संमृद्धिको मूल आधार निष्पक्ष दण्डनीति

tara pakhe तारा पाखे
फागुन ८, २०७६

पछिल्लो समयावधिमा ठूलाठूला भ्रष्टाचारकाण्डहरू आमसञ्चार माध्यमहरूमा आक्रोशित, कडा रुपमै उजागर गरिए तर विस्तारै विलाउँदै हराउँदै गए ? कति लेख्ने ? कति बोल्ने ? कति सडकमा नाराबाजी गर्ने ?

मानव जीवनमा अनुशासनको सर्वाेपरि महत्त्व हुन्छ र आत्मानुशासन हाम्रा पुर्खाले अपनाएर ‘सर्वे भवन्तु सुखिन’ को आदर्श अनुरूप सन्त, सद्गुरुहरूद्वारा निर्देशित हुनाले नैतिकता, इमान्दारी, पापपुण्यको प्रभावद्वारासमेत समाजमा अमनचैन मात्र होइन स्नेह सद्भाव, सहिष्णुता र सहयोगको प्रचुरता व्याप्त थियो ।
युग परिवर्तनसँगै जब समाजमा अराजकता बढ्दै गयो । सबैतर्फ भय त्रास बढ्दै गएपछि समाजको रक्षा गर्न राजाको सिजर्ना भयो ।(मनु) पिता, गुरु, मित्र, आमा, श्रीमती, छोरा, पुरेतहरू पनि यदि स्वधर्ममा छैनन् भने राजाले दण्डित गर्नै पर्दछ । (चा.नी.)यस्ता नीतिवचनहरू हाम्रा नीति शास्त्रहरूमा विशेष महत्त्वका साथ उल्लेख गरिएका छन् र पो हामीहरू– एतत् देश प्रसूतस्य सकासाद्ग्रजन्मन, स्वंस्वं चरित्र शिक्षेरन् पृथिव्यां सर्वमानवाः (मनु) । हाम्रै अग्रज पुर्खाहरूबाट प्रेरणा लिँदै पृथ्वी भरिका सबै मानवहरूले आआफ्नो चरित्र निर्माण गरी सुखी होऊन्’ भन्ने आत्मगौरव राखेर शिर ठाडो पारेर हिँड्न सक्ने अवस्था थियो ।

आध्यात्मिकता र विवेक विना समाजमा शान्ति समृद्धि सम्भव छैन । ‘न वै राज्यं न राजासीन्न दण्डो न च दाण्डिकः’ (म.भा. शान्ति पर्व ) । त्यतिबेला राज्य, राजा, दण्डव्यवस्था र दण्डाधिकारी कोही थिएनन् । आवश्यकतै थिएन । तर विज्ञानले कतिपय पुराना आस्था र विश्वासमा आघात गर्ने गरी नयाँ नयाँ यथार्थता र उपलब्धि हासिल गर्दै प्रत्यक्ष अनुभूति र उपभोग्य सामग्रीहरू उपलब्ध गराउनाले सरल, सहज सुलभ आनन्द छाडेर तत्कालका लागि आफूले कष्ट सहेर अरूलाई सुख दिनेतिर जन सामान्यको रुचि नहुनु स्वभाविकै हो, यद्यपि भौतिक भोग विलास क्षणिक र दुःखान्त छ, यो हामी सर्वसाधारण सबैले जाने बुझेकै कुरा हो । अबुझहरूलाई बुझाउनु जिम्मेवारहरूको दायित्व हो । बुझ्दैन, बुझ्ने वा बुझेर पनि व्यवहारमा नल्याउने स्वाँठलाई दण्ड नै अपरिहार्य छ ।
