सांस्कृतिक विविधताको पर्व तोरन्ल

Avatar वीरेन्द्रकुमार हिराचन
चैत्र ६, २०७५

सांस्कृतिक विविधताले भरिएको नेपाल सुन्दर देश हो। यहाँ एकसय भन्दा धेरै बोलिने मातृभाषाहरू छन्। त्यस्तै अनेकौं नेपालका हिमालदेखि तराईसम्म विभिन्न जातिहरू छन्। ती सबैका आ–आफ्नो मौलिकता, उत्पत्ति झल्कने परम्परा संस्कृति रहेका छन्। जसबाट उनीहरूको आफ्नो पहिचान जीवनशैलीलाई झल्काउने गर्दछन्। थकाली जाति पनि नेपालको उत्तर भेगमा हिमालपारीको जिल्ला मुस्ताङको थाकखोला आफ्नो उद्गमस्थलको रूपमा स्वीकार्दै आएको छ। हाल थकाली जातिहरूको सदिँयौदेखि नै आफ्नो व्यापार, व्यवसाय खोजीको सिलसिलामा उत्तरमा तिव्बत नेपालको तराईदेखि भारतको उत्तराखण्डहरूमा प्रवेश गरिएको पाइन्छन्। हाल आएर स्वदेशमात्र होइन, विदेशतिर पनि नयाँ अवसरको खोजीको सिलसिलामा पुगेका थकालीहरू स्थायीरूपमा अन्यत्र मुलुकहरूमा व्यवसायमा संलग्न छन् । यसरी नै अरु जाति जस्तै– मार्फाका यी थकालीहरू स्वदेश र विदेशमा पनि छरिएर रहेका पाइन्छन्। समयको कालखण्ड अनुसार जहाँ जहाँ पुगे त्यहाँ पनि संगठितरूपमा आफ्नो संस्कृति पहिचानको संरक्षण र प्रवद्र्धन गर्न ठूलो सानो जस्तो भए पनि समाज स्थापना गरेर आफनो मूल पहिचानको लागि आफ्ना गतिविधिहरू अगाडि बढाइराखेका छन्। उदाहरण मार्फा थकालीहरू २०२९ सालमा पोखरा महानगरपालिका चापापानीस्थित मार्फा थकाली समाज सेवा सदन स्थापित छ। जहाँ मार्फाका यी थकालीहरुले विभिन्न चाडपर्व, सामाजिक गतिविधिहरू संचालन गर्दै आइराखेका छन्।

यसरी फागुपूर्णे थकालीहरूको महानचाडको रूपमा परापूर्वकालदेखि मान्दै आएका छन्। यो चाडलाई थकालीहरूको विभिन्न ठाउँ र गाउँअनुसार नाम उच्चारण गर्दछन्। जस्तै– तोरन्ल, तोरन्ल्ह, तेरमीन, इत्यादि। मार्फाका थकालीहरूको यो चाड तेरमीनको नामले प्रख्यात छ। तेरको अर्थ शुभ, मीनले दिन अर्थात् शुभदिन भन्ने बुझिन्छ। मार्फाका यी थकालीहरू सबैजसो बुद्धधर्ममा विश्वास राख्छन्। हरेक जीवनशैली पर्वहरू बुद्धधर्मको दर्शनलाई मेल खाने गरेर मनाइएको पाइन्छन्। जन्मदेखि मरणसम्मको जीवनशैलीमा यसको पूर्ण प्रभाव परेको देखिन्छ। यो तेरमीन पर्व यिनीहरूले त्यसरी नै विश्वासका साथ मनाउँदै आएका छन्।

सिद्धार्थ गौतम बुद्धले आफ्नो ज्ञान प्राप्ति गर्न मानव जातिका दुःखको कारण र यसबाट मुक्ति पाउन राजप्रासाद त्यागी गएका थिए। सिद्धार्थ गौतमले आफ्नो कठोर तपस्या र साधनाबाट बुद्धत्व ज्ञान प्राप्त गरेका थिए।  कपिलवस्तुमा राजा शुद्धोदनले आफ्नो छोरालाई फर्काउन आग्रह गर्न पुगेका सबै दूतहरू बुद्धका साथमा भिक्षु बनि बसेका थिए। धेरै दूतहरू फकेर्नन्। अन्तमा राजाको आग्रहमा विश्वासिलो आफ्नो मन्त्रीलाई पूरा वचनबद्ध गराइ बुद्धलाई फर्काउने सन्देशसाथ आग्रह गर्दै पुगे। त्यहाँ उनले आफ्ना सबै दूतहरु केशमुण्डन गरेर बुद्धको साथमा समाहित भएर बसेका पाए।

