सगरमाथा : हाम्रो शान

तिलक पराजुली तिलक पराजुली
जेठ २४, २०७६

जुन ५ अर्थात २२ जेष्ठ विश्व वातावरण दिवस । यसले मलाई सगरमाथा सम्बन्धमा केही लेख्न उद्धत गरायो। हाम्रो राष्ट्रको कूटनीतिक तथा बौद्धिक क्षेत्रमा सँधै स्मरणीय रहने यदुनाथ खनालले बुद्ध र सगरमाथा नेपालका गौरवमात्रै होइनन, यिनकै कारण अन्तर्राष्ट्रिय जगतले नेपाललाई चिन्छ भनेका छन् यो महिना “सगरमाथा” संबन्धमा निकै चर्चा भयो। यसका केही कारणहरु छन्। एक त २९ मई (१५) जेठ सगरमाथा दिवस हो। दोस्रो सगरमाथा को उचाईमा विवाद छ र यसलाई यकिन गर्न नेपाल आफैले सर्भे टोली खटाएको सगरमाथा आधार शिविरबाट फर्केको छ। अब, उचाई मापनको परिणाम थाहा पाउन प्रतीक्षारत छौं हामीहरु। अनि यसै वर्ष अत्यधिक आरोही सगरमाथा चढे र मर्नेको संख्या पनि बढी नै भयो । फोहोर अत्याधिक बढ्यो। रमाईलो कुरा त तेन्जिङ – हिलारी आरोहीदलमा रहेका एकमात्र जीवित खुम्बु निवासी ८७ बर्षीय कान्छा शेर्पाको वृत्तचित्र रिलिज भयो, प्रदर्शनमा आयो। र, नेपाली कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा चढेर नयाँ कीर्तिमान कायम गरे।

सगरमाथा नाउँ कसरी रह्यो?

हाम्रो राष्ट्रलाई नै चिनाउने यो अप्रतीम राष्ट्रिय निधिको नाम सगरमाथा कसरी रह्यो? यो आम नेपाली र खास गरेर आजको नयाँ पिंढीले थाहा पाउनै पर्छ। यो मैले किन भनिरहेको छु भने इतिहाँस पढ्ने बुझ्ने कुरा हराउँदै गएको छ। इतिहाँसप्रति चाख हराएकै कारण हो यो विषय पढने विद्यार्थीको अभावले गर्दा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको इतिहास विभाग नै बन्द भयो। र, अरु विश्व विद्यालय तथा क्याम्पसहरुको हालत पनि यही छ – इतिहाँस अध्ययनमा युवा – विद्यार्थीमा रुचि छैन। इतिहास विभाग बन्द छ्न्।

इतिहास पठन पाठनको कुरा जे सुकै होस्, यहाँ उठाउन खोजिएको कुरा सगरमाथा को हो, पहिले त सगरमाथा नेपालमै पर्छ भन्ने पनि यकिन थिएन। किन भने नेपालको नक्सा नै थिएन त्यसबेला। तथापि नेपाल र तिव्वतबीच आफ्नो गगनचुम्बी शिरताज लिएर यो हिम शिखर त उभिएकै थियो। त्यसवेला भारतमा राजगरिरहेका वेलायती शासकहरु काहाँ, के, कति र कस्ता प्राकृतिक स्रोत साधन छन् र तिनलाई कसरी दोहन गर्ने भन्ने कुराको सतत खोजीमा थिए।

यिनै बेलायतीहरुको कलकत्ता स्थित भूगोल संबन्धी काम गर्ने जोग्राफिकल सर्भे अफ इण्डियाका एक कर्मचारी सर्भेयर राधानाथ सिक्दरले पहिलो पटक यो कुरा पत्ता लगाए कि संसारमा सबैभन्दा उँचो हिम शिखर यही हो। र, यसको उचाई २९०० फिट छ। बाबुराम आचार्यका अनुसार यतिबेलासम्म यसको नाम यही हो भन्ने थिएन। राधानाथले यसलाई गौरीशंकर भनेका रहेछन्। एक सर्भेक्षकले यत्रो ठूलो काम गरेको कुरा दवाएर यसको श्रेय आफूले अर्थात बेलायतीले लिन एक सेवा निवृत्त आफ्ना सर्भे जनरल (नापी महानिर्देशक ) जर्ज एभ – रेष्टले उचाई पत्ता लगाएको प्रचार गरी यसको नाउँ माउण्ट एभरेष्ट राखियो। बेलायती साम्राज्यको चकचकी विश्वभर भएको बेला संसारभर माउण्ट एभरेष्ट नाउँ चल्यो। यो सन् १८५३ को कुरा हो ।

