सहृदयी मित्र भोजराज सुवेदी

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७२

late Vojraj Subediशब्दचित्रमा भोजराज सुवेदी

भोजराज सुवेदीलाई शब्दचित्रमा उतार्दा उनी प्रायःजसो कोकिटा रङ्गको दौरा, सुरुवाल, नेपाली टोपी र कलेजी रङ्गको दौरा, सुरुवालमा सजिएर हिँड्ने राष्ट्रवादी नेपालीको अनुहारको रुपमा म सम्झन पुग्छु। उनको अनुहार हिस्सी, आकर्षक, हँसिलो प्रकृतिको थियो। बोलीको शब्दध्वनिमा एक प्रकारको मौलिक विशेषता भएकाले उनीसँग संवाद गर्दा मैले उनलाई चिरपरिचित मित्रका रुपमा सम्झन पुगेको थिएँ। अनुहार नै ‘मनको सूचिपत्र हो’ भन्ने एउटा अङ्ग्रेजी उक्ति छ। वास्तवमा हामीलाई पहिला अनुहार र पछि बोली र व्यवहारले प्रभाव पार्ने गर्छ। स्पष्ट बोलीमा सत्यताको आभाष झल्कन्छ। ‘सत्य बोल, प्रिय बोल, यस्तो सत्य नबोल जो अप्रिय होस्। यस्तो प्रिय पनि नबोल, जो असत्य होस्। यही नै सनातन धर्म हो’ भन्ने मनुस्मृतिको उक्ति छ। यस्तै के कुराले हो भोजराज सुवेदी र म पारस्परिक रुपमा आकषिर्त हुन पुगेका थियौँ। समय र स्थान भने सम्झना छैन।

श्रीकान्त र भोजराज सुवेदी

जीवनको उत्तरार्द्धमा लमजुङ, दुराडाँडाका श्रीकान्त अधिकारी र कास्की, हंसपुरका भोजराज सुवेदी पोखरा पचभैंयाको सानो पहाडमा बस्ने गर्थे। श्रीकान्तको निवास वेगनासतालतर्फ र भोजराजको निवास रुपतालतर्फ फर्केको थियो। यिनीहरूले पचभैंयाको पहाडलाई सुन्दरेडाँडाको नामाकरण गरेर त्यस वरपरका वासिन्दालाई शैक्षिक चेतना प्रदान गर्न त्यहाँ माध्यमिक विद्यालय स्थापना गरे। उनीहरूले त्यही डाँडामा भगवतीको मन्दिर बनाएर त्यहाँ धार्मिक अनुष्ठान पनि गरेका थिए। त्यही डाँडाको पूर्वी पाखामा काठमाडौं निवासी अष्टमङ्गल बज्राचार्यले बौद्ध धर्मको उपासना गर्ने अभ्यास गरेका थिए। आजकल त्यो ठाउँ विपश्यना ध्यान गर्ने थलो बनेको छ। दक्षिणतर्फ रुपातालको सानो क्षेत्रमा गोरखनाथको मन्दिर पनि छ, जहाँ योगी नरहरिनाथले कोटीहोम महायज्ञ गरेका थिए। यस दृष्टिकोणले हेर्दा पचभैंयाको डाँडो आज पर्यटकीय क्षेत्रमा परिणत हुँदै छ। यो डाँडाप्रति आस्था राखेर विकास, निर्माण गर्ने श्रेय अग्रणी चिन्तक श्रीकान्त, भोजराज र अष्टमङ्गललाई दिनुपर्छ।

प्रेरणाको स्रोत के हो त ?

