स्कुलको पढाइ जीविकोपार्जनको लडाइँ

शेषराज भट्टराई
जेठ २४, २०७८

मान्छेहरू बाँच्न सहज होस् भन्ने हेतुले कलम कापीसँग रगडिने गर्छन् । पढ्नु मानव चोलाका लागि राम्रै होला भन्ने लागेको छ सबैलाई । मान्छेले मागेर खानु नपरोस्, कसैसँग हात पसारेर खानु नपरोस्, बरु खुट्टा नै पसारेर खान पुगोस् भनेर बुद्धिजीवी बन्ने ध्याउन्नमा स्कुल पढ्ने गरिन्छ । पढ्ने रहर या बाध्यता, देखासिकी जे भए पनि सुयोग्य पात्र बन्नलाई पढाइ रोज्ने खोज्ने गरिन्छ । परापूर्व कालमा पढ्नै पर्छ भन्ने थिएन । उहिले समाजमा कसै कसैले पढेदेखि पूरै गाउँलाई पुग्थ्यो । पूरै देशलाई पुग्ने गरी एकाध विद्वान् तयार हुन्थे । विश्वभरिमा हात खुट्टाका औैंलाभरिमा गन्न मिल्ने विद्वान्हरू हुन्थे । तिनले विश्व चकित पार्ने गरी खुबी, खजाना देखाएर छोड्थे । ज्ञानको खाँचो परे तिनैलाई गुरु थापना गरेर टुप्पी कसेर घुँडा धसेर पढिन्थ्यो । तर अहिलेको भन्दा को कमको जमाना चलिरहेको छ । कसैले कसैलाई टेर्ने वाला छैनन् । एक विद्यार्थी एक शिक्षक राख्छु भने पनि पुग्ने गरेर गुरु फैलिएका फक्रिएका छन् । एक किसिमको चरम स्वावलम्बी जमाना सुरु भएको छ । यसैले गर्दा नै सिंगो विश्व जगत् नै बौद्धिक चोरी धन्दामा रमाइरहेको छ । भने जति खर्च गरेर भनेजस्ता शिक्षक झिकाएर भने जस्ता जनशक्ति उत्पादन गर्न विश्व बजार लागिपरेको छ । नेपाल देशको मामलामा विगत अतीत कस्तो थियो यो कसले बताइ दिने कसैलाई फुर्सद छैन । सबैलाई नाकको पोरा फुलाएर अरुको गन्ध सुँघ्दै ठिक्क छ । आफ्नो आङ कन्याएर छारो उडाउन कसैलाई मन छैन । आफ्नो कथ्य तथ्य कति सत्य छ, प्रस्तुत लेखमा विमर्श गरौं ।

सजिलो थियो मेरा पालामा स्कुल पढ्न । कापी कलम, झोला केही चाहिंदैन थियो । शिक्षक नै नभए पनि अक्षर छिचोलिन्थ्यो । पाटीमा धुलो छरेर धुलौटे पाटीमा सिन्काले कोरेर ज्ञानार्जन गरिन्थ्यो । यसै गरी मेहनत गरेर त्रिकालदर्शी पण्डित बनिन्थ्यो । सबैले खुट्टै समाएर ढोग्थे । अहिलेको जस्तो सलाम स्यालुटलाई उस बेलामा लुटको संज्ञा दिइन्थ्यो । अहिले माथि स्यालुट गर्दै तल बुटले टेक्छन् । असल कर्म गरे बाटो छेक्छन् । आधुनिकतामा सबैले बाबुको बिहा देख्छन् ।

उहिलेको, अनादि अपौरुखेय वेद (ज्ञान) का कारणले नै अहिलेका विद्वान् तयार भएका हुन् । जिससक्राइस्टले तयार गरेको बाइबल, पैगम्बर मोहम्मदले तयार गरेको कुरान, महात्मा बुद्धले तयार गरेका बौद्ध धर्मशास्त्र पौरुखेय र आधुनिक धर्मशास्त्र मानिन्छन् । वेदको मद्दतले अन्य धर्मशास्त्र ज्ञानको उदय भएको हो । आज हामी तिनै शिक्षा ज्ञानको सेरोफेरोमा तेरो मेरो भन्दै हर तरहले आआफ्नो पाराले फन्को मारिरहेका छौँ ।

