शहीद कृष्णलाल

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७१

नेपालको इतिहासमा धेरै पर्वहरु भए। जस्तै कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, लाइब्रेरी पर्व आदि आदि। ती मध्ये एउटा हो मकै पर्व। मकै पर्वका नायक हुन्-कृष्णलाल अधिकारी। कृष्णलाल अधिकारीको जन्म रामेछाप जिल्लाको कठजोर गाउँमा पिता लक्ष्मण अधिकारी र माता इन्द्रकुमारी अधिकारीका माहिला छोराको रुपमा वि.सं. १९४४ साल माघ शुक्ल भीमा एकादशीको दिनमा भएको हो। तेह्र वर्षकै उमेरमा धर्मकुमारीसँग उनको विवाह भयो। प्रारम्भिक शिक्षा घरमै सके। कृष्णलालका जेठा बा रौतहट जिल्लामा कार्यरत थिए। लक्ष्मण अधिकारीले एउटा चिठी लेखेर एक जना साथी लगाएर छोरा कृष्णलाललाई रौतहट पठाइदिए। त्यति वेला रामेछापको कठजोरबाट रौतहट पुग्नु पनि ठूलै बहादुरी सम्झिन्थ्यो। कुनै मोटर बाटाहरु बनेका थिएनन्। रौतहट पुगेर आफ्ना पिताको चिठी जेठोबालाई पढाउने र सानो तिनो काम लगाउने गर्न थाले।

कृष्णप्रसाद अधिकारी १६ वर्ष पुगेपछि रौतहटको द्वारा अड्डामा -हालको भन्सार कार्यालयमा) जागिर पाए। त्यति नै बेला श्री  ३ को सवारी रौतहट जिल्लामा भयो। सवारी क्याम्पमा रौतहटको जनताकोतर्फबाट धेरै उजुरीहरु परे । ती दरखास्तहरु अध्ययन गरी श्री ३ मा सारांश बुझाउन सक्ने एक जना कर्मचारीको आवश्यकता पर्‍यो। कृष्णलालका जेठाबाले आफ्नो भतिजो कृष्णलाललाई योग्य उमेदवार ठानी श्री ३ का अगि सारे। श्री ३ ले दुर्इ चार दिन काम लगाएर हेर्ने विचार गरे। कृष्णलालको काम त्यहाँ परेका उजुरीहरु अध्ययन गरी सारांश जाहेर गर्नु थियो। कृष्णलालले उक्त काममा सफलता प्राप्त गरे। श्री ३ चन्द्रशमशेरलाई कृष्णलालको काम मन पर्‍यो । रौतहटबाट काठमाण्डौ नक्सालको काठ गोदाममा नौसिन्दाको जागिर पाए। दुर्इ वर्ष काम गरेपछि वि.सं. १९६६ मा डिठ्ठा भए। १९६८ मा छोरी डोलकुमारीको जन्म भयो। १९७१ मा छोरा विश्वमणिको जन्म भयो भने वि.सं. १९७३ मा कान्छा छोरा पुष्पमणिको जन्म भयो।

रौतहटबाट काठमाण्डौ पुग्नासाथ भाषा पाठशालामा गएर पढ्न थाले। भाषा पाठशालाको सबै कोर्श पुरा गर्नेलाई सुब्बा पद दिइन्थ्यो। कृष्णलाल अधिकारी पनि चार पास गरेर सुब्बा  भएका हुन्।

मानिसले जति प्रगति गर्दै जान्छ उति शत्रुहरु पनि प्रकट हुँदै जान्छन्। कृष्णलालका पनि केही शत्रुहरु निस्के। वि.सं. १९७५ मा कृष्णलालको डेरा अगाडि खेलिरहेका छोराहरुलाई कसैले चोरेर लग्यो। सुब्बेनीले अफिसमा खबर पठाइन्। सुब्बा बाजे आए। दुबैले खूब खोजे, तर भेटाउन सकेनन्। छिमेकीको सहायताले छोराहरु फेला परे, तर कानका सुनका मुन्द्रीहरु सबै निकालेर एउटा माटो खन्ने खाल्टोमा छाडेर पो भागेछ। चोर पत्ता लागेन। लगालग प्रमोशन हुँदै गएको देखेर उनका शत्रुहरु बढेका थिए। तीनै शत्रुहरुमध्ये एक जनाले घुस काण्डमा फसाउन खोजेछ। सुब्बा बाजे नभएको बेलामा सुब्बेनी बज्यैलाई लगेर पैसा दिएछ। त्यो काण्डमा सुब्बा बाजेलाई पक्डेर लगे, तर अनुसन्धान गर्दै जाँदा सुब्बा बाजे निदोर्ष छन् भन्ने ठहर भएपछि उनी छुटे।

