संघर्षका कथा : जीवनको आधार

इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल
माघ ३, २०७७

एउटा फलामे बार ठिंग उभिएको छ बीचमा । त्यही बारका ठूला ठूला प्वालबाट हात सजिलै छिर्छ, मन छिर्छ, आँखा छिर्छ तर छिर्दैन शरीर । छेकिएको छ पूरै देखिने गरी एउटा जिजीविषाले भरिएको मन । डुल्छ सारा गाउँ, बजार, दाजु भाइ, आफ्ना इष्टमित्र, छर छिमेकमा र फर्कन्छ त्यही बारको आड लगाएर रात बिताउन । कागती निचोरेर छोक्रिएझैं बाँकी रहेको रित्तो मन, बिना आलंकार भारी भएको गरुंगो मन, आशाका मधुरा किरणहरुले डोराएको धुमिल बाटोमा छटपटाएर बाँचिरहेको परित्यक्त जीवन ।

आलोचनाका प्रहारहरुले थिलथिलो बनाएको शरीर, असन्तुष्टिका चोटहरुले भित्रभित्रै गिल्थिलियको मगज, हरेक दिनलाई साँझ जस्तै देखिरहँदा त्यो मन, शरीर र मगज बाँचिरहेछ मात्र एउटा मान्छे भएर । मौनतालाई हतियार बनायर भावनाहरु व्यक्त गरिरहँदा मौनतामा नै संवादका छहराहरु फुटाएर टोलाएर बस्छ त्यो मन । उसलाई शून्य लाग्यो ती खुसी हाँसो र प्राप्तिका पलहरु । सबै संसार देखेर बुझेर पनि उसको आँखामा पारदर्शी पट्टी लगाइएको छ र त उसले परिस्थितिजन्य जीवन जिउन सकेकी छैन । कि रहर छ उसलाई यो प्रकृतिसँग निराकार भएर बाँच्न ? या उसको सिर्जना कालकै परिणाम हो जुन घरमा उसको प्रवेश भयो के त्यो घर डराइरहन्थ्यो ? आत्तिरहन्थ्यो ? कापिरहन्थ्यो ? के त्यहाँ रोदन मात्र थियो ? खुसी थिएन ? के नयाँ बिरुवा उम्रन लागेकोमा हर्षित थिएन र ऋतु त्यी आमाको गर्भाशयमा ?

माया, प्रेम, ममता, सद्भाव, यौनिकता र आनन्दका कुराहरु कसले सुरुआत गरेको होला ?

मेरो जीवनको परिचय एउटा गृहिणीको दर्जामा नै बितिरह्यो । मलाई खान र लाउनका लागि कुनै दुख गरिरहनु परेन । के खानु र लाउनु मात्रै जीवनको सर्वोपरी कुरा हो र ? माया, प्रेम, ममता, सद्भाव, यौनिकता र आनन्दका कुराहरु कसले सुरुआत गरेको होला ? बिरामी भएर कोठाका भित्ता समाउँदै तातो पानीको गिलास पुग्न खोज्दा विदेशबाट आइपुगेका ती कपडाका ठूला झोलाहरुले ओठ भिजाउन नसकेर धरमराउँछ शरीर । यौन इच्छाले उकुसमुकुस भएर छटपट भएका बेला विदेशमा दुख गरेर श्रीमतीका लागि पठाइएको त्यो २ तोलाको सिक्री र मिठाइँका पोकाहरुले तृप्ति हुन नसकी मानसिक रुपमा कुण्ठा बोकेर जीवनको आधा समय बिताइरहदाँ तिनै कुण्ठाले विस्फोटक रूप लिन्छ । आज उसलाई मानसिक अस्पतालमा भर्ना गराउँदै गर्दा फेरी विदेशबाट डलरहरु पठाइन्छ उसकै लागि । श्रीमतीलाई सम्हालेर जीवनलाई सुचारु गर्नु ती श्रीमानको मनोकांक्षा होला सायद र त पठाउँछन् बेला बेलामा नासो र पैसाका खबरहरु । तर …..तर ती विक्षिप्त मन लिएर बसेकी श्रीमती स्वपीडनबाट परपीडन हुन थाल्छिन र बरबराउँछिन् हे श्रीमान् ज्यू, मलाई काम चाहियो, साथ चाहियो, माया र प्रेम चाहियो । मलाई फोनका मिठा बातले मात्र सन्तुष्टी दिएन, मेरा लागि पठाइएका नासोका पोकाहरुले आनन्द मिलेन, मेरा लागि पठाइएको पैसाले सबै कुरा दियो तर त्यो ममता आनन्द र आत्म सन्तुष्टी दिन सकेन । दिन बिताउन निकै गारो भइरहेको छ । दिनै जसो मोबाइलसँगै समय बिताउन थालेकी छु । साँझको बेला थियो । म गृहिणी किचनमा बसेर खाना पकाउने तयारी गर्दै थिए । मोबाइलका पानाहरु पल्टाउँदै गर्दा यस्तो एउटा कथा सुने । संघर्षशील महिलाहरुका सफलताका कथाहरुको कथा ।

