स्मृतिको पगरीमा जङ्गलीको जीवनी

Avatar प्रा.डा. यमबहादुर पौडेल
फागुन ३, २०७६

अहिले यहाँ केही समय स्मरण गरिरहुँ भन्ने खालका व्यक्ति अस्त भइसकेका छन् । ती दिवंगत भइसकेका छन् । नाम हो यिनको खड्गबहादुर “जङ्गली” ! थरगोत्र प्रवरका हिसाबले यिनी आत्रेय गोत्रीय पौडेल हुन् तर यिनले नाम राखेछन् ‘जङ्गली’ ।

पृथ्वीमा जन्मिन पाउनु दैवी संयोग हो भने मृत्युवरण गर्नु दैवी नियति ! यसर्थ जन्म र मृत्यु यी दुवैलाई दैवी नियतिका परिणाम हुन् भन्ने ठानिन्छ । मानवको रूपमा जन्म लिन पाउँदा प्रत्येक चेतनशील व्यक्तिले आफूलाई भाग्यमानी ठान्दछ । यस जन्ममा हामी चेतनशील छौँ, अर्को जन्म होला वा नहोला, यसर्थ हामी सबैले भोग गर्दै आएको हाम्रो जीवनलाई अपूर्व अवसरका रूपमा लिइनुपर्दछ ।
सम्पन्न व्यक्तिको सन्दर्भ होस् वा विपन्न व्यक्तिको सन्दर्भमा होस् यस्तो अभूतपूर्व जिन्दगीमा चुनौतीपूर्ण समस्याहरू परिघटनाका रूपमा व्यहोर्नुपर्ने हुन्छ । चुनौतीपूर्ण समस्याहरूको सामना गर्दै जाँदा कहिलेकाहीँ “ऊ र उनी असल थिए, अहिले हराए” भनिन्छ; कोही मान्छे भने समाजमा उदाहरणीय र स्मरणीय व्यक्तिका रूपमा रहिरहन सक्दछन् ।
अहिले यहाँ केही समय स्मरण गरिरहुँ भन्ने खालका व्यक्ति अस्त भइसकेका छन् । ती दिवंगत भइसकेका छन् । नाम हो यिनको खड्गबहादुर “जङ्गली” ! थरगोत्र प्रवरका हिसाबले यिनी आत्रेय गोत्रीय पौडेल हुन् तर यिनले नाम राखेछन् ‘जङ्गली’ । यिनले यस्तो नाम कहिले र कसरी राखे होलान् ? उनकै आफ्नो टिपोट नभेटिएसम्म भन्न गाह्रो छ ।
थाहा भएसम्म यिनका बुबा महाजन सर्वजित पौडेलले भारतको शिलाङको जङ्गलमा गाईपालन गरेका र बजारमा पनि व्यवसाय गरी बसेका हुँदा सोही ठाउँबाट फर्की आउँदा आफ्नो नामका पछाडि ‘जङ्गली’ उपनाम राख्न रुचाएका पनि हुन सक्छन् । गाउँमा आइपुग्दा आफ्नो घर उपल्लो पाखाको अन्तिम छेउमा रहेको भएर पनि हुन सक्छ ‘जङ्गली’ नामबाट आफू परिचित हुन रुचाए होलान् ।
नाम मात्र यिनको ‘जङ्गली’, व्यवहारमा भने यिनी सभ्य, ‘शिलाङको सम्झना’ नामक कृतिका सर्जक, हँसिलो र मिलनसार ! यिनको जङ्गली नाम नै समाजमा लोकप्रिय हुन गयो । यिनी स्वयं समाजमा सबैको आँखाको नानी बन्न पुगे । समाजसेवामा लागिरहन यिनलाई स्वाभाविक रूपमा प्रेरणा प्राप्त भई नै रह्यो । चुनावको बेला आइपुग्दा ‘कसलाई दिने भोट ?’ किसान, कामदार, महिला, पुरुष धेरैजसोले भन्न रुचाउँथे– “भोट कसलाई, यसपालि त जङ्गलीलाई ।” एक पटक उपप्रधानपञ्च भइसकेका व्यक्ति अर्को पटकको चुनावमा यी सजिलैसँग विजयी भए; गाउँघरका मुखिया, तालुकदारभन्दा माथिल्लो हैसियतका प्रधानपञ्च भइहाले ।
