श्री भागवत् शरण देवाचार्यजी महाराज : एक जीवन चक्र

आदर्श समाज सम्वाददाता
असार २८, २०७२

धार्मिक तथा आध्यात्मिक जगतका विशिष्ट साधक, चिन्तक, तथा धर्माचार्यका रूपमा श्री भगवत् शरण देवाचार्य महाराजजीको नाम अग्रपंक्तिमा आउँछ। उहाँ वैदिक हिन्दू सनातन निम्बार्क वैष्णव सम्प्रदायका विशिष्ट साधक र चिन्तक मानिनुहुन्छ। सर्वप्रथम भारतमा मात्र सीमित रहेको निम्बार्क वैष्णव सम्प्रदायलाई नेपालमा भित्र्याउने काम उहाँबाट नै भएको हो। बलि प्रथाले जकडिएको मांसाहारी देश नेपालमा अहिंसावादी भागवत् धर्मको व्यापक प्रचार गरेर घरघरमा शालग्राम र तुलसीको पूजा अनि यज्ञानुष्ठानको आधार तयार पार्नुभयो। वि.सं.१९५० आश्विन शुक्ल षष्ठी तिथिको शुभलग्नमा पिता श्री धर्मागत (धरणीधर शरण) सिग्देल र माता श्री जानकी देवी सिग्देलको जेष्ठ सुपुत्रका रूपमा प्रतिष्ठित ब्राहृमण कुलमा स्याङ्जा जिल्ला, मग्याम चिसापानी-९ आठबिसेमा जन्मनुभएका भगवत् शरणको न्वारानको नाम भवानी शङ्कर सिग्देल हो। मग्याम चिसापानी चारैतिर पहाडै पहाडले घेरिएको सानो काठमाडौं उपत्यकाको झझल्को दिने रमणीय गाउँ रहेको छ। पिता धर्मागत ज्योतिष शास्त्रका मर्मज्ञ विद्वान भएकाले बालक भवानी शङ्करले पाँच वर्षकै उमेरमा आफ्नो शैक्षिक अध्ययनको प्रतिभा देखाउनुभयो। आठ वर्षकै उमेरमा सिद्धान्त ज्योतिषमा भाश्वती र फलित ज्योतिषमा जातकालङ्कारको राम्रो अध्ययन गर्नुका साथै सोही वर्ष ब्रतबन्ध पनि भयो। पिता धर्मागतका तीन भाइ छोरा र दुर्इ बहिनी छोरी थिए। जसमध्ये महाराजजी ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो। उहाँको विवाह भए पनि सन्तान भएनन्। पारिवारिक जीवन मार्गप्रति पनि महाराजजीको अनुराग भएन। आध्यात्मिक चिन्तनमा नै उहाँको मन अनुरक्त भयो।

आचार्य श्री पढाइमा सानो उमेरदेखि नै प्रतिभाशाली र तेजिलो हुनुहुन्थ्यो। ज्योतिष शास्त्रले गर्दा उहाँको नाम प्रसिद्ध हुँदै गयो। तेह्र वर्षको उमेरमा भवानी शङ्करको तनहुँ जिल्ला सिमलचौर, खैरेनीटार निवासी विर्तावाल परमानन्द घिमिरेकी छोरी पद्मावती देवी घिमिरेसँग विवाह भयो। आचार्यश्रीले प्रारम्भमा घरमा नै ज्योतिष, वेद, कर्मकाण्ड, गीता, चण्डी आदिको अध्ययन गर्नुभयो भने पछि काठमाडौ, वनारस, मथुरा, वृन्दावन आदि स्थानमा गई संस्कृत व्याकरण, भागवत्, उपनिषद्, धर्मशास्त्र आदिको राम्रो अध्ययन गर्नुभयो। विस्तृत ज्योतिष अध्ययनको लागि स्याङ्जाको आँधीखोलाको सतौं र पर्वतको पाङ्ग आदि क्षेत्रमा जानुभयो। यति अध्ययनले मात्र चित्त नबुझी व्याकरणको अध्ययन गर्न मातापिता र धर्मपत्नीलाई नै थाहा नदिई रातिको समयमा पाल्पाको राम्दी हुँदै पैदल र रेलको यात्रा गरेर वनारस जानुभयो। राम्दीमा