पोखराको तल्लो (दक्षिणी पूर्वी) भेगमा ज्ञानको ज्योति फैलाउने व्यक्ति थिए-सोमनाथ बराल। आज उनको देहावसान भएको १३ औं दिन उहाँको शैक्षिक योगदान सम्झेर श्रद्धाभाव उर्ल्लेर आउँछ, अनुभूति हुन्छ। तर दुःख लाग्छ त्यत्रो योगदान पुर्याएका व्यक्तित्वको सही मूल्याड्ढन नभएकोमा। हुन त पोखरामा उहाँजस्ता धेरै शिक्षाप्रेमी छन् जो जनमानसको स्मृतिमा लुकिरहेका, हराइरहेका छन्। पं. ऋषिकेशव पराजुली, सुन्दरप्रसाद मसारी, प्रेमचैत्यन्य ब्रहृमचारी, प्रेमराज मुल्मी, शिवबहादुर थापा, लक्ष्मण कार्की, वीरेन्द्रकुमार बाटाजूहरू, यहाँ ओझेलमा परेका छन्। पोखरेलीले तिनीहरूको इतिहास र योगदानलाई सम्झन सके समाजलाई नै फाइदा हुनेमा दुर्इ मत हुन सक्दैन।
सकरात्मक दृष्टिले हेर्ने हो भने समाजसेवीबाट धेरै असल काम भएको छ। नकारात्मक दृष्टिले हेर्ने हो भने यहाँ केही काम भएको छैन। तर, सत्य र यथार्थ के हो भने कुनै पनि मान्छे सबैका प्रिय हुन सक्दैन। न त सबैका अप्रिय नै हुन्छन्। व्यक्तिका जीवनी लेख्ने क्रममा मैले धेरै आलोचना पाएको छु। यदि यस्तै काम राजधानीमा गरेको भए यो राष्ट्रिय चर्चाको विषय हुन्थ्यो। तर मोफसलमा महान कार्यहरू तुच्छ ठानिन्छ। तसर्थ मलाई लाग्छ अब यो राष्ट्रिय बहसको विषय हुनुपर्छ।
धेरैले सोमनाथ गुरुलाई दानवीरका रूपमा सम्मानित दृष्टिले हेर्ने गरेको मैले देखेको छु। एकपटक स्वं.पण्डित नारायणप्रसाद पोख्रेललाई मैले अनायाश सोधेको थिएँ- गुरु तपाइँले पोखरामा दानवीरका रूपमा क-कसलाई लिने गर्नुभएको छ –
पण्डितजीले एकछिन गहिरिएर जवाफ दिए-सोमनाथ गुरु, लक्ष्मी हाउस, खरिलाल विश्वकर्मा, हेमबहादुर प्रधान, भक्तराज श्रेष्ठ, सूर्यबहादुर केसी आदि। नारायण गुरुको जवाफ सुनेर म निकै प्रभावित भएँ। अहिलेको लोभी र पापी जमानामा पनि दानवीरको सहयोगी नाम सुन्न पाएकोमा। हुन त सोमनाथ गुरुले दान नदिएको, सहयोग नगरेको कुन सङ्घसंस्था होला र ?