यी हँसिला र रसिला युवा अवस्थाका जङ्गलीलाई मैले विद्यार्थीकालमा प्रधानपञ्च हुनु अगावै देखेको थिएँ । २०२० सालदेखि लागू हुँदै आएको नयाँ मुलुकी ऐन जनसाधारणका लागि २०२१÷०२२ सालतिर मोटो गातामा प्रकाशित भएको थियो । मैले उनलाई अड्डाखानाका लेखनदासका घरबाट त्यही मुलुकी ऐन काखीमा च्यापी अध्ययनार्थ घरतिर लिई आएको देखेको थिएँ, त्यो पनि म अहिले सम्झन सक्दछु ।
विवाहको उमेर हद तोकिएको, कति–कति परका नातेदारभित्र विवाह गर्न पाइन्छ त्यसबारेमा पनि कानूनी व्यवस्थापन गरिएको मुलुकी ऐन । जसरी विवाहका अवसरमा जन्मकुण्डलीको महŒव रहन्छ, मुलुकी ऐनको पनि त्यतिबेला त्यस्तै महŒव रहेको थियो भन्न सकिन्छ । देशको प्रशासनिक कामकाज सुचारु राख्ने विधानलाई संविधान भनिएझैँ मुलुकभित्रका यावत जातजातिका परम्परामा आधारित न्वारान, व्रतबन्ध लगायतका कर्म चलाउने कर्मकुण्डली रहेछ नयाँ मुलुकी ऐन ।
हाल यिनको पारिवारिक स्थिति देख्दा आफ्नो परिपक्व उमेर, नाता परिचय, व्यावहारिक दृष्टिकोण अनि जन्मकुण्डली र कर्मकुण्डली समेतको ख्याल राख्दै यिनी आफ्नो वैवाहिक जीवनमा बाँधिएका रहेछन् कि भन्ने कुरा यस पटक मैले अड्कल गरेको छु ।
दैवी विधिको विडम्बना नै भन्नुपर्दछ वि.सं. २००२ साल भाद्र ३ गते शनिबारका दिन बुबा महाजन सर्वजीत र आमा गंगादेवीका एक मात्र पुत्ररत्नका रूपमा जन्मिएका खड्गबहादुर पौडेल ‘जङ्गली’ ७५ वर्षको उमेरमा २०७६ साल माघ १८ गते शनिबारकै दिन दिवङ्गत भए । शनिबारका दिन पृथ्वीतलमा आएका जङ्गली शनिबारकै दिन बिदा भए ।
सेतीदोभान बरागे गाउँका चित्रबहादुर तिमिल्सिनाका भनाइअनुसार मोहदत्त उपाध्याय र हरिलाल उपाध्याय पौडेल दुई दाजुभाइ थिए । मोहदत्त उपाध्याय पौडेलका क्षत्रिनीपट्टिका दुई छोरा थिए– जेठा पीताम्बर पौडेल र कान्छा सर्वजीत पौडेल । खड्गबहादुर जङ्गलीका परिवारका सन्दर्भमा उनले दुई विवाह गरेका रहेछन्– जेठी श्रीमती धर्मशीला र कान्छी श्रीमती सावित्री । जेठीपट्टि दुई छोरा जीवन क्षत्री र प्रवीण क्षेत्री अनि छोरी हुन् लक्ष्मी पाण्डे जसले हाल नेपाली कांग्रेस कास्की जिल्लाको कोषाध्यक्षको जिम्मेवारी वहन गरेकी छन् । कान्छीपट्टि दुई छोरी जन्मिएकामा हाल एक मात्र छोरी छन् कविता ।
