वि.सं. २००७ मा नेपालबाट राणाहरूको निरङ्कुश शासनको अन्त्य भयो। मैले त्यसको भौतिक अनुभव गर्न सकिनँ। आदिकवि भानुभक्त आचार्यको वंश भएकाले घर परिवारभित्र पाँच वर्षमा अक्षरारम्भ, सरस्वती स्तोत्र, गणेश स्तोत्र हुँदै दुर्गा कवचबाट क्रमशः मेरो अध्ययनको यात्रा प्रारम्भ भयो। छ वर्षको उमेरमा अर्गला स्तोत्र र कीलक पनि मुखाग्र भयो। घरमा सबैले पढ्ने र भन्ने गरेको भानुभक्तीय रामायणका दशपन्ध्र श्लोक र पाँचदश फुटकर कविताका श्लोक समेत मुखाग्र थिए। यसरी मुखाग्र भएकाले छ वर्षकै उमेरमा मलाई चुँदीरम्घास्थित भाषा पाठशालामा चण्डी मुखाग्र बनाउन पठाइयो। म दैनिक पाठशालमा जान्थेँ। पाठशालामा बेलाबेलामा विभिन्न मानिसहरू आउँथे, ती मानिसहरूलाई म चिन्दिनथेँ। आउनेहरू विभिन्न मानिसका बारेमा चर्चा गर्थे। चर्चित मानिसलाई मैले चिन्ने कुरा थिएन। तर मलाई चर्चित नामहरू भने कण्ठस्थ हुन पुगे। चर्चामा आएकामध्ये दुर्इ चारजना दिवङ्गत भइ सकेका थिए। कण्ठस्थ हुने नामहरू थिए 🙁 शेषकान्त अधिकारी, हरिभक्त पौडेल र तोयनाथ अधिकारी, कविराज राम प्रसाद खनाल, श्रीभद्र शर्मा, गोर्वर्धन पोखरेल, सूर्यनाथ आचार्य । ब्राह्मण भएर पनि २००६ सालतिर लमजुङ दुराडाँडामा हलो जोतेका कारण लप्टन शेषकान्त अधिकारी, तोयनाथ अधिकारी र हरिभक्त पौडेलका नामहरू घर घरमा चर्चित थिए। श्रीभद्र शर्मा मेरो गाउँभन्दा आधा घन्टा जति माथि सिम्पानीका मानिस, आमाको बाका मावली भएकाले नाताले मामा। राम प्रसाद खनाल वि.सं.२००६ पुस १० गते तनहुँ सिम्पानीको बेसी टुहुरे पसलको बिर्ता बगर भन्ने खेतमा तारे र पुँवाले गोरु नारेर जोती आलु खेती गर्नेहरूमध्येका एक प्रगतिशील मानिस थिए। पुरातनपन्थीहरूले “राम्प्रसाद् कविराज भनेर सबले ठुलै गनेका थिए। तिन्ले ता अति नीचकर्म गरि फे हलो समाइदिए।” भन्दै उनको विरोध गरे। त्यो कविता मलाई आउँथ्यो। रम्घादेखि अलि टाढा पोखरेल फाँटका मानिस थिए, गोर्वर्धन पोखरेल। शेषकान्त अधिकारी, तोयनाथ अधिकारी र हरिभक्त पौडेल लमजुङ दुराडाँडाका मानिस थिए। सूर्यनाथ आचार्य चाहिँ चुँदीरम्घाकै मेरा तेह्र दिने वंशज। यी नामहरू त नेपाली काङ्ग्रेसका नेता भएका कारण पनि तनहुँका गाउँ गाउँमा चर्चित थिए।
त्यसताका ब्राÞमणका घर घरमा एउटा सिलोक भनिन्थ्यो, मलाई त्यस सिलोकको अर्थज्ञान थिएन। बुढाबुढीहरूमा समेत त्यो सिलोक मुखाग्र थियो। उनीहरूको मुखबाट सुन्दा सुन्दा मलाई पनि सिलोक मुखाग्र भयो। सिलोक थियो, शेषकान्त लप्टन् तोयनाथ तिग्ग्रे। यी दुर्इ भाइ हलो जोती बिग्ग्रे। पछि थाहा भयो, हलोजोती प्रगतिशील आन्दोलन गर्ने दुराडाँडाका यी शेषकान्त र तोयनाथहरूप्रति परम्परावादी ब्राहृमणले सिलोक मार्फत् आक्रोश व्यक्त गरेका रहे छन्। बाहुन समाजमा हलोक्रान्ति गर्ने यिनीहरू पश्चिम नेपालका प्रबुद्ध र चेलनशील पुस्तामा पर्दथे। यो पुस्ता बाहेक दुराडाँडामा चुँदीरम्घाका नातिनी रमानाथ आचार्यकी छोरी विष्णुमायाको कालिदास र दिग्विजय आचार्यकी छोरी रमाको नरकान्तसँग विवाह भएका कारण दुराडाँडा र नातेदारको नामसँग मेरो बाल कल्पना सुपरिचित थियो।