बास बस्दा राति स्वप्नमा कुनै साधुबाट सुनको तरवार प्राप्त गर्नुका साथै आफ्नो लक्ष्यमा सफलता प्राप्त गर्ने वरदान पनि प्राप्त गर्नुभएछ। वनारस बस्दा भवानी शङ्करको भगवान विश्वनाथ, भैरवनाथ, अन्नपूर्ण भगवती र हनुमानजीको दर्शन दैनिकी नै थियो। वनारसमै बसेर उहाँले शास्त्राध्ययन, यज्ञानुष्ठान, आत्मचिन्तन गरेर जीवनमा अनेकौं मन, वचन र कर्ममा सिद्धत्व प्राप्त गर्नुभयो। आत्मचिन्तन गर्दागर्दैआचार्यश्रीले विन्ध्याचल जाने मनसाय गर्नुभयो र त्यहाँ गएर भगवती विन्ध्येश्वरीको आराधना गर्नुभयो। जल सिवाय केही नखाइकन जप, ध्यान र दुर्गा सप्तसतीको तन्मयताका साथ आर्तभावनाले पाठपारायण र सरस्वतीको आराधना समेत गर्नुभयो। यसले गर्दा आचार्यश्रीमा शारीरिक कृषता आए पनि दिव्य विचार, तत्ववोध र ज्ञानगरिमाको विकास भएको हुँदा आकृतिमा तेजिलोपन पनि देखिन्थ्यो। आश्विन शुक्ल प्रतिपदादेखि दशमी पर्यन्त जगज्जननी दुर्गामाताको आराधना गरी त्यसबाट तत्वबोध प्राप्त गरेर एक सज्जन व्यक्तिसँग मथुरा वृन्दावन जानुभयो। वृन्दावनमा भागवत् दर्शन, सत्स· गर्ने, धार्मिक गोष्ठीमा भाग लिने, साधु र महन्तसँगको सामीप्यता बढाउने, वृन्दावन र चौरासी कोष (ब्रजमण्डल) को परिक्रमा गर्ने, भागवत, धर्मशास्त्र आदिको अध्ययन गर्ने आदि जस्ता कार्यलाई दैनिकी नै बनाउनुभयो। यसै सर्न्दर्भमा वैष्णवी दीक्षा प्राप्त गर्न गीता र गायत्री मन्त्रको अनुष्ठान गर्दा गर्दैसातौं दिनमा ‘मनोवाञ्छा हरिप्रिया’ भन्ने अमूर्त शाब्दिक स्वर प्राप्त भएको हुँदा विशिष्ट विद्वान, सकल शास्त्रका ज्ञाता श्री हरिप्रिया शरण देवाचार्य महाराजजीबाट वि.सं.१९७५ मा मार्ग विवाह पञ्चमीका दिन वैदिक विधिपूर्वक निम्बार्क सम्प्रदायमा दीक्षित हुनुभयो। दीक्षा ग्रहणपछि १९७७ वैशाख शुक्ल तृतीया तिथिका दिन वृन्दावनको निधिवन चार फुटे गुफामा बसेर ६ महिना अष्टादशाक्षर मन्त्र राजको अनुष्ठान गर्नुभयो। निधि वनमा रात्रिमा नित्य भगवान राधाकृष्णको रासलीलाको दर्शन गर्न सकिन्छ भन्ने अवधारणा पनि रहेको छ। एउटा तपस्वीको रूपमा साधनारत युवा व्यक्तित्वलाई दर्शन नगरी कुनै पनि व्यक्ति फर्किन्नथे। यमुना नदीको तटमा नै निधिवन भएकोले बाढी आएर अनुष्ठान पुरा हुन पाएन। त्यसपछि गुरुको आज्ञा लिएर यमुना नदीको तिरतिरै यमुनोत्तरीको यात्रा गर्नुभयो। यात्रामा दुवो पानी, पाए फलफूल खाएर आफ्नो गन्तव्यमा पुग्नुभयो। आचार्यश्रीको तपोबलले गर्दा यात्राका क्रममा गाउँलेहरू ठूलो सम्मान गर्थे। यमुनोत्तरीपछि केदारनाथ, बद्रीनाथ, गङ्गोत्तरीको पनि धार्मिक यात्रा गर्नुभयो। हिमालयको काखमा बसेर अष्टादशाक्षर मन्त्रराज र गायत्री मन्त्रको एक एक लाख जप गर्नुभयो। हिमालय क्षेत्रको