सभ्यता, समृद्ध नेपाल र नवौं राष्ट्रिय महाधिवेशन

आदर्श समाज सम्वाददाता
असार २६, २०७१

घरभित्र चराले गुँड लगायो भनेर घर नै जलाउनु किमार्थ बुद्धिमतापूर्ण हुँदैन। जे हुनुपर्थ्यो, त्यो हुन सकेन या भएन भनेर ढुङ्गामुढा गरेर कुनै पनि समस्याको समाधान हँदैन र त्यो सभ्य नागरिकको व्यवहार पनि होइन। हरेक समस्याको समाधान हुन्छ† त्यो पनि रचनात्मक तरिकाले। हिलो पानीमा माछा मार्ने दाउ पर्खेकाको लहैलहैमा लागेर असभ्य बनेर ठूलो मानिस बनिँदैन। फुटेर केही बन्दैन, जुटेर मात्र बन्छ। चेतना हुनेले चेतनशील, सिर्जनात्मक व्यवहार देखाउनपर्छ यदि अचेतन र अश्लील व्यवहार देखियो भने त्यसलाई कसैले पनि सभ्यताको उपज मान्दैन।

नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं महाधिवेशनको खुला सत्र चलिरहँदा जुन हर्कत देखियो पक्कै पनि त्यो व्यवस्थापन र कार्यकर्ता दुवै तर्फको कमिकमजोरीको कारण थियो। पाँच वर्षमा हुने देशकै दोस्रो ठूलो राजनीतिक दलको राष्ट्रिय महाधिवेशन हुँदा सकेसम्म प्रतिनिधि भएर जाने, सहभागी हुने इच्छा-चाहना नेता र कार्यकर्तालाई स्वभाविक रुपमा हुने नै भयो, त्यसलाई अन्यथा मान्ने कुरा रहेन। प्रत्येक नेता-कार्यर्कर्ता लागेपुगेसम्म सहभागी हुनलाई जोडवल गर्नु राम्रो कुरा पनि हो किनकि राष्ट्रिय महाधिवेशन भनेको राजनीतिकर्मीको लागि महान चाड नै हो। यस महान चाडमा आफ्नो दलमा भएका विगतका काम-कारवाहीको समीक्षा र भावी योजना निर्माण गर्ने गरिन्छ। विगतमा केही कमीकमजोरी भएका भए ती कमजोरी सुधार गर्ने र राम्रा कुरालाई थप राम्रो बनाउने गरी भावी रणनीति र कार्यक्रममाथि व्यापक छलफल गरी प्रारुप तयार गर्नुको साथै सो प्रारुपलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नको लागि सक्षम र सुदृढ संगठनात्मक संरचना निर्माण गर्ने काम यही महान चाडमा हुने गर्दछ। योग्यता र क्षमता भएका र नेतृत्व विकासको इच्छा राख्नेहरू जिम्मेवारी लिन अग्रसर रहन्छन्। त्यो चाहना राख्दछन् अनि जिम्मेवारी लिनका लागि एकै पदमा धेरै जना व्यक्तिको दावेदारी रहेको खण्डमा सकेसम्म आपसी समझदारीमा जिम्मेवारी वाडफाँड हुन्छ भने सहमति हुन नसकेमा प्रजातान्त्रिक अभ्यासको माध्यमवाट नेतृत्व चयन र जिम्मेवारी वाडफाँड हुने प्रचलन रहेको छ।  जुन लोकतान्त्रिक अभ्यास हो। यसरी पार्टीको जिम्मेवारी लिने प्रक्रियामा एउटै पार्टी भत्र पनि गुटबन्दी गर्ने छलछाम गर्ने, असहिष्णुता देखाउने प्रवृति पछिल्लो समयमा मौलाउँदै गएको छ। यो कुनै पनि कोणबाट न्यायोचित र राम्रो होइन। यस्ता विकृति र विसंगतिपूर्ण व्यवहारलाई सच्याउन गरुरी छ, अन्यथा आफूले खनेको खाल्टोमा आफै पर्ने देखिन्छ।

