जति माया लाए पनि, जति कसम खाए पनि…
मनमा पीर त पर्ने नै भयो…
यी शब्द कवि विनोद गौचनका हुन्। यी र यस्तै कालजयी गीत सृजना गरी नेपाली वाङ्मयलाई समृद्ध बनाउन जीवनभर लागिरहने स्रष्टा हुन् कवि गौचन। यतिखेर कवि गौचन सशरीर हामी माझ छैनन्। उनको शरीर हामी माझबाट हराएको एक वर्ष पूरा भइसक्यो। तसर्थ उनै कालजयी कवि एवम् गीतकार विनोद गौचनको स्मृतिमा केही लेख्ने जर्मको गर्दैछु।
२०७० पुस २० गते शनिबारको दिन थियो। म २० वर्षको पोखरा बसाइलाई छोड्दै भरखर भरखर काठमाडांै स्थानान्तरण भइसकेको थिएँ। सखारै पोखरेली मित्रहरूको फोन आयो दुःखद सन्देश लिएर, कवि एवम् गीतकार विनोद गौचनको निधन भएछ। पोखरेली स्रष्टा एवम् मित्रहरूको एकपछि अको गरी फोनहरू आइरहृयो। यसको केही दिनअघि उनको स्वास्थ्य गम्भीर भएको खबर पनि आएकै थियो। ती सबै कुरा अहिले पनि मेरो स्मृतिमा हिजो अस्ति हो कि जस्तो गरी ताजै छन्। समय कति छिटो दौडिरहेछ, एक वर्ष भइसकेछ।
रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराको पहिलो प्याकेज कार्यक्रम साहित्य सृजना २० वर्षसम्म निरन्तर सञ्चालित भयो। १,००० भन्दा बढी साहित्य शंृखला प्रसारण भइसकेपछि यसले २०७० आश्विनमा मृत्युवरण गर्यो। यस कार्यक्रमको जन्मकर्ता र जन्मदेखि मृत्यु नहुँदासम्मको सञ्चालकको नाताले सबै सर्जकहरूको मन बिसाउने चौतारी भत्किएकोमा गहिरो दुःख लागेको छ। रेडियो नेपाल केन्द्रमा मात्र भएको अवस्था, सबै जनताको केन्द्रसम्म पहुँच नभएको परिस्थिति, अहिले जस्तो सञ्चार माध्यमको सुलभता नभएको अवस्थामा स्थानीय, भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण एवम् प्रबधन गर्ने अनि आम नागरिकले खोज्दा सजिलै पाउने, श्रोता र रेडियो नेपालबीच अपनत्व कायम गराई आत्मीयता बढाउने जस्ता उद्देश्यका लागि क्षेत्रीय प्रसारणको स्थापना भएको हो। यसमा साहित्य सृजना जस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य सबैका बीचमा र्छलङ्गै छ। अझ यसको दरिलो प्रमाण बनेका थिए कवि गौचन। थोरै तर गहनतम कृति लेखेर धेरै उचाइ र प्रसिद्धि पाउन सफल विनोद गौचन हत्तपत्त मिडियामा आउन नचाहने व्यक्ति हुन्। तर मेरो एकै निमन्त्रणामा कार्यक्रम साहित्य सृजनामा उपस्थित भएर आफ्ना विचारहरू राखेका थिए। यसबाट प्रस्ट हुन्छ कार्यक्रम साहित्य सृजनालाई उनले कुन रूपमा हेरेका थिए।