यात्राकै क्रममा वदरिकाश्रम पुगी त्यहीँ बसेर बाघिनीको गुफामा उनन्पचास दिनसम्म वैष्णवी मन्त्रको जप, ध्यान र आराधना गर्नुभयो। बघिनीलाई पनि भगवती दुर्गा माताकै बाहनीय स्वरुपका रूपमा हेर्र्नुभएकोले साधना निष्ठ तपस्वीलाई बघिनीले केही गर्न सकिन। आचार्यश्री बघिनीबाट पनि अत्तालिनु भएन। त्यहाँको आफ्नो अनुष्ठान सिध्याएर ऋषिकेश, हरिद्वार हुँदै मुक्तिनाथको यात्रा गर्नुभयो। भारतीय धार्मिक यात्राका क्रममा चमत्कारपूर्ण व्यवहार देखाउनुभयो। नदीमा घण्टौं डुबेर मन्त्रको जप गर्ने, बाटोमा थाकी विश्राम गर्दा त्यो ठाउँ छोडेर अकै ठाउँमा पुग्ने, साधनामा भगवानको दर्शन गर्ने, बाघको ओडारमा बसेर तपस्या गर्दा बाघ बघिनीले कुनै आघात नपुर्‍याउने, आदि जस्ता घटना घटित भएका थिए।

आफ्नो हिमालयको साधना/तपस्या यात्रा पूरा गरी पुनः वृन्दावन आउनुभयो। साधनाले गर्दा शरीर अति नै कमजोर भए पनि रेलको यात्राका क्रममा अचानक निदाएर उठ्दा फलफूल प्राप्त हुन्थ्यो। वृन्दावनका सबै सन्त, महन्त, साधुसज्जन, विद्वान, राजनीतिकर्मी महाराजजीको धार्मिक आस्था, तपोनिष्ठ व्यक्तित्व, आध्यात्मिक चिन्तन, समभाव, दीनत्वभाव देखेर नेपालका सूर्य एवं महापुरुषको संज्ञा दिन्थे। वृन्दावनबाट पुनः वनारस आई त्यहाँको मणिकणिर्का घाटमा नुहाउन जाने क्रममा गङ्गा नदीमा दुर्इ घण्टासम्म डुब्नु हुँदा पनि आचार्यश्रीको तपोवलले केही भएन। उहाँले ‘जलेषु मां रक्षतु मत्स्यमूर्र्ति’ भन्ने नारायण कवचीय मन्त्रको सिद्धत्व प्राप्त गर्नु भएको थियो। पछि नेपाल फर्किने विचारकै क्रममा गोरखपुरमा रहँदा आसामाको गुहाटी जाने विचार आई गुहाटीको ठाकुरवारी पुग्नुभयो। त्यहाँका धार्मिक व्यक्तित्वहरूको आग्रहले गर्दा राधाकृष्ण र नृसिंह भगवानको मन्दिर निर्माण गर्नुभयो। भनिन्छ महाराजको नेतृत्वमा त्यहाँ पाँचसय वटा गाई पनि पालेको ख्याति प्राप्त भयो। त्यहाँ बस्दा महाराजजीसँग धेरै मानिसहरू दीक्षित भई वैष्णव हुन पुगे। त्यसपछि उक्त संस्था कुनै सज्जन व्यक्तिलाई संरक्षण, सर्म्वर्द्धन र सञ्चालनको जिम्मा लगाई पुनः वृन्दावन आउनुभयो। वृन्दावनको केही समयको बसाइ पछि २००२ सालमा आफ्नो जन्मभूमि नेपाल फर्किनुभयो। भारत र नेपालमा गरी हजारौं व्यक्तिहरूले महाराजश्रीबाट वैष्णवी दीक्षा लिए। जन्मभूमि फर्केर सामाजिक, शैक्षिक र मानवीय सेवाको कार्यमा लाग्नुभयो। दीन, दुःखी, गरिब, भिखारी, वृद्ध, अशक्त, असहाय, दलित, रोगीहरूप्रति आचार्यश्रीको ठूलो सम्वेदनशीलता थियो। गौचरन, बाटो, कुलो, मठमन्दिर, पाटीपौवा, वृक्षारोपण, बगैंचा, पोखरी, खेलमैदान निर्माणमा आफ्नो तन, मन, धन, कर्म सबै कुराहरू समर्पित गर्नुहुन्थ्यो। आध्यात्मिक तथा धार्मिक चिन्तनबाट