सामुदायिक विद्यालय र विद्यार्थी समस्या

युवराज पौडेल
वैशाख २, २०७६

विगतका वर्षहरूझैँ यस वर्ष पनि नेपाल सरकारले सामुदायिक विद्यालयमा राष्ट्रिय भर्ना अभियानको सुरुआत गरेको छ। यस वर्षको भर्ना अभियानको नारा “हाम्रो नगर, हाम्रो गाउँ–सबै बालबालिकालाई विद्यालय पुर्याऔँ”भन्ने रहेको छ। विद्यालयभन्दा बाहिर कुनै पनि बालबालिका नरहून भन्ने सरकारी नीति अनुरूप यस वर्षको भर्ना अभियानको नारा तय गरिएको हो। लगभग अब कुनै पनि बालबालिका विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर नरहने कुराको सरकारी सुनिश्चितता दिन खोजिएको छ।

प्रत्येक वर्ष शैक्षिक सत्रको अन्त्यतिर प्रत्येक सामुदायिक विद्यालयले भर्ना अभियानका रणनीति र यससँग सम्बन्धित योजनाहरू निर्माण गरी अगाडि बढिरहेको देखिन्छ। यस प्रकारको भर्ना अभियानमा घरदैलो कार्यक्रम, अभिभावक भेटघाट, अन्तक्र्रिया तथा छलफल आदि चलिरहेको पाइन्छ। तर प्रत्येक वर्ष हुने यस्ता अभियान तथा कार्यक्रमले पनि सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन सफल भइरहेको देखिँदैन। अझ भनौँ यी सबै कार्यक्रमहरूको औचित्य प्रमाणित भइरहेको छैन। केही अपवादका सामुदायिक विद्यालयहरूलाई छाडेर अधिकांश विद्यालयहरूमा विद्यार्थी सङ्ख्या संस्थागत विद्यालयहरूको तुलनामा चिन्ताजनक अवस्थामा नै रहेको छ। प्रत्येक जिल्लामा एक दुईओटा सामुदायिक विद्यालयहरू बाहेक अधिकांश विद्यालयहरूमा विद्यार्थी सङ्ख्या निराशाजनक अवस्थामा छ। तथ्यहरूले यही बताइरहेका छन्। सरकारको ठूलो लगानीका बाबजुद पनि किन सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्न सकेको छैन भन्ने मूल समस्याले यससँग सरोकार राख्ने सबैलाई गम्भीर बनाएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुमा कुनै एउटा मात्रै कारण जिम्मेवार छैन।

विद्यालयमा विद्यार्थी घटे भन्ने चिन्ताले हुने छलफलहरूमा एउटा पक्षले अर्कालाई दोष लगाएर उम्कन खोज्ने प्रवृत्ति बढी देखिन्छ। प्रअले शिक्षकलाई, शिक्षकले प्रअलाई, वि.व्य.स.ले शिक्षकलाई, शिक्षकले अभिभावकलाई दोषारोपण गरेको देखिन्छ। यसरी एकले अर्कालाई आरोप लगाएर समस्या समाधान हुने स्थिति नै छैन। बरू यसका मूल कारणहरू खोज्नेतर्फ जानुपर्दछ। सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका विविध कारणहरू छन्। यहाँ ती विविध कारणहरूमध्ये केही मुख्य र समसामयिक कारणहरूका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ। अहिले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने एउटा लहर चलेको छ। संस्थागत विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पढाउने गरेका कारण र अभिभावकको चाहना यसतर्फ बढी रहेकाले सामुदायिक विद्यालय बाध्यतावश अङ्ग्रेजीमोहमा फँस्नु परेको छ। अन्तराष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजी माध्यमलाई जोड दिनुलाई नराम्रो मान्न सकिन्न, तर अङ्ग्रेजी माध्यम नै शैक्षिक गुणस्तर मापनको मूल आधार हो भन्ने विमर्श स्थापना गर्न खोजिनु सबैभन्दा दुर्भाग्यपूर्ण छ।

