सुन नून भएपछि र नून सुन भएपछि

आदर्श समाज सम्वाददाता
फागुन १७, २०६९

‘ए शुक्रे !, पाखातिरट शहराँ आउँदा सुकेका झिक्रा ल्याइदे न।’ धनपति मुखियाले भन्यो। सक्तिनँ नि मुखियासाहेब ! दुइटा बाल्टिनमा दूध बोक्नुपर्छ।

कति बुद्धि नभएको बजिया रहेछ ? दुइटा हातमा बाल्टिन झुन्ड्याएस्, अनि पिठ्युँमा चिलाउनेको सुकेको झिक्रो बोकेस्। शरीरलाई काम पनि पुग्छ, नून तेलको लागि दाम पनि हुन्छ। यी पखेलीले पैसाको मूल्य किन नचिनेका होलान् हँ – मुखियाबाले थप्यो।

हुन्छ हुन्छ मुखिया बा। घरमा मेरो दुर्इ महीनाको छोरो छ। त्यस छोरालाई झोलुङ्गामा सुताएर डल्लीलाई दूध बोकाउँला र मचाहिं झिक्रा बोकुँला हामी दुवै सँगसँगै आउँला। बच्चाको  माया छ भन्दैमा अरु काम नगरी खान पाइन्न क्यारे। जम्मा कतिवटा झिक्रा चाहिने हो कुन्नि !

तेरो घर, वनभित्र छ, छरछिमेकी पनि कोही छैनन्। दुर्इ महीनाको शिशुलाई झोलुङ्गामा सुताएर डल्लीलाई दूध बोकाएर आउँदा त त्यस बच्चाको बिचल्ली हुन्न र ? मुखियाले सहानुभूतिको शैलीमा बोल्यो।

त्यही बच्चा जन्मिदा आमाको अप्रेसन गर्नुपर्‍यो, ऋणको दहमा चुर्लुम्म डुबिएको छ। बच्चाको र आमाको कम माया लाग्छ र ?, मायामा, काया फाल्न सकिदो रहेनछ के गर्ने र खोइ ? शुक्रेले विवशता जाहेर गर्‍यो।

तेरो कुरो तँ आफै जान् शुक्रे ! तेरो छोरो मरोस् कि बाँचोस् मलाई के मतलब। मलाई दशवटा झिक्रा भए पुगिहाल्छ, तर चाँडै नै ल्याइदे, चिचिन्डा, घिरौंला, काँक्रा र करेलाका बिरुवा लहलह भइसकेका छन्।

हुन्छ, हुन्छ मुखिया बा ! म झिक्रा ल्याइदिउँला, तर झिक्रा लिएर आउँदा भने भरखर सुत्ला पसेका मकै बाँदरले स्वाहा पारिदिने पो हुन् कि ? शुक्रेले आशड्ढा व्यक्त गर्‍यो।

तँसँग पैसा पो छैन। तँ बजियाका पाखुरा बलिया भएकाले खोरिया त प्रशस्तै फाँडेको छस् नि। पाखो पखेरो धेरै नै जम्मा गरेको छस्। ढेंडो, रोटो त प्रशस्तै खाएकै छस् र जहानबच्चा पालेकै छस्। कहिले कहिले त धानको भात पनि खाँदो होस् नि। यसपटक झिक्रा बोकेको ज्याला धान नै  लैजालास्। झिक्रा बोकेर आउँदा तेरा लोग्नेस्वास्नी दुवैलाई एक छाक जेठोबूढो धानको भात राम्ररी खुवाइदिउँला, हुँदैन त शुक्रे !

शुक्रे र मुखियाबाको बीचमा यो संवाद भएको छ महिना पनि बितेको थिएन। यी दुवैको जीवनमा ठूलो भुइँचालो गयो। आखिर भुइँचालो नै हो। भुइँचालाको आँखामा न त कुनै बजिया हुन्छ न त कुनै बाजे, तैपनि असरको मात्रा सबै ठाउँमा एकै खालको नहुन पनि सक्छ, भुइँचालाको असर प्रतिकूलमात्र नभएर अनुकूलको पनि हुनसक्छ। अन्यथा त, महाप्रलय नै हुने थियो नि। शुक्रे र मुखियाबाको जीवनमा गएको यो भुइँचालो नैसर्गिक थिएन, व्यावहारिक थियो, आकस्मिक थियो।

सरकारले अन्तरदेशीय विमानस्थल र उत्तरदक्षिण जोड्ने चार लेनको राजपथ एकैचोटि शिलान्यास गर्ने निर्णय गर्‍यो। उत्तरदक्षिणको राजपथ खन्ने काम मध्यविन्दुबाट गरिने भयो। यही निर्णय नै धनपति मुखियाका लागि ९ रेक्टर स्केलको भूकम्प सावित भयो।