नै सामाजिक कार्यमा संलग्न हुने आस्था, विश्वास प्राप्त हुन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। धार्मिक चिन्तनले मानव जातिमा ज्ञान, विवेक, सच्चरित्रता, सुकर्म, सुभावना, सकारात्मक सोचको उदय हुन्छ भन्ने कुराप्रति विश्वास राख्नु हुन्थ्यो। यसका लागि गाउँमा धर्म सप्ताह, भजनकीर्तन, प्रत्येक जातजातिका लागि धार्मिक गीत गाउन लगाउने आदि जस्ता कार्य गर्न उत्प्रेरित गर्नुहुन्थ्यो। भक्तिमार्गप्रति महाराजजीको विशेष अनुराग थियो। कथा, प्रवचन गर्ने शैली लोकलयमा आधारित हुन्थ्यो। साथमा कीर्तन मण्डली हुन्थ्यो। भजनकीर्तन पनि लोकलयमा गरिन्थ्यो। महाराजजीको कथा प्रवचन, भजनकीर्तन सुनेर स्रोताहरू मनमुग्ध हुन्थे।

हिन्दू वैदिक सनातन निम्बार्क वैष्णव धर्मको व्यापक प्रचार भइसकेपछि पाल्पा, स्याङ्जा, नवलपरासी, तनहुँको स·मस्थल श्रीकृष्णगण्डकीको पावन तट केलादीघाटमा वि.सं.२००८ सालमा श्री राधा दामोदरको मन्दिर २०१३ सालमा चारतले विशाल पौवाको निर्माण गरी त्यहाँ नै वि.सं.२०१६ सालमा गुरुकुलीन संस्कृत भाषायुक्त शैक्षिक संस्थाको पनि स्थापना गर्नुभयो। महाराजजीले आफ्नो पैतृक सम्पत्ति चन्दा सहयोग, दान दक्षिणा, मुष्ठी सड्ढलन आदिका आधारमा नै यो संस्थाको स्थापना गर्नुभएको हो। यो संस्था सञ्चालनका लागि स्याङ्जा, पाल्पा र तनहुँ जिल्लामा सयौं रोपनी गुठी जग्गा रहेको छ। प्रारम्भमा निजी शैक्षिक गुठीबाट सञ्चालित यो विद्यालय हाल संस्कृत उच्च मावि र संस्कृत विद्यापीठका रूपमा शास्त्रीसम्मको पढाइ हुँदै आएको छ। स्थापनाकालदेखि नै सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू उच्च सरकारी सेवा, सन्तमहन्त, प्राध्यापक, साहित्यकारका रूपमा पद्वी प्राप्त गरेका छन्। यहाँ नित्य गौसेवा, अतिथि सेवा, वृद्ध सेवा, सत्स· भजनकीर्तन आदि जस्ता कार्य हुँदै आएका छन्। यस्तै कास्की जिल्ला लेखनाथ-१३, तल्लो गगनगौंडामा पनि महाराजजीबाट वि.सं.२०२२ सालमा निर्माण भएको श्री राधाकृष्ण मन्दिर, शान्ति आश्रम स्थापित छ। यहाँ पनि गौसेवा, अतिथि सेवा, वृद्ध सेवा, भगवत् सेवा, सत्स· हरिनाम सङ्कीतन सञ्चालन हुँदै आएको छ। यस्तै चितवन देवघाटमा २०३४ सालमा श्रीमद्भागवत सप्ताह लगाई श्री राधाकृष्ण मन्दिरको शिलान्यास गरी संस्था निर्माणको जिम्मा श्री लक्ष्मी शरण पौडेललाई दिनुभयो। यस्तै भारतको मथुरा वृन्दावनमा भजनकुटी र सनकादी आश्रम, तुलसी वाटिका स्थापना गरी त्यस संस्थाको सञ्चालनको जिम्मा शिष्य प्रशिष्यलाई दिनुभयो। यो संस्था नेपाली तीथयात्रीको लागि आश्रयस्थल बन्दै आएको छ। यस्तै महाराजजीकै शिष्य प्रशिष्यहरूबाट स्याङ्जाको हुगीघाट, खोरियाघाट, पाल्पाको मटेरी, नवलपरासीको गैंडाकोट र त्रिवेणी, चितवनको शिवघाट, देवघाट, मोरङको विराटनगर, इटहरी, इनरुवा, काठमाडौको ट·ाल आदि स्थानहरूमा निम्बाकीय संस्थाहरू स्थापना भएका छन्। नेपालका एक धर्माचार्यले नेपाल र भारतमा गरेको धार्मिक, आध्यात्मिक, शैक्षिक, सामाजिक चिन्तन र सेवाको योगदानको उच्च मूल्याड्ढन गर्दैवि.