संस्कृत भाषाबाट बनेको बागलुङ

कल्याण पन्त
वैशाख ४, २०७६

प्राकृतिक चिकित्सा अनुसार ब्रमाण्डमा जे व्याप्त छ, त्यो तत्त्व शरीरमा पनि छ। वायु, अग्नि, जल, पृथ्वी र आकाश यी पाँचलाई पञ्च तत्त्व भनिन्छ। वरपरका हावा (वायु), सूर्यको तेज (अग्नि), नदी/समुद्र (जल), सम्पूर्ण ठोस पदार्थ (पृथ्वी) र शून्य स्थान (आकाश) लाई मानव शरीरसित तुलना गर्न सकिन्छ। सम्पूर्ण ठोस शरीर (पृथ्वी), रगत, वीर्यजस्ता वस्तु जल, फेरिरहेको श्वास (वायु), शरीरनिहीत तातोपन (अग्नि) र मुख आँ गर्दा हुने (आकाश) यिनैद्वारा सम्पूर्ण शरीरको निर्माण भएको छ। सारमा भन्दा प्रकृतिमा जे छ, शरीरमा पनि त्यही छ।

पश्येम् शरदः शतं जीवेम् शरदः शतः श्रृणुयाम शरदः शतं प्र ब्रवाम शरदः शतमदीनाः स्याम शरदः शतं भुयश्च शरदः शतात् (यजुर्वेद ३६/२३)। अर्थात्

सय वर्षसम्म देख्न पाऔं, सय वर्षसम्म जीउन पाऔं, सय वर्षसम्म सुन्न सकौं, सय वर्षसम्म बोल्ने शक्ति होस्, सय वर्षसम्म दीनदशा नलागोस्।

यजुर्वेदमा उल्लेखित आरोग्य रहने स्वास्थ्य सूत्रले सय वर्ष बाँच्ने सन्देश दिएको पाइन्छ। आजको यस युगमा दीर्घजीवनका बारेमा धेरै अनुसन्धानहरु गरिएका छन्। वैज्ञानिकहरु त्यत्तिकै मरिमेटी लागेका छन्। धर्मशास्त्रका ग्रन्थले मात्र होइन, विज्ञानले समेत स्वास्थ्य रक्षाका लागि धेरै योगदान दिएका छन्। धर्मशास्त्रले विश्वासका आधारमा नियमतः पालना गराउँछ। विज्ञानले कारणसहित पुष्टि गर्छ, धर्मले नियम बसाल्छ, मनलाई एकोहोरो बनाउँछ। स्वास्थ्य विज्ञानले आरोग्यता प्रदान गर्छ। दीर्घ जीवनको कुञ्जी संयम हो। संयमले शारीरिक, मानसिक र अध्यात्मिक बल दिइरहन्छ। अभक्ष्य भोजन र दुष्ट विचारबाट बच्ने, इन्द्रियको वश रहने, अतिबाट अलग रहने, खानपान, आहारविहार पथपरेजमा राख्ने, नियमितता गराउने र आत्म संयमले स्वास्थ्य र आरोग्यको मार्गमा अघि बढ्न मद्दत गर्दछ।

प्रकृतिमै विचित्र विधान छ, जुन तत्त्वबाट हरेक जीवका निर्माण भएको छ, उही तत्त्वबाटै प्राकृतिक तवरले उपचार हुन्छ। स्वस्थ्य शरीर अर्थात् आरोग्यताका लागि ८ कुरामा ध्यान दिनुपर्दछ। यसलाई आरोग्यताको कडी मानिन्छ। मूल रुपमा भन्दा प्रकृति प्रदत्त ८ तत्त्व उपर सदा ख्याल गर्नुपर्दछ। यी हुन् :