आध्यात्मिक ज्ञान विना विवेकको आशा गर्नु दुराशा नै हो । यो विषय गहन हुँदा सरल र सहजदेखिने उपाय भनेको कडा कानूनको प्रावधानद्वारा अड्डा अदालत, प्रहरी प्रशासनका माध्यमद्वारा अपराध नियन्त्रणको प्रत्याभूति आमजनमानसमा पु¥याउनु नै हो । स्वार्थवश आध्यात्मिकतालाई हतोत्साहित गरी भौतिकतालाई प्रधानता दिएपछि अनुशासन कायम गर्नमा कडा कानूनी प्रावधानद्वारा मात्रै सम्भव छ ।
यद्यपि यसको दुरुपयोगद्वारा लाटा सोझालाई मात्रै तर्साउने काम गर्ने हुनाले “सानालाई ऐन ठूलालाई चैन, चोरलाई चौतारी साधुलाई सुली ! भन्ने लोकोक्ति चरितार्थ भएको छ । पूर्णतया अपराध नियन्त्रण नभए पनि अपराध नियन्त्रणको वैकल्पिक उपाय अरू देखिँदैन । शठे शाठयं समाचरेत्’ नै एकमात्र उपाय हो ।
हो, कतिपय अवस्थामा सामाजिक शोषण र ठालुहरूको असैह्य उत्पीडन, सरकारको समेत गलत नीतिका विरुद्ध युवा आक्रोश उग्र बन्दै जान्छ, गएको छ । बतासे सपनामा अलमल्मा पारी नेता, प्रशासकहरू हिजोका राजामहाराजा, सामन्तहरूका शैलीमा सुखसुविधा र मोजमस्ती, परिवार मोहमा रमाएर मुलुकका सीमित श्रोत र साधनहरूको दुरुपयोगद्वारा लक्षित विपन्न वर्ग उपेक्षित र प्रताडितै रहने हो भने जस्तो सुकै कडा कानूनी प्रधान ल्याए पनि त्यसले कुनै काम दिँदैन, दिएको छैन ।
तानाशाहका कठोर कानूनी प्रावधान तोडेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक मूल कानून ल्याउन खली खाएका नेताहरू सत्तामा पुगेपछि त्यसै अलमलमा देखिनुहुन्छ । प्रतिपक्षीहरू सबैजसोले पालैपालो सत्ता सुख, आनन्दको स्वाद चाखेका हुँदा त्यही सत्तालोलुपता, पदप्रतिष्ठा, पैसाको मृगतृष्णाद्वारा आक्रान्त, अकर्मण्य र लाचार ! सबैले आआफ्ना पालामा बहती गङ्गामा हात चोवले कै हुँदा भ्रष्टाचार अनैतिकता र वेथितिका विरुद्ध बोल्ने नैतिकता गुमाइसकेकाले यदाकदा वेथिति विरुद्ध आवाज उठाउँदा पनि विश्वास गुमिसकेको हुँदा हास्यास्पद बनेका छन् ।
हो, भर्खरै लगभग १७।१८ हजार नेपाल आमाका सपूत होनहार युवाहरूको बलीदान, त्यस्तै हजारौँ परिवारको विचल्ली, अन्धअपाङ्गताद्वारा र हजारौँ हजार युवाहरूले सडक र कालकोठरीमा भोगेका दुर्दान्त दुःखकहानी पछिको यति लामो समयमा अरू त अरू ती पीडित परिवार र वेपत्ता पारिएकाहरूको अवस्था र परिवारको पीडामा सामान्य सोधखोज सम्म पनि नहुनुले हिंसात्मक बाटो पनि फलदायी नहुँदा र नेताहरूकै हैकमी प्रवृत्ति र विलासिता, परिवारवादी मोह देखे बेहोरेका आम शोषित विपन्न वर्ग विलखवन्द परेको अवस्था छ ।

