कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

संकटको वेला प्राथमिक मनोबैज्ञानिक सहयोग कसरी लिने ?

Avatar सुदीप घिमिरे
चैत्र १५, २०७६

सम्भावित घटनाको असरवाट बच्न सुरुमा दिइने सहयोगलाई प्राथमिक सहयोग भनिन्छ । यस्तो सहयोग अस्पताल लैजानु भन्दा अगाडीनै दिइन्छ । घटनाका कारण व्यक्तिलाई चोट लागेको छ, रगत बगिरहेको छ, छटपटाईरहेको छ भने स्थानीयस्तरमा उपलव्ध श्रोत र साधनहरुको प्रयोग सम्भावित असरलाई कम गराउन सहयोग गरिन्छ । उदाहरणका लागि रगत वगिरहेको छ भने कपडाले घाउँमा बाधिन्छ । घरमा उपलव्ध औषधीहरु लगाइन्छ । यो अवधिमा अस्पताल लैजान, एम्बुलेस बोलाउन र डाक्टरसंग समन्वय गर्ने वातावरण तयार गरिन्छ ।

तर व्यक्तिको जीवनमा आईपर्ने विभिन्न घटना वा अवस्थाले व्यक्तिलाई शारीरिक समस्या मात्र नभई मनोबैज्ञानिक समस्या पनि आउन सक्छन् । उदाहरणका लागि डर, चिन्ता, तनाव हुन सक्छन् । व्यक्तिहरु छटपटाउन सक्छन् । आत्तिएका हुनसक्छन् । त्यस्तो अवस्थामा भावनात्मक वा मनोबैज्ञानिक समस्याहरुलाई व्यवस्थापन गर्न घटना घटेको लगत्तै दिइने सहयोगलाई प्राथमिक मनोबैज्ञानिक सहयोग भनिन्छ । यस्तो सहयोग दिनको मुख्य उदेश्य समस्यालाई तत्काल न्यूनिकरण गर्न सहयोग गर्नु हो । यसले आत्तिएको मन शान्त हुन सहयोग पुग्छ । मन अस्थिर भएको, तनाव, डर वा सशंक्तित महसुस गरेका बालबालिका, किशोरी, वयस्क, बुढबुढीहरु वा अपतकालिन अवस्थामा अग्रपंतिमा काम गर्ने कर्मचारी एवं स्वास्थ्यकर्मीहरुलाई यस्तो सहयोगको आवश्यकता पर्न सक्छ ।

हाल बिश्वभर कोरोना भाईरसको संक्रमण फैलिइरहेको छ । नेपाल केही दिन देखि लकडाउनमा छ । मानिस आफ्नो आफ्नो घरमा बसेका छन् । सामाजिक संजालमा आएका गलत समाचार र डरले व्यक्तिलाई प्रभाव पार्न थालेको छ । यस्तो अवस्थामा सवै व्यक्तिलाई मनोबैज्ञानिकरुपमा असर गर्छ भन्ने छैन । हरेक व्यक्तिको सकारात्मक पक्ष, समस्या प्रति जुध्ने सकारात्मक तरिका, ज्ञान, र अनुभव हुन्छ । जसले समस्या वा अवस्थासंग जुध्न थप सहयोग गर्छ । कतिपय अवस्थामा व्यक्तिका सकारात्मक पक्षहरुले कहिले काहीँ सहयोग गरिरहेको हुदैन । अनि व्यक्तिमा डर, त्रास, चिन्ताको भावनाहरुको विकास हुन सक्छ ।

प्रायजसो आघातजन्य घटनाहरुको अवस्थामा व्यक्तिमा तिव्र निराषको भावना जाग्रित हुन्छ । जसल् गर्दा पहिले गदै आइरहेका सामना गर्ने व्यवहारहरु प्रभावकारी नहुन सक्छन् । आघातजन्य अवस्थाहरु बिशेषगरी विपत्तिजन्य अवस्था (उदाहरणका लागि भुकम्प, बाढीपहिरो, कोरोना भाईरसको प्रकोप), हिंसाजन्य कार्यहरु (हत्या, हिंसा) र मानवले निमार्ण गरेका साधनहरु पड्कदा आउने गर्दछ । त्यस्ता घटनाहरुले व्यक्तिलाई असह्रैय पिडा वा चिन्ता दिन्छन् । डर वा त्रासको वाताबरण निमार्ण हुन्छ । यस्ता घटनाले एक व्यक्ति भन्दा पुरै समाजलाई प्रभावित गरिरहेको हुन्छ । यस्तो अवस्थामा व्यक्तिले प्राथमिक मनोबैज्ञानिक सहयोग पाएको खण्डमा धेरै भन्दा धेरै समस्याहरु आफै समाधान भएर जान्छन् ।

यदी व्यक्तिलाई थप मनोबैज्ञानिक सहयोग वा चिकित्सकिय सहयोग चाहिने भएमा बिशेषज्ञकोमा सिफारिस गर्न सहयोग पुर्याउँछ । प्राथमिक मनोबैज्ञानिक सहयोग लिनको लागि गम्भीर समस्या हुनु पर्छ भन्ने छैन् । सानो जानकारी वा भावनात्मक सहयोगले पनि व्यक्तिमा आएको चिन्ता, डर, तनाव कम भएर जानसक्छ ।