मेरा पालामा बाबु आमाले हाकाहाकी नपढ स्कुल नजा भन्थे । छोराछोरीले लिटो छोडेर ढिंडोसँग लडाइँ गर्ने भइसक्दा पनि शिक्षालय र गुरुलाई चिन्दैन थिए । को गुरु को गोरु चिन्ने जान्ने कष्ट हुँदैन थियो । अहिलेको जमानामा लिटो खाँदा खाँदै छिटो छिटो स्कुल धकेलिन्छन् । गुरु र गोरु खुट्याउन लगाइहाल्छन् । आमा बाबु शब्दलाई लात मारेर मम्मी ड्याडी घोकाउँछन् । बोक्नै नसक्ने पुस्तकको भारी बोकाउँछन् । नेपाली भाषालाई लात मार्दै अंग्रेजी घोकाउँछन् । जन्म दिनमा तोरण बाटेर पूजापाठ होइन, केक काटेर माया साटेर बत्ती निभाउँदै हर्क बढाइ गर्छन् । आज संस्कार संस्कृति नैतिक शिक्षा न गुरुले जान्छन् न शिष्यलाई सिकाउँछन् । हामीलाई फेदबाट पढाउँथे, अहिले टुप्पोबाट पढाउँछन् । ठिक उल्टो गरे पछि ठूलो भइने मान्यता विकसित भएको छ । उल्टो गर्नेलाई उल्टै व्यवहार गर्ने भनेर होला सरकारले पनि सरकारी स्कुल पढेकालाई मात्रै सरकारी जागिर दिन्छ । बोर्डिङ पढेकालाई लोप्पा खुवाइदिन्छ । आज आफूलाई सरकारले हरकुरामा लोप्पा खुवाएर होला, अरु कुरा खानै मन लाग्दैन ।

स्कुलको पढाइ अहिले त पिँधबिनाको अम्खोराको अवस्थामा छ, विश्व जगत् नै बौद्धिक चोरी धन्दामा रमाइरहेको छ

मेरा पालामा पढ्न लेख्नभन्दा पनि काममा जोतिनु पथ्र्याे । बार पन्ध्रवटी अनपढ स्वास्नी घर भिœयाइन्थ्यो । स्वास्नीहरू अनपढ नै भए पनि सन्तान कसरी जन्माउनुपर्छ भन्ने मामिलामा सिद्धहस्त र सिपालु नै हुन्थे । सृष्टिले निरन्तरता पाउने भनेकै यस्तै यस्ता टाठाबाठाले गर्दा हो । शिक्षाको हकमा पनि त्यही नियम लागु हुन्छ । पढाइका अनेक तौर तरिका बदलिए पनि मानव सृष्टि गर्ने गाँठी कुरा भने पुरानै कायम छ ।

गुरुकुलमा गुरुहरूलाई जति धेरै समर्पणभाव दर्शाउन सक्यो । उति नै धेरै पासमात्रै होइन प्रथम नै बनाइदिन्थे । अलिअलि खुट्टा बांगो पारेर हल्लिएपछि उत्कृष्ट नर्तकको पगरी पाइन्थ्यो । सबै कुरा जान्ने पढाइमा प्रथम भएपछि घरमा पनि प्रथम श्रेणीको दूधभात बजाउन पाइन्थ्यो । लुगा पनि अरुले भ्वाङ परेको फाटेको लगाउँथे भने प्रथमलाई फाटेको लुगामा गज्जबले टालो हालेर टालेको पाइन्थ्यो । अरुले काम गरेर ठूला ठूला पसिना बगाउँथे भने प्रथम भई टोपलेकाले सानु सानु पसिना बगाए पनि हुन्थ्यो । अरुले गल्ती गरिहाले भने डकारुन्जेल थप्पड खान्थे भने आफूले भयो भनुन्जेल गाली खाइन्थ्यो । प्रथम हुन सके धेरै कुरा काखैमा आउँथ्यो सहुलियत पाइन्थ्यो । त्यसैले सबै गुरुलाई जसरीसुकै पढाए पनि मतलब नराखी खुरुखुरु दर्शन ढोग गरिन्थ्यो । नभन्दै प्राक्टिलकमा त गुरुले सातपत्रे नै फर्काएर पासांक दिन्थे । आज त्यही प्राक्टिकलले गर्दाखेरी नै कलम नजोते पनि डकार्न पाइएको छ । थाप्लामा नाम्लाको डाम र ढाडमा भारी बोक्दाको निसान छाप अमिट भए पनि जिउन पिउन सजिलो भएको छ । बरु सरको चाकरी कम गरेर पढाइको भकारी भरेको भए सरजस्तै आधुनिक गुरु बन्ने सम्भावना प्रबल हुन्थ्यो । त्यसैले होला आज मलाई नसोचेको नसम्झिएको गौंडा गल्छीडामा गोरु भन्नेहरू मौलाइरहेको आभाष भएको छ ।