मानिसको प्रतिभा शिक्षाको प्रभावद्वारा विकसित हुने मौका आउँछ। भोजराज सुवेदीको जन्मस्थान कास्कीको पूर्वी क्षेत्र मादीको पश्चिम पहाड हंसपुर हो। दुराडाँडा, लमजुङको पश्चिमी क्षेत्रको त्यस्तै अको पहाड हो। दुराडाँडामा भवे साहु वा भवदत्त ओढार खनियाँ भन्ने व्यक्ति तत्कालीन धनीमानी र उदार मनस्थितिका व्यक्ति रहेछन्। राणा प्रधानमन्त्री देव शमशेरको शैक्षिक उदारवादबाट प्रभावित भएर उनी आफू अशिक्षित भए पनि जनतालाई शिक्षित बनाउने उद्देश्यले काठमाडौंबाट टीकाराम पौड्याल नामक व्यक्तिलाई आफ्नो घरमा ल्याई पिंढी पाठशालाको रुपमा सरकारी पाठ्यक्रम अनुसार पढाउन निजी खर्चमा भाषा पाठशाला स्थापना गरेका रहेछन्। पण्डित टीकाराम संस्कृत मध्यमा पास गरेका प्रतिभाशाली व्यक्ति मानिन्छन्। उनको घर कास्कीको भरतपोखरी हो भन्ने भोजराज सुवेदीको भनाइ थियो। भवे साहूको पिंढी पाठशालामा संस्कृत प्रथामा, लघुकौमुदी, अमरकोश, हितोपदेश, रघुवंश पढेर पूर्व मध्यमासम्म अध्ययन गरेका भोजराज सुवेदी र श्रीकान्त त्यस समयदेखिका सहपाठी रहेछन्। पछि श्रीकान्तले दुराडाँडामा आधुनिक शिक्षाको विजारोपण गरे भने भोजराजले हंसपुरमा त्यसरी नै शैक्षिक विकासका निम्ति अथक प्रयास गरेको पाइन्छ।

राजनीतिक क्षेत्रमा प्रवेश

२००७ सालको राजनीतिक परिवर्तनपछि श्रीकान्त र भोजराज दुवै नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गरेर राजनीतिको अभ्यासमा लागे पनि २०१७ सालपछि उक्त दुवैले राजनीतिलाई गौण मानी शिक्षा र समाजसेवामा योगदान गर्न थालेका थिए। पचभैयाको डाँडामा शैक्षिक चेतना प्रदान गर्न पुनः श्रीकान्त र भोजराज एक साथ हुनु भनेको संयोगको कुरा मान्नुपर्छ। यी दुवै व्यक्तिका प्रेरणाका स्रोत लमजुङ चिसङ्कुका डी. श्रीप्रसाद घिमिरे रहेछन्। उनको राजनीति र काव्य प्रतिभाबाट यिनीहरू प्रभावित भएको बेला-बखत यिनीहरूका वाणी र लेखरचनाबाट प्रकट भएको पाइन्छ।

राजतन्त्रका पक्षपाती, प्रजातन्त्रका समर्थक

राजा महेन्द्रले ०१७ सालको परिवर्तनपछि पञ्चायत व्यवस्थाको स्थापना गरे। पञ्चायत व्यवस्थामा प्रजातन्त्रका मौलिक हक निलम्बन गरिएको हुँदा प्रजातन्त्रको कुठाराघात भएको थियो। तर पनि परिवर्तनप्रति आस्था राख्नेहरूले राजतन्त्रको प्रत्यक्षतः विरोध गर्न सकेका थिएनन्। अनेकतामा एकताका निम्ति नेपालमा राजतन्त्रको आवश्यकता छ तर त्यो संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने तत्कालीन राजनीति गर्नेहरूको धारणा थियो। आखिर २०४६ सालको आन्दोलनले पञ्चायत व्यवस्थालाई उन्मूलन गरे पनि संवैधानिक राजतन्त्र कायम राखेको थियो। तर राजा र राजनैतिक दलका नेताको प्रतिस्पर्धाका कारणले गर्दा विदेशीहरूले नेपाललाई आफनो स्वार्थ प्रयोगको क्षेत्र बनाउन थालेपछि यहाँ राजतन्त्र र प्रजातन्त्र दुवै एकै साथ समाप्त गरियो। यसपछि भोजराज सुवेदी र श्रीकान्तहरूले राजनीतिको भविष्य देखेनन्। देशमा भाँडभैलो हुँदै गएकोमा तिनीहरू चिन्तिन थिए। राजतन्त्र र प्रजातन्त्रको अवसान भएपछि यो देशको भविष्यमा प्रश्नचिन्ह लागेको छ। राजनीतिक दल र यसका नेतृत्वको अस्ितत्वमा पनि जनविश्वास गुमेको छ।