बुद्धको सामुन्ने पुगेका मन्त्रीले बुद्धलाई आफ्नो पिताको सन्देश आग्रहपूर्वक विन्ती गरेपछि बुद्धले जवाफदिए, ‘अनुकूल समय आउँछ त्यतिबेला म आइपुग्छु। ’ यसको तात्पर्य बुद्ध फर्कने समय भनेको वसन्त ऋतुको आगमन फागुपूिर्णमाका दिन राम्रो संयोग थियो। वसन्त ऋतुमा पातपतैया, वनस्पति पलाउनेदेखि चराचुरुङ्गी प्राणीहरु सबैका लागि मौसम अनुकूल भएको समयमा बुद्धको आगमनको दिन यकीन गरिएको थियो।  बुद्ध दरबारमा आइपुगेको दिनलाई नितान्त पवित्र, सुखमय दिनको रूपमा मानिएको थियो। यो भनाइस“ग आफ्नो विश्वासलाई आत्मसात गर्दै थकालीहरु बुद्धप्रति आफ्नो आस्था दर्शाउँदै यो तेरमीन पर्व,फागुपूर्णे चाड मनाउँदै आएको कुरामा विश्वास राख्दै आएका छन्।

परापूर्वकालदेखि मार्फाका थकालीहरूले यो चाडलाई अत्यन्त हर्ष र उल्लासका साथमा मनाउँदै आएका छन्। मार्फा गाउँ शुरुमा १४ दिनसम्म विभिन्न परम्पराहरूका साथ मनाउँथे। हाल आएर समय सापेक्ष हुने गरी ७ दिन चाड मनाउने गर्दछन् । यो पर्व मनाउन पूर्णे अगावै साइत समयको यकिन गरेपछि मुखिया मार्फत् मार्फा गाउँलेहरू सबैलाई जानकारी गराउँछन्।  पूणेर्को दिन उज्यालो नहुँदै सबैको घरघरमा लिपपोत, खोलाबाट राति नै चोखोपानी ल्याउँछन्। घरको मूलपूजा गर्ने स्थानमा चोखोपानी चढाउनु, छेमे बत्ती दीप प्रज्ज्वलन गर्नुको साथै खानाका विविध परिकारहरू आफ्नो पितृहरूको नाममा चढाउँदै तेरमीन पर्वको शुभारम्भ गरिन्छ। प्रत्येक घर परिवारले आफ्नो भेषभूषा सजिएर खानाको परिकार साथ मुख मिठाउँदै चाड मनाउने गर्दछन्।

मार्फा गाउँको सिरानमा रहेको सामुदायिक भवनमा त्यो पूर्णको दिनमा १८ वर्षदेखि माथिका सबैजसो भेला हुने गर्दछन्। जहाँ सामूहिकरूपमा भेलाभई गाउँको मुखियादेखि सबै गाउँलेहरू पितृहरुको सम्झना र सम्मानमा छे छे पूजा गर्ने गर्दछन्। सो पितृहरुको नाममा एउटा स्योम्प कोष हुन्छ।  स्योम्पकोषबाट सो दिनमा सबै भेला हुनेहरुले खानाको परिकारहरुले मुख मिठाउने गर्दछन्। यसरी भोज खाइवरी विशेष थकालीहरुको भेषभूषामा रहेर पितृहरुको यादमा परम्परागत लुरपीनले (गायककार) गीत आरम्भ गर्दै सबैले साथ दिँदै सहभागी सबै मार्फा गाउँतर्फ प्रस्थान गर्दछन्।

पुर्खाहरु र सबै देवीदेवताहरुको नाममा पूजा अर्पण गरेर हामी स्योम्पहरु आइपुग्यौं। आकाश, पृथ्वी, वायुमण्डलको साथसाथ सम्पूर्ण प्राणीजगतको उद्धारको लागि पूजा गरी आइपुगेका छौं। सबै हामी गाउँलेहरुको सुख र समृद्धिको कामना गरी हामी आइपुगेका छौ।  सबैको दीर्घायुको कामना गर्दै हामी आइपुग्यौं। यस्तै उद्गारहरु साथ गीत गाउँदै स्योम्पटोली मार्फा गाउँमा प्रवेश गर्दछन्। जस्तै मार्फा थकाली भाषाको गीत :

छेल्पो फुल्सी धोयूची स्हेम्बो, छेल्पो फल्सी धोयूचि

घाङ ए पैम सोम सुर स्हयूव स्हयूतो क भिसि

छेल्पो फुल्सी धोयूचि

ङहर्यूल्सौ धेरो ओङ धर्तो भिसी

ल्हुई धर्तो भिसि सवन तप्सी धुईचे

साजबाज दमाहासहित गीत गाउँमा पुग्दा महिला समूह जसलाई ङूइमिन भनिन्छ। स्योम्प समूह टोलीहरुको स्वागतार्थ प्रतीक्षामा रहेका हुन्छन्। भेषभूषामा सजिएका महिलाहरुले परम्परागत गीतमा वहाँहरुको विशेष स्वागत गर्दछन्। महिला समूहको स्वागत गीतको भावार्थ यस्तो छ, ‘स्वागत गर्न हामी आयौं। १२ महिनामा एक पटक आउने अति रमाइलो तोरन्ल तेरमीन पर्व आयो भनेर स्वागतको लागि हामी उपस्थित भएका छौ। सबैको सुस्वास्थ र समृद्धिको कामना गर्न हामी यहाँहरुको स्वागतको लागि आइपुगेका छौं। ’