यस बाल कल्पनामा दुराडाँडाका अर्को व्यक्तिको नाम थपियो, वि.सं. १९८४ जेष्ठ १३ गते जन्मेका श्रीकान्त अधिकारीको। वहाँ वि.सं.२००४ मा सम्पूर्ण मध्यमा उत्तीण्ा गरेर वि.सं.२००५ देखि मुक्तिनाथ तिमिल्सिनासँग आधार स्कुलको तालिम लिएर पोखरास्थित बाटुले चौरको तत्कालीन स्कुलमा शिक्षक हुनु भएको रहेछ। वि.सं.२००५ श्रावण १ गते कलकत्तामा गठित नेपाल प्रजातान्त्रिक काङ्गेसका काठमाडौँको काँठतिरका एक जना एउटा आँखा कानो भएका कार्यकर्ता जोगीको भेषमा पोखरामा बसी भित्रभित्रै सङ्गठन गर्थे। पोखरामा सबैले उनलाई कानु जोगी भन्ने गर्थे । शिक्षक भएपछि श्रीकान्त अधिकारी र कानु जागीबिच गोप्य सर्म्पर्क भएछ। त्यसैले ती कार्यकर्ताले आफ्नो डायरीमा श्रीकान्त अधिकारीको नाम टिपेर राखेछन्। राणाका पोखराका बडाहाकिम धन शमशेर ती जोगीलाई पक्रने सुरमा रहे छन्। यो कुरा थाहा पाई बाटुले चौरका मुक्तिनाथ तिमिल्सिनाले रातरात पोखराबाट कानु जोगीलाई भगाई भारत पठाएछन्। नेपाल प्रजातान्त्रिक काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसलाई वि.सं. २००६ चैत्र २७ मा एकीकरण गरी नेपाली काङ्ग्रेस पार्टीबनेपछि ती कानु जोगी फेरि पार्टीको काममा पश्चिम नेपालतिर आएछन्। यता २००७ कार्तिक २६ को मध्यरातमा राणा शासनको विरूद्धमा नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्ति प्रारम्भ गर्यो। क्रान्ति सुरु भएको केही दिनपछि ती कानु जोगी लमजुङ कुन्छामा समातिएछन्। ती जोगीको डायरीमा नाम देखेपछि बडाहाकिम धन शमशेर राणाले वि.सं. २००७ साल मार्ग महिनामा श्रीकान्त अधिकारीलाई पनि समातेछ। अनि श्रीकान्तजी थुनिनु भएछ। पुस महिनाको अन्त्यतिर पोखरामा राणा शासनको विरुद्धमा ठुलो जुलुस निस्कियो। त्यस जुलुसले सम्पूर्ण बन्दीहरूलाई जेलबाट बाहिर निकाल्यो। श्रीकान्त अधिकारी पनि जेलबाट निक्लिनु भयो। त्यसपछि वहाँ राजनीति र शिक्षण पेसा दुबैतिर क्रियाशील हुनु भयो।
वि.सं २००९ सालमा तनहुँ र लमजुङका सचेत राजनीतिकर्मीहरूले दुराडाँडामा पश्चिमाञ्चल स्तरीय राजनीतिक सम्मेलन गराएका थिए। त्यस सम्मेलनको आयोजक समूहमा श्रीकान्त अधिकारी पनि हुनु हुन्थ्यो। सम्मेलनले निम्न महत्वपूर्ण निर्णय गरेको थियो। यस निर्णयले सम्मेलनका सहभागीहरूमा राष्ट्रियता र युगीन प्रगतिशील चेतना रहेको देखाउँछ :
स्वदेशी नागरिकहरूका विदेशी बैंकका खाता बन्द गरी स्वदेशमै पुँजी लगानी गर्नु पर्ने,
अंशबन्डामा परिवारका सबै जनाको समान अधिकार हुनु पर्ने,
हिउँदे खेतीको अभियान चलाउनु पर्ने,
बालवृद्ध, सुत्केरी र अशक्तका निम्ति सरकारी संरक्षण हुनु पर्ने।