प्राथमिक मनोबैज्ञानिक सहयोग सम्बन्धि आधारभुत तालिम प्राप्त वा आवश्यक ज्ञान तथा अनुभव भएका व्यक्तिले यो सहयोग प्रदान गर्न सक्छन् । यसको लागि कुनै बिशेषज्ञ हुनै पर्छ भन्ने छैन् । सामान्यतयः मनोविज्ञ, मानसिक चिकित्सक, मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ताहरु यस क्षेत्रमा अनुभवि हुन्छन् । त्यस वाहेक समुदायस्तरमा तालिम प्राप्त शिक्षकहरु, समुदायका अगुवाहरु, स्वास्थ्यकर्मिहरु, संचारकर्मिहरु र परम्परागत उपचारकर्मिहरुले पनि प्राथमिक मनोबैज्ञानिक सहयोग दिनसक्छन् । नेपालको सन्दर्भमा शिक्षण अस्पतालहरु, अस्पतालहरु, कलेजहरु, अन्तराष्ट्रिय र गैह्रसरकारी संस्थाहरु, बिद्यालयहरुमा कार्यरत मानसिक चिकित्सक, मनोविज्ञ, मनोविमर्शकर्ताहरुले यस्तो सेवाहरु दिनसक्छन् । तर नेपालमा यो क्षेत्रमा काम गर्ने जनशक्ति थोरै भएकाले सहजरुपमा सेवाहरु लिन कठिन छ । अहिलेको अवस्थामा उनीहरुलाई भेटेर सेवालिन कठिन छ । तर उनीहरुसंग फोन मार्फत कुराकानी गरी समस्याहरु सुनाउन सकिन्छ । समाधानका उपायहरु लिन सकिन्छ । काठमाण्डौ, पोखरा, चितवन, दमक, धादिङ्ग लगायतका जिल्लाहरुका यस्ता सेवा सेवाहरु सहजरुपमा लिन सकिन्छ ।

प्राथमिक मनोबैज्ञानिक सहयोगले प्रभावित व्यक्ति/समुदायलाई तत्काल शारीरिक तथा भावनात्मक सुरक्षा प्रदान गर्न सहयोग गर्छ । प्रभावित व्यक्तिहरुको मनलाई शान्त र भावनात्मक रुपमा स्थिर बनाउने सहयोग गर्छ । गम्भीर खालको मनोसामाजिक समस्या वा मानसिक समस्या भएमा दक्ष व्यक्तिकोमा सिफारिस गर्न यसले सहयोग गर्छ । फलस्वरुप, प्रभावित व्यक्तिहरुलाई गम्भिर प्रकारका मनोबैज्ञानिक वा मानसिक समस्या हुनबाट जोगाउन सहयोग गर्छ । समस्यामा रहेका व्यक्तिलाई तत्कालिन आवश्यकता पत्ता लगाउने र सोहि अनुसारको व्यबहारिक सहयोग प्रद्धान यसले सहयोग गर्छ । घटना पश्चात परेको मनोबैज्ञानिक समस्या वा कठिनाई संग सामना गर्नको लागि ब्यक्तिलाई सहयोगी सुचनाहरु प्रदान गर्ने यसले सहयोग गर्छ । समस्यामा रहेका व्यक्तिलाई पूर्ण रुपमा सामान्य जीवनमा फर्किनको लागि आवश्यक पर्ने सहयोगको पहिचान गर्न यसले सहयोग गर्छ ।

प्राथमिक मनोबैज्ञानिक सहयोग गर्दा यसको मुख्य सिद्वान्तहरु ʻहेर्नु, सुन्नु, र समन्वय गर्नुʼ लाई बिशेष प्राथमिकता दिइन्छ । शारीरिक सुरक्षा, औषधीको आवश्यकता, व्यक्तिले देखाएका मनोबैज्ञानिक लक्षणहरुलाई बढी ध्यान दिइन्छ । सुरक्षित र आरामदायी बनाउन व्यक्तिका समस्याहरु ध्यान दिएर सुन्निछ । जसले व्यक्तिलाई भावनात्मकरुपमा शान्त रहन सहयोग गर्छ । व्यक्तिका वर्तमान आवश्यकताहरुको पहिचान हुन्छ । समस्याले गर्दा यदी व्यक्तिमा गम्भीर प्रतिकृयाहरु देखाईरहेको छ भने समस्या व्यवस्थापनका लागि अन्य क्षेत्रमा समन्वय गरिन्छ । यसले गर्दा व्यक्तिलाई औषधी उपचार वा मनोविमर्शको आवश्यकता महसुस भएमा सम्बन्धीत स्थानमा सिफारिस गर्न सहयोग गरिन्छ । यसको लागि टि.पि.ओ नेपाल, सिभिक्ट, सि.एम.सि नेपाल, टी.एस.ओ.पी नेपाल, कोशिस नेपाल, अन्तरंग, कोपिला नेपाल, रेडक्रस, उत्थान नेपाल आदि रहेका छन् ।

कतिपय नगरपालिकाहरुले मनोबिर्शकर्ताहरुनै राखेर सेवाहरु प्रदान गरेका छन् उनीहरुसंग पनि सम्पर्क राख्न सकिन्छ । काठमाण्डौंमा अवस्थित शिक्षण अस्पताल, अन्य अस्पताल र कलेजहरुले यस्ता सेवाहरु दिइरहेका छन् ।

हाम्रो सुझाव