शब्दकोश बाटै ‘दलित’ शब्द खारेज गरौं ।

निर्मल घिमिरे निर्मल घिमिरे
जेठ १९, २०७७

केहि दिन अघिको रुकुम जिल्ला, जहाँ कथित दलित जातको केटोले उपल्लो जात भनाउदी ठकुरी जातकी केटीसँग प्रेम गर्दा उनीहरुको प्रेमलाई आफ्नो इज्जतसँग जोडि उपल्ला जातका तर्फबाट हमला गरि ६ जनाको हत्या गरेको आरोप पीडित पक्षले लगाएको छ । आफ्नी नाबालक छोरीलाई अपहरण शैलीमा उठाउन आउँदा प्रतिकृया स्वरुप प्रतिकार गर्दाको आततायी घटना हो भनेर केटी पक्षले डिफेन्स गर्दै आएको परिप्रेक्षमा सो दर्दनाक घटनाको वास्ताविकता त सो को अनुसन्धान पछी नै आउला तर यसले हाम्रो समाजलाई थप पछी धकेल्ने निश्चित प्राय छ । हाम्रो समाजको ‘फ्लास ब्याक’ मा गएर हेर्ने हो भने यी र यस्ता समुदाय लक्षित गरि जातीयताका आधारमा धेरै घटनाहरु घटेका छन् ।

पाखण्डी सामाजिक साँघुरो मानसिकताले गर्दा नै होला आज उपाध्याय ब्राहमण भन्दा जैसी ब्राह्मण तल्लो जात रे, अनि जैसी भन्दा क्षेत्री सानो रे, क्षेत्री भन्दा मगर तामाङ लगाएतका मङ्गोलियन बर्णका समुदाय तल्लो रे, अनि उनीहरु भन्दा तल्लो तथाकथित दलित समुदाय तल्लो अरे । सायद यही सिको गर्दै दलित भित्र पनि उहि मानसिकता यदाकदा देख्न सकिन्छ जस्तै विस्वकर्मा भन्दा परियार सानो जात रे अनि परियार भन्दा गन्दर्भ सानो रे अनि गन्दर्भ भन्दा बादी झन तल्लो रे ।

मेरो घर पनि ग्रामीण भेगमा पर्दछ, मेरो समाज पनि अन्य औसत समाज भन्दा फरक छैन । तर मान्छे पनि छुत र अछुत हुन्छ भन्ने भावना भने बालपन देखि नै मेरो मनमा सधै विझेर बसिरहेको हुन्थ्यो । हुन त यो समाजले मलाई उहि कथित उपल्लो जात अर्थात ब्राह्मण परिवारमा जन्म दिएको भएता पनि मैले बुझ्ने बेला हुँदा ताकादेखि यस विषयमा कहिल्यै पनि आफु माथिल्लो अनि अर्को जात विशेष तल्लो भन्ने भान गरिन । यस विषयमा केहि लेख्नै कुत्कुत्याको कारण यसको मुल इतिहास्, अनि पृस्ठभूमि केलाउदै जादा फेला परेका केहि तथ्य उजागर गर्न नेपालमा राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने सिलसिला हेर्ने हो भने कथित ‘दलित’ जातिको लामै इतिहास रहेको छ । मैले फेला पारे सम्मको दस्तावेज हेर्ने हो भने नेपालमा जातीयताको प्रार्दुभाव मल्लकालीन युग देखि नै प्रारम्भ भएको पाइन्छ ।

दलितको इतिहास्

जयस्थिति मल्लका पालाका राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइ–भारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि उनले यसो विचार गरेर अब सीपको पहिचान गरि कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गा¥हो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक प¥यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ–महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो–गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो, ‘महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ’ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।

तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने–तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए–यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।

त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । विहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक पर्‍यो। त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलाम सम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो । राजाबाट हुकुम भयो–कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् ।

त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन्–यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो–मैले हजुर । अनि रानीले पड्केर भनिछन्–तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको सामान राजामहाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो । त्यसपछि त्यो तरबार लोहा (फलाम) बाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।

यसैलाई कामको आधारमा जातको विभाजन गरि आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला–पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो । तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भन्ने चलन बसेको इतिहासमा उल्लेख छ । आजका दलितले पनि त्यही दुर्गति भोग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ ।

राज्यले मुलुकी ऐन निर्माण गरि नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषणा गर्‍यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् । नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् । दलित वर्गको उत्थानमा धेरै खोज अनुसन्धान अनि राज्य र दाताबाट सहयोग पनि नभएको होइन तर त्यो केवल औपचारिकतामा सिमित हुन गयो । दलित वर्गको नाममा आएको निश्चित आरक्षण कोटा सिमान्तकृत सम्म पुग्नै पाएन । जसले अगुवाइ गरे, उनै टाठाबाठाहरुले बीचमै झ्वाम पारेको तीतो यथार्थ हामी माझ ताजा नै छ ।