अधिकारीजी वि.सं.२०१५ मा भएको संसद्को आम निर्वाचनमा क्षेत्र नं १०० बाट नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेर विजयी हुनु भएको थियो। त्यस विजयले मेरो गाउँ चुँदीरम्घामा श्रीकान्तको चर्चा झन् घनीभूत भयो। बुझीनबुझी राजनीतिक दलका गाउँमा पाइने पर्चासँग म परिचित हुन पुगेको थिएँ। यस्ता पर्चाले समेत श्रीकान्त अधिकारीसँग चिनाजानी बढाएका थिए। वि.सं. २०१७ पौष १ गते राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था लागु गरे। व्यवस्थालाई विघटन गर्दा धेरै नेताहरूलाई राजाले थुन्ने र छोड्ने गरेका थिए। को थुनियो ? को छुट्यो ? भन्ने बारेमा गाउँ गाउँमा बुढापाकाहरू चर्चा गर्थे। त्यस चर्चामा पनि अधिकारीको नाम जोडिएर आउँथ्यो। गाउँका बुढाहरू भन्थे, “श्रीकान्त अधिकारीलाई राजा महेन्द्रले थुनेनछन्। बरु २०१७ फागुन ३ गते तत्कालीन श्री ५ को सरकारबाट श्रीकान्त अधिकारीको अध्यक्षमा सुरवीर, मेरज जगत बहादुर खड्का र इन्स्पेक्टर अगम बहादुर सदस्य रहेको कञ्चनपुर, डडेल्धुरा र बैतडीका निम्ति जिल्ला दौडाहहरूको गठन पो भएछ।” हो, यस दिन १४ वटा विशेष अधिकार सम्पन्न दौडाहाको गठन भएको थियो। पौष १ गते जन निर्वाचित सरकार विघटन गरेपछि राजा महेन्द्र सरकार र जनताको घनिष्ट सम्बन्ध बनाउन र कायम राख्न चाहन्थे। यही उद्देश्य पुरा गर्न दौडाहा टाली गठन भएको थियो।
चुँदीरम्घाको विद्यालयमा शैक्षिक सत्रभरि कक्षा आठमा पढेर मङ्सिर महिनामा वाषिर्क परीक्षा दिन काठमाडौ जानु पथ्यो। यही कारण म वि.सं २०२२ को दसैँ मानेर कार्तिकतिर काठमाडौ’ पुगेँ। विद्यार्थीहरूका बिच परीक्षा बाहेक तनहुँ र लमजुङतिरका नेताका बारेमा कुराकानी हुन्थे। यस कुराकानीमा श्रीकान्त अधिकारीको नाम जोडिएर आउँथ्यो। सर्वप्रथम ग्रामीण चर्चा, पर्चा र पाम्प्लेटका माध्यमबाट मैले श्रीकान्त अधिकारीलाई राजनीतिक र सामाजिक कार्यकर्ताका रूपमा अभौतिक रूपबाट चिनेको थिएँ। भौतिक रूपबाट वहाँसँग भेट गर्ने अवसर भने काठमाडौँमा जुरेको हो। भेट गरेको समय भने अहिले याद छैन। सानो कक्षामा पढ्ने विद्यार्थी भएका कारण मेरो भेटले वहाँको सामीप्यता पाउन सकेन। तर वहाँको सामाजिक कार्य सुनेर म केटाकेटीदेखि नै प्रभावित थिएँ। त्यसैले वहाँको बसोवास कास्कीको पचभैयामा समेत छ भन्ने मलाई बाल्यकालमा नै थाहा थियो। म प्राध्यापन कार्यको सिलसिलामा सरुवा हुँदै वि.सं.२०४० तिर कास्कीस्थित पृथ्वी नारायण क्याम्पसमा पुगेँ। कास्कीका सभा समारोहमा मेरो वहाँसँग भेटघाट र कुराकानी हुन थाल्यो। पुरानो भेटको नवीकरण भयो। भेटघाट र कुराकानी केवल औपचारिकतामा मात्र सीमित थिए। पचभैयाका समाजसेवी भोजराज सुवेदी र पोखराका पुराना पत्रकार केशवराज पराजुलीका साथमा पनि मैले वहाँलाई पटक पटक भेटेको थिएँ। यस्ता भेटले बाल्यकालमा श्रीकान्तबारे बनाएका बिम्ब र पोखरामा हुँदाका साक्षात्कारबिच तुलना गर्ने अवसर प्राप्त भयो।