पुख्र्यौैली परम्परा, जन्मकुण्डली र कर्मकुण्डली आदि सामाजिक यथार्थहरूमा दृष्टि राख्दै एक छोरा र दुई श्रीमतीहरूको पारिवारिक माहोलमा बाँचिरहेका खड्गबहादुर जङ्गलीको जीवनमा वि.सं. २०३७ साल माघ १७ गते शुक्रवार राति एउटा अकल्पनीय घटना घट्न पुगेको छ । मधेश र पहाड क्षेत्रका गरी १२÷१५ जनाको दस्ताले लाठी, खुकुरी र पिस्तोलसमेतका हतियार प्रयोग गरी आक्रमण गरेछन् ।
जङ्गलको छेउमा घर छ, सुनचाँदी प्रशस्त छ, नगद धन पनि छ भन्ने सुराकीका आधारमा आफ्नै गाउँठाउँको समाजमा अपरिचित गुण्डाहरूले घर घेराउ गरेछन् । आजको होइन त्यस बेलाको समृद्धिविहीन नेपालका रोजगारविहीन जवानहरूले आपस–आपसमा भने होलान्– “ल हिँड साथी ! दैव–दशा नलागोस् कोही माथि !!” भन्दै मनमन सोच्दै गए होलान्, अँध्यारोमा उकालो बाटो लागे होलान् । रातको ठीक ११ बजेतिर आक्रमण गरेछन् ।
जेठी श्रीमती माइत गएकी रहिछन्, कान्छी श्रीमती भिन्दै कोठामा सुतेकी रहिछन् । बाहिरपट्टि पालीका आडको कोठीमा खड्गबहादुर जङ्गली र नाबालक छोरा एउटै खाटमा सुतेका रहेछन् । कान्छी दुलहीका कान र घाँटीमा लगाएका सबै सुनका गहना थुतिसकेछन् । उनी अँध्यारोमा घरमाथि पुगेर चिच्याउन थालिछन् । यता जङ्गलीले काखको छोरालाई निदाएकै अवस्थामा खाटमुनि राखेछन् र हातमा हँसिया लिएर उभिएछन् ।
बाहिरबाट ढोका खोल् भन्दै ढोका घचघच्याउन थालेछन् । उनले भने भित्रबाट बलपूर्वक ठेलिरहेछन् । अलिकति ढोका खुल्न गएछ, चोरको हात ढोकाभित्र पसेको भेट्टाएछन् । उसको आँैलालाई भित्रबाट रक्ताम्य पारेर काटिदिएछन् । अर्काे एकजनाले पेस्तोल पट्काएछ । त्यो आवाज र दुलहीको गुहारे स्वर दुवै खोलापारिका अहिमन सिंह नाम गरेका धनास्वाँरे कान्छाले सुनेछन् र चर्काे स्वरमा गुहार मागेछन् ।
“जङ्गलीको घरमा के भएछ ? गुहार देऊ, गुहार देऊ !” भन्दै निष्पट्ट अँध्यारोमा कराएछन् । त्यो स्वर सुनेपछि कोठाभित्र थुनिएका जङ्गलीको साहस बढ्दै गएछ । बाँच्न पाए त गाउँलेहरू आइहाल्नेछन् भन्ने लागेछ । चोरको नाइकेले ‘हान् हान्’ त भन्दै थियो रे, परन्तु बाहिरको होहल्ला बढेपछि चोरहरू भागाभाग गरेछन् । भित्र र बाहिरबाट हानाहान गर्दा जङ्गलीका औंलामा पनि चोट लागेकै रहेछ ।
भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा घटना विवरण पुगेपछि स्याङ्जादेखि बुटवलसम्मका बसहरू र पोखरा हुँदै मुग्लिन काठमाडौँ जाने बसहरू जाँचबुझ गरिएछ । तत्पश्चात हाते रुमालले हातको घाउ छोपेका एक जना यात्रीलाई सोधपुछ गर्दा कसुरदारहरू पत्तो लागेको थियो भन्ने कुरा जङ्गली स्वयम्ले एक पटक यस पङ्क्तिकारलाई बताएका थिए ।