१) वायु

सम्पूर्ण शरीरलाई चलायमान गराउने वायु हो। श्वासप्रश्वासको माध्यमद्वारा शरीरलाई जीवन्त राख्ने आधार नै यही हावा हो। वेदमा भनिएको छ, वायु अमृत हो, यो प्राण रुपमा स्थित हुन्छ। प्रातःकाल (४ बजेदेखि ६ बजेसम्म) को शुद्ध वायुले देहको धातु तथा उपधातु शुद्ध र पुष्ट हुन्छ, बुद्धिमान र बलवान् बनाउँछ। आँखा र कानको सुन्ने शक्ति बढाउँछ, इन्द्रिय निग्रह हुन्छ र शान्ति मिल्दछ। पुष्पबाटिकाका सुगन्ध, भ्रमणकालमा शीतलता, श्वासप्रश्वासमा सहजता, आदि गराउनुका साथै वायु सेचनले मनान्दित तथा प्रफुल्लित अनुभूति गराउँदछ। स्वस्थ्य वातावरणमा पञ्चामृतको एक तत्त्व शुद्ध वायु हो। यसअन्तर्गत अन्य शुद्ध जल, शुद्ध भूमि, शुद्ध प्रकाश र शुद्ध अन्न हुन्। प्रातःकालीन भ्रमणले अनेकौं प्रकारका रोगहरुको अन्त्य गर्दछ। त्यतिखेर प्राप्त हुने वायुसेचनमा बढी मात्रामा अक्सिजन हुन्छ। शरीर, मन, प्राण, ब्रह्मचर्य, पवित्रता, प्रसन्नता, ओज, तेज, बल, सामथ्र्य, चीर यौवन र चिर उल्लास बनाउन मद्धत गर्ने शुद्ध वायुको सेवन र प्रातःभ्रमणको जति महिमा गाएर पनि सकिन्न। साँझ–बिहान नियमित रुपले डुल्ने गर्दा शरीरका मांसपेशी सक्रिय बन्दछन्, रक्तसञ्चार प्रक्रिया बढ्छ, शरीर चुस्तस्फूर्त बन्दछ। रक्तवाहिनी नलीमा निर्वाध रक्त सञ्चार हुन्छ र रक्तवाहिनी प्रणाली बलियो हुन्छ। हृदयरोग, मधुमेह र रक्तचाप सम्बन्धी रोगबाट मुक्ति पाउन सकिन्छ। अत्याधिक चल्ने वायुले शरीर सुकाउने र छालाको रंग बिगार्ने हुन्छ। गृष्म ऋतुमा इच्छा अनुसार वायु लिन सकिन्छ। शरद् ऋतुमा मध्यम हावा ठीक हुन्छ। विभिन्न दिशाबाट आउने हावाले स्वास्थ्यमा प्रभाव पार्दछ। पूर्व दिशाबाट बगेको हावा भारी, गरम, दाहकारक, रगत र पित्तलाई दुषित बनाउने खालको हुन्छ। यसले छालको रोग, आमवात, सन्धिवात आदिलाई बढाइ दिन्छ। तर बढी परिश्रम गर्ने र दम रोगीको लागि पूर्व दिशातिरको हावाले ठीक पार्दछ। दक्षिण दिशाको हावाले खाद्यपदार्थमा रस भरिदिन्छ। पित्त र रगतको विकार र आँखको लागि यसले फाइदा गर्दछ। पश्चिम दिशाबाट चल्ने हावाले तीक्ष्ण, शोषक र हल्का खालको हुन्छ। यसले कफ, पित्त र बोसोलाई घटाउँछ र शरीरमा वायु बढाउँछ। उत्तर दिशाबाट बहने वायुले वात, पित्त र कफ यी तीनैलाइै कुपित खालको हुन्छ। यसले शरीरमा लचिलोपन ल्याउँछ। स्वस्थ्य मानिसको लागि थप बल प्रदान गर्दछ।