पोखरामा जसले महायज्ञ लगाए वा अन्य त्यस्तै पुण्यकार्य गर्नुपर्यो भने सबैले श्रद्धापूर्वक सोमनाथ गुरुको नाम लिने गरेको हुन्छ। आयोजक सबैले भन्ने गरे जस्तो लाग्छ? सोमनाथ गुरुलाई निम्तो गर्न बिर्सनु हुँदैन है झ् सोमनाथ गुरु जहाँ निम्तो आए पनि शरीरले भ्याइञ्जेल पुग्नुहुन्थ्यो। श्रद्धा र गच्छे अनुसार दान दिन हिचकिचाउनु हुँदैन थियो।
ज्ञानज्योति पुस्तकालय पोखरा-१५ का अध्यक्ष निरज थापाका अनुसार वि.सं. २०२४ सालमा स्थापित पुस्तकालयलाई वि.सं. २०३१ सालमा रामबजारको १५ हात मोहडा भएका जग्गा दानमा दिएपछि पुस्तकालयको आफ्नै भवन बन्यो। उहाँको निधनले पुस्तकालय परिवार अनाथ र टुहुरो बन्न पुगेको छ।
श्री नारायणस्थान विकास समितिका कार्यबाहक अध्यक्ष महेश पराजुलीका अनुसार सोमनाथ गुरु समितिका संस्थापक उपाध्यक्ष हुनुहुन्थ्यो। जस्ले २०६१ सालमा नारायणस्थानमा विधिवत संस्था नहुँदा झेल्नुपरेका अप्ठेरो मार्मिक ढ·ले प्रस्तुत गरी आफूसँग उपलब्ध भएको महत्त्वपूर्ण गुठीका कागजातहरू समितिलाई हस्तान्तरण गरी करोडौं मूल्य पर्ने जायजेथा सुरक्षित गराउने काममा महत्त्वपूर्ण भूमिका रहेको छ।
स्व. बराल नारायणस्थान ब्रहृमचर्याश्रम समितिका सल्लाहकार समेत हुनुभएको पराजुलीले जानकारी दिनुभयो।
सोमनाथ गुरुले जमानामा एक सय २० हात मोहडा जमिन दान गर्नु भएको स्मरण गर्नुहुँदै छिनेडाँडा गाविसका पूर्व प्रधानपञ्च एवं प्रधानाध्यापक रोमबहादुर भण्डारी यसरी बताउनुहुन्छ – सुरूमा त्रिभुवन ग्राम विकास योजना अन्तर्गत छिनेडाँडा गाविसमा विद्यालय खोल्ने होडबाजी चल्यो। त्यसबेला मझेरीपाटनमा रामेश्वरी प्रावि, छिनेडाँडामा छिनेडाँडा प्रावि, महतगौंडामा जानकी प्रावि, फलेपाटनमा सिद्ध प्रावि र बनपालेमा एउटा शिशु प्रावि खोलिएको थियो। यी सबै विद्यालयका प्रधानाध्यापक एवं निरीक्षकको रूपमा सोमनाथ गुरु हुनुहुन्थ्यो।
विद्यालयको आर्थिक स्रोत भनेको गाउँलेले दिएको चन्दा रकम नै थियो। त्यसबेला आर्थिक समस्या हुनेहुँदा गाउँलेबाट चन्दाको रूपमा कोदो-मकै अनाज सड्ढलन गरेर शिक्षकलाई तलब खुवाउनुपर्दथ्यो। यो काम साह्रै जटिल र कठिन थियो। पछि स्थानीय जग्गामा शिक्षा शुल्क लिने योजना अनुरूप अनिवार्य कर लागू भयो तर, रकम उठ्न सकेन। त्यसबेला विद्यालयलाई करिव साढे दुर्इ लाख रुपैयाँ ऋण लाग्यो। विद्यालय चल्न सक्ने अवस्था भएन। आफूले स्थापना गरेका विद्यालयहरू बन्द गर्नु पर्ने अवस्था देखेर सोमनाथ गुरुलाई साह्रै पिर पर्यो। शिक्षक, कर्मचारीलाई बुझाउनु पर्ने रकमको साटो उहाँले पोखरा-१५, रामबजारको एक सय २० हात मोहडाको जमिन तलब स्वरुपमा दिनुपर्ने रकमको हिसाब गरेर घडेरी बाँड्नुभयो। विद्यालयहरू ऋण मुक्त भए। अहिलेको हिसाब गर्ने हो भने करिब ६ करोड बराबरको जमिन त्यस बेला उहाँले दान गर्नुभएको थियो।
