सुन्दर कृति ‘ऋषिमुनिका सन्तान सिसीमुनि’

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७१

नेपाली हाँस्यव्यङ्ग्य निबन्धको क्षेत्रमा २०५० सालदेखि कलम चलाउँदै आएका शेषराज भट्टराई पोखरेली हाँस्यव्यङ्ग्य निबन्धकारका रूपमा परिचित नाम हो। वि.सं. २०५९ मा “ऋषिमुनिका सन्तान सिसीमुनि” हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित गरेपछि चर्चामा आएका हुन्। त्यसपछि अरू दुर्इवटा हाँस्यव्यङ्ग्य कृति “जातले पकाएको भात” (२०६७) र “कहिले सासूको पालो कहिले बुहारीको पालो” (२०६९) प्रकाशित गरेर हाँस्यव्यङ्ग्य निबन्धको आकाशमा आफ्नो नाम चम्काउन सफल भएका छन्। यसरी हास्यव्यङ्ग्य निबन्ध लेखेर आफ्नो नाम राष्ट्रिय स्तरमा पुर्‍याएका हाँस्यव्यङ्ग्य निबन्धकार शेषराज भट्टराईले आफ्नो पहिलो कृति “ऋषिमुनिका सन्तान सिसीमुनि” हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रहलाई २०७० सालमा दोस्रो संस्करणका रूपमा प्रकाशित गरेका हुन्। धेरै पाठकले रुचाएको उनको यही “ऋषिमुनिका सन्तान सिसीमुनि” हाँस्यव्यङ्ग्य निबन्ध संग्रहका बारेमा केही लेख्ने जमको मैले गरेको छु।

हाँस्यकार व्यङ्ग्य निबन्धकार शेषराज भट्टराईको प्रस्तुत “ऋषिमुनिका सन्तान सिसीमुनि” हाँस्यव्यङ्ग्य निबन्ध संग्रहमा लामाछोटा गरी जम्मा एक्काईस वटा हाँस्यव्यङ्ग्य निबन्धहरू समेटिएका छन्। २०५० सालदेखि २०५९ सालसम्म विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका हाँस्यव्यङ्ग्यात्मक निबन्धहरूलाई यसमा समावेश गरिएको पाइन्छ।

हाँस्यव्यङ्ग्य निबन्धकार शेषराज भट्टराईको प्रस्तुत “ऋषिमुनिका सन्तान सिसीमुनि” हाँस्यव्यङ्ग्य निबन्ध संग्रहको आवरण जीत गुरुङ र गौरव लुइटेलका चित्रले सजाइएको छ भने सङ्ग्रहभित्र प्रत्येक निबन्धलाई राजमानले चित्ताकर्षक रूपमा व्यङ्ग्यात्मक चित्रहरू बनाएका छन्।

“दुर्इ स्वास्नीको पोर्इ कुना बसी रोर्इ” शीर्षकको निबन्धमा बहुविवाह गर्ने पुरुषको टुप्पी उखेल्दै दुर्इवटी श्रीमती हुँदैमा पति वीर कहलिंदैन भनेर छेड हानिएको छ। यो निबन्ध “दुर्इवटी स्वास्नी हुनेको घर पक्का र तीनवटा गोरु हुनेको हल पक्का” भन्ने नेपाली उखानको विरुद्धमा लेखिएको छ। साथै यसमा नेपाली भाषा लोकसेवा आयोगको परीक्षाबाट हटाइएकोमा व्यङ्ग्य गरिएको छ।

