मुसुक्क हाँसी बोलने बानी दार्शनिक स्वरूप
हे काल तैले क्यान्सर बनी चुडालिस् त्यो रूप।
टपक्क टिपी किन हो? लगिस् रामचन्द्र बाबालाई
हजारौं जनता रोएको रोयै टुहुरा बनाई।।
यो सुन्दर पृथ्वीमा थुप्रै मानिस जन्मिएर मानव मानवको ज·ल बनेर भरिएको छ। विश्वमा आज करिब सात अर्बको हाराहारीमा मानिस जन्मिसकेको कुरा तथ्याड्ढले देखाउन खोजेको छ। ती सबै मानिस असल मात्र जन्मेका भए सायद यो पृथ्वी अहिलेको भन्दा धेरै सुन्दर र अझै बढी लोभ लाग्दो हुन्थ्यो होला। ती सबैमध्ये अति थोरै प्रतिशत मानिस यो सुन्दर धर्तीलाई गुन गलाउने खालका नआएका पनि हैनन्। उदाहरणका लागिः अरनिको बलबाहु, वीर बलभद्र, पृथ्वीनारायण शाह, अब्राहम लिड्ढन, राइटब्रदर्श, पैटि्रक हृवाइट, कन्फुसियस, माओत्से तुङ, ल्युसुन, अर्ल्बर्ट आइन्सटाइन, कार्लमार्क्स, महात्मा गान्धी, च्याङकाइसेक, म्याक्सीम गोर्की, युरि गागरिन, नेल्सन मण्डेला, अमरसिंह थापा, गौतम बुद्ध, पासाङल्यामु शेर्पा, लक्ष्मीप्रसाद देवकोटा आदि नाम गरेका हजारौ व्यक्ति जन्मेर पृथ्वी आमालाई सकेसम्मको माया पस्केर गइसके।
वि.सं. १९८३ असार ८ गते बाबु बैदु पाध्या र आमा लालशिरा सुवेदीको कोखबाट ठूलीपोखरी-४ बुमी कोल्पाटामा जन्मनुभएका रामचन्द्र सुवेदी करिब ८८ वर्षको उमेरसम्म अस्ताउनुभयो। उहाँ बालकदेखि नै तिक्ष्ण बुद्धिको चतुर, साहसीखालको र अति परिश्रमी हुनुहुन्थ्यो। पुरानो, साधारण लेखपढ गर्न जान्ने, रुद्री, चण्डी, वेद पढ्न नरोकिने, साधारण ज्योतिषीसमेतको ज्ञान थियो। कुनै पनि सामाजिक काम कार्यका लागि दूरदर्शी, क्षमतावान, लगनशील, वचनमा पक्का र इमान्दार भएर अगाडि बढ्ने बानी थियो। मिष्ठभाषी र दार्शनिक सोच भएका अग्लो कदका व्यक्तित्वले कसैको पनि मन नदुखाउने सोच थियो। घर व्यवहारका कामकार्यदेखि भद्र भलाद्मीको क्षेत्रमा निर्ण लिनदिन पर्दा न्यायका पक्षपाती भएर जसको तस, दूधको दूध पानीको पानी गर्नुपर्छ भन्ने धारणा थियो। २००७ सालसम्म जहानियाँ राणाशासनको दमनकारी अवस्थामा पनि समाजमा रहेका कुरीति अन्धविश्वास, सामन्ती संस्कारका साथै शोषण र दनमको विरोध गर्दथे भन्ने प्रशंसा सुन्न पाइन्छ। जनताको सेवा गर्न पाएपछि न भोक, निन्द्रा थियो।
२०२१ भाद्र ४ गते मिडिल स्कुल र तत्कालै अभियान चलाएर त्यसको एक महिनापछि नै आश्विन ४ गते माविको स्वीकृति ल्याई जनता सुदर्शन मावि नाम राखेका ठूलीपोखरी पर्वतमा शिक्षाको ज्योतिमा घिउ थप्ने शुभ कार्य उहाँबाट नै भयो। त्यो क्षेत्रमै पहिलो मावि ठूलीपोखरीमा स्थापना भएकोले पिपलटारी, कटुवा चौपारी, खौला लाकुरी, आर्थर, पकुवा, राम्जासमेतका गाउँबाट विद्यार्थी आउन थाले। विद्यालय स्थापनाका सुरुका