सं.२०१९ सालमा अखिल भारतीय निम्बार्क महासभा, भारतीय जनसङ्घ, भारतीय साधु समाज, भारतीय रामानन्द युवक सङ्घ, रास मण्डल, अखाडा तथा विद्वत् समाज आदि धार्मिक सङ्घसंस्थाहरूले आध्यात्मिक कर्णयार, वैष्णव भूषण, सम्प्रदाय, रत्न, श्रीमद्भागवैतक जीवन, महनीय शान्तमूर्ते, लोकसंग्रह परायण, सार्वभौमाचार्य, वैष्णव सम्राट, आदर्श शिरोमणि, नेपाल भूषण, सम्प्रदाय, भाष्कर आदि जस्ता पद्वीले सम्मान गर्दैविशाल जनसभामा अभिनन्दन गर्‍यो। यो सम्मान पाउनु एउटा नेपाली धर्माचार्यको लागि साधारण विषय थिएन। आचार्यश्रीको साधना, उपासना, मानवीय सेवा, सदाचार, धर्मप्रचार, उदार व्यक्तित्व, अहिंसावादी चिन्तन, सरलता, क्षमाशीलता, आध्यात्मिकता आदि जस्ता गुणहरूले महाराजजीलाई यो सम्मान र पदवीसम्म पुर्‍याएको हो। महाराजजीको मुख्य उद्देश्य नै आध्यात्मिक चिन्तनका माध्यमबाट नै मानव जातिमा सदाचार, सच्चरित्रता, प्राणी सेवा, सकारात्मक सोच आदि जस्ता मानवीय गुणको विकास गर्नु थियो। दीनदुःखी, गरिब, अशक्त, असहाय, वृद्ध, भिखारी, बालबालिका देखेपछि सहानुभूति प्रकट गरी आफूले नखाएर र नलाएर पनि सहयोग गर्नुहुन्थ्यो। महाराजजीका शिष्य प्रशिष्यहरू नेपाल र भारतमा हजारौंको सङ्ख्यामा रहनुका साथै विशिष्य विद्वान, सन्तमहन्त, मठाधीश, पीठाधीश, साहित्यकारका रूपमा स्थापित भइसकेका छन्। निम्बार्क सम्प्रदाय चक्रावतार निम्बार्क भगवानदेखि चलेको परम्परा हो। निम्बार्कभन्दा पूर्व नारद सनकारिक र हंशावतार भगवानसम्मको पनि पौराणिक परम्परा रहेको छ। भागवत् शरण देवाचार्य महाराजजीसम्म आइपुग्दा यो निम्बार्कीय परम्परा पचासौं रहेको देखिन्छ।

वैष्णव धर्मको प्रचार प्रसार गर्ने क्रममा विभिन्न धार्मिक क्षेत्रका अधार्मिक व्यक्तिहरूबाट नै शारीरिक, मानसिक तथा वैचारिक विरोधको सामना गर्नुपरेको थियो। महाराजजीबाट निर्देशित र आयोजित धार्मिक यज्ञानुष्ठानमा विघ्नबाधा उत्पन्न गर्ने काम भयो। महाराजजीको प्रचार गरेको भागवत् धर्मलाई पाखण्डी पण्डितहरूले अवैदिक धर्म भन्न पनि पछि परेनन्। कसैले सजाय दिने कुरा गर्दा हरिभक्ति गर्नु नै महाराजजीको सजाय हुन्थ्यो। महाराजजीमा विद्यमान क्षमाशीलता, लगनशीलता, अध्ययनशीलता, धैर्यशीलता, सहिष्णुता, परोपकार, ज्ञान, विवेक, विश्वबन्धुत्व, शास्त्रीय चर्चा आदिका अगाडि उनीहरूको केही चलेन। मन, वचन र कर्मले अपमान गर्ने