२) जल

जल शरीरका लागि अत्यन्त आवश्यक तत्त्व हो। स्वास्थ्य रक्षाको लागि सबेरै जल पिउँदा राम्रो हुन्छ। आयुर्वेदका अनुसार सूयोर्दयभन्दा अघि ताम्रपात्रमा राखिएको जल आठ घुट्की पिउनेलाई वृद्धावस्थासम्म रोगले समात्दैन। यसले रक्तसञ्चार राम्ररी गराउँदछ भने हाडजोर्नीलाई सहज रुपले चलाउन सहयोग गर्दछ। तर भोजनसँगसँगै जल पिउन हुँदैन। यसले पाचन प्रणालीमा गडबड ल्याउछ। पानी पिउनै परेको खण्डमा भोजन गर्नु भन्दा आधा घण्टा अघि वा आधा घण्टापछि पिउनु पर्दछ। कुनै पनि चिल्लो खाद्यपदार्थ र गरम खाद्यवस्तु र अल्लि ठण्डा खानेकुरा खाएपछि पानी पिउनु हुँदैन। त्यसरी नै अति नै भोक लागेको बेला र गर्मीमा तातेर आउने बित्तिकै पनि पानी पिउनु हानिकारक हुन्छ। नुहाउँदा न तातो न अति चिसो पानीले नुहाउनुपर्दछ। स्नानपश्चात बाक्लो तौलियाले रगडेर पुछ्नुपर्दछ । खाना खानुभन्दा पहिले हातखुट्टा धोएर र मुख कुल्ला गरेर खाना खानु उचित हुन्छ। दिन र रातमा मिलाएर कमसेकम तीन लिटर पानी पिउने गर्नुपर्दछ। यसले रक्तचाप समेतलाई नियन्त्रण गर्दछ।

३) सूर्य (अग्नि)

जीवन रक्षाका सम्पूर्ण आधार र स्रोत सूर्य हो। सूर्य नहुँदो हो त मनुष्य जीवन नै रहने थिएन। यसको सर्वव्यापी किरणको अति नै महत्त्व छ। सबै प्रकारका किटाणुका नष्ट गर्ने गुण सूर्य किरणमा हुन्छ भने रोग उत्पादक शक्ति ह्रास गराउने तागत अथर्ववेदमा लेखिएको छ। विज्ञानमा समेत सूर्यको चर्चा अति नै छ। यसको प्रभाव हरेक मानव शरीर र मनमा पर्दछ। यजुर्वेदमा उल्लेख भए अनुसार सम्पूर्ण जीवजीवात्मा र पदार्थको आत्मा र प्रकाश भएकोले नै सूर्य आत्मा भनिएको छ भने वेदमा जीवनदाता भनेरै पुकारिएको छ। सूर्यको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको प्रभाव र शक्ति अपरिमेय छ। अझ भन्ने हो भने सूर्य बिना सृष्टि नै सम्भव छैन। यतिसम्म कि अध्यात्मवादीहरुले सूर्यलाई शक्तिपुञ्जको रुपमा भगवान मानिरहेका छन् भने भौतिकवादीहरुले प्रकाश र तापको स्रोत मान्दै आएका छन्। ब्रह्माण्डभर प्रकाश परावर्तन गरेर चन्द्रमा मार्फत् उज्यालो छर्ने ग्रह यही सूर्य हो। रोग भगाउने, फलफूल पकाउने, समुद्र तताउने, काष्ठादि गलाउने, बत्ती (सोलार) जलाउने, बोटबिरुवामा खाना बनाउने, किटाणु नास गराउने, हड्डी मजबुत पार्ने आदि देखि लिएर दिन, महिना हुँदै ऋतु परिवर्तन गराइ पृथ्वीलाई जीवित राख्ने सूर्य नै हो। ज्योतिषशास्त्रमा विभिन्न रोगसित लड्न सक्ने क्षमता प्रदान गर्न सक्ने आरोग्यता, अतिसार, क्षयरोग, मन्दाग्नि, मानसिक रोग, नेत्रविकार आदिलाई हेर्नु पर्यो भने सूर्य ग्रहलाई नै हेर्ने गरिन्छ। यति मात्र नभई जन्मसमयको आधारमा सूर्यको स्थितिलाई हेरेर फलादेश हुन्छ। जन्म समयमा सूर्य लग्नमा छ भने स्वाभिमानी, क्रोधी, उग्र स्वभावको, असहिष्णु र तामसी प्रकृति हुन्छ भनिएको छ।