स्कुलको पढाइ अहिले त पिँधबिनाको अम्खोराको अवस्थामा छ भने ऊ बेलामा त मै राम्री मै पातलीको अवस्था थियो । कतिखेर आउने कतिबेर जाने ठेगान थिएन । के पढ्ने, के पढाउने गुरुको एकल इजलासमा भर पथ्र्याे । सिंगो स्कुलमा न गुरुवर्गको हाजिरी कापी थियो न विद्यार्थी वर्गको । कक्षाबाट अचानक सुइँकुच्चा ठोक्न न गुरुलाई वर्जित थियो न विद्यार्थीलाई । मतुवाली सरले कुल पितृ देवी देउतालाई पनि मदिरा नै चढाउने भएर होला साथमा खोया बिर्के लोकल हरदम हुन्थ्यो । खोया बिर्के गोजीमै भए पिएर पिट्थे नभए खान नपाएको रन्कोमा फन्को मारुन्जेल पिट्थे । अनाहकमा सन्कीको तालमा गोरु चुटाइ खाएर पाएको ज्ञान हो मेरो के गतिलो होस् । अटेर गर्लाजस्तो विद्यार्थी देखे भने खोया बिर्केको पावर पाइन देखाइहाल्थे । फाटेका दौरा सुरुवाल फाटेको टोपी, फाटेकै आस्कोट, बिना पाउपोस स्कुल आयो । विद्यार्थीको सातो खायो । महिना मर्छ, तलब खायो । घर गयो बुढियालाई चुप्पा खायो । गुरुहरूको जिउने पिउने कला अनुकरणीय नै थियो । विद्यार्थी वर्गले चाहिँ घरबाट नै भगवान् पुकार्दै जानुपथ्र्याे, आज कुनै पनि गुरु गोरु नबनुन् भनेर ।

विद्यार्थीको लुगामा पनि एकरुपता थिएन । फाटेको, उध्रिएको टालेको, मागेको, जडौरी, सानु, ठूलो, सफा, मैलो, उपजीव उडुस, जुम्रा नै बोकेर स्कुल गए पनि अक्षर हेर्ने हो जुम्रा हेर्ने होइन । बिनाभिœयाँस सुरुवाल कट्टु नै नलगाई दौरामात्रै लगाए पनि दौराको फेरले लजाउने तन्तु ढाकछोप गर्न मिल्थ्यो । एक पटकको कुरा हो, बाबु आमाले स्कुल नजा भनिराखेका थिए । नटेरी एउटा कानले सुनेर अर्को कानले उडाउँदै दौरमात्रै लगाएर स्कुल दौडिएँ । स्कुल छउञ्जेल त जसै तसै लाज ढाकेकै थिएँ । छुट्टी भएपछि एउटा छुसीले लाजको त्यान्द्रो देखेर झुत्ती खेल्दै कुरीकुरी भन्दै आफ्नो चुरी फुरी देखाउन थाल्यो । एक कान दुई कान मैदान । स्कुलमा बस्नै नहुने गरी खुनखार अपराधीले प्रवेश गरेझैं हल्ला फैलियो । त्यतिखेर मलाई प्राचीन वनमान्छेहरू नै ठीकजस्तो लाग्यो । जसोतसो लाजको त्यान्द्रो सही सलामत जोगाएर बहादुरीका साथ घर आएँ । एक हप्ता स्कुल नगई टालेका सुरुवाल र कट्टुका मद्दतले सधैँ लाजलाई बाइ बाइ गरें । तिनै कुरीकुरी भन्ने साथीहरू आज बेलायतको नुन खाँदै बुट बजारी रहेका छन् भने म चाहिँ नेपालकै परम्परा संस्कारवादी सिन्दुर चुरा लगाउने महिला गणको पोतेमा झुन्डिएर आफू र आश्रितको गोजेरो भर्नमा व्यस्त छु ।

