शिक्षा दिवस, निजामती दिवस र पुरस्कार

 नगेन्द्रराज पौडेल
भाद्र ३०, २०७६

कसरी र के का आधारमा कर्मचारी छनौट भए भन्ने कुरा आजसम्म पनि पारदर्शी हुन सकेको छैन। उल्लिखित प्रावधानहरु त केवल देखाउने दाँत मात्र हुन्। पारदर्शिता र सर्वस्वीकार्यता भने भेटिँदैन। राम्रालाई कि हाम्रालाई भन्ने विवाद यथावत् छ।

गत साता नेपालमा पेशाकर्मीका दुइओटा ठूलै पर्व परे। पहिलो ८० हजारभन्दा बढी सदस्य रहेको नेपाल निजामती सेवाका कर्मचारीको दिवस १६ औं निजामती सेवा दिवस र दोस्रोलगभग दुईलाखभन्दा बढी शिक्षाकर्मी भएको शिक्षाकर्मीहरुकै दिवस ४० औं राष्ट्रिय शिक्षा दिवस। पहिलो दिवस २०६१ सालदेखि मनाउन थालिएको हो भने दोस्रो चाहिं २०३१ बाट। निजामती दिवस सामान्य प्रशासन मन्त्रालयको अगुवाइमा र शिक्षा दिवस शिक्षा मन्त्रालयको अगुवाइमा सम्पन्न भएका छन्। यी दुबै दिवसमा आ–आफ्ना फाँटका सदस्यहरु पुरष्कृत गर्ने पुरानै चलन हो। यसपटक पनि यो चलनलाई यी दुवै संस्थाले राम्रैसँग पिछा गरे ।

शिक्षा दिवसमा राष्ट्रियस्तरबाट पुरस्कृत हुनेहरुमध्ये सामुदायिक विद्यालयतर्फ ७७ जना शिक्षक पुरस्कृत भएका छन् । एक जिल्ला एक उत्कृष्ट शिक्षक नीति सायद मन्त्रालयले अख्तियार गर्यो होला। यससँगै संस्थागत विद्यालयका पदाधिकारी, प्राविधिक शिक्षालयका कर्मचारी र विश्वविद्यालयका पदाधिकारीहरु समेत गरी मन्त्रालयले १०१ जनालाई पुरस्कृत तथा प्रशंसापत्र वितरण गरेको छ। यिनीहरु सबैलाई शिक्षा मन्त्रालयले पुरष्कृत गर्यो। केही सम्मान तथा पुरष्कार भने एसइई तथा विद्यालयको कार्यस क्षमतालाई आधार मानेर पनि दिएको पाइयो।

शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले आफ्नो मातहतको निकाय शिक्षा विकास तथा समन्वय इकाइमार्फत् सिफारिस मागेको भए पनि कतिपय शिक्षकहरु सिफारिसका आधारमा नभई मन्त्रालयले आफ्नै तजबिजीले पनि पुरस्कृत गरेको कुरा यतिखेर चर्चाको शिखरमा छ। कतिपय शिक्षाविद्हरु कार्यविधि मिचेर पुरस्कृत गरेकोमा मन्त्रालयको आलोचना समेत गरेका छन्। मातहतका कर्मचारीलाई प्रशंसापत्र तथा पदकद्वारा सम्मान गर्ने पुरानो परम्परालाई भने मन्त्रालयले विगतका वर्षहरुदेखि नै तोडेको छ। विभिन्न पालिकाहरुले पनि आफ्नै तवरले शिक्षा दिवस मनाएको भए पनि सयथरी बाजा एउटै ताल हुन भने सकेन। ७५३ स्थानीय सरकारले ७५३ तरिकाले नै यो दिवस मनाएको हुँदा एकरुपता र समन्वयको अभाव खड्कियो।

निजामतीमा भने भद्रगोल

संघीयतासहितको संविधान घोषणा भएको पनि ४ वर्ष भइसक्यो। यसबीच घरघरमा सिंहदरबार भनिए पनि राजनीतिक संयन्त्रको विस्तारबाहेक जनताले पाउने सेवामा खासै परिवर्तन आउन सकेको छैन। एउटा सरकारको सट्टा ७६१ ओटा सरकार त बने तर सरकार सञ्चालन गर्ने महत्वपूर्ण अंग कर्मचारीको व्यवस्थापन उपयुक्त ढंगले आजसम्म पनि हुन सकेन। माऊ कर्मचारीहरुका कारण संघीयतामा कर्मचारी अभाव आजपर्यन्त उस्तै रह्यो। द्रौपदीको साडीझैं कर्मचारी समायोजन कहिल्यै नटुंगिने गरी बल्झिएको छ। यसको अन्त्य कसरी हुने हो अत्तोपत्तो छैन।

हामीले यसपटक ‘सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ १५ औँ निजामती सेवा दिवस मनायौँ। नेपालमा निजामती सेवा दिवस २०६१ सालदेखि मनाउन थालिएको हो। यो दिवसमा निजामती सेवा नियमावली, २०५० को सातौँ संशोधन २०६४ को नियम ११६ (क ) १ अनुसार कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा छ। निजामती कर्मचारीका लागि २ लाखको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार १ जनालाई, १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजारको निजामती सेवा पुरस्कार ३० जनालाई दिने चलन छ। यसमध्ये सर्वोत्कृष्ट कर्मचारी सरकारले यसपटक पनि फेला पार्न सकेन।