त्यस दिनको दुर्घटनामा श्रीमतीका गहनाहरू त लुटिए नै परन्तु भाग्यवश जङ्गलीले आफ्नो ज्यान बचाए । युक्तिपूर्वक एक मात्र छोराको समेत ज्यान बचाएका रहेछन् । त्यस दुर्घटनाबाट गाउँले बन्धुबान्धव सतर्क र सचेत हुन थाले । उनीहरूले जङ्गलीलाई गाउँको मध्य भागमा बसोबास गर्ने घरघडेरी बन्दोबस्त गर्नमा सघाउ पु¥याए । गाउँलेहरूले उहाँप्रतिको आत्मीयता र मित्रतालाई झनै बलियो बनाए । जङ्गलीले तत्पश्चात् पुरानो ठाउँको नयाँ घर छाडेर गाउँलेहरूकै माझमा अर्को नयाँ घर निर्माण गरी बस्दै आएका थिए ।
खड्गबहादुर जङ्गली एक जेहेन्दार र बौद्धिक धरातल भएका व्यक्तित्व भएर पनि औपचारिक शिक्षामा एस्एल्सीभन्दा माथि पुग्न सकेनन् । गाउँलेहरूसँगको लोकप्रियतामा रमेर हुनसक्छ उनले आफ्नो शैक्षिक गोरेटोलाई बिर्सन पुगे, अनि घरकै अभिभावक र शुभेच्छुकहरूको सुझावको अभाव भएर पनि हुनसक्छ उनी स्वयं शैक्षिक खुट्किलोमा अगाडि बढ्न सकेनन् । तथापि सामाजिक तवरमा यिनले शिक्षण संस्थाहरूको संस्थापन र सञ्चालनमा विशिष्ट योगदान पु¥याएका छन् ।
रङ्गुवा रङ्गेठाँटी मिडिल स्कूलमा मा.वि तहका कक्षा सञ्चालन गरी प्रद्युम्न पनेरु मा.वि नामकरण गराउन र शिक्षा मन्त्रालयबाट अस्थायी स्वीकृति ल्याउने कार्यमा उनको स्मरणीय योगदान रहेको छ । त्यतिबेला उनी गाउँ पञ्चायतका निर्वाचित उपप्रधानपञ्च भएका र स्कूल सञ्चालक समितिका उपाध्यक्ष समेत भएका थिए । विद्यालयको छाना टिनले छाउने क्रममा र प्रद्युम्न पनेरु मा.विको खेलकुद मैदान निर्माणमा यिनको नेतृत्व र सहयोग प्रशंसनीय रहेको छ । त्यस्तै छहरे प्रा.वि. बाँस्कोटको संस्थापक भएका हुनाले लामो समयसम्म यसको रेखदेख पु¥याएका थिए ।
बाँस्कोट गाउँमा गाडी चल्ने कच्ची मोटरबाटो निर्माणमा यिनको नेतृत्व सफल देखिन्छ । पारिवारिक सूत्रबाट बुझेअनुसार सोही बाटो निर्माणार्थ यिनले आफ्नै लालपुर्जा धितो राखी सेतीदोभानको सञ्जीवनी सहकारीबाट ऋण लिएर पनि गाउँ सेवामा योगदान पु¥याएका रहेछन् ।
खड्गबहादुर जङ्गली राजनीतिज्ञ पनि हुन् । राजनीतिक क्षेत्रमा शुरुमा उपप्रधानपञ्च, अनि पटक पटक प्रधानपञ्च, त्यसपछि जिल्ला पञ्चायत सदस्य र जिल्ला पञ्चायतकै कार्यवाहक सभापतिसम्मको जिम्मेवारी वहन गर्दै उनले राजनीतिक रूपमा यथेष्ट सेवा पु¥याएका छन् । तत्कालीन अवस्थामा यिनले गोर्खा दक्षिणबाहु प्रथम पनि प्राप्त गरेका हुन् । यिनले २०१७ साल पछिको पञ्चायत व्यवस्था, २०४६ सालपछिको बहुदलीय व्यवस्था र २०६२÷०६३ पछिको गणतान्त्रिक व्यवस्था आदि राजनीतिका सबै परिवर्तित अवस्थामा गाउँको सेवा पु¥याउँदै आएका हुन् ।