ए…हे….यां …आमा केम्ज्यारी ङी धोजे, आमा केम्ज्यारी धोजे

ल चुङी लम तोरेन्ल घिव झर्योङ्गसी सुङ् मो, केम्ज्यारी ङी धोजे।

विशेष खादा, फूल र पेय वस्तुहरुले स्वागत गरिन्छ। स्वागतपछि स्योम्प टोलीहरुले सगुनवापत केही नगद दिने प्रचलन छन्। यसरी स्योम्पटोलीका साथ महिलाहरु पनि गीत गाउँदै गाउँको मध्यभागसम्म आइपुग्छन्। स्योम्प पुरुषटोली पनि मार्फाको सामुदायिक भवनतर्फ धनुषकाण खेल खेल्ने ठाउँतर्फ लाग्छन्। त्यहाँ तयार पारिएको धनुषकाँण खेल खेल्ने ठाउँमा पुगी स्योम्पहरुले विधिपूर्वक पितृहरुको सम्झनामा परम्परागत गीतको साथ धनुष खेल आरम्भ हुन्छ।  सहभागी खेलाडीहरुलाई दुई टिममा विभाजन गर्दछन्। फो र म्हो नामले समूहहरूको नाम पहिचान गर्दछन्। यो म्हो समूहले तिरखेल हान्छ भने अर्कोले एक पटकमात्र।

यो तेरमीन पर्वको मुख्य आकर्षकमध्ये धनुषकाण खेल हो। पालो गरी धापेन अर्थात् खेल समूहको प्रमुख बन्ने चलन छ। यसरी रमाइलो साथ खेल खेल्दै दिन व्यतीत हुन्छ।  दोस्रो दिन पनि त्यसरी नै यो परापूर्वकालदेखि नै थकालीहरूद्वारा खेलिने यो खेलको लागि धर्सा काठको फलेकले स्थापना गर्न विशेषन परम्परागत बाजागाजा, पूजासहित स्थापित गराइन्छ। उक्त पूणेर्को अवसमा पितृहरूको सम्झनामा याद गर्दै उक्त फो म्हो दुवै समूहले पालो–पालो धनुषकाण खेल शुरु गर्दछन्। खेल समापन भएपछि करिब साँझको ८ देखि १० बजेसम्म गाउँका सम्पूर्ण विवाहित महिला (ङूइमिनहरु) जातीय भेषभूषामा गीत गाउँदै गाउँका सामुदायिक कोटघर पुगी गोल आकार बनेर घुंडाको चालमा वरिपरि घुम्दै नाच्न गर्दछन्।  यो प्रकारको नाच आसिक थकाली गान र परम्पराको नाचका साथ आफना पुर्खाहरुलाई सम्झदै रमाइलो गर्दछन्। सो अवसरमा गाउँका भद्रभलाद्रमी युवायुवती बालबालिकाहरु दर्शक बनी नाचमा सहभागी हुन्छन्। हरेक साँझमा नाचिने खेलमा २ महिनाको नाम पुकार गरेर पुर्खाहरुको सम्झना दिवंगत आत्माको शान्तिको कामना गर्नै प्रचलन अद्यावधि छ। एवम् प्रकारले ६ दिन आशिक गीतका साथ पूजा गर्दा १२ महिनाभरी दिवंगत हुने र पूर्खाहरुको नाममा पूजा पुकार गराउने चलन अद्यापि छ। यसरी साँझको नाच गीत गायन र पूजा गरी तेरमीन समापन गर्दछन्।

अन्तमा, रोगव्यथाहरू र अशुभ दिनहरुबाट सबैले मुक्ति पाऊन् भनी मार्फाको गाउँको लामाहरूले ग्रह कटाउने प्रचलन रहेको छ। गाउँको मध्यभागबाट ग्रह काटन दुवैतर्फ अर्थात् गाउँको उत्तर र दक्षिण गाउँको अन्तिम स्थानमा आगोको राँगो दौडाएर समाधि गर्ने गर्दछन्।  सम्पूर्ण मावनजातिको सुखशान्ति, समृद्धि र मेलमिलापको कामना गर्दै तेरमीन पर्व समापन हुन्छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

तङ्ग्रिदै सामुदायिक विद्यालय

प्रेसविरोधी विधेयक खारेज गरिनुपर्छ

स्थानीय सरकारलाई चटारो

के हामी ठीक बाटोमा छौँ?

भगवान् श्रीकृष्ण सबैका साथी

प्रमुख समाचार

जीप दुर्घटना ८ जना वेपत्ता

थप प्रमुख समाचार

मापदण्ड भित्रको पर्खाल भत्काइयो

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

सञ्चयकोषको सेवा विरौटाबाट सुरु