सि.के राउतको सकारात्मक सोच

डा. गेहेन्द्रमान उदास “पोखरेली”
वैशाख २३, २०७६

डा. चन्द्रकान्त (सिके) राउतले आफ्नो जनमत पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा गत आइतवार वैशाख १५ गते निवेदन दर्ता गरेका छन्। आफनै अध्यक्षतामा गठित पार्टीका ३५ केन्द्रीय सदस्यसहित राउत आफै उपस्थित भई आयोगको कार्यालयमा निवेदन दिएका हुन्। सरकारसँग ११ बुँदे सम्झौता पछि सिके राउतमा देखिएको यो सकारात्मक सोच मानिन्छ। गएको २४ फागुन २०७५ मा भएको नेपाल सरकार र सिके राउतको बीचको ११ बुँदे सझौताको बारेमा धेरै दिनसम्म निकै चर्चा विचर्चा र पक्ष–विपक्षमा टीकाटिप्पणी हुदै आएको थियो। सिके राउतले संविधान नमान्ने र मधेशलाई स्वतन्त्र बनाउने भनेर आफनो अभियान प्रारम्भ गरेका हुन्।

तराईका गजेन्द्रनारायण सिंहले त्यसबेला संसदमा नेपालीमा नबोली हिन्दीभाषामा बोले पछि मधेशलाई स्वतन्त्र बनाउने सि.के राउतको नाराको वीउ रोपिएको थियो। त्यसमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दा हिन्दी भाषामै शपथ ग्रहण गरे पछि सि.के राउतको नेपाललाई टुक्र्याउने वीउ उम्रेर हुर्कन थालेको हो। वीउ चाहे विषबृक्षको होस वा अमृत बोधी बृक्षको होस्, त्यो समय आए पछि र समयलाई प्रयोग गर्ने व्यक्ति वा जमात जन्मेपछि त्यो वीउ उम्रन्छ। राउतको अभियानको विष बृक्षको वीउ गजेन्द्रनारायण सिंहले र उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषा प्रयोग गर्नु पर्ने प्रावधानलाई लत्याएर हिन्दी भाषा प्रयोग गरेपछि ‘मधेश’ शव्दको प्रचारको साथै, त्यसले हिन्दी भाषा मधेशका मानिसले बोलिने भाषा हो भन्ने भ्रामक अवधारणा प्रचार भयो।

त्यस पछि आदिवासी जनजातिहरुले सङ्घीय राज्यको प्रदेशको नामलाई जातीय भाषा, संस्कृति र इतिहास भएको ठाउँलाई जनसङ्ख्याको वसोवास भएको आधारमा जातीय नाम दिनुपर्छ भन्ने आवाज निकाले पछि राउत समर्थक केही जमातले मात्र होइन तराईवासीहरुको प्रतिनिधित्व गर्ने आजको राजपा (राष्ट्रिय जनता पार्टी) ले पनि हिन्दी भाषा र संस्कृति भएको ठाउँ भनेर मधेशी जनसंख्याको आधारमा ७ ओटा प्रदेश मध्ये २ नं को तराई प्रदेशलाई ‘मधेश’ प्रदेश भनी नाम दिएर राजनीतिक नेतृत्व गरिरहेछ। नयाँ मधेश प्रदेशको अस्तित्वको विकासको इतिहास, संक्षेपमा यही नै हो भन्ने मलाई लागेको छ।

यसबाट समाजका अगुवा खासगरेर राजनीतिक नेतृत्वमा वस्नेहरुको दिमागले ‘वीउ’ रोप्ने भनेको ‘स्वस्थ’ वा समाज र राष्ट्रलाई एकताबद्ध गर्ने खालको वीउ रोप्नु पर्दो रहेछ : आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थमा मात्र केन्द्रित रहेर स्वार्थको वीउ रोप्न नहुँदो रहेछ भन्ने चेतना विकास गर्नु पर्छ भन्ने उदाहरण देखाएको छ। परम्परादेखि सत्यं शिवं सुन्दरमं (अर्थात शाश्वत, कल्याणकारी र सुन्दर) रुप भएको तराई, पहाड, हिमालको अस्तित्व, अखण्डता, सार्वभौमिकतालाई टुक्राउने प्रयास, कुनै पनि नेपाली चाहे त्यो तराइली वा पहाडी वा हिमाली जहाँका भएपनि उनीहरुको, सुन्दैमा मुटुनै टुक्रिने दुराक्रन्दन हो। प्राकृतिक मात्र होइन, विविध भाषा, अद्वितीय सांस्कृतिले स्थापित भएर अनेकतामा एकता भएको अमूल्य सभ्यताको शिखरमा पुग्ने सिँढी जस्तो तराई–पहाड–हिमालको एकात्मक रुपलाई टुक्राउन खोजेको दुराक्रन्दन सुन्दा सबैको मनमस्तिष्कमा आघात पुग्नु स्वाभाविकै हो। यद्यपि राउत र राउतका २–४ जना पृष्ठपोषकलाई प्रिय भएपनि सम्पूर्ण नेपालीका लागि अप्रिय आवाज हो।

यहाँ महत्वपूर्ण कुरा के छ भने नेपालको तराईलाई पहिलेदेखिनै तराई नै भन्ने गरिएको छ र नेपालमा बस्नेलाई नेपाली भनेजस्तै तराईमा बस्नेहरुलाई तराइली भन्ने गरिएको छ। मधेश वा मधेस शब्दले गङ्गा नदीले बनाएको हिन्दुस्तानको सम्म भूमिलाई भन्ने गरिएको छ। तराईकै पुराना वासिन्दाले पनि स्थायी मैथिली, भोजपुरी आदि भाषामा तराई नै भन्ने गदर्छन्। मधेश शब्द प्रयोग गर्दैनन्। दुई नम्बर प्रदेशलाई गजेन्द्रनारायण सिंह, परमान्नद झा र आजको राजपाले तथा सिके राउतले मधेश भनेर हल्ला गरे पछि कोही–कोही सर्वसाधारणले हिजोआज “मदेस” भन्न थालेको मात्र हो।

एउटा संवेदनशील कुरा के छ भने पहाडका मान्छेहरुले तराईका मान्छेहरुलाई ‘धोती’ भनी होच्याउँछन् भने तराईका मान्छेहरुले पहाडका मान्छेहरुलाई ‘पहाडी’ भनी होच्याउनु पनि स्वाभाविक छ। सबभन्दा पहिलो कुरा बोलीवचन ठूलो हो। बोलीवचनले नै मान्छेले मान्छेलाई मित्र र शत्रु बनाउँछ। अर्को एउटा कुरा ‘धोती’ भनेर होच्याएर बोलेको कारणले गर्दा घुमन्ते भई तरकारी, फलफूल, लत्ताकपडा आदि बेच्ने तराईली दाजुभाइहरुले “हामीलाई भने होच्याएर भैया भन्ने आफना पहाडीहरुलाई भने ‘दाइ वा भाइ’ भन्ने शब्द प्रयोग गर्ने? ” भनी २–४ जनाले गुनासो गरेको मैले सुनेको छु।

‘भैया’ शब्द संस्कृत शब्द “भ्रातृ” बाट बनेको देखिन्छ। यसको अर्थ नेपालीमा दाइ–भाइ भन्नेहुन्छ। नेपाली वाङ्मयमा भाइ–भैयाद भन्ने शब्द प्रचलित छ र भानुभक्तले आफनो रामायणमा भरतले रामलाई वनवासबाट फर्केर अयोध्या जानलाई अपहत्ते (जिद्दि) गर्दा रामले भैया ‘शब्द’ प्रयोग गरेर देखाइएको छ, जस्तै “फर्कन्न भैया तिमी फर्की जाऊ, पिताजीलाई पनि दोष नलाऊ”। यसबाट स्पष्ट हुन्छ। ‘भैया’ शब्द त्यति मूल्यमान्यताको भएपनि तराइलीहरुले ‘धोती’ शब्दकै सरह मानेर उनीहरुले आफूलाई होच्याएको ठान्दछन्।