कानूनी प्रावधान

नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा गठन गरिने पुरस्कार सिफारिस समितिले यसरी पुरस्कार पाउन योग्य कर्मचारीको नाम सरकारसमक्ष सिफारिस गर्ने कानूनी व्यवस्था छ। कर्मचारी छनोटका आधारका रुपमा सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सिफारिस, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, कार्य क्षमता र कार्यदक्षता, जेष्ठता, लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षता समेतलाई आधार मानेर पुरस्कृत गरिने नीतिगत प्रावधान छ। तर कसरी र के का आधारमा कर्मचारी छनौट भए भन्ने कुरा आजसम्म पनि पारदर्शी हुन सकेको छैन। उल्लिखित प्रावधानहरु त केवल देखाउने दाँत मात्र हुन्। पारदर्शिता र सर्वस्वीकार्यता भने भेटिँदैन। राम्रालाई कि हाम्रालाई भन्ने विवाद यथावत् छ।

सरकारले नेपाल सरकारका सहसचिव सूर्यप्रसाद गौतमलाई सर्वप्रथम २०६८ सालमा सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्दै २ लाखको नगद पुरस्कार प्रदान गरेको थियो। त्यसपछि भगवतीकुमार काफ्ले (२०६९), भाइकाजी तिवारी( २०७० ) र शान्तराज सुवेदी (२०७३ ) ले मात्र यो पुरस्कार पाएका छन्। यता यस्तो पुरस्कार पाउने कर्मचारी विगतका २०७१, २०७२ र २०७४, २०७५ सालमा कोही पनि फेला परेनन्। यो वर्ष पनि सरकारले अन्य पुरस्कार पाउने कर्मचारीको नाम नामेसी घोषणा गरे पनि २ लाखको सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी पाउन सकेन। लगभग ८६ हजारभन्दा बढीको संरचना भएको निजामती सेवामा के साँच्चिकै सर्वोत्कृष्ट रूपमा कार्य सम्पादन गर्ने कर्मचारीको अभाव भएको नै हो त? विचारणीय छ।

थला परेको निजामती

बिल क्लिन्टनले सधैं हस् मात्र होइन नाइँ भन्ने साहस पनि कर्मचारीमा हुनुपर्छ भनेका थिए। हाम्रो निजामती सेवा सधैँ हस् प्रवृत्तिमा नै मौलाउँदै आएको पाइन्छ। खासगरी नीति निर्माताहरूसँग सन्निकट भएर काम गर्ने उच्च पदस्थ कर्मचारीहरूले नै गति छाडेपछि तल्ला कर्मचारीहरू स्वतः अन्यमनस्क हुन्छन्। नीति नियमको कार्यान्वयनका लागि, नागरिकले पाउने सेवालाई छिटो, छरितो, भरपर्दो र विश्वसनीय बनाउनका लागि तल्ला कर्मचारीहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। यसका लागि उनीहरूमा मनोबल बढाउने उपाय उपल्लोस्तरका कर्मचारीबाटै गरिनुपर्छ। उचालेको कुकुरले मृग मादैर्न भनेझैँ लादिएको निजामती सेवा नागरिकको हितमा समर्पित हुन सक्दैन। कम्तीमा पनि पदस्थापना, सरुवा, बढुवासमेतको वृत्ति विकासलाई सबैको न्यायोचित पहुँचमा पुर्याउनुका साथै अनुमानयोग्य बनाउन जरुरी छ।

अनुकरणीय काम खोइ?

यसै पनि निजामती सेवा जनताको दृष्टिमा आलोच्य बनेकै छ। काम टार्ने, प्रक्रियाका नाममा परिणाममा नपुग्ने, घुस लिने, विचौलिया प्रयोग गर्ने, सुकिलामुकिलाहरुको जमघटजस्ता आरोपहरु निजामतीले धेरै खेप्दै आएको छ। यसैबीच १ जना सर्वोत्कृष्ट कर्मचारीका लागि २ लाख, १० जना उत्कृष्ट कर्मचारीका लागि जनही १ लाख र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने कानूनी व्यवस्था रहिआएको छ। अन्य पुरस्कारहरुका लागि कर्मचारी छनौट भएपनि २ लाख धनराशिको सर्वोत्कृष्ट पुरस्कारका लागि भने यो वर्ष पनि कुनै पात्र छनौटमा नपर्नु आश्चर्यजनक होइन। छनौटमा नपरेकोमा आश्चर्य मान्नुभन्दा पनि छानिएर पुरस्कृत भएकाहरुले आजसम्म के उत्कृष्टता देखाए? यो महत्वपूर्ण कुरा हो । छनौटमा पनेर्हरु सालाखाला कर्मचारीभन्दा विशिष्ट हुनै पर्छ। उनीहरुको रोलमोडेल अरुहरुका लागि आदर्श बन्नुपर्छ। अनुकरणीय बन्नैपर्छ।

आजसम्म सर्वोत्कृष्टता हुनेहरुले गरेको काम के हो? उनीहरुबाट आम कर्मचारीले सिक्नैपर्ने पक्ष के थियो? उसले के काम गरेर पुरष्कृत हुन सक्यो, म के नगर्दा पुरस्कृत हुन सकिन, अब के गर्दा आगामी दिनमा पुरस्कृत हुन सक्छु भन्ने कुरा पारदर्शी रुपमा दोस्रोलाई जानकारी नभएसम्म यी पुरस्कारले खासै महत्व राख्दैनन्। बरु, यस्तै पारामा पुरस्कार दिंदै जाने हो भने कुनै दिन पुरस्कार पाउनेहरु नै लज्जित हुनुपर्ने अवस्था नआउला भन्न सकिँदैन।

Related News

सम्बन्धित समाचार

hero news full width