अनुशासन हीन समाजको समृद्धि दिवास्वप्न मात्रै हो । अनुशासनहीनताद्वारा खरबौँ खरबको रकम् बालुवामा पानी खन्याएझैँ भएर विकास निम्ति काम, जनजीवीकाको आधार यदाकदा बने पनि लक्षित वर्गमा नपुगी बाटैमा नेता प्रशासकहरूले डकार्ने, धेरथोर अगुवापछुवाहरूलाई कनिका छर्ने प्रवृत्तिले समृद्धिको कल्पना गफै मात्र हुँदैछ । सरकारप्रतिको जनविश्वास धर्ममराउँदै छ ।

हिंसाले पनि ध्वंस, पीडा नै दियो । सहेर वस्दा झन् थिचियो मिचियो । नेताहरूमा त्यागको आदर्शमय जीवन पद्धति सर्वसाधारणले प्रत्यक्ष देख्ने गरी नहुँदा अनेकौँ नकारात्मक अफवाह समेतको शिकार बन्नु, खरबौँ खरबमा भएका भ्रष्टाचारमा शीर्षस्थ नेताहरू नै मुछिनु, तदारुकताका साथ छानवीन गरी सत्यतथ्य प्रकाशमा नल्याइनु जस्ता कमजोरीले सरकारप्रति अविश्वास बढ्नु स्वाभाविकै भयो ।
प्रतिपक्ष निष्प्रभावी, कमजोर र मिली भगतः त्यसैले सकारलाई दण्डित गर्न समेत दण्डनीतिको प्रभावकारी प्रावधान हुनु अनिवार्य छ । “आगलागी झुपडी डेडघडी भद्रा ५ वर्ष पर्खन कठिन छ । आम चुनावले मूल्याङ्कन केही न केही गर्ला ? चेतनाका कमीले चुनावमा पनि निष्पक्ष मूल्याङ्कन भएको छैन । न्याय व्यवस्था नै प्रभावकारी बनाउनु सर्वाेपरि कल्याण कारक छ ।
अनुशासन हीन समाजको समृद्धि दिवास्वप्न मात्रै हो । अनुशासनहीनताद्वारा खरबौँ खरबको रकम् बालुवामा पानी खन्याएझैँ भएर विकास निम्ति काम, जनजीवीकाको आधार यदाकदा बने पनि लक्षित वर्गमा नपुगी बाटैमा नेता प्रशासकहरूले डकार्ने, धेरथोर अगुवापछुवाहरूलाई कनिका छर्ने प्रवृत्तिले समृद्धिको कल्पना गफै मात्र हुँदैछ । सरकारप्रतिको जनविश्वास धर्ममराउँदै छ ।
विचलन र विकृति विरुद्ध कडाकानूनी प्रावधान तयार गरी निर्ममतापूर्वक लागू गर्नु आजको पहिलो आवश्यकता हो र नेताहरूमा त्यागको आदर्श तत्काल कायम गर्नु बाहेक तत्कालका निमित्त अर्काे विकल्प छैन भने मित्रराष्ट्र चीन, भारत, युरोपियन र अमेरिकन सहयोगहरूमा उनीहरूको धेरथोर स्वार्थ त हुन्छ नै त्यस्ता स्वार्थहरू कमिसनका लोभ वा सत्ता प्राप्ति वा सत्ता धान्नमा प्रयोग गरियो भने त्यो सबैभन्दा ठूलो अपराध, राष्ट्रघातै हुनेछ ।