अङ्ग्रेजी माध्यम हुँदैमा गुणस्तर आउँछ भन्ने धेरै अभिभावकको गलत सोचाइका कारण धेरै सामुदायिक विद्यालय सकी नसकी अङ्ग्रेजी माध्यमतर्फ अगाडि बढिरहनु परेको छ। अङ्ग्रेजी माध्यम चलाइरहेका कतिपय सामुदायिक विद्यालय उचित व्यवस्थापनका अभावमा फेरि नेपाली माध्यममै फर्किनु परेका थुप्रै उदाहरणहरू पनि हाम्रासामु रहेका छन्। जापानमा अङ्ग्रेजी भाषालाई माध्यमका रूपमा प्रयोग गरिन्न। चीन लगायत कयौँ देशमा अङ्ग्रेजी सिकाइलाई त्यति महत्त्व दिइँदैन। तर नेपालमा जानी नजानी सकिनसकी यसतर्फ बढ्नै पर्ने एउटा गलत भाष्य निर्माण गरिएको छ।

हामीले साना बच्चाले मोबाइल, आइप्याड, ट्याबमा थुप्रै कुरा चलाउन सिकेको र आफ्ना अभिभावकलाईसमेत सिकाइरहेको देखिरहेका छौँ। अब त्यस्ता जन्मदैँ प्रविधिसँग खेलेका बच्चाहरू विद्यालयमा आएका छन्। हिजोका जस्ता टेलिभिजन पनि देख्न नपाएका बच्चाहरू होइनन्। सिकारुमा आएको यो परिवर्तनलाई हामीले देखेका छैनौँ वा देखेर पनि वास्ता गरिरहेका छैनौँ। सिकारुले घरबाट र वातावरणबाट सिक्ने सिकाइ नै यति जटिल भइसकेपछि विद्यालयमा सिकाउने तरिकामा परिवर्तन आउनु अत्यन्त आवश्यक भइसकेको छ।

खासगरी नाफामूलक निजी संस्थाहरूले यस भाष्यलाई अवसरका रूपमा प्रयोग गरिरहेका छन्। अङ्ग्रेजी पटटट बोल्ने भएपछि सबै कुरा प्राप्त हुन्छ भन्ने मान्यता जबर्जस्त स्थापना गरिएको छ, जुन शैक्षिक गुणस्तरका निम्ति सबैभन्दा घातक रहेको छ। फेरि यसको अर्थ अङ्ग्रेजी माध्यम गर्दैमा बिग्रिहाल्ने भन्ने पनि होइन, तर यसलाई मात्र सबथोक मान्दा जीवनका लागि आवश्यक सिकाइका अन्य सीपहरू ओझेलमा परिरहेको तर्फ पनि गहिरो गरी ध्यान दिनु जरुरी छ। नेपाली, मैथिली, जापनीज आदि जस्तै अङ्ग्रेजी पनि एउटा भाषा हो। यो हरेक नेपालीहरूका लागि सिकाइका दृष्टिले दोस्रो वा तेस्रोभाषा बन्दछ। अन्तराष्ट्रिय भाषाका रूपमा यसको महŒव निश्चित रूपमा उच्च नै छ, तर यसैलाई सिकाइको साध्यका रूपमा हेर्न खोज्ने वर्तमान शिक्षाको प्रवृत्तिले हाम्रो समाजका चाहना र आवश्यकतालाई तथा नेपाली विद्यार्थीका सिकाइआवश्यकतालाई कुनै पनि हालतमा पूरा गर्न सक्दैन।

