शहीद : राष्ट्रिय विभूति

shiva prasad gautam शिवप्रसाद गौतम
माघ १६, २०७५

शहीदहरू देशका अमूल्य निधि हुन्। अमूल्य भनेको मोल गर्न नसकिने अनमोल भनिन्छ। बहुमूल्य, किम्ती, उत्तम, श्रेष्ठ भनिन्छ। त्यस्तै निधि भनेको कुनै वस्तु धेरै भएको ठाउँ, कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ, खानी। गुप्त रूपमा रहेको धन, गडेका छन्, गाडधन , कुबेरको नौ भण्डार वा खानी जस्तै पद्म, महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्दनील र खर्ब समुद्र आदि निधि हुन्। शहीदहरू पनि राज्यका यस्तै निधि हुन्।

प्राणीको जन्मने र मर्ने निरन्तर प्रक्रिया हो। देश काल परिस्थिति अनुसार मानिस जन्मन्छ अनि मर्छ। सबैको जन्म र मरण सार्थक हुँदैन। केही महापुरुषको जन्म मात्र सार्थक हुन्छ। यस्तो सार्थक जीवन कस्को हो त ? भनेर प्रश्न गर्दाको उत्तर शहीद र राष्ट्रिय विभूति भन्ने आउँछ। शहीद भनेका को हुन् ? राष्ट्रिय विभूति को हुन् ? कसलाई भनिन्छ ? यिनीहरूको परिभाषा दिन गाह्रो छ। शब्दको परिभाषा त सबैले दिन्छन् शब्दकोशमा लेखिएका छन् तर व्यावहारिक परिभाषा पाउन कठिन छ।

नेपालको राजनीतिक इतिहासलाई नियालेर अध्ययन गर्दा शहीद शब्दको प्रादुर्भाव राणा शासनले गराएको पाइन्छ। राणा शासकहरूले १०४ वर्षसम्म नेपाली जनतालाई गाई, गोरु, भैसी, भेडा बाख्रा, घोडा, खच्चर सम्झेर दमनकारी शासन चलाए। जसले गर्दा जनताले उनीहरूको दमनकारी शासन विरुद्ध आन्दोलन गर्न‘ परेको थियो। तर पनि उनीहरू विरुद्ध बोल्ने हिम्मत र साहस गर्न‘ ज्यानका बाजी लगाउनु थियो। उनीहरूले निरङकुश शासन चलाएका थिए। यस्तो स्थितिमा आफ्नो ज्यानको परवाह नराखी पहिलो पटक नेपाल आमाका सपुत लखन थापाले हिम्मत गरे। राणाले उनको अन्त्य गरि दिए। त्यस्तै नेपाल आमाका सपुत गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई पनि आफ्नो निरङ्कुश शासन विरुद्ध धावा बोलेका हुनाले उहाँहरूलाई फाँसीमा लड्काए। उहाँहरूलाई फाँसीमा लड्काएर भौतिक शरीरको अन्त्य गराए पनि उहाँहरूको राष्ट्रहितको रक्तवीजको अन्त्य गर्न सकेनन्। जसको परिणाम निरङ्कुश शासन ढल्यो देशमा प्रजातन्त्र आयो।

प्राचीन कालदेखि वर्तमानसम्म आइपुग्दा नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा राष्ट्रिय विभूति धेरै भए। उहाँहरूको नाम लिनु पर्दा परिभाषा दिनु पर्दा राष्ट्रको गौरव बढाउन आआफ्नो क्षेत्रबाट विशिष्ट योगदान दिने महापुरुष नेपालका राष्ट्रिय विभूति जनक, सीता, अर्निको, अंशुवर्मा, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, बलभद्र कुँवर, आदिकवि भानुभक्त, युगकवि मोतीराम भट्ट, श्री ५ त्रिभुवनको नाम अग्र पङ्क्तिमा रहेका छन्। उहाँहरूको राज्यप्रति अमूल्य योगदान रहेको छ। दुःखका साथ भन्नु परिरहेको छ वर्तमान शासकहरूले राष्ट्रिय विभूति र शहीदहरूको योगदानको कदर नगरेको अवस्थ छ। देशमा राजनीतिक परिवर्तन धेरै भए। यी परिवर्तन यिनै विभूति र शहीदले ल्याएका हुन् तर उनीहरूले सम्मान पाएका छैनन्। माओवादी जनयुद्धको पालामा नेपाल आमाका धेरै सपुतहरूको सरकार र माओवादीको तर्फबाट शहादत गराइयो। एक्किन तथ्याङ्क छैन हचुवाको भरमा सत्र हजार नेपाल आमाका सपुतहरू शहीद भएका छन् भन्ने मिथ्या तथ्याङ्क प्रस्तुत गरिएको छ। वेपत्ता पारिएका शहीदहरूको खोज खबर राज्यको शासकहरूले गरेका छैनन्। हुँदा हुँदा शहीद शब्दको यति अवमूल्यन गरेका छन् कि देश र जनताकेा हितमा नभई अन्य कारणले स्वर्गे भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्न सरकार पछि परेको छैन। सरकारले शहीदले देखाएको राजनीतिक मार्ग अवलम्बन गरेको छैन। बरु शहीद शब्दको अवमूल्यन गरेको छ।