दिनहरूको अवस्था असाध्य कष्टपूर्ण सङ्र्घर्षबाट अगाडि बढ्न परेको तीतो सत्यका कुरा धेरै छन्। विद्यालयका नामका घर भवन केही छँदै थिएन। काम चलाउनको लागि गाउँबाट बाँस माग्दै ल्याएर अग्ला टहरा बनाएर भाद्रका मकैका डाँठले बार्दै कोठा कोठा बनाउने र सेउला तथा कलिलो उर्लुखर ल्याई छाएर पढाइ सुरु भयो। सर्वप्रथम ल्याइएका शिक्षकहरूमा रामचइन पाण्डे र मनोहरी लाल गुप्ता थिए। ठूलीपोखरीमा आउनुभन्दा अगाडि उनीहरूले कार्कीनेटामा पढाउँदै थिए। जनता सुदर्शन माविका प्रथम प्रधानाध्यापक रामचइन पाण्डे नै हुन्। उनीहरूको योग्यता क्षमता कति थियो कसैलाई थाहा थिएन। उनीहरू दुवै भारतीय शिक्षक थिए। नियमानुसारको पढाइ नगरे पछि उनीहरू दुवैले छोडेर गएका थिए।
विद्यालय सञ्चालनका लागि कुनै आयस्रोत थिएन। संस्थापक अध्यक्ष रामचन्द्र सुवेदी र त्यसपछि प्रधानाध्यापकमै आउनुभएका पिताम्बर शर्मा नेपालीसमेत जनताको सल्लाहअनुसार एउटा दूरदर्शी सोचको कल्पना गरेर ठूलीपोखरीवासी सम्पूर्ण जनतालाई चन्दा बोल्ने अभियान चलाएर अगाडि बढ्दा जम्मा ९४ हजार मात्रका तम्सुक बनाइयो। यो बोलेको रकम तुरुन्तै दिन नपर्ने तर सयकडा एक रुपैयाँका दरले त्यो आ-आफूले बोलेको रकमको ब्याज प्रत्येक महिना घरघरको विद्यार्थीहरूले नै विद्यालयमा लगेर बुझाउन पर्दथ्यो। उदाहरणको लागि रु. ५० देखि जनताको अवस्था र गच्छे हेरी एक सय, दुर्इ सय, तीन सय गर्दै धनी पूँजीपतिहरूले हजार दुर्इ हजारसम्म पनि चन्दा बोलेका थिए। कतिले चन्दको विरोध गरेर मात्र हैन स्कुल खोलेकै विरोध गरेर एकार बाह्र जना भवन भत्काउन समेत आएका थिए। पिताम्बर शर्मा नेपाली प्रधानाध्यापक भएर आएपछि जनता र विद्यार्थीमा एउटा उत्साह जागेको थियो।
क्रमशः अगाडि बढ्ने क्रममा शिक्षकहरूलाई गाँसबासको समस्याले असाध्य पिरोलेको थियो। जनता धनि थिएनन्। ठूलीपोखरीका सम्पूर्ण जनता मनका साहसी र धैर्यताका धनि थिए। कतिपय शिक्षकहरू टाढाटाढाबाट आउने जाने गरेका थिए। त्यो समस्यालाई समाधान गर्न र खाद्यान्न जुटाउनका लागि रामचन्द्र सुवेदीले सम्पूर्ण जनतालाई आह्वान गरेपछि हलो, जुवा, गोरु, खेताला, बाउसे भएर एक सय आठ हल गोरु नारेर विद्यालयको उत्तरतर्फका जमिन बिराएर श्रावण महिनामा रहे बचेको गाउँभरिको बिउ ल्याएर खेत रोपिएको थियो। समय ढल्केकोले धेरै फलेन तर केही धान फलेर शिक्षकहरूलाई जाउलो चलेको थियो। तरकारी गहूँ र धान रोप्ने भनेर वर्षामा ठूलीपोखरीको पानी खोलियो र केही उत्पादन गरेर काम चलाइयो त्यतिबेलाका विद्यार्थी अति मेहनती, आज्ञाकारी, साहसी र अनुशासित थिए। शिक्षक र सञ्चालक समितिले होस्टे भन्नसाथ हैसे भनेर अगाडि बढ्दथे। रोहोटे र बर्जलाका पाखाका