स्रष्टा विनोद गौचनसँग मैले पहिलो पटक कार्यक्रम साहित्य सृजनाको शुरुवातकै समयमा कुराकानी गरेको थिएँ। थोरै लेख्ने राम्रो लेख्ने, गुणस्तरमा ध्यान दिने, प्रभावकारी लेखन कला भएका, शान्त प्रकृतिका, साथीभाइ हाँसखेल र· रमाइलोभन्दा प्रकृतिसँग बढी रमाउने एकान्त स्वभावका कवि गौचन फुसद पाउनासाथ प्रकृतिका बरदान मानिएका हरियाली डाँडाकाँडा, मनोरम दृश्यभित्र आफुलाई सजाउन चाहन्थे। मलाई अहिले भर्खर जस्तो लाग्छ उनी र मबीच संवाद भएको। उनको सृजना र विचारका थोरै पङत्लाई धेरै पक्षबाट व्याख्या विश्लेषण गर्न सकिने खालका थिए। उनी संख्याभन्दा गुणस्तरलाई बढी जोड दिन्थे। राष्ट्रिय प्रसारण रेडियो नेपालप्रति उनको अगाध स्नेह थियो। केन्द्रीय प्रसारणको रेडियो नेपाल क्षेत्रीय प्रसारणका रूपमा आफ्नै घर आँगनमा पाउँदा यो क्षेत्र नै गौरवान्वित भएको छ भन्थे उनी। अब सबैको पहुँच सरल रूपबाट रेडियो नेपालसम्म हुनेछ भनी खुसी व्यक्त गरेका थिए। त्यसपछि करिब ४ वर्षको अन्तरालमा मैले दोस्रो पटक संवाद गरेको थिएँ। यस पटक उनी आफ्ना सुझाव साहित्य सृजनाले सुनेको र सम्बोधन गरेकोमा खुसी लागेको र आफूलाई रेडियो नेपाल र कार्यक्रम साहित्य सृजना आफ्नो जस्तो लाग्ने बताएका थिए। उनी पश्चिमाञ्चल साहित्य सृजनाको उर्बर भूमि हो भन्थे। महषि वेदव्यास, आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौडेल, कवि भूपी शेरचन, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका स्रष्टा जन्माउन सफल भूमि हो भन्दथे। कार्यक्रम साहित्य सृजनाले इतिहासको यो बिरासतलाई पछ्याउँदै वर्तमानका सर्जकहरूलाई अगाडि बढ्ने पे्ररणा दिनुपर्छ भन्ने सुझाव थियो कवि गौचनको।
विगत, वर्तमान र भविष्यको साझा संगम साहित्य सृजना कार्यक्रम बन्नुपर्ने उनको धारणा थियो। “जो पनि कवि र जे पनि कविता बन्ने क्रमलाई रोक्नु पर्दछ। यसो भनिरहँदा सिक्दै गरेकालाई रोक्नु पर्छ भन्ने होइन। उनीहरूलाई प्रोत्साहन गर्ने एउटा व्यवस्था गरौं। तर साहित्य सृजनामा प्रस्तुत हुने सामग्री र समावेश हुने व्यक्तिका लागि एउटा मापदण्ड बनाऊँ। त्यसो गर्दा यस कार्यक्रमको गरिमा बढ्ने छ। यसमा स्थान एवम् अवसर पाउने सर्जकले गौरवान्वित महसुस गर्न पाओस्। यसमा तपाईले ध्यान दिनुहोला,” उनको सुझाव मैले अहिले झलझली सझिरहेको छु। उनका र अन्य मित्रहरूका सुझावलाई मनन गर्दै मैले कार्यक्रममा मापदण्ड बनाएँ जसले साहित्य सृजनालाई एउटा उचाइ प्रदान गर्यो। आज मैले एउटा मेरो शुभचिन्तक मित्र गुमाएको वर्ष दिन भएको छ। म उनप्रति हार्दिक श्रद्धाञ्जली र उनको परिवारप्रति समवेदना प्रकट गर्दछु।
