकको ठूलो लगानीका वावजुद पनि मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गर्न असफल भएपछि चर्को मानसिक तनाव हुने नै भयो।

मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्न चाहने चिकित्सकहरूका लागि पनि लोकसेवा आयोगको परीक्षा प्रणाली र पाठ्यक्रम सजिलो छैन। विदेशबाट पढेर आएकाहरूलाई त यो तालमेल नै खाँदैन भन्ने बुझिन्छ। अब सेवाको क्षेत्र भनेको निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरू नै भए। निजी क्षेत्रका सेवा कम व्यावसायिकता बढी हिसावले सञ्चालन गरिएका अस्पतालहरूमा खर्चको बोझले विरामीको ढाड सेकिने नै भयो। सबैलाई थाहा भएकै कुरा सरकारी अस्पतालमा जागिर खाएका अधिकांश डाक्टरहरू आफू कार्यरत अस्पताललाई निकै कम समय दिन्छन्। आफूले नै लगानी गरेको तथा अन्य निजी अस्पताल र क्लिनिकमै अधिकांश समय दिने गरेका छन्।

सबै डाक्टरहरू डा. गोविन्द केसी जस्ता हुन नसक्लान्। उनलाई जस्तो निजी अस्पतालहरूमा गएर काम नगर्ने इच्छा अरूमा नहोला। तर प्रश्न यत्ति मात्र हो कि सरकारी सेवामा रहेका डाक्टरहरूले निजी अस्पतालमा काम गर्न पाइन्छ ? त्यो पनि कार्यालय समयमै ? आफू कार्यरत सरकारी अस्पतालमा आएका विरामीलाई आफू कार्यरत निजी अस्पतालमै उपचारका लागि बोलाउने कतिपय डाक्टरहरू छन्। तिनलाई के भन्ने – के डाक्टरहरूको सेवाको आचारसंहिता छैन ? सरकारी सेवामा रहेका डाक्टरहरूले आफू कार्यरत अस्पतालमै काम गर्नु पर्ने, आफ्नो ड्युटी अवधिमा निजी अस्पताल र क्लिनिकमा काम गर्न नपाइने विषय डा. गोविन्द केसीको मागमा पर्नुपर्ने होइन ?

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनेको एक किसिमको सिण्डीकेट होइन। कुनै पनि क्षेत्रमा सबै ठीक र सबै बेठीक हुँदैनन्। यदि कसैले राम्रो नियतले सबै प्रक्रिया र पूर्वाधार पुर्‍याएर मेडिकल कलेज खोल्न चाहन्छ भने यसमा किन आपत्ति ? नियमनकारी निकायको अकर्मण्यतामा यो विषयलाई विवादित बनाइएको हो। भएका मेडिकल कलेजको नियमित अनुगमन गरिनु पर्‍यो। यदि आवश्यकीय कुराहरू छैनन् भने नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाउनेदेखि लिएर खारेजी प्रक्रियासम्म जान सक्नु पर्‍यो। कसैको स्वार्थ, सनक र अनसनको भरमा जे पनि हुने होइन, निश्चित मापदण्ड र प्रक्रिया अन्तर्गत चल्नु पर्‍यो। यसो गर्दा कोही कसैको प्रशंसा र आलोचना गर्नु पर्ने स्थिति नै रहँदैन। डा. गोविन्द केसीले राख्नुभएका मागहरू आफ्ना ठाउँमा ठीकै होलान्। के यी माथि उठाइएका विषयहरू पनि सोचनीय छैनन् र ?

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width