ढुङ्गा साथै नेपाने वनका र विभिन्न गाउँगाउँमा काटेका काठ जनता र विद्यार्थी मिलेर ओसार्थे। यसरी विभिन्न सामग्री जोडेर दक्षिण फर्केका बोके ७/८ कोठे पक्की भवन बनाएर छाएपछि र अगाडिपट्टि खेल मैदान बनाएपछि विद्यालयको वास्तविक स्वरूप खडा भयो। भवन बनाउन सम्डेनी गाउँका साहसी र सिपालु विक दाजुभाइहरू अहोरात्र खटेका थिए। त्यसबापत ज्याला दिने स्रोत नभएकाले केही सार्वजनिक जमिन उनीहरूका नाममा गराइदिने व्यवस्था मिलाइएको थियो। २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि धेरैजसो आर्थिक समस्या टरेको थियो।
यसरी क्रमशः रामचन्द्र सुवेदीसमेत जनता अगाडि बढ्दै जाँदा विद्यालय सञ्चालक समितिको अध्यक्ष पदमा रहेर वा नरहेर पनि पटक-पटक ठूलीपोखरीको प्रधानपञ्च रहेर वा नरहेर पनि अविरल रूपमा शिक्षा विकासका लागि खटिरहनुभएको थियो। त्यसको प्रतिफल २०४८ सालमा जनता सुदर्शन बहुमुखी क्याम्पसको स्थापना भयो र उहाँ संस्थापक अध्यक्ष भएर अझ बढी प्रकाशयम शिक्षाको ज्योति बाल्न रातदिन खटिरहनुभयो। मलाई अहिले पनि स्मरण ताजा बनेर आइरहन्छ। म कक्षा ७ मा पढ्दाका बखत छुट्टि भएर घरमा जाने क्रममा माटेपानीको चौरमा एक्लै बान्नो लगाइरहनुभएको देखेर भने’-’बुबा स्कुललाई यत्रो धेरै जग्गा भएपछि पुग्दैन र -’ फेरि यो सबै चौर किन बान्नो लगाउन थाल्नुभयो – भन्दा तिमी अहिले सानै छौ तर पछि बल्ल बुझ्ने छौ। भोलि यो ठाउँमा विज्ञान कलेज बनाउने हो त्यसलाई बढी जग्गा चाहिन्छ। बेलैमा स्कुलका नाममा नबनाउने हो भने मिचेर सक्नेछन् बाबु, त्यसैले यो बान्नो लगाउन थालेको हुँ भन्नुभएको थियो। कति दूरदर्शी पाएको सोच आज पनि त्यो आवाज मेरो हृदयमा गुञ्जिरहेको छ। हो उहाँले भनेको विज्ञान कलेज नभए पनि बहुमुखी कलेज व्यवस्थापन बनेर चलिरहेको छ। यस जनता सुदर्शन बहुमुखी कलेजका प्रथम क्याम्पस प्रमुख तारादत्त भट्ट हुन् र त्यसपछि महेन्द्र आले, गोपालजी भिक्षु हुँदै हालसम्म विनोद सुवेदीले हाँक्दै आएका छन्। शिक्षक पदमा रहेका सबै इमान्दार शिक्षकशिक्षिकाको परिश्रमले दुवै संस्था अविरल रूपमा चलिरहेका छन्।
ठूलीपोखरी निवासी जनता हिजो सुरुका अप्ठयारा अवस्थादेखि आजसम्म अविश्राम खटेर लागेका छन्। तिनै सम्पूर्ण जनताको सहयोग, सद्भाव र माया ममताका सागरमा सबैलाई साथ लिएर डु·ा खियाउने काम रामचन्द्र सुवेदीले गरेका हुन्। शिक्षाको ज्योति बाल्ने यस अभियानमा अग्रणी रूपमा सहयोग गर्ने व्यक्तिहरू पनि कम छैनन्। सबैका नाम लिन यहाँ सम्भव छैन। तैपनि केही नाममध्ये होमनाथ सुवेदी, नेत्रनारायण सुवेदी, यज्ञप्रसाद सुवेदी, करुणाराज शर्मा, खरिलाल सापकोटा, होमप्रसाद सुवेदी, गंगाप्रसाद शर्मा र टीकाराम