व्यक्तित्व चर्चा: ज्ञानमाला भजनका सर्जक सुवर्ण बज्राचार्य

रवीन्द्र माकाजू
माघ १३, २०७६

उमेरले ८० टेक्न लागे पनि उनमा अझै युवा जोश जाँगर भेटिन्छ । उनको धार्मिक तथा सांगितिक योगदानको कदर स्वरुप उहाँलार्ई विभिन्न संघ संस्थाले सम्मानपत्र, कदरपत्र र प्रशंशा पत्र प्रदान गरेका छन् ।

ज्ञानमाला भजनका कुशल गायक । मीठो स्वर । आफ्नै रचना । हरेक शनिबार विहान नदीपुर स्थित धर्मशिला बुद्धविहारमा भेटिन्छन् सुवर्ण बज्राचार्य । जसले ज्ञानमाला भजन सुनाएर मख्ख पार्छन् । विशेष गरी उनले पूर्वमा नजाऊ तिमी पश्चिममा नजाऊ, तिमी संगै छु नि, तिमी मेरो संघ आऊ भजन सुनाउन विर्सदैनन् । जुन भजन सबैलाई प्रिय लाग्छ । आजको कोलाहल, अशान्ति र त्रासदीपूर्ण वातावरणमा यस्तो भजन कसलाई प्रिय लाग्दैन र ? त्यो भजनको शुरुमै भनिएको छ–
कतिकति कष्टहरूमा मरीपरी आएको छु
अथाहमा छिपेको सत्य जतन गरी ल्याएको छु
तृष्णा नै हो दुःखको कारण असमान इच्छा नराख
राग, द्वेष, क्रोध मिटाई सदा शील सजाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ

सुवर्णजीका भजन जति सुने पनि कम नै हुन्छ । मिठो स्वरमा भगवान बुद्धका अमृतमय वचनलाई संगीतमा ढालेर ज्ञानको प्रचार गर्नु महत्वपूर्ण सेवा हो । सुवर्णजीले २०४४ साल देखि निरन्तर ज्ञानमाला भजन गाउँदै छन् । उनको भजन टोलीले देशका हरेक जिल्लामा पुगेर भजन सुनाउँदा स्रोताहरु मख्ख पर्ने गर्दछन् । अझ विशेष गरी पाल्पा, बुटवलमा ज्ञानमाला भजन भनेपछि श्रद्धालुहरु झुम्मिने नै भए । पोखरामा ज्ञानमाला भजनलाई उकास्ने काम स्वर्गीय प्रज्ञारत्न बज्राचार्य र सोम बज्राचार्यले गरेकोमा उहाँहरुप्रति कृतज्ञता र श्रद्धासुमन व्यक्त गर्दछन् ।
धर्मोदय सभाका पूर्व अध्यक्ष सुर्वण बज्राचार्यको जन्म वि.सं. १९९७ साल बैशाख २१ गते पोखराको मोहरिया टोलमा भएको थियो । उनका पिता चन्द्रमान र माता लक्ष्मीकुमारी । पिता चन्द्रमान संगीतमा रुचि राख्दथे । वि.सं. २००६ साल तिर नाटकमा आफूले भाग लिने गरेको उनी बताउछँन् । त्यसबेला बडाहाकिम जर्नेल धनशम्शेर राणाको दरबारमा नाटक मञ्चन गर्ने गरिन्थ्यो । मेजर जनरल र उनका सुपुत्र हरिराजा संगीतका सौखिन । सांस्कृतिक क्षेत्रमा मोहोरिया टोल त्यस बेला प्रख्यात । मान्छेहरु पैसा तिरेर नाटक हेर्दथे ।
त्यसबेला रामकृष्णटोल, भैरवटोल र तेर्सापट्टी टोल बीच विशेष प्रतिष्पर्धा हुने गर्दथ्यो । नारीहरुले भाग लिदैनथे नाटकमा । अनि नरहरु नै नारीको भूमिका निर्वाह गर्दथे । ०६ साल तिर सौता मिलाप भन्ने नाटकमा मोहोरिया टोल प्रथम भएको थियो । बाल कलाकारको रुपमा उनलाई मेजर धनशम्शेरले विशेष पुरस्कारका रुपमा सुनको सिक्का (असर्फी) प्रदान गरेका थिए । नाटकमा भाग लिँदा संगीत पनि सिक्नुपर्ने अवस्था । त्यसबेला संगीतज्ञहरुमा हरि राजा, सर्वज्ञमान प्रधानाङ्ग, हितबहादुर शाक्य आदि चर्चित थिए ।
सुरुमा उनले अभिलाल गुरुसँग कखरा चिन्ने अवसर पाए । त्यसपछि नारायणस्थानमा रहेको पोखरा पब्लिक स्कुलमा भर्ना भए । पछि नन्दलाल पाण्डे र स्याङ्वो शिक्षक बीच मत भिन्नता हुँदा स्याङ्वो सरले विन्दुवासिनीमा छुट्टै पाठशाला खोले । म विन्दवासिनी स्कुलमा आएँ । त्यसको लगतै २०१३।१४ साल तिर म पढ्नको लागि काठमाडौंको वनस्थली स्कूलमा (हाल सिद्धार्थ) बालाजुमा भर्ना हुन पुगें । चार वर्ष लगातार पढेर एस.एल.सी. पास गरेपछि त्रिचन्द्र कमर्स कलेजमा भर्ना भएको पुराना दिन उनले बिर्सेका छैनन् ।
हामी कलेजबाट शैक्षिक भ्रमणमा मित्रराष्ट्र भारतको राजधानी दिल्ली पुगेका थियौं । हाम्रो शैक्षिक भ्रमणको टोलीको नेतृत्व गर्ने चक्रानन्द वैद्यको सम्बन्ध अल इन्डिया रेडियोमा नेपाली साहित्य कार्यक्रम सञ्चालक शिलु भन्ने मान्छेसँग रहेछ । हाम्रो भेट उनीसँग भयो । उनले वैद्यलाई भने– तपाईको टोलीबाट कसैले केही गीत, संगीतका कार्यक्रम गर्नुहुन्छ भने म अवसर दिन्छु ।
वैद्यले मेरो मुख हेर्दै भने– सुर्वण बाबु ! तिमीले कलेजमा सधैं गाउने गरेको गित सुनाऊ । मेरो लागि के खोज्छस कानो आखो जस्तै भयो । हुन त मैले यस अघि पनि रेडियो नेपालबाट एउटा गीत गाउने अवसर पाएको थिए । त्यो गीतको बोल थियो– “मेरा साथी हिँडन नेपालमा हेरन प्रकृतिको दुँनियामा जाउँ फिरन” मैले ढुक्क सँग अल इन्डिया रेडियोबाट उक्त गीत गाउने सुवर्ण अवसर पाएँ । जुन गीतमा मैले आफ्नै शब्द र धुन प्रस्तुत गरेको थिएँ ।
पोखरामा पृथ्वीनारायण कलेजको स्थापना भएपछि पोखराबाट बाहिर अध्ययनरत विद्यार्थीहरुलाई पोखरा फिर्ता बोलाइयो । मैले कमर्समा पढ्न निवेदन दिएँ । त्यसबेलाका अन्य मेरा पाँच सहपाठी बगरका विष्णुकुमार श्रेष्ठ, उद्योगपति बुद्धिबहादुर श्रेष्ठ र लामाचौरका चित्रबहादुर लगायत थिए । हामीलाई पढाउने शिक्षकहरुमा शिवपूजन यादव, जोर्जजोन, महेन्द्रसिंह थापा, भोला पराजुली आदि । २ वर्ष त्यहाँ पढियो । त्यसबेला मेरो विवाह फूलु बज्राचार्यसँग भयो । थप पढाई भने गर्न सकिन । त्यसपछि म आफ्नै व्यवसायमा लागँे । हामी सात जना दाजुभाइ थियौं, व्यापारको सिलसिलामा भारतका प्रमुख शहरहरु गोरखपुर, लखनौं, दिल्ली, कलकता, अमृतसर आदि ठाउँमा जानुपर्दथ्यो । सुवर्णले वृत्तान्त सुनाए ।
२०४४ साल देखि उनी ज्ञानमाला भजन संघमा प्रवेश गरे । त्यहाँ प्राय जसो नेवारी भाषामा ज्ञानमाला भजन गाइने गरिन्थ्यो । उहाँलाई लाग्यो–यदि नेपाली भाषामा भजन गाउने हो भने गैर नेवारहरु पनि आउन सक्दछन् । उनले नेपाली भाषामा भजन लेख्न सुरु गरे । उनको भजनले लोकप्रियता हासिल ग¥यो । प्रज्ञारत्न बज्राचार्य र सोम बज्राचार्यले उनको शब्द रचना भएको भजनलाई क्यासेटमा निकाल्दा मुलुकभर विक्री वितरण हुन थाल्यो । उहाँका अडियो क्यासेट भजन श्रृङ्खला २,३ पनि निकालिएको छ । उहाँ भजन लेख्न हौसिनुभयो । पछि उहाँले २०६३ सालमा शान्तिदीप भजनमाला पुस्तक प्रकाशन गर्नुभयो । जुन भजनहरु अहिले धर्मशीला बुद्धविहारमा गाइने गरिन्छ । उनका विभिन्न पत्रपत्रिकामा थुप्रै लेखरचनाहरु प्रकाशित छन् । उनले स्टेजमा धेरैपटक कार्यक्रम गरेका छन् । बुद्ध धर्मसँघको महत्व बताउँदै ज्ञानमाला भजनले समाजमा शान्ति र सद्भावना फैलने विचार व्यक्त गर्दछन् ।
उनले लेखेको मीठो भजन
मेरो संघमा आऊ
पूर्वमा नजाऊ तिमी पश्चिममा नजाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघमा आऊ ।
कतिकति कष्टहरूमा मरीपरी आएको छु
अथाहमा छिपेको सत्य जतन गरी ल्याएको छु
तृष्णा नै हो दुःखको कारण असमान इच्छा नराख
राग, द्वेष, क्रोध मिटाई सदा शील सजाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघमा आऊ … …