आयोजकका पनि केही कमीजोरी, केही बाध्यता र विवशताहरू भएर नै होला आठौं महाधिवेशनमा व्यापक जनसागर उतारेर सम्पन्न गरेको एमालेको नवौं महाधिवेशनमा बन्द हलभित्र र त्यो पनि सीमित प्रतिनिधि, स्वयंसेवक, आयोजक र पाहुनाबीचमा महाधिवेशन गर्नु। प्राविधिक रुपमा पनि र अन्य व्यवस्थापनको हिसाबले राम्रो शैली अपनाएको एमालेले आफ्ना कार्यकर्तालाई पनि छुट्टै स्थानको व्यावस्था गरेर सहभागिताको अवसर र इच्छा सम्बोधन गर्न सकेको भए कुनै पनि कार्यकर्ताको मनमा ठेस पुग्ने थिएन। यस्तो आक्रामक स्थिति बन्ने पनि थिएन। आफ्नो पार्टीको सबैभन्दा उच्च निकाय राष्ट्रिय महाधिवेशन कार्यक्रममा कार्यकर्तालाई सहभागी हुनवाट बञ्चित गरिएको र  प्रतिनिधि बाहेक अरुलाई प्रवेश निषेध छ भनेर बेलैमा सूचना दिन सकेको भए ती कार्यकर्ताको उपस्थिति हुने थियन। त्यस्तो बबाल काण्डको सिर्जना पनि हुने नै थियन। यसमा नेतृत्व र व्यवस्थापन चुकेको छ।  संगठनात्मक संरचना निर्माणको लागि केन्द्रीय तहदेखि स्थानीय कार्यकर्ता तहसम्म गुट निर्माण गरी अस्वस्थ प्रतिस्पर्धा र एकले अको नेतालाई हिलो छ्याप्ने गलत प्रवृति पनि खुला सत्र चलिरहेको बेला बाहिर गेटमा  देखिएको थियो। त्यसले हर्कतका अभिव्यक्ति, उत्श्रृङ्खल क्रियाकलाप बढाउन केही मात्रामा मलजल मिलेको देखिन्छ। कार्यक्रम स्थलभित्र प्रवेश दिनपर्ने थियो तर दिइएन, नदिइएको निहुँमा आफ्नै भव्य समारोहको कार्यक्रको गेट भाच्ने, झन्डा च्यात्ने, विदेशी पाहुनामाथि आक्रामण गर्ने, नेतृत्व माथि पूर्वाग्रही नारा घन्किनु जस्ता निकृष्ट शैली र क्रियाकलाप गर्ने एमालेजनलाई सुहाउने व्यवहार हुँदै होइन। यो गलत र निन्दनस्य काममा सहभागी कार्यकर्तालाई एमालेको कार्यकर्ता मान्ने र संरक्षण गर्ने कुरामा मेरो पूर्ण असहमति छ। केही एमाले भनौदा उच्छृङ्खल तत्वसँगै धमिलो पानीमा माछा मार्ने जोखाना कुरेर बसेका केही गलत प्रवृत्तिको पनि सहभागितामा यो काम भएको हुनपर्दछ।  बिगार्ने र भत्काउने तरिकाबाट समस्याको समाधान अनि देशको विकास हुने भए नेकपा माओवादी १० वर्षे व्रि्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा समहभागी हुने नै थिएन भन्ने कुरा त्यो मगजमा घुस्न गरुरी छ। सभ्य नागरिकको परीचय भनेको त्यसको चरित्र र व्यवहारवाट झल्किन्छ। ‘मानिस गधा पनि हुन्छ, बादर पनि हुन्छ र गाई अनि देवता पनि बन्छ तर बादर कहिल्यै पनि मानिस बन्न सक्दैनु भन्ने कुराको ति जनलाई चेतना भया!