४) आहारा

शरीर र भोजनको पारस्परिक सम्बन्ध छ। भोजनअनुसार शरीरको निर्माण हुन्छ। समय र खानाको तालमेल मिलाएर खाने र सात्विक भोजनको सेवन गर्दा दीर्घायु बन्न सकिन्छ। यस प्रकारको भोजन दूध, घिउ, दही, मही, फलफूल जस्ता खाद्यपदार्थ जुन सड्ने, गल्ने खराब नहुने खानेकुरा सात्विक आहारा हुन्। अझ सहजसित पच्न सक्ने दालभात तरकारी, दूध जस्ता खानेकुरा यही सात्विक खानेकुरा हुन्। शुद्ध र सात्विक आहारामा पोषण, तागतयुक्त, तृप्तिकारक, आयुकारक, तेजोवर्धक, साहस, मानसिक शक्ति र पाचन शक्तिबद्र्धक हुन्छ। भगवदगीतामा भनिएको छ, आयु, बुद्धि, बल, आरोग्य र प्रीति बढाउने, रसयुक्त चिल्लो र स्थिर रहने भोजन शरीरमा लामो समयसम्म रहन्छ। यसका अलवा गरिष्ट भोजनले शारीरिक विनास गराउँछ। तितो, गरम, सुख्खा, शरीरमा हलचल मच्चाउने, अधिक मसला भएका खाना, मासु, माछा, अण्डा, प्याज, लसुन आदि जस्ता खाद्यपदार्थ राजसी आहारा हुन्। यस्ता खानेकुराले मनलाई चञ्चल बनाउँछ, एकाग्र हुन दिदैंन्। त्यसरी नै बासी, सुख्खा, सडेको, बाँकी रहेको खाना, अधकल्चो खानेकुरा, जाँड, रक्सी तामसिक आहारा हुन्। यस्ता खानेकुराले मानवलाई अनियन्त्रित र असंयमी बनाउछ। भोजन हतार नगरिकन शान्तिपूर्वक खानुपर्दछ। खानेकुरा एकैचोटी पेट डम्म हुने गरी खान हुँदैन। पेटको चौथाइ भाग खाली रहने गरी खानु राम्रो मानिन्छ। बिहानको समय दही खानु राम्रो हुन्छन् किनकि यसले हाड खिइनुबाट जोगाउछ र हाड बलियो पनि बनाउन मद्दत गर्दछ। यसको साथसाथै यसबाट प्राप्त हुने पोटासियमले रक्तचाप नियन्त्रण र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सहयोग पुर्याउँछ। तर अपरान्ह ३ बजेपछि भने दहीले पित्त कुपित गराउने हुँदा यो बिहानदेखि मध्यान्हसम्मको समयमा खानु स्वास्थ्यकर मानिन्छ। रुखो, पिरो, मसलादार, तारेभुटेका चीजबीज खान हुँदैन। यी खानेकुराले तत्काल केही असर नगरे पनि उमेर ढल्केपछि विशेष गरी ४० वर्ष पुग्दानपुग्दै कब्जियत, ग्यास्िटकजस्ता शारीरिक समस्या ल्याउँदछ। स्वच्छ वायु, सफा पानी र सादा सात्विक भोजनले स्वास्थ्यलाई फाइदा पुर्याउँछ।