“जवानीको जानकारी” शीर्षकको निबन्धमा जवानहरूमा जोश र जाँगर हुनुपर्छ। तर आजभोलिका जवानहरूमा लाली जोवन ओइलाएरै खेर गइरहेको तर उनीहरू पानीमरुवा भएको भनेर व्यङ्ग्य गरिएको छ। “लौरो” शीर्षकको निबन्धमा शक्ति नै मानिसको सहारा हो तर यसको दुरुपयोग गर्नु मूर्खता सिवाय अरु केही होइन भनेर व्यङ्ग्य गरिएको छ। “खबरदार ∕ शपथ नखाए आपत पर्ला” शीर्षकमा राजनीतिक जस्तै साहित्यमा पनि नैतिकता गिर्दै गएकोमा चिन्ता व्यक्त गर्दै कमसेकम स्रष्टाहरूमा त इमानदारिता हुनुपर्ने हो भनेर धज्जी उडाइएको छ। “राष्ट्रिय जङ्की निकुञ्ज” शीर्षकको निबन्धमा आमाबाबुको सम्पत्तिमा मात्तिएका छोराछोरीहरूलाई लक्षित गर्दै पैतृक अंशमा हकको वर्तमान व्यवस्थाले सन्ततिलाई झन् कुबाटोमा डोर्‍याएको छ भनेर व्यङ्ग्य गरिएको छ। “मलामी” शीर्षकको निबन्धमा मान्छेले जन्मेपछि एकदिन मर्नैपर्ने हुन्छ कालले धनी र गरिब भनेर भेदभाव गर्दैन भन्दै अरूलाई चुसेर धन कमाउनेहरूप्रति छेड हानिएको छ। “खामभित्रको दाम” शीर्षकको निबन्धमा भट्टराईले आजभोलि व्यक्ति सम्मानका नाम खामभित्र नाम मात्रको दाम राखेर दिइने पुरस्कारले व्यक्तिको अपमान भएको छ र केही पुरस्कारहरू पक्षपातपूर्ण ढंगले आफन्तलाई मात्र दिइन थालिएको हुँदा कुपात्रमा समेत परेको छ भन्दै व्यङ्ग्य गरिएको छ। “किन चाउरिस मरिच- आफ्नै रागले” शीर्षकको निबन्धमा देशमा विधिको शासन हराउँदै गएको र नेताहरू पनि देश विकासमा भन्दा आफ्नै पेट भर्ने धन्दामा लागेका छन् भन्दै स्वार्थी नेताप्रति खोइरो खनिएको छ।

“ऐना” शीर्षकको निबन्धमा वर्तमान समयमा न्यायलयमा न्याय हराउँदै गएको र न्यायाधीश समेत धनको लोभमा फसेर निष्पक्ष न्याय नगरी नैतिक पतनको आहालमा डुबेका छन् भनी स्वार्थी र भ्रष्ट न्यायाधीशहरूप्रति दोहोलो काढिएको छ। “पर-जा(तन्त्र मा हृवीप” शीर्षकको निबन्धमा प्रजातन्त्र मुठीभर नेताको मागी खाने भाँडो बनेको तर जनताको लागि घाँडो भएको छ भनेर व्यङ्ग्य गरिएको छ। “बैंसको नालीबेली” शीर्षकको निबन्धमा बैंसको बेलामा होश नपुर्‍याएर प्रेममा होमिन पुगे जिन्दगी नै भड्खालोमा पर्न सक्छ। त्यसर्थ कुरकुरे जवानीमा हतारिएर प्रेम नगर्न युवायुवतीलाई सुझाव दिँदै भावी जीवनलाई दुःखका भुमरीमा नफस्नु राम्रो भनेर सुझाव दिइएको छ। “भ्रष्टाचारको उपचार” शीर्षकको निबन्धमा संसारमा सबै थोकको औषधि पाइन्छ। तर भ्रष्टाचारको औषधि पाइँदैन भन्दै फेवातालमा जलकुम्भी झार फैलिएभैm’ देशमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ। “थोत्रो घरमा मुसाको रजाईं” शीर्षकको निबन्धमा थोत्रो घरमा मुसाको बिगबिगी भएजस्तै हाम्रो जस्तो गरिब मुलुकमा घुस्याहा नेताहरूको रजाईं चलेको छ भन्दै भ्रष्ट र स्वार्थी नेताहरूप्रति व्यङ्ग्य हानिएको छ। “ऋषिमुनिका सन्तान सिसीमुनि” शीर्षकको निबन्धमा आजभोलि कुलीन वर्गका सन्तति नै कुलतमा बढी फसेका छन् भन्ने तथ्य उजागर गरिएको छ। साथै मान्छेले आफ्नो औकात बिर्सिंदै गएको, पुर्खालाई भुल्दै गएको, मदिराले मातेर अल्पायुमा ज्यान फ्याँक्दै गएको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ। “कपाल” शीर्षकको निबन्धमा संसारभरिमा न्यायाधीशलाई तटस्थ, कलंकरहित र बलवान् मानिए तापनि नेपालमा पछिल्लो समयमा न्यायाधीशहरू नै अनैतिक, अविवेकी र बेइमान हुँदै गइरहेका छन् भन्दै वर्तमान समयमा त कच्चा उमेरका कालो कपालधारी न्यायाधीशहरू मात्र होइनन् कपाल फुलेका न्यायमूर्र्तिहरू अन्यायका प्रतिमूर्र्ति बन्न पुगेका छन् भनी व्यङ्ग्य गरिएको छ। “कोल” शीर्षकको निबन्धमा आजभोलि मान्छेले मान्छेलाई नै दुःख दिन थालेको छ। ऊ चेतनशील प्राणी भएर पनि पशुभन्दा तल्लोस्तरको प्राणी बन्न पुगेको छ। गरिब, दुःखी, निमुखा र अशक्त जनमाथि कोलले तेल पेलेझैं पेल्न र दमन गर्न थालेको छ भनेर व्यङ्ग्य गरिएको छ। “हावा” शीर्षकको निबन्धमा अहिले मुलुकमा एक्कासि दिनप्रतिदिन बेरोजगारहरूको संख्या बढ्दै गएको छ भने अकोर्तिर सरकारी कर्मचारीहरू इमानदार छैनन् भन्दै उपयोगी स्वस्थकर हावा पनि दुषित एवं दुर्गन्धित बन्दै मानवको अहित गर्ने तत्वको रूपमा विकसित भएको छ भनेर व्यङ्ग्य गरिएको छ। “खोपडीको घनत्व” शीर्षकको निबन्धमा जुन देशमा मानिसको योग्यताको कदर हुँदैन निश्चित रूपमा त्यस देशको विकास हुन सक्दैन, त्यसैगरी सिद्धान्तहीन दल र तिनका नेताबाट राष्ट्रको उन्नति हुन सक्दैन भन्दै अदूरदर्शी नेताप्रति व्यङ्ग्य गरिएको छ। “स्वादे ज्रि्रो अल्छे त्रि्रो” शीर्षकको निबन्धमा देश र जनताको हितलाई भन्दा आफ्नो तुम्बो भर्न अग्रसर अवसरवादीहरूका कारणले बाँदरको हातमा नरिबल भनेझैँ लोकतन्त्र धरापमा परेको छ भन्दै व्यङ्ग्य गरिएको छ। “चोर, ढाँट र ठग” शीर्षकको निबन्धमा नेपाली समाजमा देउताको नाममा भूतको काम गर्ने, मानव अधिकार भन्दै दानवप्रवृत्ति देखाउने जाली, फटाहा, शोषण एवं चोरहरूको जगजगी छ भनेर व्यङ्ग्य गरिएको छ।