देशका सीमित श्रोत साधन नेता प्रशासकहरूका निमित्त समेत अपुग हुने वैदेशिक सहयोगमा रीसारीस, जहिले पनि कमिसनका लोभमा शक्ति राष्ट्रका स्वार्थका द्वन्द्व, भौगोलिक अवस्थितिद्वारा महाशक्ति र उदीयमान शक्तिको द्वन्द्वको थलो हुनबाट जोगिए, जोगाएर गुणदोषका आधारमा निष्पक्षतापूर्वक असंलग्न रही राष्ट्र हितमा सबैतिरबाट सहयोग नलिए यही अवस्था धान्न पनि मुस्किल अवस्था छ । समृद्धि समुन्नति गफै मात्र र राष्ट्र र नेता कतै कुनैको कल्याण छैन ।
नैतिकता र इमानदारीको महत्ताको प्रभाव जनमानसमा नपरेसम्म यो दुरावस्थाको नियन्त्रणमा एक मात्र उपाय कानूनी प्रावधान मात्रै हो र यसमा पनि निष्पक्षता अपनाइएन भने, सत्ताको स्वार्थ संरक्षणमा लागियो भने “ठूलालाई चैन, सानालाई ऐन” को दुरावस्था कायमै रहने हो भने समृद्धि सम्भव छैन ।
पछिल्लो समयावधिमा ठूलाठूला भ्रष्टाचारकाण्डहरू आमसञ्चार माध्यमहरूमा आक्रोशित, कडा रुपमै उजागर गरिए तर विस्तारै विलाउँदै हराउँदै गए ? कति लेख्ने ? कति बोल्ने ? कति सडकमा नाराबाजी गर्ने ? ललितानिवास जग्गा प्रकरणमा अ.दु.नि.आ. ले केही गर्छ कि ? आशा जगाए पनि ठूलामाछा भने उम्कने, उम्काउने चर्चाले पेँडामा किरीकिरी बनाएको छ ।
विविध दृष्टिकोण र संस्था, समुदाय र व्यक्तिबाट आएका सुझाव सुन्ने, अध्ययन अनुसन्धान गर्ने प्रवृत्ति पटक्कै देखिएन । धम्क्याउने र प्रलोभन दिने प्रवृत्रिले सत्ता र शक्तिका आडमा मुख थुन्न त सकिएला तर मनमा पर्ने घातक प्रभावको परिणाम अकल्पनीय, अनिर्वचनीय हुन्छ ।
अहिले सत्ताधारी कम्युनिस्ट नामधारी गुट, उपगुटहरूका सैद्धान्तिक चर्चामा जबज, २१ औँ शताब्दीको जनवाद र जीपिङवादका मौसमी चर्चाहरू सुनिन्छन् । सैद्धान्तिक अस्पष्टता, कम्युनिस्टहरूद्वारा हिजो भर्खरैका दिनहरूमा गरिएको मानव अधिकार र नागरिक स्वतन्त्रताप्रतिको दमनको धङधङीले अलि कडा खालको कानूनको कुरा आउने वित्तिकै झस्कनु र प्रतिपक्षले अन्य समस्याहरूलाई भन्दा कम्युनिष्ट तानाशाहीका कुरा गरेर राजा, राणा, पञ्च फेरि राजाका तानाशाहीद्वारा हजो हैरान, भुक्तभोगी नेपाली जनमानसको समर्थन लिन खोज्नु पनि निरर्थक छ ।
धेरै राजनैतिक विद्वान् विश्लेषकहरूले जबजमा अभ्यस्त पूर्व एमालेका नेता कार्यकर्ताहरू प्रजातानित्रक अभ्यासमा अभ्यस्त भैसक्नु भएको हुँदा उहाँहरू तानाशाहीतर्फ जान सक्तै सक्नुहुन्न । पूर्व माओवादी एमालेको पोल्टामा मुख छुपाउन जानाले नै नेताहरूको धेरथोर साख बचेको छ । वैद्य, बाबुराम जस्ता शीर्षस्थ नेताहरूद्वारा बहिर्गमन पछि विसर्जनको सङ्घारमै पुगेकै हो नि प्रचण्ड पथ ?