विद्यार्थीहरू र गुरुहरूका समान प्रकृतिका लुगा हुन्थे । खाने कुराचाहिँ गुरुहरू गन्हाउने झोल र चुरोट बिँडी हाकाहाकी दन्काउँथे । जस्तोसुकै लगाउन जेसुकै खाऊन् तै पनि विद्यार्थीहरू गुरु भनेपछि भुतुक्कै हुन्थे । गुरुमा रौद्ररूप सवार हुँदा असारेका लट्ठीले नाङ्गो कलिलो तिघ्रामा सुम्लो बसुञ्जेल पिटे पनि स्कुल छोड्न सकिएन । सर नमस्कार भन्न पनि छोडिएन, बाटोमा भेट्दा मुख पनि मोडिएन, माया पनि तोडिएन । बरु हप्तामा २÷३ पटकभन्दा पढाउँदैनथे । खेल्न पाउने भएपछि हामीलाई त्यस्तै सर ठीक लाग्थ्यो । होमवर्क पनि नदिने प्रश्न पनि पटक्कै नसोध्ने सर कहाँ पाउनु ? असाध्यै जाति लाग्थ्यो । भूगोल र भाग्यले साथ दिएपछि यस्तै हुन्छ । बेन्चमा बसेर पढ्न त सरको सन्तान र आफन्त नै भएर जन्मिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । धुलाम्य चिसो भुइँमा बस्यो, कमिला कीरा मार्दै ठिक्क हुन्थ्यो के को पढाइ ? उफ्रीपाफ्री ग¥यो भात पचायो, लुगा फटायो । घर फर्किएर प्रथमको धाक लगायो । बाबुआमाको पाँचतारेमा सिदोपिठो ज्यूनार ग¥यो, नमिठो लागे आँखा त¥यो, च¥यो, छ¥यो सजिलै थियो । वर्ष सकिएपछि कक्षा चढाइ दिइहाल्थे । बीस, तीस कक्षा भए पो गारो जम्मा दश कक्षा त हो । अहिले कक्षा बढेर जम्मा बाह्र भाछ । मदौरुले माडखाए पो धामीले फुकेको लाग्यो भनेझैँ हामी विद्यार्थीले मजाले माड खाइन्थ्यो । अनि सरले पढाएझैं गरेर फुकेको लागिहाल्थ्यो । त्यसेैले फेल हुने त कुरै भएन । सरका शत्रुपत्रु पनि पास हुन्थे । जसैतसै स्कुल पढेर सकेको भने पछि शानमान नै अर्कै हुन्थ्यो । गाउँका सबैको चिठीपत्र पढ्ने लेख्ने काम आफ्नै काँधमा आइपथ्र्याे । त्यसपछि क्याम्पसको धाक लगाएर छाक टार्ने दिनको उदय भयो ।