५) उपवास

शरीर, मन र आत्माका लागि उपवास बस्नुपर्छ भन्ने धर्मशास्त्रमा उल्लेख छ। उपवास भन्नाले जल मात्र पिएर बस्नु भन्ने बुझिन्छ। यसले पाचन प्रणालीलाई आराम दिलाउँछ, शरीरमा भएका विकारवस्तुलाई निकाल्न वेगवान बनाउने र कलेजोमा बनेको विषलाई शरीरबाट निर्मुल पार्दछ। त्यसरी नै रोग प्रतिकारक शक्तिमा बृद्धि गर्ने, मानसिक शक्तिको विकास गर्ने, भइरहेको रोगलाई सञ्चो गराउने, श्वासप्रश्वास निर्वाध रुपले खुल्दछ। यसका साथै उपवासले शरीरको तौल घटाउन मद्दत गर्दछ। अझ भन्ने हो भने यसले शरीरमा रहेका त्रिदोष (वात, पित्त र कफ) लाई समन गर्दछ। उपवास बसेको दिनमा विशेषतः मुटुका रोगीहरुलाई शरीरमा हल्का र ताजापन आएको महसुस हुन्छ। उपवासका समयमा इन्द्रियहरु पनि अत्यन्त सक्रिय भएका पाइएको छ। आँखा, कान र नाकको शक्ति बढेको अनुसन्धानले देखाएको छ। यसैगरी रगतको शुद्धिकरणमा सहयोग पुग्दछ। १५ वर्ष नाघेका हरेक व्यक्तिले हप्तामा एकदिन नियमित भोजन छाडेर फलाहार वा रसाहार गर्नु राम्रो हुन्छ। त्यसरी नै ५० वर्षभन्दा माथिका उमेरदारहरुले दिनमा एक छाक अन्न मात्र खानु राम्रो मानिन्छ। यसले शारीरिक वा अध्यात्मिक जुनसुकै रुपले बसे पनि यसबाट शारीरिक र मानसिक आरोग्यता प्राप्त हुन्छ। हप्तामा कागती पानी पिएर उपवास बस्नु पेटका लागि निकै लाभ पुग्दछ। यसले पाचन शक्ति बढाउँछ।

६) व्यायाम

शारीरिक सर्वाङ्गिण विकास लागि व्यायाम अति आवश्यक छ। यसले शरीरको विकास गराउँदछ र शरीरको अ·अ·का थकावट नष्ट गराउँछ। गहिरो निद्रा दिन्छ साथसाथै मानसिक चञ्चलता दूर हुन्छ। शरीरमा जठराग्नि उत्पन्न गराउँछ र आलस्य हटाउँछ। शारीरिक सौन्दर्यका साथसाथै मुखमा कान्ति ल्याउँछ। शरीरमा स्फूर्ति ल्याउने, कार्यशक्ति बढाउने, मोटापन घटाउने, हरेक अ·हरु पुष्ट गराउन व्यायामको ठूलो भूमिका हुन्छ। यथोचित व्यायमले प्रकृति विरुद्धका गरिष्ठ भोजन चाँडै पचाउन सहयोग हुन्छ। शरीरमा शिथिलता कमी आउने, मुहारमा प्रसन्नता देखिने, ओज बढ्ने समेत हुन्छ। आजभोलि योगासन व्यायाम निकै नै प्रसिद्ध छ।

शरीरका लागि योग अत्यन्तै आवश्यक व्यायाम हो। व्यायामले शरीरलाई एउटा निश्चित आकर्षक शरीर दिन्छ। जति शरीरलाई आहाराको आवश्यकता छ, त्यत्ति नै आसन व्यायामको पनि आवश्यक हुन्छ। बिना आसन–व्यायाम शरीरले आहारालाई पचाउन सक्दैन। तसर्थ सर्वाङ्गिण विकासका लागि आहार र व्यायामको जरुरत पर्दछ। व्यायाम भन्नाले हिंडडुल गर्नु, पौडी खेल्नु, नाच्नु, विभिन्न प्रकारका खेलमा सहभागी हुनु, कुस्ती खेल्नु, एरोविक्स आदि पर्दछन्। यो व्यायाम वैज्ञानिक सिद्धान्तमा आधारित छ। शारीरिक व्यायाम गर्नाले शरीर हलुका बन्दछ। शरीरको कार्य क्षमता बढ्दछ, थकान मेटिन्छ। यसको साथसाथै पाचन शक्ति बढ्दछ। तर बढी थकानलाग्दो व्यायामले शरीर गलाउने, भोक र तिर्खा लगाउने पनि हुन्छ। तर एकैचोटी कडा खालको व्यायाम गर्न हुँदैन।