भोजराज सुवेदीको अभिनन्दन

कास्कीको हंसपुर पहाड भोजराज सुवेदीको जन्मस्थान हो। २०६८ मार्ग २२ गते हंसपुरका शैक्षिक संस्थान र जनसमूहले भोजराजको समाजसेवा र शैक्षिक योगदानको कदर गर्दै अभिनन्दन गर्ने कार्यक्रम राखेका थिए। त्यस बखत पोखराका धेरै प्रतिष्ठित व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको थियो। म पनि आमन्त्रित थिएँ तर हंसपुरसम्म पुग्ने विचारमा म थिइनँ। भोजराजसँग मैले क्षमायाचना गरेँ। उनले भने-‘यसो भन्न पाइँदैन। त्यो त मेरो चौरासीजस्तै हो। नगएमा म दुःख मान्नेेछु।’ भोजराजले आग्रह गरेपछि म उक्त अभिनन्दन समारोहमा हंसपुरमा पुगेको थिएँ। भोजराजको योगदानको सम्मान गरेर हंसपुरका जनताले बाजागाजाका साथ तामदानमा चढाएर उनलाई क्याम्पस क्षेत्रमा ल्याए। काठमाडौं विश्वविद्यालयका उप-कुलपति सुरेशराज शर्मा प्रमुख अतिथि थिए। उनले माला, दोसल्ला र सम्मानपत्र प्रदान गरेर अभिनन्दन गरे। हंसपुर क्षेत्रका शिक्षण संस्था र सामाजिक संस्थाले पनि भोजराजलाई सम्मान, अभिनन्दन गरे। हामीले फूलका गुच्छा र मालाद्वारा भोजराजलाई अभिनन्दन गर्‍यौँ। त्यस बखत ‘भोजराज सुवेदी अभिनन्दन ग्रन्थ’ पनि लोकार्पण गरिएको थियो। आफ्नो अभिनन्दनको प्रत्युत्तरमा भोजराज सुवेदीले भने-‘आफ्नो जन्मथलोमा ८० औँ वर्षमा पाइला सार्दै गर्दा मैले स्वप्नमा पनि नसोचेको यत्रो शौरव-गरिमाको सम्मान मलाई प्रदान गरियो। म अत्यन्तै सौभाग्यशाली रहेंछु। सामाजिक सेवा गर्दा कसैलाई मर्का परेको भए क्षमा गरिदिनुहुन निवेदन गर्दछु।’ भोजराजले सबैप्रति सहर्ष कृतज्ञता प्रकट गरे।

भोजराज सुवेदी केही वर्षदेखि पार्किन्सन रोगबाट थला परेका थिए। बेला-बखत फोन गर्थे। यही २०७२ को चैत महिनामा भोजराज सुवेदीको चौरासी पूजा गर्ने कार्यक्रम रहेछ।

तर फागुन १२ गते बिहानै उनको देहावसान भएको खबर प्रकाशमा आयो। उनले चौरासी पूजा गर्न पाएनन्। आफ्नो अभिनन्दनलाई भोजराज सुवेदीले त्यो त मेरो चौरासीजस्तै हो भनेको शब्द मेरो कानमा गुन्जिइरहेछ। कहिलेकाँही मानिसको बोलीमा ‘वाक्सिद्धि’ हुन्छ भन्छन्।

भोजराजको त्यस बखतको बोलीमा मैले वाक्सिद्धि भएको मानेँ। मृत्यु आकस्मिक रुपमा आउने अनिवार्य घटना हो। भोजराज अब यो संसारबाट सधैंका निम्ति बिदा भएर गए। ‘कीर्तिर्यस्य स जीवति’ उनका कीर्तिहरूले चीरकालसम्म उनलाई सम्झना गराइरहनेछन्। हाम्रो संस्कार र संस्कृतिले आत्माको अमरतालाई मानेको छ। भोजराजको चेतनतत्व अब प्रेरणाको स्रोत बनोस्, हामी सबैका निम्ति। निष्काम कर्मले मानिस निरन्तर प्रगति-पथमा अगाडि बढिरहेको हुन्छ। मृत्युले सर्त्कर्मका पदचिन्हहरूलाई मेट्न सक्दैन।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width