हाम्रा विद्यालय तथा महाविद्यालयमा आज पनि सिकाइको मूल प्रवृत्तिमा आधारभूत परिवर्तन आएको छैन। बाहिर देखाउनका लागि जति गफ गरिए पनि वास्तविक रूपमा शिक्षणको मूलभूत स्वरूप हिजोको जस्तै छ। परम्परागत घोकन्ते शिक्षा पद्धतिलाई हाम्रा विद्यालयबाट हटाउन सकिएको छैन। घोकाएर, रटाएर जसरी भए पनि जाँचमा अङ्क प्राप्त गराएपछि अभिभावक खुसी हुन्छन् भन्ने मानसिकताका कारण घोक्ने प्रवृत्तिमा घटोत्तरी भएको छैन। जाँचको बेलामा घोकेर प्राप्त गरेको अङ्कले जीवनका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सक्दैन। घोकाउने कुराले विद्यार्थीको सीप र जन्मजात क्षमतालाई सधैँका लागि समाप्त पारिदिन्छ। सिर्जनशीलता र घोकन्ते विद्या कहिल्यै एक ठाउँमा बस्न सक्दैनन्।

शिक्षाको उद्देश्य सिर्जनशीलता बढाउने वा व्यक्तिभित्रको जन्मजात क्षमतालाई उजागर गर्ने खालको हुनुपर्छ। त्यसैले अब प्रत्येक शिक्षक, विद्यार्थी र अभिभावकले घोकाएर होइन, बुझाएर, बुझेर, प्रयोग गरेर हेर्ने खालको सिकाइमा रुचि राख्नु पर्छ। आज परम्परागत घोकन्ते शिक्षाका कारण हजारौँ युवाहरू पढेर पनि सीपविहीन हुनुपरेको छ। शैक्षिक डिग्री हासिल गरेर पनि अपाङ्ग जस्तो बन्नु परेको छ। जीवनलाई चाहिने व्यावहारिक ज्ञान र सीप हासिल नहुँदा तिनले प्राप्त गरेका डिग्रीहरू तिनैका लागि बोझिला बनिरहेका छन् भने विद्यालयहरू निराशा जन्माउने कारखाना बन्दै छन्। निश्चय पनि यो असाध्यै गम्भीर र दुखद् विषय हो।

आज विज्ञान प्रविधिले विश्वलाई साघँुरो बनाइदिएको छ। विश्व एउटा परिवारजस्तो बनिरहेको छ। गुगल, फेसबुक, ट्विटर, म्यासेन्जरजस्ता एपस्हरूका कारण सूचना प्राप्त गर्ने र सिक्ने तरिकामा पनि ठूलो परिवर्तन आएको छ। आज अनलाइनबाट सूचनाहरू घरमै बसेर प्राप्त हुन्छन, जसले गर्दा सूचनाका लागि विद्यालय जानुपर्ने हिजोको जस्तो अवस्था अहिले छैन। हाम्रा दुई वर्षकै बच्चाहरूले हाम्रोभन्दा धेरै मोबाइलका तथा इन्टरनेटका कुराहरू जानिरहेका छन्। हामीले साना बच्चाहरूले मोबाइल, आइप्याड, ट्याबमा थुप्रै कुराहरू चलाउन सिकेको र आफ्ना अभिभावकलाई समेत सिकाइरहेको देखिरहेका छौँ। अब त्यस्ता जन्मदैँ प्रविधिसँग खेलेका बच्चाहरू विद्यालयमा आएका छन्। हिजोका जस्ता टेलिभिजन पनि देख्न नपाएका बच्चाहरू होइनन्। सिकारुमा आएको यो परिवर्तनलाई हामीले देखेका छैनौँ वा देखेर पनि वास्ता गरिरहेका छैनौँ। सिकारुले घरबाट र वातावरणबाट सिक्ने सिकाइ नै यति जटिल भइसकेपछि विद्यालयमा सिकाउने तरिकामा परिवर्तन आउनु अत्यन्त आवश्यक भइसकेको छ।