भोजन, व्यायाम र विश्राम हरेक जीवका महत्त्वपूर्ण पक्ष हुन्। यी सन्तुलित अवस्थामा भएनन् भने यिनहरुले रोग, शोक र भय उत्पन्न गर्छन। आहारले शरीरमा उर्जा र जीवनी तत्त्व प्रदान गर्छ भने विभिन्न प्रकारका योगासनले शरीरका प्रत्येक अंगलाई लचिलो, फुर्तिलो र कर्मयोग्य बनाउँछ। हाल केही वर्ष यता नेपाललगायत अन्य मुलुकहरु पनि यसको प्रचारप्रसार कम भेटिन्न। यसको प्रकार एउटा मात्र छैन। धेरै किसिम किसिमका छन्। यसमध्ये पतञ्जलि योग अति पुरानो र प्रचलित योग हो। यसको बारेमा पातञ्जल योगदर्शनमा उल्लेख गरिएको छ। रामदेव बाबा मार्फत् आज मित्रराष्ट्रदेखि अन्य देशहरु पनि पतञ्जलित योग बिस्तार भइसकेको छ र यसबाट लाखौंले फाइदा लिइरहेका छन्। योेगको धर्म, सम्प्रदायसित सम्बन्ध राख्दैन। यसका आफ्नै नियम र विधिविधान छ।

७) विचार

विचार शक्तिमा एक महान् उद्देश्य लुकेको हुन्छ। हरेक व्यक्तिको पहिचान बाह्याकृतिमा भन्दा विचार शक्तिद्वारा मापन गरिन्छ। सकरात्मक सोच राख्नेहरुका सम्मान बेग्लै तवरले गरिएको हुन्छ। विचारको प्रभाव सिधै शरीरमा पर्दछ। दूषित सोचाइबाट ग्रसित व्यक्तिहरुका आयु र शरीर नै कमजोर हुन्छ, यति मात्र नभई आत्मविश्वास क्षीण अवस्थामा हुन्छ। सद् विचार आध्यात्मिक र शारीरिक पुष्टताका लागि महत्त्वपूर्ण मानिन्छ। स्वच्छ विचारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने व्यक्तिको व्यक्तित्व पनि झल्किन्छ। सांकल्पिक दृढता र साŒिवक चिन्तनमनन रोगको निर्मूलताका लागि निकै आवश्यक छ। सदा त्रास, शंका, भयमा बाँच्नेहरुका आत्मकमजोरीको साथसाथै आयु नै कम हुन्छ। त्यसैले विचारलाई दृढ बनाएर बाँच्न सिक्नु पर्दछ र सकारात्मक सोचाइले मानव जीवन सुखप्रद बन्दछ।

८) निद्रा

जसरी स्वस्थ्य शरीरका लागि शुद्ध वायु, सात्त्विक आहारा, शुद्ध जल, उपवास, सूर्य, व्यायाम र विचार आवश्यक हुन्छ, त्यसरी नै आयु वृद्धिका लागि निद्राको महत्त्वपूर्ण भूमिका हुन्छ। ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने गर्दा शरीर फूर्तिलो बन्दछ भने स्मरण शक्ति पनि त्यत्तिकै सशक्त बन्दछ। बेलुकी ९ बजेको वरपर सुत्ने र बिहान ४ बजे उठ्ने गर्नाले निरोगी शरीर प्राप्त हुन्छ। मानसिक प्रसन्नता, नयाँ शक्ति प्राप्त हुने, आयुर्बल बढ्ने, स्वप्नदोष, शिरको रोग, आलस्य, अल्पमूत्र र रक्तविकार नहुने जस्ता लाभ हुन्छ। यति मात्र नभई शोक, चिन्ता र भयवाट मुक्त जीवन बिताउन निद्रा अपरिहार्य छ। रातमा लामोबेरसम्म बस्नेहरुलाई अनिद्रा हुनसक्छ। लामो समयसम्म यस्तो हुन गएमा चिन्ता, मानसिक तनाव, क्रोध आदि प्रमुख कारण हुन सक्छन्।

समग्रमा भन्दा प्रकृति प्रदत्त यी आठ कुरामा ध्यान पुर्याउन सकियो भने मानवजीवन स्वस्थ्य, समृद्ध, सुखशान्ति तथा आनन्दले परिपूर्ण र दीर्घायु जीवन प्राप्त हुन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width