कर्मकाण्ड पूजा जपले तिम्रो दुःख टर्दैन
लाख बत्ती बाली कतै मलाई खोज्नु पर्दैन
दृश्यबनी हाँसीदिन्छु मनको ऐना पुछ तिमी
आफूभित्र फर्किहेर सुनजर लगाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघमा आऊ … …

मायामय संसारमा नित्य केही हुँदैन
आज हो कि भोलि हो कि थाहा केही हुँदैन
सत्यगर सत्य बोल मिथ्या बोली नबोल
बाँचुन्जेल धर्महुने कर्म गर्दै जाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघमा आऊ … …

धर्मोदय सभा कास्कीको अध्यक्ष हुँदा उनी सभाको क्षेत्रीय अधिवेशन पोखरामा गर्न सफल भए । पोखरामा रामायण प्रदर्शन गर्दा उहाँ भजन लेख्ने र गाउने गर्दछन् । ज्ञानमाला संघका हरेक कार्यक्रममा सहभागी हुने गर्छन् । उमेरले ८० टेक्न लागे पनि उनमा अझै युवा जोश जाँगर भेटिन्छ । उनको धार्मिक तथा सांगितिक योगदानको कदर स्वरुप उहाँलार्ई विभिन्न संघ संस्थाले सम्मानपत्र, कदरपत्र र प्रशंशा पत्र प्रदान गरेका छन् ।
यसरी सम्मान गर्ने प्रमुख संस्थाहरुमा भैरव सांस्कृतिक संरक्षण समितिले २०६० सालमा सम्मानपत्र, सद्धर्भ सभा धर्मसंघ बुद्धविहारले सम्मानपत्र, ज्ञानमाला संघले स्वर्ण जयन्तीमा प्रशंसापत्र, बौद्धयुवा ज्ञानमाला संघले सम्मानपत्र, धर्मोदय सभा कास्कीले सम्मानपत्र, विश्वशान्ति स्तुप समिति पोखराले कदरपत्र, संगीत प्रशिक्षण केन्द्रले २०७० मा सम्मानपत्र प्रदान गरेका छन् ।
ज्ञानमाला भजनलाई सर्वसाधारणमाझ पु¥याएर बुद्ध धर्मको प्रचार–प्रसारमा उनले महत्वपूर्ण भूमिका खेलेको कुरा बुद्धिजीवीहरु बताउँछन् । उनको विचारमा सृष्टिको सुरुवातबाट नै प्रकृतिसँग घुलमिल भएर आएको हो संगीत । उनको अन्तिम ईच्छा छ– “बाँचुन्जेल यस्तै संगीतमय साधनामा आफूलाई समर्पित गर्न सकूँ ”।

Related News

सम्बन्धित समाचार

hero news full width