मानिसहरूको जीवनमा खाना खाँदा अकस्मात् विष्टा र रगत देखिने, घर जल्ने आदि जस्ता विभिन्न अपसकुनहरू हुन थाले। पछि महाराजजीसँग क्षमा माग्नुबाहेक अको केही थिएन। महाराजजीमा घण्टौं जलसमाधि लिन सक्ने क्षमता थियो। यो जलसमाधि लीनविपरीत विचार राख्ने व्यक्तिहरूलाई पनि हाँक दिनुहुन्थ्यो। तत्कालीन अवस्थामा सञ्चारको अभाव भएको हुँदा आचार्यश्रीको व्यक्तित्वको जति प्रचार हुनुपर्ने हो त्यति हुन पाएन। उहाँको यात्राका क्रममा १५।२० जना अनुयायीहरू सहभागी हुन्थे। उहाँसँग हिडेका महाराजजीको आगमन हुँदैछ भन्ने समाचार पाएपछि खानपिन तथा वासस्थानको पूर्व तयारी हुन्थ्यो। उहाँ चढेको घोडाले पनि राम्रो सम्मान पाउँथ्यो। खेतीपातीमा पनि महाराजजीको संलग्नता हुन्थ्यो। आफ्नो दुःख त सबैको दुःख, आफ्नो सुख त सबैको सुख महाराजजीको चाहना हुन्थ्यो।

महाराजजी अति नै दयालु हुनुहुन्थ्यो। मानवलाई मात्र होइन पशुपन्छीहरूप्रति पनि ठूलो दयाको भावना थियो। धर्म मानवमा मात्र होइन सम्पूर्ण पशुपंक्षीहरूमा निर्देशित हुनुपर्छ भन्ने विचार राख्नु हुन्थ्यो। भोको र नाङ्गो अनि आपद् विपद्मा परेकाहरूलाई मन, वचन र कर्मले सहयोग गर्नुहुन्थ्यो। उहाँले स्थापना गरेका संस्थाहरूमा पचासौं बाल, वृद्ध, अशक्त, असहायले भोजन गर्थे र अझ पनि त्यो कार्य यथावत् छ। आचार्यश्रीको मूल मन्त्र नै ‘कलौ केशव कीर्तनात्’ थियो। फलस्वरुप स्याङ्जा केलादीघाटमा ४८ जना भक्तभक्तिनीहरूको रोहवरमा २०३६ सालबाट मासिक १०० दिने गरी अखण्ड हरिनाम सङ्कीतनको शुभारम्भ गर्नुभयो। त्यो अध्यावधिक सञ्चालित छ। जीवनको अन्त्यसम्म पनि शारीरिक, शैक्षिक, धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदै त्यो दिव्य महापुरुषको वि.सं.२०३६ साल वैशाख शुक्ल नृसिंह चतुदशीका दिन ८६ वर्षको उमेरमा भौतिक शरीरको विसर्जन भयो। आचार्यश्रीको गोलोकधाम गमनको शोकको घडीमा नेपाल र भारतका विशिष्ट विद्वान, सन्तमहन्त, सङ्घसंस्था, व्यक्ति, शिष्य, प्रशिष्यहरू शोकमग्न भए। कपाल खौरनेको ठूलो भीड रहेको थियो। सम्पूर्ण वैदिक हिन्दू सनातन धर्मावलम्बीहरूका लागि चराचर जगत नै मलिन भएको मानसिक अनुभूति हुन्थ्यो। महाराजजीबाट स्थापित स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको संगमस्थल, पवित्र काली गण्डकीको किनार, नेपाल निम्बार्क पीठ, श्रीराधा दामोदर मन्दिरको पीठाधीशमा महाराजजीकै भाइका नाति, वेदान्ताचार्य, आबाल ब्रहृमचारी गोपालशरणदेव पदासीन हुनुहुन्छ। बिहान ४:०० बजे उठेर ८।९ बजेसम्म हातमा काठको आसा राखी दैनिक साधनामा तल्लीन हुनुहुन्थ्यो।

(लेखक आचार्यश्रीका भाइका नाति हुनुहुन्छ।)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width