वि.सं. २००७ पछि क्रमशः देशभर नेपाली काङ्ग्रेसको प्रभाव विस्तार हुँदै थियो। त्यसताका प्रभाव विस्तार भइ सकेको अर्को राजनीतिक पार्टीथियो, गोर्खा परिषद्। नेपालमा १०४ वर्षसम्म शासन गर्ने राणाहरूको सर्मर्थन पाएर बनेको यो पार्टीदेशभरका मुखिया, जिम्मावाल, चौधरी, जमिन्दार जस्ता सामन्तीहरू संलग्न, वैचारिक दृष्टिले पुरातनपन्थी र अप्रगतिशील थियो। यस पार्टीको पनि देशभर राम्रो पकड थियो। यसैले वि.सं. २००७ मा जाहानियाँ निरङ्कुश शासनको अन्त्य हुनासाथ संविधान बनाउनका निम्ति तत्कालीन अन्तरिम संविधानको व्यवस्था अनुसार विधान परिषद्को निर्वाचन गराउन प्रधान मन्त्री मोहन शमशेर अत्यन्त आतुर थिए। तर त्यस समयका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला भने प्रधान मन्त्री मोहन शमशेरको आतुरताप्रति चासो दिँदैनथे। तत्काल निर्वाचन भएमा विधान परिषद्मा गोर्खा परिषद्को बलियो पकड हुन सक्ने भयले विश्वेश्वर प्रसाद कोइराला यो निर्वाचन अन्तरिम संविधानले तोकेको समयभन्दा दुर्इतिन वर्ष ढिलो होस् भन्ने विचार राख्दथे। यो विचार वेलावेलामा गणेशमान सिंहले आफ्ना कार्यकर्ताको पङ्तिमा व्यक्त गर्नु हुन्थ्यो।
नेपाली काङ्ग्रेस युद्धस्तरबाट स्थानीय तहमा व्यापक रूपले सङ्गठन विस्तार गर्न लाग्यो। यस समयमा श्रीकान्त अधिकारी पोखराको बाटुले चौरस्थित विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। प्रजातन्त्रप्रति गोप्य रूपमा कार्य गरे पनि वहाँ राजनीतिक दलसँग वि.सं.२००७ पछि खुला रूपले आबद्धता जनाउनु भएको रहेछ। अबद्धताका कारण वहाँले शिक्षक पेसा अनुकूल हुन सकेन र छोड्नु भयो। फलस्वरूप वहाँलाई संसद्मा पुग्ने अवसर प्राप्त भयो। संसद्मा पुगेर वहाँले वि.सं. २०१७ साउन २८ गतेको प्रतिनिधि सभामा पश्चिमाञ्चलवासीले सम्झनै पर्ने एउटा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्ताव थियो “कार्तिक १ गतेदेखि माघ मासान्तसम्म राजधानीका मन्त्रालय लगायत सबै अड्डाखानाहरू पोखरामा सारियोस्।” वहाँको सङ्कल्प प्रस्तावमाथि संसद्मा चर्काचर्की बहस भयो। नेपाली काङ्ग्रेसका सभासद् बल बहादुर राई, राधाकृष्ण थारू, मणिराम शास्त्री, दिल बहादुर बुढा थापा, गणेश कुमार शर्मा, पुष्कर नाथ शर्मा, खड्ग बहादुर कार्की, नवराज जोशी र पृथ्वीराज कँडेलहरूले यस सङ्कल्प प्रस्तावको समर्थनमा बोलेका थिए। तर वहाँका राजनीतिक सन्निकट र आत्मीय नेता तत्कालीन गृहमन्त्री सूर्य प्रसाद उपाध्यायले संसद्मा यस प्रस्तावको चर्को विरोध गरे। अनि त यो सङ्कल्प प्रस्ताव पास त हुन सकेन तर यसरी नेपालमा गृष्म कालीन र शीत कालीन दुर्इ वटा राजधानी बनाउने वहाँको शोच प्रगतिशील र प्रशंसनीय थियो।