अबका प्रविधिमैत्री बच्चाहरूलाई तपाईँ हामी किताबमा मात्र भुलाएर राख्न सक्दैनौँ। अब तिनले प्रविधिबाट सिकेका थुप्रै विषयलाई शिक्षण सिकाइमा प्रयोग गर्नेतर्फ चनाखो हुनुपर्ने बेला आएको छ। अब सिकाइमा साँच्चै प्रविधिको अधिकतम प्रयोग गर्नु आवश्यक भएको छ। प्रविधिमैत्री सिकाइ आजको आवश्यकता हो भन्ने कुरामा कुनै दुई मतै छैन। हाम्रा विद्यालयहरूमा प्रयोग गर्ने कम्प्युटर हात्तीका देखाउने दाँतजस्तै अभिभावकलाई झुक्याउन र पैसा असुल्नमात्र प्रयोग भइरहेको तथ्यलाई कसैले लुकाउन सक्ने स्थिति छैन। अब प्रत्येक कक्षा प्रविधिमैत्री नभएसम्म सिकारुका आवश्यकता पूरा गर्न सकिँदैन। फेरि अहिले आएर आर्थिक रूपले पनि प्रविधिमैत्री कक्षा बनाउनु त्यति ठूलो कुरा पनि रहेन।

हाम्रा विद्यालयहरूमा खेललाई कति प्राथमिकता दिइएको छ भनेर हेर्ने हो भने यो असाध्यै निराशाजनक अवस्थामा छ। खेल जीवनको आवश्यकता हो। तीव्र वृद्धि र विकास हुने उमेरका विद्यार्थीहरूका लागि खेलको ठूलो आवश्यकता रहन्छ। खेललाई माध्यमका रूपमा प्रयोग गरेर थुप्र्रै कुराहरू विद्यार्थीलाई सिकाउन सकिन्छ। यसरी सिकाएको सिकाइ धेरै दिगो पनि हुन्छ। यो तथ्यलाई हाम्रा विद्यालयहरूमा कति उपयोग गरिएको छ त भनेर हेर्ने बेला आएको छ। अब सिकाइ खेलमैत्री हुनुपर्छ। विद्यालयहरू खेलमैत्री हुनुपर्छ।

देखाउन र पैसा असुल्नका लागि मात्र वा अभिभावकलाई झुक्याउनका लागि मात्रप्रयोग गर्ने खेल नीतिले वास्तविक सिकाइ उपलब्धि हासिल गर्न सकिँदैन। आज खेलकै माध्यमबाट आर्थिक समृद्धि हासिल गरिरहेका देशहरूले शिक्षण सिकाइमा खेललाई कसरी उपयोग गरिरहेका छन् तथा तिनका यससँग सम्बन्धित राम्रा अनुभवहरूलाई हाम्रा विद्यालयहरूमा पनि लागू गर्नेतर्फ चासो दिनुपर्दछ। अब राज्यले पनि खेलसँग सम्बन्धित न्यूनतम मापदण्डहरू प्रत्येक विद्यालयले पूरा गरेकै हुनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्दछ।

हाम्रा विद्यालयहरूमा सैद्धान्तिक रूपमा जति निर्माणात्मक र उपचारात्मक मूल्याङ्कन प्रणाली भने पनि व्यावहारिक रूपमा त्यसको सफल कार्यान्वयन हुन सकेको छैन। कक्षामा कमजोर विद्यार्थीहरूलाई विशेष मनोवैज्ञानिक तथा उपचारात्मक विधिको सफल प्रयोग गर्न सकिएको छैन। यद्यपि यसतर्फ प्रयासहरू भएकै छन् तर अपेक्षित परिणाम आइरहेको छैन। शिक्षकले एक चोटि डिग्री हासिल गरेपछि सधैँ त्यसैले काम गर्ने विधिको अन्त्य हुनुपर्छ। शिक्षकलाई ज्ञान तथा विधि प्रविधिमा ‘अप टु डेट’ बनाउनुपर्छ। शिक्षकलाई राज्यले विशेष संरक्षण र आर्थिक सुरक्षाको प्रत्याभूति दिनुपर्छ।