मल्लहरुले सन् १३६० देखि लामो समय सत्तामा रहे र यो घिनलाग्दो जातीय अनि वर्गीय इतिहासको शासन समाप्त भएको पनि आज लगभग आठ सय बर्ष जति पुगिसक्यो तर यसले समाज आफुलाई जरा गाडेर बसिरहेको छ त्यसैको विकसित स्वरूपमा नेपालमा जाति प्रथाको जग बस्यो र पछि भारतमा महात्मा गान्धीले गरे जस्तै पृथ्वीनारायाण शाहले पनि भुरे टाकुरे राजाहरूलाई एकीकरण गर्दा दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे तर जातीय भेदभाव अन्त्यको पहल त के झन वर्ग विभाजन नै गरिदिए । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन ।

मल्लकालीन शासकहरुको निरन्तरता शाह वंशीय राजा रजौटा हरुले पनि अझै उग्र रुपमा दिए । ब्राह्मण क्षेत्री वैस्य शुद्र गरि चार बर्ण मा समुदाय विभाजन गरिशसुद्रलाई अछुत को रुपमा विभाजन गरे । बर्तमान समाजमा देखिएको विभेदी वातावरणको निरन्तरता पनि उहि मल्ल काल देखि शाह काल हुँदै निर्दलीय, पन्चायत, बहुदल हुँदै लोकतान्त्रीक शासन ब्यबस्थामा समेत ज्याद्रो रुपमा अमिट रुपमा बसिरहनु भनेको यो शताब्दी कै अभिसाप हो । बिभिन्न काल खण्डमा धर्मका नाममा आफ्नो दुनो सोझ्याउने पाखण्डी पण्डाहरुले यसलाई आफु अनुकुल ब्याख्या गर्दै आए । अनि त्यो ब्याख्यालाई अक्षरस पालना गर्दै गए हाम्रो यो समाजले पनि । हो अहिले उपल्ला भनाउँदा जातका समुदायको मनमा त्यो भावना खिल बनेर बसेको छ । तर नेपालमा कुनै खास वर्गलाई तथाकथित उपल्लो जात भनाउँदाहरुले वर्षाै देखि थिचोमिचो गर्दै आइरहेको चाहीँ सर्बब्यापक नै छ ।

त्यही पाखण्डी सामाजिक साँघुरो मानसिकताले गर्दा नै होला आज उपाध्याय ब्राहमण भन्दा जैसी ब्राह्मण तल्लो जात रे, अनि जैसी भन्दा क्षेत्री सानो रे, क्षेत्री भन्दा मगर तामाङ लगाएतका मङ्गोलियन बर्णका समुदाय तल्लो रे, अनि उनीहरु भन्दा तल्लो तथाकथित दलित समुदाय तल्लो अरे । सायद यही सिको गर्दै दलित भित्र पनि उहि मानसिकता यदाकदा देख्न सकिन्छ जस्तै विस्वकर्मा भन्दा परियार सानो जात रे अनि परियार भन्दा गन्दर्भ सानो रे अनि गन्दर्भ भन्दा बादी झन तल्लो रे । उनीहरुले माथि उल्लेख गरेका भन्दा अन्य धेरै जात जातीहरु छन जसलाई माथिल्लो र तल्लो भ नेर नामाकरण गरेका छन्, हो त्यो समुदाय सँग ऐचो–पैंचो विवाहवारी, लेन–देन गर्दैनन्, छोइ–छिटो बार्छन्, हो समस्याको मूल जूतो नै यही नेर छ र त हामीमा दसकौ अघि नै छुवाछुत मुक्त घोषणा गरिसकेको भएता पनि यसले केवल किताबमा भन्दा अन्य ठाउमा स्थान लिन सकेन ।

थोरै प्रसँग आफ्नै अनुभव पट्टी मोडें । मेरो गाउँको एक जना विश्वकर्मा दाइको घरमा पूजा लगाएको रहेछ्, जहाँ म जस्ता कथित उपल्ला जात भनाउँदा समुदायका निम्तालुलाई भोजन गराउन उपल्ला जात कै भान्छे खटाइएको रहेछ । अनि उपल्ला जात का भनाउँदा हरुले पनि ग्वाम कि ग्वाम प्रसाद ग्रहण गरेको पाइयो, जुन सर–समाग्रीहरु सबै त्यही विस्वकर्मा दाजुले नै जुटाउनु भएको थियो । मात्र भान्छे चाहीँ उपल्लो जातको हुँदा मात्र आएर खाइदिने भएको कारण त्यस्तो भएको रहेछ । यो सब देखेको हुँदा मैले चाहीँ सबै जनाले खाएको संयुक्त भान्छामा गएर खान लाग्दा मलाई सबै नातेदार अनि आफन्तहरुले आँखाले इसारा गर्दै त्यो नखानलाई इसारा गरेको–ग¥यै थिए । मैले कसैको परवाह नगरि बसेको देखेर आयोजक विस्वकर्मा) दाईले नै ‘बाहुन बाजे तपाइहरुलाई उता अलगै भान्छा तयार छ’ भन्नु भो तर मैले जिद्दी कसेर भने कि, यहाँ बसेर खादा मलाई घाटीमा अड्किदैन पक्कै भनेर । अनि टन्न अघाए पश्चात त्यो दाइलाई भने ‘तपाइले अनि भाउजुले पकाएको खाँदा मलाई अड्किएन त दाइ’ भने । यो सुन्ना साथ उहाँले गह भरी आँशु पारेर कस्तो गर्बिलो महसुस गर्नु भो । हो त्यो दिनबाट उहाँमा ‘सेल्फ कन्फिडेन्ट’ उच्च रहेको मैले पाएको छु ।