नेता जन्मिने होइन† व्यक्तिको योग्यता, क्षमता र तत्परताले क्रमशः देश, काल र परिस्थिति सुहाउँदो आत्मविश्वास, दक्षता र इमान्दारीताले विकास गर्ने हो। नेपालमा वर्तमान समयसम्म देशभक्त नेताको अभाव खड्किइरहेको सर्न्दभमा आशा गरौँ केही राष्ट्र भक्तिपूर्ण नीति तथा कार्यक्रम र नयाँ नेतृत्व लिएर नेकपा एमाले आउनेछ र हाल नेपालमा देखिएको गरिबी र वेरोजगारीको समस्यालाई केहि हदसम्म भए पनि मलमपट्टी लगाउन सफल हुनेछ। हामी नेपालीको आशामा यो महाधिवेशनले तुषारापात गर्ने छैन। कुनै पनि राजनीतिक दल आफैमा जिम्मेवार निकाय हो किनकि हरेक अस्ितत्वमा रहेका राजनीतिक दलको नीति र नेतृत्वले समग्र देशको नीति र नेतृत्वमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। राजनीतिक नेतृत्व नै कार्यपालिका र व्यवस्थापिकाको कार्यकारी बन्ने गर्दछन् र समग्र राष्ट्रको नीति निर्माण गर्ने निकाय व्यवस्थापिकामा प्रत्यक्ष संलग्न रहने परिपाटी नेपालमा र अधिकांश लोकतान्त्रिक मूल्य र मान्यता बोकेका राष्ट्रमा पनि कायम छ। तिनै दलबाट कार्यपालिका बन्ने गर्छ र तिनीहरूले नै कार्यपालिका चालाउने हुँदा देशको पूरै भविष्य राजनीतिक दलसँग जोडिएकोले छिछि र दुर्दुर्को राजनीतिले देशलाई पनि समृद्धिको मार्गमा लैजान सक्दैन। स्वस्थ, मर्यादित र सभ्य राजनीतिले स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्दछ।

एमालेले नेपाली समाजको चरित्र पुजीँवादी भएको र राजनीतिक क्रान्ति सम्पन्न भई सकेकोले अब आर्थिक क्रान्ति गरी नेपाली समाजको समृद्ध बाटो तय गर्ने सैद्धान्तिक-राजनीतिक प्रस्तावलाई केन्द्रीय समितिबाट सवसम्मत पारित गरेको छ। यो प्रस्ताव महाधिवेशनमा पनि पेश भई सर्वसम्मत रुपमा सुझावसहित पारित हँदै छ। पक्कै पनि त्यो पुजीवादी आर्थिक क्रान्तिको कार्यनीतिक योजना व्यापक छलफलबाट, महीबाट नौनी तयार भएझैं राजनीतिक प्रतिवेदन, नयाँ नेतृत्वका साथ सार्वजनिक हुनेछ।

नेकपा एमाले पूर्ण रुपमा उत्पादनमुखी नीति लिएर अगाडि बढेमा समग्र पार्टि, नेता, कार्यकर्ता, जनता र समग्र देशलाई नै उत्पादनमुखी कार्यमा लाग्न मद्दत पुग्छ। अथाह सम्भावनाको खानी बोकेको नेपालले समृद्धिको बाटो पाउनेछ अनि नेपालको गरिबी, वेरोजगारी, युवाको विदश पलायनदरमा कमी आई क्रमशः उद्यमशिलता र रोजगारीको सिर्जना हुनेछ। निकट भविष्यमा नै नेपाल विकासशील देशको सूचिमा हाजिर हुनेछ। यस्तो सकारात्मक सोच, उत्पादनशील नीति सबै राजनीतिक दलले लिन सकेमा देशमा व्यप्त भ्रष्टाचार पनि निर्मुल हुन सक्छ। सबै सचेत भई राजनीतिक दललाई यो मार्गमा जानका लागि बाध्यात्मक अवस्था सिर्जना गर्नु पनि नागरिक दायित्व हो। हामी सबै आफ्नो कर्तव्य र दायित्वमा समर्पित भएर देशको समृछि र सबै नेपालीको भविष्यमा सुन्दर बनाउन लागौं।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width