शर्मा खौलालाकुरी, साधुराम सापकोटा, नीलकण्ठ सुवेदी, रनबहादुर विश्वकर्मा, मोहदत्त सुवेदी, रविलाल सुवेदी, मोहदत्त लामिछाने, हरिप्रसाद लामिछाने हरिप्रसाद लामिछाने ख, चोलेश्वर आचार्य, कुलप्रसाद सुवेदी, ताराप्रसाद पौडेल चोकेबा, दण्डपाणि पौडेल, धनन्जय शर्मा, देवीप्रसाद शर्मा, तुल्सीनाथ पौडेल, मनिकण्ठ पौडेल, भविलाल पौडेल, भवानीशंकर पानीस्वाँरे, कुलप्रसाद पौडेल, गोविन्द पौडेल, भवानीप्रसाद सदाखर, तुलाराम सुवेदी, शिवप्रसाद सुवेदी, पवित्रादेवी सापकोटा, दण्डपाणि सुवेदी, डिल्लीराम सुवेदी, गोपाल सुवेदी आदि आदि व्यक्तिले उदार भएर मनग्गे सहयोग गरेकै कारण ठूलीपोखरीमा शिक्षाको विकास भइ यहाँ अध्ययन गरेका हजारौ विद्यार्थी आज मुलुककै धेरै जिल्लामा पुगेर राष्ट्रसेवा गर्ने अवसर प्राप्त गरेका छन्। छिमेकी गाविसका जनता धेरैले सहयोग गरेका कुरालाई आज बिर्सन मिल्दैन। यसको अर्थ इतिहास पनि मर्न दिन हुँदैन।
प्रथम प्रधानाध्यापकको रूपमा रामचइन पाण्डेपछि क्रमशः पीताम्बर शर्मा नेपाली, केदार खनाल, खेमनाथ पौडेल, नविन कुमार श्रेष्ठ, टेकबहादुर र्घर्ती, मुरलीघर शर्मा पौडेल, युगनाथ पौडेल, गोपाल पन्त, छविलाल सापकोटा, डिल्लीराम खनाल सुवेदी र खेमराज लम्सालले हालको वर्तमान अवस्थालाई डोर्याएका छन्। हिजोको मावि आजको शिक्षा नियमानुसार उच्च माविमा परिणत भएको छ। उहाँकै अभियानमा लाम्पाटा, अजेकोट, देविस्थान पुवा र रोहोटेमा निःशुल्क प्राथमिक विद्यालयहरू २०२१/२२ सालदेखि नै अविरल चलिरहेका छन्। यो विद्याको प्रकाशमयी अभियानलाई शिक्षाको ज्योति बाल्ने अग्रदुत शिक्षाप्रेमी रामचन्द्र सुवेदीको माघ ५ गते आइतबारका दिन दुर्इ छोरा हरिश्चन्द्र सुवेदी र बालचन्द्र सुवेदीका साथै जीवनस·ीनी भीमकुमारी सुवेदी समेत थुपै्र नातीनातिना एवं ठूलीपोखरी र छिमेकी गाविसका जनताका काखमा आफ्नै जन्म निवास बुमी कोल्पाटा-४ ठूलीपोखरीकै माटोमा दिवंगत भएर अस्ताउनुभयो।
यो सबै कुराको मूल्याड्ढन भोलि इतिहासले गर्ने नै छ। पोखरामा स्थापित जोर्जजोन शिक्षा प्रतिष्ठानले २०६७ सालमा सम्मान तथा अभिनन्दन गरिसकेको छ। २०७० साल पुस १५ गतेका दिन जनता सुदर्शन उच्च मावि र जनता सुदर्शन बहुमुखी क्याम्पसले पनि सम्मानसमेत अभिनन्दन समयमै गर्न सक्षम भएको थियो। यस्ता सबैका प्यारा जनताका हृदयमा छाप्रो बनाइसकेका व्यक्तिको अवसानले शिक्षा क्षेत्रमै अपूरणीय क्षति भएको छ। उहाँको देहावसानको यस घडीमा सारा जनताको आँखाबाट सहश्र अश्रुधारा वर्षाउँदै करि पाँच सय जना जनताले कालीगण्डकी तटमा मोदीवेनीको वक्षमा दाहसंस्कार गरेपछि माटोमा विलय हुनुभयो।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१