दिनभर अफिसमा काम गर्‍यो। अफिस समयपछि बेलुका कता जाने – यसो बुझेको अरु साथीहरु सोमनाथ गुरु कहाँ जाने गरेका रहेछन्। कृष्णलाल पनि सोमनाथ गुरुको घरमा जान थाले। सोमनाथ गुरुको घरमा भारतका केही पत्रपत्रिकाहरु आउने गरेका रहेछन्। ती पत्रिकाहरु पढ्न पनि पाइने, जम्मा भएका मानिसहरुसँग गफगाफ गर्न पनि पाइने। यस्तैमा एक दिन सोमनाथ गुरुको घरमा ‘मक्काको खेती’ भन्ने हिन्दीको एउटा पुस्तक आएको रहेछ। भगत विहारका बाबु रामप्रसादले उक्त पुस्तक लेखेका रहेछन्। त्यो पुस्तक कृष्णलालले ओल्टाइ पल्टाइ गरेर हेरे। त्यो देखेर सोमनाथ गुरुले भने -“सुब्बा बाजे पढ्न मन छ भने लगेर पढ्नु।” कृष्णलालले त्यो पुस्तक आफ्नो साथमा लगेर पढे। तीन-चार दिनपछि त्यो पुस्तक फर्काइदिए। पुस्तक फर्काउने बेलामा सोमनाथ गुरुले भने- “सुब्बा बाजे, तपाईंले पनि यस्तै एउटा किताब लेख्नुस्”।

कृष्णलालको मनमा लाग्यो- “नेपालको पहाडमा जतासुकै मकैको खेती हुन्छ। यस्तै एउटा किताब लेखेर छपाउन पाए किसानहरुलाई धेरै सहयोग हुन्छ”।

त्यो दिनदेखि कृष्णलालले एउटा डायरी लिएर मकै खेतीबारे लेख्न थाले। जो सँग भेट हुन्छ मकै खेतीको कुरा गर्छन्, जसलाई भेट्यो उसको नाम पनि लेख्थे।

हाम्रो नेपालमा कति किसिमका मकै हुन्छन् – पहेँलो, सेता, राता, कता-कति काला पनि। एउटा बोटमा कति घोँगा लाग्छन् – दुर्इटा, तिन्टा र कतै चार वटा पनि। मकैको एउटा घोँगामा कति हार हुन्छन्। एक हारमा कति दाना हुन्छन्। के कस्ता रोग तथा कीराहरु लाग्छन् – राता टाउके कीरा, सेता टाउके कीरा आदि। मकै पाक्ने बेलामा स्यालले र बाँदरले धेरै दुःख दिन्छन्। त्यसका लागि कुकुर पाल्नु पर्छ। सानो बेलामा ती कुकुर पालेर हुँदैन। नेपाली भोटे डाँगे कुकुर पाल्नु पर्छ, आदि आदि। पुस्तक एकदम वैज्ञानिक तरिकाको थियो। पुस्तक तयार गरेर पहिले सोमनाथ गुरुलाई देखाए। गुरुले पुस्तक पढेर धेरै प्रशंसा गरे।  नेपाली भाषा प्रकाशिनी समितिका तत्कालीन अध्यक्ष बालकृष्ण शमशेर जवरालाई देखाउन भने। सुब्बा बाजेले लगेर अध्यक्षलाई देखाए। बालकृष्ण शमशेरले पढेर एकदम प्रभावित भए। नेपालीमा त्यस्तो पुस्तक त्यति बेलासम्म कसैले लेखेको थिएन। तुरुन्त प्रेसमा लगेर दिनु र मैले भनेको छु भन्नु भने। कृष्णलालले प्रेसमा लगेर दिए। प्रेसको मानिसले भोलिबाटै यो काम हुन्छ भन्यो। कृष्णलाल फर्केर आएर आफ्नो काममा लागे। यो कुरा वि.सं. १९७७ माघ-फागुनतिरको हो।

दुर्भाग्यवस वि.सं. १९७८ वैशाखमा कृष्णलालकी श्रीमतीको मृत्यु भयो। इष्टमित्रहरुको सहयोगमा पशुपति आर्यघाटमा सत्गद गरेर काठमाण्डौमै काजक्रिया सके। एक महिनाको छुट्टि लिएर छोरा छोरीलाई डोकोमा बोकाएर काठमाण्डौबाट आफ्नो घरमै छाडेर उनी काठमाण्डौ फर्के। डेरामा पुग्नासाथ सिपाहीहरुले कृष्णलाललाई समातेर लगे सुब्बा बाजे अलमलमा परे।

त्यही १९७८ वैशाखमा धेरै कर्मचारीहरुको सरुवा भएको रहेछ। ती मध्ये रामेछापका दुइजना कर्मचारीहरु भोजहरि काफ्ले र रामहरि अधिकारीको तराइतिर सरुवा भएको रहेछ। त्यतिबेला काठमाण्डौका कर्मचारीहरुलाई तराईतिर सरुवा गर्नु भनेको मर्न पठाउनु जस्तो सम्झिन्थे। तराई गएपछि औलोले मरिन्छ भन्ने विश्वास थियो। भोजहरि र मनहरिले आपसमा सल्लाह गरे-हामीलाई कसले कुरा लगाइदियो र तराईमा सरुवा भयो – यो पक्कै कृष्णलालको काम हो भन्ने शंका गरे। खोजीनीति गर्दै गए। माइला गुरु हेमराज पनि कृष्णलालदेखि केही कारणले रिसाएका रहेछन्। उनलाई गएर भेटे। ‘मकै खेती, के-के किताब लेखेको छ अरे त्यो खोजेर ल्याओ’ भने। पुस्तक लेखेको थाहा पाएर प्रेसमा गएर चौकीदारलाई दुर्इ चार पैसा दिएर एउटा पुस्तक फुत्काए। माइला गुरु हेमराजले उक्त पुस्तक पढेर उजुर गर्न मिल्ने बूँदाहरु फेला पारे। उजुर आफूले लेखिदिए र उजुरवाला तीनै दुर्इ जना रामेछाप बासीलाई बनाए। उजुर पर्‍यो। त्यही उजुरको भरमा सुब्बा कृष्णलाललाई डेराबाट पक्रेका हुन्।