सोमनाथ गुरुले नारायणस्थान नदीपुरमा भएको महायज्ञमा ५५ हजार १ सय ५ दान दिनुभएको थियो। त्यस्तै रामघाट दाहसंस्कार परोपकार समितिलाई १ लाख ६५ हजार ५ सय ५५ दान दिनु भएको छ। त्यस्तै सिद्ध उच्च मा.वि. फलेपाटनमा महायज्ञ लगाउँदा एक लाख १ सय ५ रूपैयाँ दान दिनुभएको छ। त्यस्तै २०५८ सालका अमरसिंह उच्च माविमा महायज्ञ हुँदा ठूलो धनराशि दान गर्नुभएको थियो। त्यस्तै विन्दुवासिनी संस्कृत विद्यापीठमा पनि आर्थिक सहयोग गर्नुभएको छ। विन्दुवासिनी विराट महायज्ञमा पनि आर्थिक सहयोग गर्न उहाँ पछि पर्नुभएन। त्यस्तै २०६५ सालमा पोखरा-१५ स्थित शिवमन्दिरले आयोजना गरेको महायज्ञमा एक लाख पाँच हजार पाँच रुपैयाँ दान गरेर आफूलाई दानवीरको श्रेणीमा राख्नुभयो। २०६६ सालमा रामघाट सडक तथा शवदाहस्थल निर्माण तदर्थ समितिले आयोजना गरेको महायज्ञमा ५१ हजार पाँच सय ५१ रुपैयाँ उदारमनले सहयोग गर्नुभयो। त्यस्तै, केदारेश्वर महादेवमणि संरक्षण समितिलाई रु. २५ हजार एक सहयोग गर्न पुग्नुभयो।
हालैमात्र दानवीर बरालकै निर्देशनमा उहाँका धर्मपत्नी खेमकुमारी बरालले लेखनाथ कुलुखुङखोला खानेपानी तथा सरसफाइ आयोजनाको भवन निर्माणको लागि चारआना जग्गा दान गर्नुभयो। त्यस्तै सुपथमोलमा एकरोपनी जग्गा दिएर सहयोग गर्नुभयो। उहाँहरूको योगदानको कदरस्वरूप स्वास्थ्यमन्त्री खगराज अधिकारीले सम्मान-पत्र एवं दोसल्लाह प्रदान गर्नुभएको थियो।
त्यस्तै उहाँ र उहाँको परिवारको तर्फबाट नेपाल प्रेस युनियन कास्कीको अक्षयकोष स्थापनार्थ रु. २५,०००।- सहयोग प्रदान भएको थियो।
सोमनाथ गुरुले सिद्धाश्रम शक्ति केन्द्र, सत्यनारायण मन्दिर, गुप्तेश्वर महादेव गुफा, समाज कल्याण समिति कोलपाटन, कृष्ण मन्दिर सञ्चालक समिति पोखरा १०, राममन्दिर बिरौटा, गीता अध्ययन मण्डल, मानव कल्याण सेवा समिति आर्वा, केदारेश्वर महादेवमणि बैदाम, नारायणस्थानको मठाधीश भवन बनाउन सहयोग दिनु भएको थियो। त्यस्तै पचभैयाको देउरालीमा मन्दिर निर्माणका लागि २९ हजार नगद दिई सहयोगी बन्नुभयो। बरालले वि.सं. २०५४ सालमा स्वामी कमलनयनाचार्यको नेतृत्वमा भएको मुक्तिनाथ विराट महायज्ञमा विशेष सहयोग गर्नुभएको समाजसेवी सूर्यनाथ अधिकारी बताउनुहुन्छ।
घरमा सहयोग माग्न आउने जो कोहीलाई पनि उहाँले रित्तो हात फर्काउँनु हुँदैनथ्यो। उहाँको स्वभाव थियो-कसैसँग नराम्रो र नमीठो वचन नबोल्ने, कसैको चित्त नदुखाउने। घरमा आएका सबैलाई खुसी पारेरै पठाउने। कसैसँग नरिसाउने सोमनाथ गुरुको समाजमा राम्रो छवि। दानवीरका रूपमा प्रतिष्ठित सोमनाथ गुरु भन्नुहुन्थ्यो- भगवानको सम्पत्ति भगवानकै कार्यमा लगाएको मात्र हुँ। राम्रो काम गर्न अझै सकेको छैन। अझै केही गर्ने इच्छा छ। सोमनाथ गुरुको धारणा थियो- असल कर्म र पुण्य कर्म गर्दा छोराछोरी, श्रीमती कसैले विरोध गर्दैनन्। समाजका लागि केही दिन पाएकोमा खुसी छु।
संक्षेपमा भन्नुपर्दा वि.सं. २०११ सालपछि सरकारी स्तरका शिक्षक भएर छिनेडाँडामा स्कुल खोल्ने अभियानमा उहाँ लाग्नुभएको स्पष्ट हुन्छ। वि.सं. २०१४ सालमा सिद्ध प्राविको सचिव भएर विद्यालय स्थापना गरेको हुँदा उहाँलाई मरणोपरान्त भएपनि संस्थापक सचिवको रूपमा सम्मान गर्न अत्यन्त जरुरी छ। उहाँको कृति र सत्कार्यलाई जीवन्त राख्न ‘सोमनाथ स्मृति प्रतिष्ठान’ खोलेर उहाँको योगदानलाई अविरल सम्झनुपर्दछ। मलाई लाग्दछ यो नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली र्ठहर्ने छ। उहाँको देहावसान भएको १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माप्रति चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०