यता, चीनीयाहरुले यो सर्वोच्च शिखर पूरै तिव्वतमा पारेर नक्शा वनाएका थिए। चिनियाहरुले यस्को नाम चोम –लोङमा वा झ्यामो लोङमा राखेका रहेछन्। हिमाली भेगका नेपालीले पनि यही भन्दा रहेछन्। नेपालको हिमशिखर तर नेपाली नाम भने छैन। चिनसंग कुरा चल्दा उनीहरु नेपालको भए के हो यस्को नाम भन? भनेर अत्तो थाप्ने। यही कुराले पिरोलेछ हाम्रा राष्ट्रिय मानीषि इतिहास शिरोमणिलाई। उनले निकै अध्ययन गरे। यस्को नाम सगरमाथा हो भन्ने एउटा निवन्ध लेखेर तत्काल काठमाण्डौंबाट प्रकाशित हुने “शारदा” पत्रिकामा प्रकाशित गराए। सगर भनेको स्वर्ग, माथा भनेको मस्तक। स्वर्गको उचाईसम्म पुग्न सक्ने “सगरमाथा ” यो सन १९३८ को कुरा हो। यसरी बाबुरामजीले नेपालीको शान कायम गराए। सगरमाथा चम्काए।

कुरा यहीँ सीमित हुँदैन चिनसँग सगरमाथा कुन देश पर्छ भन्ने विवाद भयो। चीनीयाहरुले चोमोलोङ्मा हाम्रै भाषामा नाम छ। तिमीहरुको भाषामा त यो सर्वोच्च शिखरको नाम पनि छैन। नाम भए के हो भन? प्रश्न गर्दा सगरमाथा हो भनेर यस्को अर्थ समेत बताईदिए पछि चीनीया वार्ता टोली दंग पर्दै चित्त बुझाएछन्। नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वी.पी. कोइराला र चीनीया तत्कालीन प्रधानमन्त्री चाउ एन लाइ बीच काठमाण्डौंमा सघन रुपमा सीमा वार्ता भयो। नेपाल चीन सम्झौता भने चीनको राजधानी वेइजिङ स्थित ग्रेटहल अफ्द पिपल (विशाल जनसभा गृह) मा नेपालका राजा श्री ५ महेन्द्र र चीनीया राष्ट्रपति लिउ शाओ ची बीच सम्पन्न भएको हो।

सीमासन्धि सम्पन्न गरेको उपलक्ष्यमा राजाको काठमाण्डौमा भव्य नागरिक अभिनन्दन भएको थियो। आफ्नो सम्वोधनमा राजा महेन्द्रले भाषणमा भने – “ सगरमाथा, जसमाथि आज सम्पूर्ण संसारको नै आँखा परिरहेको छ। जस्ताको तस्तै हाम्रो आफ्नै देश भित्र हाम्रो आफ्नो नै भएर रहेको छ भन्न पाउँदा हामी सवै नेपालीहरु गौरवान्वित हुन आएका छौं ”

सम्वत २०१८ कार्तिक ११ गते (सन १९६१ अक्टोवर २७) को उक्त नागरिक अभिनन्दन समारोहका अध्यक्ष समेत रहेका इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक “चीन तिव्बत र नेपाल” मा यस सम्वन्धी अविस्मरणीय कुराहरु उल्लेख छन्। यो किताव बजारमा उपलव्ध पनि छ।

सगरमाथामा पहिलो मानव पाइला

हुन त सन १९३२ देखि नै पश्चिमा देशका साहसी केही युवाहरु सगरमाथा आरोहणको प्रयत्न गरिरहेका हुन अपितु, उनीहरु सवै असफल भएका थिए। अन्ततः सन् १९५३ मई २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका एडमण्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्न सफल भए। यो एक ऐतिहाँसिक तथा रोमाञ्चकारी सफलता थियो। र, यो समाचार विश्वव्यापी फैलियो, सन्सनी पूर्ण रुपमा।

मैले केही पहिले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको यात्रावृत्तान्त भन्न सुहाउने, “न्यूजील्याण्ड पुग्ने पहिलो नेपाली ” पुस्तक पढेको थिएँ। यस्मा रोचक कुरा के छ भने तेन्जिङ र हिलारी ले सगरमाथा आरोहण गरेर काठमाण्डौं फर्कने र सरकारी कर्मचारीको रुपमा अध्ययन गर्ने मौका पाई न्युजील्याण्ड जान हिँडेका उनी कलकत्ता पुग्ने संगसंगै भएछ। जब, हिलारीको देशमा उनी पुगे त्यहाँ सगरमाथा देशको मानिस आएको भनेर उनको भव्य स्वागत भयो। उनी पुगेको भोलिपल्ट न्युजील्याण्डका सारा अखवारमा उनको फोटो सहित नेपाल र सगरमाथाका कुरा मुख पृष्टमा छापिए। सत्य मोहन त त्यहाँ ठुलो मनितोका व्यक्ति बने। एउटा महान सेलीब्रिटी, हाई हाई भए। उनको अन्तरवार्ता लिन संचार जगतका मात्रै होइन भूगोल विद समाजशास्त्री, सरकारी पदाधिकारी सबै लाम लाग्ने। यो अरु केही थिएन, सगरमाथाको कमाल हो। यो महत्व हामीले वुझ्नु पर्छ र सगरमाथा जोगाउनु पर्छ। यो प्रसङगमा अर्को एउटा रोचक कुरा छ। महत्वको। तेन्जिङ र हिलारी सगरमाथा सफल आरोहण गरेर फर्केपछि भारतीय संचार जगतले तेन्जिङ भारतीय नागरिक हुन भनेर प्रचार– प्रसार गर्न थालेछन्। यो गौरवलाई क्यास गर्ने धृष्टतामा थिए भारतीयहरु। तेन्जिङ दार्जलिङ पनि बस्ने गरेको आधार लिएका थिए। तर, नेपालमा भव्य नागरिक अभिनन्दन भएको थियो यी दुवै आरोहीको। त्यसपछि, तेन्जिङ दिल्ली गए। उनलाई त त्यहाँ राष्ट्रपति भवनमा नै गेष्ट बनाएर राखिएछ। स्वागत पनि भव्य। त्यसवेला नेपालमा मातृकाप्रसाद प्रधानमन्त्री थिए। दिल्लीमा नेपाली राजदूतविजय शम्शेर।