पक्राउ खाएको केही दिनपछि एकदिन ठूलो इजलास बस्यो। न्यायाधीशमा उनै श्री ३ चन्द्र शमशेर थिए। एकातिर तीनै उजुरवालाहरु थिए। अकोर्तर्फ उजुर लेखिदिने माइला गुरु र अरु दर्शकहरु थिए।

पुस्तकमा लेखिएको राता टाउके कीरा र सेता टाउके कीरा भनेको राणाहरुको पगरी हो भन्ने अर्थ लगाए। चार दिशाका चार जना कमाण्डर इन चिफ हुन्थे। तिनीहरुको टोपीमा रातो र सेतो रिबन बाँधिएको हुन्थ्यो।

राणा सरकारको बेलायतसँग राम्रो सम्बन्ध थियो। बेलायतसँग सम्बन्ध विगार्न बेलायती कुकुर लेखिएको हो भन्ने अर्थ लगाए।

श्री ३ ले कृष्णलाललाई सोधे-“कसले भनेर लेखेको होस् ?”

कृष्णलालले जवाफ दिए-“हेमराज गुरुले भनेर लेखेको हुँ।”

श्री ३-“हेमराजले त छातीमा लातले हाने पनि दुख्दैन।”

“अरु कसले भनेर लेखेको ?”

कृष्णलालले आफ्नो डायरीमा लेखेका सबै नामहरु बताए। अब ती सबै बागी भए। लामो छलफल पछि मुद्दाको फैसला भयो। वाग्यान (राजद्रोह) गुरु दुर्गानाथ अधिकारीलाई रु १००।- जरिवाना गरियो। नौ जना कर्मचारीको जागिर गयो। उजुरवाला दुइ जनाले एक-एक हजार जितौरी (पुरस्कार) पाए। कृष्णलाललाई ६ वर्ष कैद सुनाइयो। पुस्तक त्यही ल्याएर गन्न लगाइयो। एउटा पुस्तक पुगेन। फेरी कृष्णलाललाई सोधियो “बाँकी एक पुस्तक खोइ ?”

उनलाई थाहा थिएन ।

” त्यो पुस्तक ल्याएर बुझा। अन्यथा तीन वर्ष जेल थप हुन्छ ।” भने।

कृष्णलालले त्यो पुस्तक बुझाउन सकेनन्। नौ वर्ष जेल सजायको फैसला भयो। ती पुस्तक सबै त्यही जलाइयो।

कृष्णलाल अधिकारी जेल परे। वि.सं. १९८० मा कृष्णलाल जेलमा विरामी परे। उनका पिता लक्ष्मणलाई कठजोरमा खबर गयो। लक्ष्मण काठमाण्डौमा पुगे। इष्टमित्रलाई भेटे। छोराको उपचार गराउने कोशिश गरे। भएन।

श्री ३ मा नै जाहेर गर्नु पर्ने कुरा भयो। एक जनाले खबर गरे-“भोलि श्री ३ को सवारी चोकमा हुन्छ। तिमी पहिले नै त्यहाँ गएर बस्नु। श्री ३ को सवारी हुनासाथ “सरकार मर्का पर्‍यो” भनेर चिच्याउनु। श्री ३ ले सुनेर सोध्नेछन्। अनि बिन्ति चढाउनु । लक्ष्मण अधिकारीले त्यसै गरे श्री ३ ले आफ्नो एडिसीलाई सोधे। कृष्णलालको बाबु हो भन्ने  थाहा पाएपछि श्री ३ ले भने-“त्रि्रो छोरालाई जेलमै मार्न भनेर थुनेको हो। छोड्न मिल्दैन।”

आखिर कृष्णलाल वि.सं. १९८० मा जेलमै मरे। मरेपछि बाबुलाई लास बुझाइयो। लक्ष्मणले लास बुझेर पशुपति आर्यघाटमा लगेर जलाए। काठमाण्डौमै काजकिरिया गरे। यसरी एउटा लेखक जबर्जस्ती शहीद भए। कृष्णलाल शहीद भएको सत्रवर्षपछि गंगालाल शहीद भए। दुबै रामेछापबासी हुन्।

गंगालाल धेरै प्रसिद्ध भए, तर कृष्णलाल अलि पहिले शहीद भएकोले धेरैले जान्न पाएनन्। उनको जीवनी र इतिहास फैलाउनु हामी सबैको कर्तव्य हो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width