राज्य प्रति आस्था, राष्ट्रप्रति बफादारी वास्तविक राष्ट्रियता हो। शहीद र राष्ट्रिय विभूति राज्यका राष्ट्रिय गहना हुन्। तर अहिले उहाँहरूको सम्मान नभएको अवस्था छ। वर्तमान सरकारले विभूतिको कुनै मर्यादा नै राखेको छैन भने शहीदहरू प्रति कुनै चासो खाँचो राखेको पाइँदैन। चासो राख्नु भनेको उहाँहरूले देश र देशवासीको हितमा जसरी काम गरेर शाहदत हुनु भयो तदनुरूप काम गर्ने शासकहरूमा भावना छैन। आफू र आफ्नो दलको स्वार्थ सिद्धि तर्फ मात्र लागेको अवस्था छ। जनता भुम्रोमा हालेको भोटी माछो तड्पे झैँ तड्पिरहेका छन्। यस्तै हो भने जनताको धैर्यको बाँध फुटेर जसरी राणा शासन, पञ्चायती शासन ढल्यो त्यसै गरी वर्तमान दुई तिहाइ बहुमतको सरकार छ कसले के गर्न सक्छ र भनी अधिनायकवादी शासन चलाउने शासन ढल्न सक्दैन भन्न सकिन्नँ।

आखिर सार्वभौम सत्ता सम्पन्न जनताको चाहना न हो। २४० वर्षको शाहवंशीय शासन ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने नेपाली जनता नै हुन्। यसमा कुनै राजनीतिक दल र तथाकथित नेताले यो राजनीतिक परिवर्तन हामीले ल्याएका हौँ भनी गर्व गर्ने ठाउँ छैन। राष्ट्रिय विभूति, शहीदले मार्ग दर्शन गरेको मार्ग अवलम्बन नगर्नेहरूले यस विषयमा जस लिन खोज्नु निर्लज्ज पारा हो। देश र जनताको हितमा काम गर्न‘ पर्यो नि राष्ट्रिय विभूति र शहीदको सम्मान गर्न त। राणाहरूले शहीद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीलाई हाम्रो विरुद्धमा नलाग हाम्रो पक्षमा आऊ हामी तिमीहरूलाई सात पुस्तालाई कुनै काम नगरी बसि बसी खान पुग्ने सम्पत्ति दिन्छौँ भनेका थिए तर उहाँहरूले यो प्रलोभनलाई लत्याएर दुःख पाइरहेको देश र जनताको हित भन्दा व्यक्तिगत स्वार्थ ठूलो होइन भनी फाँसीमा लड्किनु भयो। उहाँहरूको यो योगदानले देश एकतन्त्री शासनबाट स्वतन्त्र भएको थियो। अहिलेका शासक देश र जनताको हितमा नलागेर जताले तिरेको कर उपभोग गरेर शानसौकतको जीवन बिताइरहेका छन्। जबसम्म राष्ट्रिय विभूति र शहीदहरूको सम्मान गर्न र उहाँहरूले अपनाएको राजनीतिक सिद्धान्त शासन चलाउनेले अवलम्बन गर्दैनन् तबसम्म शून्य सहनशीलता र समृद्धिका कुरा पूर्ण हुन सक्तैनन्। जनतालाई काम चाहिएको छ। भाषण र उखान टुक्काले देशको विकास हुँदैन। एक्काइसौँ शताब्दीमा आएर राष्ट्रिय विभूति र शहीदको अपमान गरेर जनतालाई बालकलाई थाङ्नामा सुताएर ललिपप दिएर फकाएर शासन चलाउने दिन गए। यस्तो गर्नेलाई सर्वप्रथम विभूति र शहीदको श्राप लाग्छ। जनताले फेरि आन्दोलन गरेर शासनको आसनमा किर्ना टाँसिए झैँ टाँसिएर बस्ने भ्रष्टाचारी नेता कार्यकर्तालाई आन्दोलन रूपी विष प्रयोग गरेर भन्दा कम्युस्टि व्यवहारमा सामन्ती मात्र हैन महासामन्ती शासकहरूलाई फाल्न सक्छन्।