एउटा संयोग नै मान्नुपर्छ कार्यक्रम साहित्य सृजनाको अन्त्य र कवि गौचनको निधन २०७० सालमा भयो। यी दुवै घटना मेरालागि दुःखद हुन्। २०७० पुस २० गते कवि गौचनको निधन भएको हो। राष्ट्रले एउटा असल पथ प्रदर्शक एवम् सर्जक गुमाएको छ। उनको निधनले साहित्य सृजनाको क्षेत्रमा अपूरणीय क्षति भएको छ। अब उनले देखाएको बाटो अनुसरण गर्नु र उनले सृजना गरेका कृतिको अध्ययन अनुसन्धान हुनु जरुरी छ। त्यस्तै उनले लेखेका तर प्रकाशित नभएका कृतिको प्रकाशन हुनु पनि जरुरी छ। उनी सशरीर हामीबीच नरहे पनि कृतिगत आधारमा बाँचिरहने छन्। उनको आत्माले शान्ति पाउने छ। आगामी सन्ततिलाई यसले मार्ग दर्शन गराउने छ।
मेरो नजरमा कवि एवम् गीतकार स्वर्गीय विनोद गौचन नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्ने व्यक्तित्व हुन्। उनी जीवन पर्यन्त सृजनामा गुणस्तर अभिवृद्धि गर्न लागिपरिरहे। उनले थोरै लेखे, जति लेखे, मन छुने गरी लेखे। आफ्नो लेखनीको शुरुवात कथाबाट गरेका गौचनले कविता र गीत पनि लेखे। उनको पहिलो कृति “मनस्थिति” शीर्षकको कथा २०३५ सालमा प्रकाशित भएको हो। यसैमा मात्र उनी सीमित रहेनन्। नाटकमा पनि उनको योगदान कम छैन। बहुआयामिक व्यक्तित्व भएका उनलाई सबैभन्दा बढी सफलता गीतले दिलायो। उनले लेखेको गीत जति माया लाए पनि, जति कसम खाए पनि… २०३५ सालमा अरुण थापाले स्वरबद्ध गरेपछि गौचन चर्चित बने। तगारोमा रुमाल राखी भन्ने विवेक श्रेष्ठले गाएको होस् या दिलु गुरुङले नै गाएको किन नहोस् प्रायः सबै नै सर्वप्रिय भएका छन्। उनले तीन दर्जन जति गीत रेर्कर्ड गराएका छन्। “पोखरामा फुल फुल्दैन” कविता कृति भन्ने बित्तिकै उनको याद आइहाल्छ। यस्तै उनकै पहलमा लुम्लेलाई कविता गाउँ घोषणा गरेको अहिल्यै हो जस्तो लाग्दछ।
कवि एवम् गीतकार विनोद गौचनको जन्म २०१२ सालमा पोखराको बागबजारमा भएको हो। जन्मने सबैले मृत्यवरण गर्नु पर्छ। यो शाश्वत सत्य हो। तर कतिपय व्यक्तिहरू जन्मपछिका आफ्ना क्रियाकलापले मृत्युलाई जितिरहेका हुन्छन्। मरेर पनि बाँचिरहेका हुन्छन्। शरीर हराएर गए पनि कृति र कर्मले बाँच्ने थोरै भाग्यमानीमध्ये एक हुन् कवि विनोद गौचन। गत २०७० पुस २० गते भएको कवि विनोद गौचनको निधनले समग्र नेपाली साहित्य, पश्चिमाञ्चल अझ विशेष गरी पोखरेली साहित्य क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको छ। यो अवस्थामा साहित्यको एउटा विद्यार्थीको नाताले, हाल बन्द भएको कार्यक्रम साहित्य सृजनाको एक वर्षको दुःखद पीडा मनमा सँगाल्दै कार्यक्रममा स्वर्गीय गौचनले दिएको सुझाव सहयोगलाई स्मरण गर्दै यो लेखमार्फत नेपाली साहित्यको सच्चा सुपुत्र गुमेकोमा कवि गौचनको प्रथम वाषिर्क पुण्य तिथिमा उनीप्रति हार्दिक शब्द श्रद्धाञ्जली पनि अपण गर्न चाहन्छु। अन्त्यमा कवि गौचनका यिनै पङत् स्मरण गर्न चाहन्छु,
जति माया लाए पनि,
जति कसम खाए पनि…
मनमा पीर त पर्ने नै भयो…
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०