श्रीमानको घटना घटेर मृत्यु भएपछि दुईवटा सन्तानलाई पाल्न अनि राम्रो शिक्षा दिनका लागि सिलाई बुनाई गर्ने अनि कुखुराको फारम खोलेर छोरालाई सिए पढाउन समेत तयार रहने ती नेपालगञ्जकी मनसरा सुनारको कथा । ठूलो साइकल पेलेर परिवार पाल्ने ती हिमाल आरोही बुबाको मृत्युपश्चात् बुबाको आशीर्वादलाई साथ लिएर जुडो खेलाडी बनेकी ती सहासीको आफ्नो बुबाप्रतिको सम्मानको कथा । महिलाको जातले पुलिसको पेसा गर्नु राम्रो होइन भन्ने हाम्रो समाजको हेराईलाई चिर्दै आफ्नो दृढता पूरा गर्न लागिपरेकी ती दुर्गाको कथा । नेपाली भाषा बोल्न नजानेका कारण अनि दलित जाति भएका कारण मिथिला पेन्ट गर्न अरुले विश्वास नमान्दा नमान्दै पनि आफ्नो प्रतिभा देखाएर छाड्ने अठोट लिएकी पूनम दासको कथा । पुरुष महिला बिना बाँच्न सक्दैनन्, बरू महिला पुरुष बिना पनि संघर्ष गरेर जीउन सक्छन् भन्ने डिन भूषण श्रेष्ठको आदर्श विचारसहितको कथा ।

मानव अंग प्रत्यारोपण गर्दा आँशु आउने, हात काप्ने, मुटु डराउने केही हुँदैन बरु मानव सेवा गरेकी छु, धर्म गरेकी छु भनेर आत्मसन्तुष्टी महसुस गर्ने डाक्टर क्षेदन तामाङको कथा । इन्स्पेक्टर चिनीमाया तामाङको रातो कलमले सिगनेचर गर्ने रहरको कथा । गल्फ खेलाडी प्रतिमा शेर्पाको सानै देखिको रहर भएका कारण सफलता मिलेको कथा । सेल्फ मोटिभेसनले नै आइटीमा सफलता मिलेको रत्नाकार बैद्यको विचार, अनि उनको जीवनको कथा । संघर्षको एउटा उदाहरण मेरी साक्षात आमाको जीवन कथा र नातिहरुको पढाइप्रतिको आदर्शवान् चिन्तनको कथा सुनिरहें पटक पटक ।

दिमागमा छाप बस्ने गरी सुनिरहेकाले होला यी कथाहरुले मेरो जीवनमा ठूलै कायापलट ल्याइदिन्छ कि जस्तो लाग्यो । भएभरको दिमाग घुमाएर विचार गरे । मेरो जीवनको सर्वस्व नै श्रीमान ठान्ने मेरो दिमागमा हिम्मतका टुसा पलाउन थालेका छन् । यो दुनियाँमा मजस्ता हजार महिलाहरु रहेछन् जसको मेरो भन्दा भयानक र दर्दनाक अवस्था रहेछ । उनीहरु त संघर्ष गरिरहेका छन् भने म किन नगर्ने ? आत्मविश्वास बढाएर मनलाई दरो र कसिलो बनाउँदै मेरा सन्ततीको उज्ज्वल भविष्यका लागि तिनै सफल महिलाहरुका हिम्मत, प्रतीज्ञा, विश्वास, समर्पण र समाजलाई दिएको जवाफलाई मेरा आगामी दिनहरु बिताउने आधारको रुपमा लिँदै प्रण गरेकी छु । मन भित्र भित्रैबाट एउटा उदाहरणको रुपमा आफूलाई प्रस्तुत गर्न सकुँ भनेर ।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width