तेन्जिङ नेपाली हुन् भन्ने, हामी भारतीय हुन् भन्ने उनीहरु। यस्तै विवादमा एउटा समारोहमा भारतका प्रधानमन्त्री नेहरुले तेन्जिङलाई सोधेछन। “आप नेपाली हैँ या भारतीय? ” भनेर। तेन्जिङले जवाफ दिएछन – “मै तो कुछ नही जानता साहेव, मे तो नेपाली भी हुँ, हिन्दुस्तानी भी हुँ ” भनेर। यसपछि विजय शम्शेरले सोधेछन् – “तपाई की आमा कहाँ वस्नुहुन्छ, घर काहाँ छ? ” तेन्जिङले “ आमा नेपालमा हुनुहुन्छ घर पनि नेपालमा छ। ” भनेपछि नेहरुले भनेछन् अव भो विवाद नगरौं। यसरी विजय शम्शेरको कूटनीतिक कुशलताले नेपालको नाक बँच्यो, गौरव बढ्यो। तेन्जिङलाई भारतीय बनाउन पाएनन्।

यस सम्बन्धमा विजय शम्शेरले दिल्लीबाट प्रधानमन्त्री मातृकालाई पठाएको चिठी पनि बडो रमाइलो र महत्वको छ। तेन्जिङ दिल्लीबाट बेलायत जाने भएछन्। भारतीयहरुले आफ्नो देशको पासपोर्टमा पठाउन खोजेकोमा विजयले रोकेछन्। त्यो लामो चिठीमा उनले लेखेका छन् – “तेनसिंको नेशनालिटी विषय यहाँको सक्रेटरीयट तहसम्म पनि निजलाई हिन्दुस्तानी जनाउन बहुतै कोशिश गरेका थिए, तर माथिका मानिसको बहुतै असल विचार भएकोले र महोदयको आशीर्वादले हाहु गरी हाम्रै पासपोर्टमा सफर गराउन सफल भएकोमा बहुतै सन्तुष्ट मानेका छौं। ” यहाँ “माथिको मानिस” भनिएको प्रधानमन्त्री नेहरुलाई हो भन्ने बुझ्न कठिन छैन।

सगरमाथा बचाऔं

सगरमाथा नेपालीको शान, मान, र गौरवको कुरा हो। यति मात्र हैन यो विश्वकै लागि अप्रतिम मूल्यको प्राकृतिक निधि पनि हो। यसलाई जोगाई राख्न पनि विशेष रुपमा नेपाली जनता र यहाँको सरकारको कर्तव्य भित्र पर्दछ। भूमण्डलीय तापक्रम वृद्धिका कारण हिमाल त्यसै पनि जोखिममा । त्यसमाथि गुणस्तर हीन आरोहीलाई सगरमाथा आरोहण गर्न दिँदा मानवीय प्रदूषणको शिकार बनेको छ – सगरमाथा र हिमालय श्रृङखला। खास गरेर सगरमाथा आरोहणलाई आम्दानीको विषय अर्थात् रोयल्ट्री उठ्तिको विषय मात्रै बनाईनु हुँदैन। सगरमाथा नेपाली शिर उच्चो राख्ने विषय हो। सगरमाथा र समग्र खुम्वु क्षेत्रको रक्षार्थ हामी सचेत बनिरहनु पर्छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

तङ्ग्रिदै सामुदायिक विद्यालय

प्रेसविरोधी विधेयक खारेज गरिनुपर्छ

स्थानीय सरकारलाई चटारो

के हामी ठीक बाटोमा छौँ?

भगवान् श्रीकृष्ण सबैका साथी

प्रमुख समाचार

जीप दुर्घटना ८ जना वेपत्ता

थप प्रमुख समाचार

मापदण्ड भित्रको पर्खाल भत्काइयो

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

सञ्चयकोषको सेवा विरौटाबाट सुरु