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका लागि तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिएर लोक हितमा लाग्ने अमर व्यक्ति शहीद हुन्। शहीद हरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरेर सम्मन र कृतज्ञता प्रकट गर्ने विशेष दिन हो। शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिने सप्ताहव्यापी कार्यक्रम प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने सप्ताह शहीद सप्ताह हो। शहीदहरूको सम्झनामा स्थापित र निर्मित चिन्हहरू सालिक, कुञ्ज, दार आदि जस्तै शहीद मैदान, शहीद द्वार, आदि शहीद  स्मारक हुन्। ऐतिहासिक धरोहरका रूपमा स्थापित राष्ट्रिय विभूति र शहीदहरूको सालिक तोडफोड गर्नु राष्ट्रहित विपरीतका काम कारवाही हुन्। यस्ता काम कुनै व्यक्ति र राजनीतिक पार्टिले गर्न‘हुँदैन। पोखराको पृथ्वीचोकस्थित पृथ्वीनारायण शाहको सालिक जुन व्यक्ति वा राजनीतिक पार्टीले हो तोडफोड गरेको होस् या निन्दनीय कार्य गरेको ठहर्छ। इतिहास मेटेको ठहर्छ।

देशको विकास गरी जनतालाई सुख शान्ति दिलाउनु देशवासी राजनीतिक दल र जनताकेा कर्तव्य हो। राष्ट्रिय विभूति र शहीदले यही सन्देश दिनुभएको छ। कर्तव्य नगरी अधिकार मात्र खोज्नु मुर्खता हो। सरकारले एक दिन शहीद दिवस भनेर सरकारी कार्यालय बिदा गरेर कोठामा बसेर मनाएर शहीदका सपना साकार हुँदैनन्। शहीदले आफ्नो स्वार्थ सिद्धिको अभिलाषा राखेनन्। उनीहरूले देश र जनताको हितमा आफ्नो जीवन वलिदान गरे। जनताकै हितमा फाँसीमा लड्के र शहादत भए। राष्ट्रिय विभूति र शहीदहरूले मुलुक र मुलुक वासीको हक हितमा जे जति काम गरे त्यस विषयमा पूर्ण वर्णन गर्न सकिँदैन। उदाहरणले देश विकास गर्न र जनताको चाहना पूरा गर्न जुन मार्ग प्रशस्त गर्न‘ भएको छ तदनुरूप हामीले काम गरौँ यसैमा हामी सबै नेपालीले शहीद दिवस मनाएको सार्थक हुने छ। भवतु सब्ब मङ्गलम्।

Related News

सम्बन्धित समाचार

    • नेपाली संस्कृति, वाङ्मय र रवीन्द्र

      पद्मराज ढकाल पद्मराज ढकाल वैशाख २०, २०७८
      संस्कृति भन्नाले हाम्रो रहन, सहन, बानी, व्यवहार, लवाइ, खवाइ, हिँडाइ, बोलाइ, धर्म, संस्कार विभिन्न चाड पर्वहरु मनाउने प्रचलन र समग्रमा…
    • बिक्री र खुबीका कुरा

      शेषराज भट्टराई शेषराज भट्टराई वैशाख १८, २०७८
      हातको मैला सुनको थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित…
    • ऐना

      इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल वैशाख ११, २०७८
      उठेर बसेको सानो निधार । बांगिएको नाकको डाँडी । कालो र खस्रो छाला । साना चिमरिएका आँखा । घर छाडेर…
    • ‘अक्षरहरुको मूच्छर्ना’ भित्र लक्ष्मण थापा

      मदन भण्डारी मदन भण्डारी वैशाख ११, २०७८
      जनसंख्याको वृद्धिसँगै कविहरूको संख्या बढेको छ । यतिखेर बाँसको झ्याङझैं कविहरू झ्याँगिएका छन् । बाँसको ठूलो झ्याङमा उपयोगी बाँस छान्न…
    • नेता जनताका बनुन्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी वैशाख १०, २०७८
      जनताबाट निर्वाचित भएका जनप्रतिनिधि जनताकै सेवक हुन् । जनता राष्ट्रका पहरेदार सेवक हुन् । सेवकमाथि शासन गर्ने अधिकार कसैलाई छैन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग