साहित्य, राजनीति र चुनाव

टीकाराम वाग्ले
माघ ४, २०७७

साहित्यको पनि आँखा हुन्छ । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे आँखा चिम्लिन सक्दैन । कथा, कविता, निबन्ध अर्थात् लालित्यपूर्ण शब्दावलीको पुञ्ज मात्र होइन ‘साहित्य’ । राष्ट्र रुँदा साहित्य पनि रोएको हुन्छ ! राष्ट्रको दुःखमा साहित्यको पनि आँखा रसाएको हुन्छ । राष्ट्रलाई आपत्विपद् परेको बेला साहित्यले रौद्ररुप धारण गरेको हुन्छ भने राष्ट्र समृद्ध र खुसहाल हुँदा साहित्यले खुसियालीको गीत गाएको हुन्छ । साहित्यले समाजको मुहार पनि देखाउँछ र नै साहित्यलाई समाजको ऐना भनिन्छ । विकृति–विसंगतिबारे सचेत पनि गर्छ तसर्थ साहित्य समाजको दिशा निर्देशक पनि हो । सडेगलेको रीतिरिवाज रुढीवादी परम्पराप्रति कटाक्ष मात्र होइन सुधारको प्रयास पनि गर्ने हुँदा साहित्य समाजको अभिभावक पनि हो । साहित्य विना मानिस सिङ् र पुच्छर नभएको जनावर सरह हो । अतः साहित्य व्यक्ति र समाजको सौन्दर्य पनि हो । पेटको भोक त अन्न–जलले मेटाउँछ तर मस्तिष्कको भोक मेटाउने त साहित्य नै हो । साहित्य एक पक्षीय हुँदैन, बहुपक्षीय हुन्छ । साहित्य तत्कालीन समयको आवाज पनि हो ।

हाम्रा प्राचीन ग्रन्थ रामायण पनि साहित्य हो, महाभारत पनि साहित्य नै हो । रामायणमा रामको कथा छ । राम युवराज धिराजबाट महाराजधिराज हुनै लाग्दा विमाताको आदेशले १४ वर्षका लागि वनवास जान्छन् तर वनवास काटी फर्की आउँदा ‘मर्यादा पुरुषोत्तम’ भएर आउँछन् । योग्य र आज्ञाकारी पुत्र, भाइहरुप्रति अगाध प्रेम र स्नेह गर्ने दाजु, पत्नी प्रेमका कारण दुखी राम राक्षस राज रावणसँग युद्ध गरी पत्नीको उद्दार गर्ने प्रेमी पति पनि हुन् । तर राजधर्म पालना गर्ने प्रजावत्सल राजा भएका कारण धोबीको आरोपमा उनै प्रिय सीताको त्याग गर्ने परिवारवादबाट माथि उठेका राजाको कथा पनि हो रामायण ।

महाभारतमा पुत्र मोह (परिवारवाद) मा दृष्टिविहीन धृतराष्ट्रको कथाले के सन्देश दिन्छ भने आँखाको अन्धोले भन्दा पुत्रमोह वा सत्ता मोहको अन्धोपनले विनाश निम्त्याउँछ । सत्तापिपासु युवराज दुर्योधन जुन पाण्डव पक्षको धर्मयुद्ध जस्तो सर्वेसर्वा श्रीकृष्ण थिए– बन्धुबान्धव सहित मारिन्छ ।

रामायण र महाभारतको भयावह युद्धहरूले के पनि सन्देश दिन्छ भने युद्ध, महाविनाशहरू हर युगमा भएको हो । रामायण र महाभारतको युद्ध धर्म र अधर्म, न्याय र अन्याय, सत्य र असत्य, सत्ता मोह र निस्पृहभाव बीच भएको युद्ध हो । अढाई हजार वर्ष पूर्वकै इतिहास हेर्ने हो भने सिद्धार्थले राज्य त्यागेकै हो । तर आज संसारभरिका गौतम बुद्ध भएका छन् । यो हाम्रो नेपाली इतिहास हो । प्राचीन इतिहास होे । हाम्रो पहिचान, हाम्रो आस्था–विश्वास, हाम्रो ऐतिहासिक धरोहर र हाम्रो परम्परा पनि हो । तर आज हामी कहाँ छौ त ? कहाँ पुग्यौ त हामी ?

हामीले राजतन्त्र पनि हे¥यौ, प्रजातन्त्र पनि हे¥यौ, गणतन्त्र पनि हे¥यौ । कुनै तन्त्रले निकास दिएन । कुनै तन्त्रले जनताको आँसु पुछेन । नेताहरूले जनताको सार्वमौमिकताको कुरा त गर्छन् तर जनताको काम कर्तव्य मात्र चुनावमा भोट हाल्नु बाहेक केही देखिँदैन । संख्याको राजनीतिमा ‘गुण’ गौण भइदिएको छ । लोकतन्त्र वा गणतन्त्र संख्या र गुणको संयोजनले स्थापित हुनुपर्ने हो, तर संख्याको आधारमा हुने चुनावमा लोकतन्त्र वा गणतन्त्र हार्ने गर्छ । नेपालमा यस्तै हुँदै आएको छ । वास्तवमा भन्ने हो भने लोकतन्त्र वा गणतन्त्रको असफलताको कारण कलम र कोदालो बीचको अन्तर नै हो । यसै अन्तरले गर्दा नै द्वन्द्वको स्थिति सिर्जना हुने गर्छ । हत्या, हिंसा, अराजकता, अशान्ति, जुलुस, नारा, प्रदर्शन सबै यसको अन्तरले गर्दा जन्मेको हुन्छ । ‘माओवादी’ यसै अन्तरबीच जन्मेका हुन् । कलमले ‘गुण’ र कोदालोले संख्याको प्रतिनिधित्व गरेको हुन्छ र लोकतन्त्र (प्रजातन्त्र) संख्याको राजनीतिमा टिकेको हुँदा हार्ने गर्छ । राजनीतिका चतुर खेलाडीहरूले कोदाले जनताको हातबाट आफ्नो पक्षमा भोट खसाल्छन् र चिल्लो गाडी चढ्ने हुन्छन् ।

राष्ट्र रुँदा साहित्य पनि रोएको हुन्छ ! राष्ट्रको दुःखमा साहित्यको पनि आँखा रसाएको हुन्छ ।

कलम र कोदालो बीच अनुपातिक समन्वय न हुँदा नै पाँच प्रतिशतले सत्ता भोग गरेका हुन्छन् र ९५ प्रतिशत कोदाले जनता रैती वा दास भई बाँचेका हुन्छन् । ‘संख्या’ र ‘गुण’ को यो खेल कस्तो अनौठो छ ! एउटा अनपढ रिक्सावाला, भरिया वा मजदूरको एक भोटको पनि उही मोल र एउटा प्रोफेसर, वैज्ञानिक, दार्शनिक वा विद्वानको एउटा भोटको पनि उही मोल ! अर्थात् गणितको हिसाबले नेपालजस्तो गरीब र अशिक्षित मुलुकका प्रोफेसर र रिक्सावाला एकै भए –बराबर भए ।

जे होस्, विगतको चुनावरुपी नाटकको पटाक्षेप भयो अर्थात् संसद भङ्ग त भयो तर आगामी १७ र २७ वैशाखसम्म कोदाले जनताको मोह भंग हुन्छ कि हुँदैन, हेर्न बाँकी छ । अन्यथा फेरी चुनावी नाटक मञ्चन हुन्छ नै, प्रोफेसर र रिक्सावालाहरू सबैले भाग लिन्छन् नै अनि आ–आफ्ना घर जान्छन् र भात खान्छन् र सुत्छन् अघिल्लो नाटक मञ्चन न हुँदा सम्म । यही कारण हो आज पनि हामी पारदर्शी, निष्पक्ष, इमान्दार जनताका हितैषीयोग्य राजनेताको र उत्कृष्ट शासन व्यवस्थाको उदाहरण ‘रामराज्य’ भनेर दिने गर्छौं । राजा त नेपालमा पनि भए तर रामजस्ता भएनन् ।

हुन त आज हामी जान्ने सुन्ने भएका छौं । कतिपय पिएचडी गरेका छौं । कतिपय कति वर्ष विदेश गएर विदेशको विकास र व्यवस्था देखेर, भोगेर, जानेर आएकाहरू छौं– तर के नेपरेका छौं त ? राम, कृष्ण, बुद्ध त हाम्रा पूर्वज हुन् नि ? ‘माक्र्स’ र ‘मंगोल’ शब्द त विदेशी शब्द हुन् । नेपालमा वितण्डा किन मच्चाउँदै छन् त ? ‘माक्र्स’ ले भनेका, लेखेका कुरा त ४ हजार वर्ष पूर्व हाम्रै ऋषि, दार्शनिक, वैज्ञानिक, चार्वाक ऋषिले भनिसकेका छन् ‘यावत जिवेत् सुखिम् जिवेत, ऋणम् कृत्वा घृतम पिवेत्’ अर्थात् नितान्त भौतिकवादी सिद्धान्त अर्थात् नितान्त माक्र्सवादी सिद्धान्त । फेरि बुद्धले के भन्नुभयो– २५ सय वर्ष पूर्व ? किताब पढेर होइन, कसैले भनेको सुनेर होइन, आफ्नो स्वविवेकले आफ्नो बुद्धिले सोचेर आफ्नो आत्मा (मन) ले मानेर सही ठहरिएको कुरामा मात्र विश्वास गर्नु । अर्थात् आफ्नो बुद्धि र आत्माले स्वीकारे मात्र त्यो कुरालाई मान्नु । यो हाम्रा पितृ, हाम्रा पूर्वज, हाम्रा आदर्श पुरुषले भनेका कुराहरू हुन् । सही कुरा न मान्ने त ? कस्तो विडम्बना ? आफूलाई मंगोल भन्ने र बुद्धलाई पनि मंगोल भन्नेहरूले बुद्धका दर्शनलाई पनि न मान्ने ? अनि बाहुन, क्षेत्री विदेशी रे मंगोलहरू मात्र नेपाली रे !