पञ्चायत व्यवस्थाका राजनीतिज्ञहरू धेरैजसो राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भई राजनीतिक सेवा पु¥याउँदै आएका देखिन्छन्; परन्तु जङ्गली भने लोकतान्त्रिक शासन व्यवस्था शुरु भएदेखि नै बहुदलीय राजनीतिलाई सहर्ष स्वीकार गरी २०७३ साल पौष १६ गते वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीको हातबाट नेपाली काङ्ग्रेसको सक्रिय सदस्यता प्राप्त गरेका थिए ।
नेपाली काङ्ग्रेसको सक्रिय सदस्यता प्राप्त गर्नु अगावै उनी र यस पङ्क्तिकारका बीचमा नेपालको राजनीति र यसको भविष्यबारे गम्भीर तवरले आपसी कुराकानी भएको थियो । नेपालमा भएका राजनीतिक परिवर्तनहरू स्वदेशकै नेतृत्वदायी व्यक्तित्वहरूको सुझबुझका आधारमा भएका हुन् वा देशबाहिरको प्रभावबाट आयातित रूपमा देखिएका हुन् ?
राणाहरूको एकतन्त्रीय शासन युगानुकूल थिएन, थाम्न खोजे पनि थमाउन सकिने खालको थिएन । त्यसैले २००७ सालको परिवर्तन अवश्यम्भावी थियो । विभिन्न देशमा आएको परिवर्तनबाट चेतनशील हुँदै आएका नेपाली राजनेताहरूकै पराक्रमबाट परिवर्तन सम्भव भएको थियो । परिवर्तनका बेला छिमेकी शक्ति सञ्चालकहरूले यहाँको आन्तरिक राजनीतिमा प्रभाव पार्न खोजे होलान्, त्यसलाई पनि स्वाभाविक ठान्नुपर्छ ।
२०१५ सालमा आमचुनावबाट निर्वाचित प्रतिनिधिहरूको सरकार बन्यो, वीपी कोइराला प्रधानमन्त्री भए; परन्तु त्यो सरकार र संसद्समेतलाई राजा महेन्द्रले अपदस्थ गरे, हटाए । राजाको त्यस कदमले राष्ट्रको आत्मामा चोट पु¥यायो । राजाप्रजा, राजा जनता सबैले त्यो आत्मघाती चोट व्यहोर्नुप¥यो । राष्ट्रिय क्रियाकलाप सञ्चालन गर्ने र हाँक्ने काम राजनीतिले नै गर्दछ, राष्ट्रको आत्मा भन्नु राष्ट्रियता र राजनीति नै हो ।
यसैले राष्ट्रियताको मर्म, लोकतन्त्रमा आधारित राजनीतिको चुरो अनुभव, राष्ट्रका अङ्ग–प्रत्यङ्ग सञ्चालन गर्न सहयोग पु¥याउने समाजवाद आदि सम्पूर्ण तत्वहरू वीपी कोइरालाको राजनीतिक सिद्धान्तमा र राष्ट्रिय मेलमिलापको नीतिअन्तर्गत हरेक नेपालीले अनुभव गर्न सक्दछ । यसर्थ, भावी युवा पुस्तालाई यसमा सक्रियताका साथ अग्रसर गराउन तथा आत्मा र स्वाभिमानसहितको सबल राष्ट्र बन्न सकोस् भन्ने सन्देश दिलाउन पनि हामीले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेसको सदस्यता लिन उपयुक्त हुन्छ भनी आन्तरिक सल्लाह दिएका थियौँ ।

हाम्रो सुझाव