स्कुलको दयनीय कारुणिक अवस्था पार गरेपछि कलेजको भयानक दारुणिक अवस्थासँगै पौंठेजोरी खेल्दै छल्दै ठेल्दै पेल्दै पहिला टालेटुलेका वस्त्र धारण गरिन्थ्यो भने अब अस्त्रसमेत धारण गरेर बेहद पार गरिन्छ । साप्रा, कद, देखाएर उध्रिएका, छिद्रिएका असभ्य हाउभाउ र व्यवहारमा गुरुले पनि लगाम लगाउन छोडी दिन्छन् । उच्च शिक्षाभन्दा पनि तुच्छ शिक्षार्जन गरिन्छ । एक दिन दुई दिन गर्दा गर्दै फुली लगाएकासँग मिलीजुली गृहस्थास्श्रममा प्रवेश गर्न मन लाग्छ । लाप्पा कुस्ती खेल्दा खेल्दै साना साना सन्तान पनि खेलाउन मन लाग्ने उत्कट इच्छाले गाँजे, कुत्कुत्याएपछि नर्कमा घोप्टो परेर स्वर्ग पुगेको आभाषमा रमाउने दिन आउँछ । अनि बाबआमाको जस्तै पाँच तारेमा चराउँदै अ आ इ ई ए ऐ ओ औं पढाउँदै दिन काटिन्छ । असली मानवको एकसरो जीवन चक्र यही हो । यति पनि गर्न नसकेर कोही पहिले नै मर्छन् त कोही हार खाएर पछि मर्छन् । तर मान्छे लाठे तिघ्रे बनेपछि बिग्रे भनेर जाने हुन्छ । भनेको टेर्ने, राम्रो गर्ने भनेको साप्रा सानो छउन्जेलमात्र हो । सन्तानको साप्रा ठूलो भएपछि बाबुआमाको साप्रा लुलो हुन्छ । लुलाले ठूलासँग जोरी खोज्नु भनेको आफूले आफ्नो खुट्टामा बन्चरो हान्नु हो । अहिले देश चलाउने नेता र तिनका आसेपासे सबै तिघ्रे हुन् । यिनले देश बनाउनेभन्दा पनि बिगार्न औधी रुचाउँछन् । तिघ्रा लुलो भए पनि मुटु धनु दरो र ठूलो थियो । मौका मिले चौका हान्ने थिएँ र भाले बनेर पोथीको सिउरमा टोक्दै ठोक्दै मास्दै छास्दै ‘देशमा उज्यालो भयो’ भनेर बास्ने विचार गरेको छु । पढाइको सदुपयोग त गर्नै पर्‍यो। जे पर्ला पर्ला समयले गर्ला ।

Related News

सम्बन्धित समाचार

    • ठूलो पानी पर्‍यो कि सम्झिहाल्छु

      युवराज खनाल असार ८, २०७८
      पाइला पाइलामा चुनौती व्यहोर्ने मान्छेले नै जीवनको मोड लिन्छ र उ ठक्करै ठक्करले खारिन्छ अनि सफल बन्छ । जीवनमा सिधामात्र…
    • सम्झनामा आत्मीय मित्रहरु

      भूपनिधि पन्त असार ७, २०७८
      सामान्यतः मित्र भन्ने शब्द गोल बोलीमा प्रकट गरिन्छ । तर काल विभाजन अनुसार तुलना गर्दा बाल्यकालका मित्रहरु क्रमशः बिर्सदै गरिन्छ…
    • कोभिड–१९ महामारीविरुद्ध रोटरी अभियान

      रविप्रसाद बराल असार ६, २०७८
      विश्वमा कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको…
    • कुँवर, राणा र राष्ट्रिय राजनीति

      प्रा.डा. यमबहादुर पौडेल जेठ २९, २०७८
      हालको पोखरा १४, मझेरीपाटनमा सूर्यवंशी वत्स गोत्रीय कुँवर खलकमा जन्मिएका व्यक्ति हुन्–क्षेत्रबहादुर कुँवर । यिनको वंशज–वृक्ष हेर्न खोज्ने हो भने…
    • राष्ट्रसेवकहरुको अतृप्त अभिप्रेरणा

      भोला शर्मा जेठ २५, २०७८
      विश्वको जुनसुकै देशको सार्वजनिक सेवा प्रवाहमा त्यस देशका राष्ट्रसेवक कर्मचारीहरुको बृहत्तर भूमिका रहेको हुन्छ । फरक फरक सोच, क्षमता, कार्यशैली,…

    hero news full width