म केटाकेटीमै काठमाडौँमा बस्न थालेको। उमेर वा वयले समेत हाम्रो सहकार्य सम्भव थिएन। विद्यार्थी हुँदा वहाँप्रति अनौठो आकर्षण थियो। मेरो अध्ययन क्षेत्र विस्तार हुँदै जाँदा यो आकर्षणको प्रभाव सघन हुन पुग्यो। पश्चिमाञ्चल क्षेत्रमा राजनीतिक रूपबाट असल र ठुलो मानिस ठानिने श्रीभद्र शर्मासँग श्रीकान्त अधिकारीलाई मैले तुलना गर्न थाले’। मेरो विद्यार्थीको स्वार्थले श्रीकान्त अधिकारीलाई श्रीभद्र शर्माभन्दा असल मानिस ठान्यो। राजनीतिक समर्पण र तत्कालीन शक्तिकेन्द्रको सामीप्यताका दृष्टिले श्रीभद्र शर्मा श्रीकान्त अधिकारीभन्दा धेरै अगाडि हुनु हुन्थ्यो। तर शर्माले यो समर्पण र शक्तिलाई तनहुँको शैक्षिक विकासमा उपयोग गर्नु भएको देखिएन। धेरै पछि मैले श्रीभद्र शर्मासँग यो गुनासो पोखेँ र श्रीकान्त अधिकारीको शैक्षिक योगदान सम्झँदै दुराडाँडामा वहाँको सक्रियतामा वि.सं.२०१० मा खोलिएको सवोर्दय स्कुलको चर्चा गरेँ। वहाँले आधुनिक शिक्षाको ज्योति दुराडाँडामा पुर्याएको र धेरै डाक्टर, इन्जिनियर, विद्वान्, प्रशासक, पत्रकारहरूको प्रारम्भिक शैक्षिक क्रीडाभूमि सवोर्दय स्कुल नै भएको स्मरण गराएँ। आधुनिक शिक्षाको विद्यालय खोलाउने प्रयास गरेको भए, काठमाडौँ जान नसक्नेहरू चुँदीरम्घातिरै पढ्थे। सायद मजस्ता केटाकेटीले रुँदै रुँदै पाँचछ दिन लगाएर पहाड र काठमाडौँ ओहोर दोहोर गर्नु पर्ने थिएन। श्रीभद्रप्रति मेरो यो भावुक अभिव्यक्ति थियो। मैले वहाँबाट चित्त बुझ्दो जबाफ पाइनँ। किन यस्तो भयो – मैले आफूभित्र प्रत्युत्तरको खोजी गरेँ। अधिकांश समय श्रीभद्र शर्मा काठमाडौमा नै बस्ने मानिस। विद्यार्थीकालमा मात्र होइन, प्रजातन्त्रको सूत्रपातपछि पनि काठमाडौमा वहाँका दिनचर्या प्रायः केन्द्रित हुन पुगे। श्रीकान्त अधिकारीका दिनचर्या भने पहाड, पोखरा वा दुराडाँडातिर थियो। त्यसैले श्रीकान्त अधिकारीले झैँ चुँदीरम्घातिर श्रीभद्र शर्माले विद्यालयको खुलाउन सक्नुभएन छ कि ?
श्रीकान्त अधिकारी राजनीतिमा कष्ट भोग्न नखोज्ने मानिस। वहाँले सहज परिस्थिति र परिवेश अनुकूल समाज सेवा गर्नुभयो। वि.सं.२००७ पूर्व र २०१७ पछि पनि श्रीभद्रले प्रतिकूलता र कष्टकर जीवनको राजनीति गर्नुभयो। तर कष्टकर जीवनमा वहाँ लामो समय अड्न सक्नुभएन। जेलबाट छुटेपछि श्रीभद्र शर्मा पनि वि.सं.२०१७ देखि श्रीकान्तले राजालाई समर्थन गरेर हिडेको राजनीतिक बाटोमा हिड्न थाल्नु भयो। नेपाली काङ्ग्रेसभित्र श्रीकान्त अधिकारी सूर्य प्रसाद उपाध्याय निकट मानिनु हुन्थ्यो। मलाई लाग्छ, यस उपाध्यायसँगको निकटताले गर्दा श्रीकान्तजी राजाको निकट भएर पनि सन्निकट हुन सक्नु भएन। राजाको नभए पनि समाजको सन्निकट रही देशसेवा र जनसेवा गरी वहाँले मानव जीवन सफल बनाउनु भयो। त्यसैले वहाँ समाज सेवी र राष्ट्रसेवीका निम्ति प्रेरक व्यक्तित्व हुनु हुन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०