स्कूल, क्याम्पस पढ्दा ताका मेरा धेरै साथी भाइहरु कथित दलित समुदायका थिए । उनीहरु हाम्रो घर आउँदा आफै अलि सानो भान गर्थे र भित्र जान नै मान्दैन थिए । मलाई बडो नरमाइलो लाग्थ्यो । उनीहरुलाई जबर्जस्ती भित्र नै बस्न लगाउथे । सुरु सुरु ताका त घरकाले साझ परेपछि, सबै जना गएपछि थोरै मन दुखाउथे नै त्यो कुरामा तर मैले त्यो क्रम जारी नै राखिरहेको हुँदा घरका सबैको मनस्थिति नै परिवर्तन भएको पाएँ । त्यसपछि हाम्रोमा त्यस्तो विभेद केहि नै देखिएन । तर पनि यो त्यत्तिमा पर्याप्त भने होइन है । परिवर्तन गर्न आफैबाट सुरुवात गर्नै पर्छ ।

सिप चल्ने, ब्यबहारमा पैसा भयो भने चल्ने रे तर उनीहरुले छोएको पानी चाहीँ नचल्ने रे । यस्तो पनि कही हुन्छ । जीवन बचाउनको लागि आवस्यक रगत ल्याउदा कसैले कुन जातको मान्छेले रक्तदान गरेको हो यो भनेर सोधेको त मलाई थाह छैन । जीवन जियाउन चाहीँ दलित भन्ने जातको रगतले हुने अनि बाचिसकेपछि माथि उल्लेख गरिएको मल्ल राजाहरुले झैं विभेदिकृत ब्यबहार । एक्काइसौ शताब्दी आइसक्दा पनि मान्छे मान्छे बीच यस्तो खाडल ? यो हाम्रो पतनको बाटो हो । दुनिया कहाँ देखि कहाँ पुगिसक्यो तर हामी भने कुन जात भन्दा कुन जात माथिल्लो वा तल्लो भनेर बहस गर्दैछौ ।

सायद यही ज्याद्रो समाजको विभेदको डर अनि हेर्ने नजर मै फरकपनाको महसुस गरेर होला मेरो धेरै साथी भाइहरुले आफ्नो जातीय पहिचान ( थर ) हटाएर नाम उल्लेख गरेको उदाहरण देख्न सकिन्छ । उदाहरणको लागी सामाजिक सन्जाल जस्ता साइटहरुमा अधिकांशले आफ्नो पुरा नाम लेख्दैनन्, सायद यो पनि उनीहरुमा भएको हिनताबोध नभएर समाजले हेर्ने फरक चस्माको कारण हो । किनकि हाम्रो सामज त्यस्तो जडखडिएको समाज हो कि, दलित भन्नसाथ कोठा भाडामा पाइदैन, साथी भाइ बीच फरक व्यवहार देखा परिहाल्छ ।

हो यी र यस्तै कारण ले हो हाम्रो समाजमा यसले जरा गाढेर बसेको । वास्तवमा जुन लक्षित समुदायलाई हेप्न, दमित गर्न अनि दल्नलाई राखेको शब्दावली हो ‘दलित’ । जुन आफैमा विभेदीकृत छ । नेपाली जन–जन को मन–मन बाट यस्तो विभेद अन्त गर्न आफैबाट नै यसको सुरुवात गर्नै पर्छ र नेपाली शब्दकोशबाट यो दलित भन्ने शब्द हटाउनै पर्छ । अनि मात्र यसको निर्मुलीकरण हुन सक्छ अन्यथा यो ज्याद्रो समाज यस्तो मानसिकता ले झन ज्याद्रो रुप धारण गरेर बसेको मेन्टालिटी लाई जती नै सुधार गर्ने कानुन बनाए तापनी यो रहिरहन्छ । जव सम्म हाम्रो मनस्थिति नै परिवर्तन हुँदैन नि, तव सम्म जति नीति बनाए पनि त्यो लागु हुन गा¥हो छ । सबैलाई चेतना भया ।

हाम्रो सुझाव