यसरी हाँस्यव्यङ्ग्य निबन्धकार शेषराज भट्टराईले नेपाल समाजमा विद्यमान सामाजिक व्यवहार, राजनीति, शिक्षा, साहित्य, कला, धर्म, संस्कृति, व्यापार आदि क्षेत्रमा जन्मिरहेको विकृति र विसंङ्गतिलाई औंल्याएका छन्। साथै यी सबै क्षेत्रका बग्रेल्ती विकृति र विसङ्गतिहरूलाई हटाउन सकेमा देशमा विकासको मूल फुट्ने र प्रजातन्त्रको फूल फुल्नेछ भन्ने आफ्नो देशभक्तिको भावना प्रकट गरेका छन्।

नेपाली उखानटुक्काले भरिपूर्ण हुनुका साथै प्रायः रसिलो, भरिलो र ओजपूर्ण भाषाशैलीको प्रयोग गरिएको प्रस्तुत पुस्तकको आवरण पृष्ठ र भित्री पानाहरूमा पनि शीर्षककै पिच्छे आकर्षक चित्रहरूले सजाइएको छ। त्यसैले हास्यव्यङ्ग्य निबन्धकार शेषराज भट्टराईको प्रस्तुत “ऋषिमुनिका सन्तान सिसीमुनि” निबन्ध सङ्ग्रह पठनीय र संङ्ग्रहणीय छ।  अन्तमा कलमलाई विश्राम दिनु अघि भन्छु –

निरन्तर लेख्दै जाऊ मित्र शेषराज,

चम्किनेछौ तिमी सधै नेपालीका माझ।

यस्तै यस्तै नयाँ कृति सिर्जिएर बाँच

अरूलाई हसाउँदै आफू पनि हाँस।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width