अन्य कक्षाहरूमा भन्दा पूर्व प्राथमिक कक्षाहरूमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। जीवनको भावी रूपरेखा निर्धारण गर्ने कक्षाहरूमा त्यही अनुसारको मनोवैज्ञानिक सिकाइ वातावरण सिर्जना गर्नुपर्दछ। ‘विद्यालय मामाघर जस्तै हो’ भन्ने भावनाको विकास साना विद्यार्थीमा गराउन सक्नुपर्छ। उनीहरूले विद्यालय मेरा लागि सुरक्षित छ भन्ने अनुभूति गरेको हुनुपर्छ। शिक्षणका क्रममा हुने दण्डलाई पूर्ण रूपमा निषेधित नगरेसम्म बालमैत्री विद्यालयको कल्पना नगरे पनि हुन्छ। बालमैत्रीका जति नारा लगाए पनि यसको कार्यान्वयन पक्ष आज पनि असाध्यै जटिल बनिरहेको छ।

विद्यार्थीलाई यातना दिने प्रवृत्तिमा केही कम त भएको छ, तर यो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। जुन शिक्षकसँग विद्यार्थी डराउँछन्, त्यही शिक्षकलाई ठूलो ठान्ने र त्यही शिक्षकलाई ‘हिरो’ मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। शिक्षकलाई देख्दा विद्यार्थी डरायो भने मान्नोस् त्यो विद्यार्थीले शिक्षकबाट के सिक्ला? त्यसैले डराउन दिने र विद्यार्थीलाई हतोत्साहित बनाउने परम्परागत प्रवृत्तिको छिटोभन्दा छिटो अन्त्य हुनुपर्छ। विद्यालयमा कुनै पनि नयाँ कार्यक्रम र योजना निर्माण गर्दा त्यसको दिगोपनाका सम्बन्धमा सबैभन्दा बढी छलफल गर्नुपर्दछ। विद्यालयमा धेरै नयाँ कार्यक्रम लागू गर्ने तर कुनै कार्यक्रमलाई पनि दिगो बनाउन नसक्ने समस्या देखिन्छ। खासगरी सामुदायिक विद्यालयहरूका सन्दर्भमा कार्यक्रम टिकाउको बढी समस्या देखिन्छ।

अभिभावक सचेतना पनि यस सन्दर्भमा महŒवपूर्ण विषय हो। हाम्रा कतिपय अभिभावकहरूले ठूलाठूला भवन र चिल्ला गाडी देख्ने बित्तिकै राम्रो पढाइ हुन्छ भन्ने ठान्नुहुन्छ। हामीले भवन र गाडीमात्र हुँदैमा गुणस्तरीय शिक्षा प्राप्त हुँदैन भन्ने कुरा बुझाउन सक्नुपर्दछ। खासगरी कक्षाकोठामा कस्तो शिक्षण विधिबाट कसरी शिक्षण सिकाइ क्रियाकलाप भइरहेको छ, विद्यार्थीको सिकाइ कसरी अगाडि बढिरहेको छ त्यो सबैभन्दा मूलभूत कुरा हो। विद्यार्थीमा प्रत्येक दिन नयाँ परिवर्तनको अनुभूति भएको छ कि छैन, त्यो आधारभूत कुरा हो। अरू सबै सहायक कुराहरू हुन्। विद्यालय वातावरण सिकाइका लागि उपयुक्त बनाउन सकिएन भने जतिसुकै प्रयास गरे पनि सिकाइ प्रभावकारी बन्न सक्दैन। हामीले विद्यालय भित्र पस्ने बित्तिकै विद्यार्थीलाई केही सिकौँ सिकौँ लाग्ने वातावरण सिर्जना गर्न सक्नुपर्दछ। यो कुरा अभिभावक तथा समुदायलाई बुझाउन सक्नुपर्छ। यसरी माथि उल्लेख गरिएका विविध पक्षमा हामीले ध्यान दिन सक्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थी खोज्न गल्ली गल्ली धाउनुपर्ने वर्तमान स्थितिको अन्त्य हुने कुरा निश्चित छ।

Related News

सम्बन्धित समाचार

hero news full width