“अनुशासन कायम गर्न केही प्रतिबन्धात्मक प्रावधान कायम गरी भर्खरै बामे सर्न लागेको मित्रराष्ट्र सिङ्गापुरको मोडल अपनाउनु पर्छ” अचेतन समाजमा खुला प्रावधानद्वारा समृद्धि सम्भव छैन ।” भन्ने बुद्धिजीवीहरूमा सामान्य चर्चा भैरहेका बेला राजा महेन्द्रले त्यसैलाई मूलमन्त्र बनाएर सम्पूर्ण नागरिक स्वतन्त्रता, मौलिक अधिकार बन्दुकका बलमा अपहरण गरे तर मुलुक सयौँ वर्ष पछि प¥यो ।
“भत्केको घरको बिगे्रको चाला, जजसले सक्ला, उसै उसैले खाला जस्तो । जताततै अव्यवस्था बढ्दै नैतिकता र इमान्दारीको अभाव कर्तव्य परायणता कत्ति नहुनुलाई बेलैमा नियनत्रण अविलम्ब नगरे थाम्नै नसक्ने गरी अराजकता फैलने अवस्थामा मुलुकलाई पु¥याउन दिन सकिँदैन, हुँदैन । पूर्व प्रधानमन्त्री वरिष्ठ नेता मनमोहन अधिकारीजीले “हामी लोकतान्त्रिक समाजवादी हौ” भन्नु हुँदा पत्रकारले नाम र झण्डाको कुरा उठाउँदा उहाँले “यो त हाम्रो ट्रेडमार्क हो” भन्नु भएको थियो र त्यसैलाई मदनजीले “जबज” भन्नु भएको हो ।
यो दुई वर्ष शासनकालमा कतिपय मुद्दामा ढङ्ग न पुगेर पनि हुन सक्दछ । केही गलत काम भए जनदबाब, जनताको चर्काे आवाजमा विरोध हुँदा पछि हटेको पनि छ, सरकार प्रेस सम्बन्धी विधेयक परिमार्जनका कुराहरूले पनि लाग्दैछ सरकारले लिँडे ढिपी गर्दैन ।
तानाशाही बन्दुकका बलमा आउने हो १७ हजारको बलिदान पछि सत्ताद्वारा सैन्य कब्जा गरी ताना शाही चलाउने प्रचण्डको भगीरथ प्रयत्न आफै अपमानित भएर सत्ताबाट हट्नु पर्दाको तीतो अनुभव पनि त ताजै छ । नेपाली सेनाले पनि ज्ञानेन्द्र, प्रचण्डका बहकावमा नलागेर आफ्नो प्रजातानित्रक छवि उजिल्याएको छ । हो, यस्तै गञ्जागोल, अव्यवस्था र अनैतिकता कायमै रहने हो भने, राष्ट्र शङ्कटका भुमरीमा पर्ने डरलाग्दो अवस्था छ भने समृद्धिको कुरै भएन ।
नैतिकता र इमानदारी कायम गर्न दण्ड र पुरस्कारको निष्पक्ष मूल्याङ्कन गर्ने यथाशीघ्र व्यवस्था गरी हाल ललिता निवास जग्गा प्रकरणमा अपराध नियन्त्रणमा विशेष जिम्मेवार संवैधानिक निकाय अख्तियार दुरुपयोग नियन्त्रण आयोगको भूमिकाको जस्तो पक्षपात पूर्ण व्यवहार भनी चर्काे आलोचना, अविश्वसनीय, सत्ताको दबाबमा टिक्न नसकेको भनी भएको प्रतिक्रिया र अन्य संवैधानिक निकायहरू समेत सरकारी दोतिहाइको डण्डाले सदा त्रसित रहने, रहनु पर्ने अवस्था रहन दिनु हुँदैन ।
संवैधानिक कानूनी प्रावधानहरू बढाएरै भए पनि शक्ति सम्पन्न बनाई कार्यपालिका व्यवस्थापिका, न्यायपालिकाहरूमा शक्ति सन्तुलन, परस्परमा नियन्त्रणको व्यवस्था गरेमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुनेछ । नेताहरूको नियत सफा रहे समृद्धि बढाऔँ । अस्तु भवतु शुभम् ।

हाम्रो सुझाव