अनि लालसलाम, अर्थात् लाल पनि विदेशी शब्द सलाम पनि विदेशी शब्द । माक्र्स, लेनिन, माओ पनि सबै विदेशी । यी तिनैले भनेका कुरा ४ हजार वर्ष पूर्व हाम्रै ऋषि ‘चार्वाक’ ले भनिसकेका कुराको कतै उल्लेख नै नगर्नेहरू नेपाली राजनीतिमा आफ्नो खुट्टा पसार्ने भएका छन् । असाहित्यिक जनता टुलुटुलु हेरिबसेका छन् । हिन्दीमा उखानै छ, ‘घर की मुर्गी दाल बराबर’, अनि यस्तै अर्को उदाहरण पनि छ– ‘घरका जोगी जोगना, बाहरका जोगी सिद्ध’ । अर्थात् हाम्रा प्राचीन साहित्यमा उल्लेखित पात्र, घटना र सन्देशहरू व्यर्थ भए विदेशी साहित्य घटना र पात्र प्रिय हुन गए । यो कस्तो विडम्बना हो ?

आज हामी सबै दोधारमा छौं । हाम्रो इतिहास, हाम्रो साहित्य समृद्ध हुँदा हुँदै पनि हामी निरीह छौं, गरीब छौं, असहाय छौं । दोष कसलाई दिने ? हामी वीर जाति हो, मार्सल रेस हो हामी, हामी इमानदार र नूनका सोझा पनि हो तर लाग्छ महाभारतको अन्तिम अध्यायका पात्र हुन पुग्यौं हामी । उही कृष्ण उही पाण्डवहरू, न कृष्णको सुदर्शन चक्रले केही गर्न सक्यो, न अर्जुनको गाण्डीव धनुषले न भीमको गदाले नै केही गर्न सक्यो, एउटा सामान्य, साधारण शिकारीले ती सबैलाई घायल पा¥यो हरायो र लुट्यो । समय बलवान । तर हाम्रो समय कहिले आउला ? चुनावहरू हुन्छन्, ५ वर्षे चुनाव ५ वर्ष न हुँदै तुहेर जान्छ । गधा र सुँगुरहरूमध्ये कि त गधा कि त सुँगुरलाई नै भोट दिनुपर्ने बाध्यता कोदाले जनताको हो । घोडा वा गाईलाई त रोज्न पाएनन् नि ! किनभने छैनन् ! जनताद्वारा जनताका लागि जनताको सरकार त भनिन्छ । तर उल्टो भएको छ ।

हुन त पत्रकारिता पनि साहित्य नै हो । तर विडम्बना के छ भने पत्रकार साहित्यकार भएनन् । प्रायशः मात्र शब्दका ‘बलात्कारी’ भए व्यापारी भए । विधायिका कार्यपालिका र न्यायपालिकालाई प्रजातन्त्रका तीनवटा खम्बा र चौथो खम्बा सञ्चार माध्यम अर्थात् पत्रकारितालाई भनियो– तर यो भागवण्डा सत्य होइन, वास्तविक होइन । एक मात्र खम्बा जनता हो र दोस्रो साहित्य नै हो । भ्रष्टाचारले गर्दा विधायिका, कार्यपालिका र न्यायपालिका चुुर्लुम्म डुबेकाले अब चेतनशील जनता नै प्रजातन्त्रका पहिलो र अन्तिम खम्बा हुन् । जनता सुध्रिए, जनता चेतनशील भए जनता शिक्षित भए, जनता जागरुक र क्रान्तिका– परिवर्तनका संवाहक भए यी अबुझ नेताहरुले कसरी सत्ता कब्जा गर्न सक्थे र !

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width