यसबाट के स्पष्ट हुन्छ भने मनमा शङ्का, असन्तुष्टि, मनमुटाव भएपछि मर्यादित शब्दलाई पनि त्यसरी मान्छेले अवमूल्यन गरी होच्याएको भनी भेदभाव गरेको भन्ठान्दो रहेछ। यस सन्दर्भमा पहाडका नेपालीहरुले पनि जनस्तरमा तराइली नेपालीहरुलाई पनि पहाडीयालाई जस्तै बराबरीमा व्यवहार र बोली वचन प्रयोग गर्नु पर्दछ। तराइलीहरुले पनि शङ्का, उपशङ्का गर्नु हुदैन। अनि हाम्रो राष्ट्रिय अखण्डता, तराई–पहाड–हिमाल (सत्य–शिव–सुन्दर अर्थात सुन्दर–शान्त–विशाल) भन्ने नेपालीपन सवल सक्षम र सृदृढ हुनेछ।

नेपालको लागि बडो गम्भीर र चिन्ताको कुरा हो, विदेशीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष दवाव वा दवावपूर्ण परिस्थितिमा नेपाल राज्यको सत्तामा वस्ने व्यक्ति र पार्टीहरुलाई विशेष गरेर हिन्दुस्तानको हस्तक्षेपको डरले आफ्नो पद वा सत्ता जोगाउने चिन्ताले सताउने गर्दछ वा सत्ता प्राप्त गर्ने महत्वाकाङ्क्षाले हिन्दूस्तान सरकारलाई रिझाउने गर्ने गरेको इतिहास छ। राणा शासक प्रधानमन्त्रीहरु व्रिटिश इण्डियाको हस्तक्षेपमा परे, पञ्चायतका प्रवर्तक राजा महेन्द्रले इण्डियाको हस्तक्षेप बाट स्वतन्त्र भई राज्य चलाउँछु भने पनि, अन्तमा कालापानीजस्तो नेपालको भूमिमा हिन्दूस्तानको सेना तैनाथ राख्ने प्रस्तावलाई भित्रभित्रै स्वीकार गरी, दक्षिणको साँघसँधियारालाई सन्तुष्ट पारी आफनो सत्ता पञ्चायती सत्ता बलियो पारेर जोगाए। राणा र पञ्चायत शासनको अन्त्य भएपनि लोकतन्त्रका हिमायती पार्टी र नेताहरुमा पनि यही परम्परा चल्दै आइरहेको छ।

आजको अन्तराष्ट्रिय परिस्थिति बढी गरेर छिमेकी दुई देशको तितो सम्बन्धको कारणले छुट्टै नयाँ परिस्थिति विकास भइरहेछ। त्यो हो हिन्दुस्तान र पाकिस्तान बीचको तनाव। हालै केही दिन अघि भएको घटनामा काश्मिरमा ४० जना हिन्दूस्तानी सैनिकको आतङ्कारी हमलामा परी मृत्यु भए पछि दुई देश बीच नयाँ तनावको सृजना र विकास भएको छ। आतङ्ककारी हमलाका नाइके र उसको सङ्गठनलाई आतङ्ककारी घोषित गर्नुपर्छ भनेर, संयुक्त राष्ट्रसङ्घले स्वीकार गरोस्’, भनी इण्डियाले राखेको प्रस्तावलाई चीनले स्वीकार नगरेपछि, हिन्दुस्तानको लागि नेपाललाई आफनो पक्षमा राख्नु आवश्यक परेको हुदाँ हिन्दूस्तानले सी.के राउतको गोटी चालेको बुझिन्छ।

दोस्रो कारण हिन्दुस्तानले सिक्किमलाई हडपे जस्तै गरी, ‘संविधानको विरोध गर्न लाउने र तराईलाई मधसेवादी नाम दिएर टुक्र्याउन खोज्ने प्रयत्न गर्दैछ भन्ने आम नेपालीहरुको बुझाइ रहेकोले पनि सिकेलाई हिन्दुस्तानले मन्त्रणा गरी गोटी चालेको हुनसक्छ। तेस्रो कारण मोदी सरकारले गत चार वर्षमा अघोषित आर्थिक नाकाबन्दी गरेको प्रतिक्रियाको कारणले नेपालले चिनसँग सम्बन्ध बढाएकोले यस्तो बदलिँदो परिस्थितिमा नेपाल माथि हैकमी प्रवृत्ति देखाउन नहुने भएकोले राउतको गोटी चालेको हुनसक्ने सम्भावना देखिन्छ।

नत्र भने सीके राउतले, सोझै ‘२०७२ सालको संविधान पनि मान्दिन र मधेशलाई स्वतन्त्र राज्य बनाउँछु भन्ने अडान लिएकोलियै गनेर्ले अहिले संविधान मान्छु र नेपालको अखण्डतालाई स्वीकार गर्छु भनी अगाडि सर्नु पर्ने खास कारण देखिँदैन। यो मौकालाई ओली सरकारले सिके राउत जस्तालाई बल्छी लगाउने र आफनो सत्तालाई पनि पाँचवर्ष टिकाउने अवसर पाएको देखिन्छ। जेभए पनि यो परिस्थितिलाई सदुपयोग गरी सीके राउतलाई बल्छी हाल्नु नेकपा ओली सरकारको ठूलो बुद्धिमानी र उपलब्धि हो।

सि.के. राउतको नियतलाई कुनियत हुनुबाट बचाएर अर्थात दूषित हुनु नदिने वातावरण, मन–वचन र कामले बनाऔँ र उनमा सुनियत विकास गर्ने वातावरण बनाऔँ। यो काममा नेपालको सार्वभौमिक सत्ता र नेपाल राज्यको मालिक भएका सबै नेपाली नागरिकदेखि नेतासम्मले स्वेच्छाले संङ्कल्प गरुन्। संञ्चार माध्यममा सिके राउत देशद्रोही हो, उसलाई फाँसी दिनुपर्छ भन्नेजस्तो जनआवाजलाई रोक्नु पर्छ र नेताहरुले राउतको विखण्डनवादी अभियान लाई हावा दिएर आगो बाल्ने नीति–कुनीतिलाई त्यागेर, त्यस्तो अराष्ट्रिय अभियानलाई छोडाउन, नैतिकताको प्रेरणा सिके राउतलाई दिनुपर्छ।

यसरी उनलाई नैतिकता र सभ्यताको साङलोले बाँधेर उनले कबूल गरेअनुसारको संविधान मान्ने र अखण्ड नेपालको भावना र कृयाकलाप विकास गर्ने बाटोमा ल्याउनु पर्छ। सिके राउतले पनि प्रतिगमन त्यागेर त्यो बाटोमा आउनुपर्छ भनी जनताले आवाज उठाएको छ। आज आएर सिके राउतले उक्त जनमत पार्टीको नाम राखेर पार्टी दर्ता गर्न निवेदन दिनु सकारात्मक नियत भन्नुपर्छ।

दलको विधानका केन्द्रीय सदस्यले “नेपालको संविधान अनुसार स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई स्वीकार गर्दै समावेशी विधान बनाएका छौं। आशा छ आयोगले स्वीकार्नेछ” भनेका छन्। अब सिके राउतले उसको पृष्ठपोषक स्वदेशी–विदेशी नागरिक र सरकारहरुको पछि लागेर कुनियत अपनाए भने विश्व जनमत र समाजले उनको कुनियतलाई बुझ्ने छ। राउतलाई सबैले निन्दा गर्ने छन् भने उनका स्वदेशी–विदेशी पृष्ठ पोषकहरुको पनि नाक कान काटिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width