धनपति नामअनुकूलकै धनी नभए तापनि उसको जेथोमेथो राम्रै थियो। छरछिमेकमा पनि उसको हैकम थियो, मानमर्यादा थियो, समाजमा उसको इज्जत थियो। उसको आफ्ना लागि गौरवको र छिमेकीका लागि इष्र्याको विषयको कारण उसको यही गैरीखेत थियो। घरमुनि बारी, बारीमुनि खेत भएको धनेको गृहस्थी जमेकै थियो। बाहिर हृवात्त नभने तापनि उसले आफ्नो नाम सार्थक नै ठान्थ्यो। धनपतिले शुक्रबहादुरलाई ‘शुक्रे’ भन्ने हैसियत यसै खेतले दिएको थियो। एक सय मुरीजति जेठो बूढो धान र त्यत्तिकै मात्रामा पहेंले धान भित्र्याउने धनपतिको अन्य हैसियत पनि उत्ति कमको थिएन। १ दिनमा एकपटक दुर्इथरी धानका दुर्इथरी विशाल भुइँटौवाको वरिपरि न घुम्दासम्मन् धनपतिलाई चैन हुँदैनथ्यो, रातभर न्रि्रा लाग्दैनथ्यो।

धनपतिको यसै खेतलाई केन्द्रविन्दु बनाएर, दक्षिणोत्तर बाटाको प्रारम्भ भयो। चार लेनको चौडा बाटो र बाटाको केन्द्रविन्दुबाट ८२ फुटसम्म जग्गा छोड्नुपर्ने प्रावधान सडक विभागले ठाउँठाउँमा टासेको थियो। यसै प्रावधानले उसको दक्षिणोत्तर फैलिएको घरजग्गा एक टुक्रा पनि नरहने गरी समाप्त हुन गयो। धनपतिको जीवनमा यसभन्दा ठूलो आपत्ति के नै हुन सक्थ्यो र ? यसैले धनपति मुखियालाई ९ रेक्टर स्केलको भूकम्पले पिर्‍यो भनिएको हो।

धनपतिको घर हुँदै पाखोतिर लागेको यो विशाल बाटो शुक्रबहादुरको घरजग्गालाई मोहोडामा पारेर जाने रेखाङ्कन भयो र खनखान पनि सुरु भयो। शुक्रबहादुरका लागि यो खनिन लागेको बाटो दाहिने चन्द्रमा भयो। उसले मनमनै भन्यो – चन्द्रमा दाहिना भएपछि कसको के लाग्दो रहेछ र ? ‘अब त मैले दुखको महासागर तरे हकि ?’

क्रूर नियतिले लखेटिएको धने त्यही पाखे शुक्रेकहाँ पुग्यो। ऊ आफै त्यहाँ पुगेको हो वा नियतिले नै त्यहाँ पुर्‍याएको हो, उसैलाई थाहा थिएन। त्यहाँ घामले पोलेर, पानीले भिजेर खली खाएको सतिसालजस्तो ठडिएको शुक्रबहादुर थियो। ऊ साँच्चै नै सतिसाल जस्तो थियो। हिजो दूध बेचेर दुखजिलोसँग जीविका गरेको पीडामा र आज संभ्रान्त बन्न बन्न पुगेको बेलामा उसको चेहरामा कुनै भिन्नता देखिएको थिएन। बरु आफूले देख्तादेख्तै सर्वहारा बन्न पुगेको धनपतिलाई अचानक आफ्नो घरपिँढीमा आएको देखेर अनायासै उसले भन्यो -’बाजे ! मेरो यस जग्गाको घडेरीमध्ये जहाँ मन पर्छ, रोजेर त्यहीं घर बनाएर बस।’

नियतिले लखेटिएको र अकस्मात् सुकुम्बासी बन्न पुगेको धनपतिले शुक्रबहादुरसँग केही कुरा बोल्न सकेन। आँसुले डबडबाएका उसका आँखाले राम्ररी देखेनन्, गला अवरुद्ध भएकाले उसका मुखबाट कुनै वाक्य नै निस्किएन। धेरै बेर पछि बल्ल बल्ल उसको सुकेको मुखबाट अस्पष्टसँग लरबरिएको एउटा लबज निस्कियो- धन्यवाद, शुक्रबहादुरजी धन्यवाद। यतिबेला शुक्रबबहादुरको दलिनमा झुण्ड्याइएको रेडयोले ‘गरिबलाई नगर हेला, छेउको सियो माझैमा कोइबेला’ बोलको गीत गाइरहेको थियो।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग