विश्वव्यापी जलवायु परिवर्तनको असर

कल्याण पन्त
कार्तिक २७, २०७६

लामो समयको अन्तरालमा हुने परिवर्तनले अनावृष्टि, अतिवृष्टि जस्ता परिवर्तनको आभास गराउँछन्। वातावरणीय परिवर्तन यत्तिकै हुँदैन। लामो समयको अन्तरालमा हावापानीमा भएको फरकपनको अनुभूति गर्न सकिन्छ।

जलवायु परिवर्तनको समस्याले कुनै पनि मुलुक अछुतो रहन सकेको छैन। दक्षिण एशियाका केही मुलुकहरुमा यसको प्रभाव पनि देखिदैं आएको छ। अझ यो युरोपियन मुलुकहरुमा केही विस्तारित रुपमा बढ्दै गएको पाइन्छ। यो परिवर्तन प्राकृतिक वातावरणीय अवस्था असन्तुलित भएको संकेत हो।

विश्वभरका वातावरणविद्हरु लागिपरेका छन् र अहिले उनीहरुको एउटै आवाज छ, जलवायुको न्यूनीकरण भएन भने पृथ्वी मानवका लागि बस्न योग्य हुन्न। अबका दिनमा हरेक मुलुकले आआफ्नो स्थानबाट यसको लागि सजग रहनुपर्ने आवश्यता रहेको छ। दिनप्रतिदिन यसले विश्वलाई नै गाँज्दै गइरहेको छ।

हाम्रा पितापुर्खाका पालाको हावापानी र अहिलेको अवस्थामा आकाशजमीनको फरक छ। नगर, शहरबजार त्यतिखेर पनि थियो। ती नगरहरु वातावरण मैत्री खालका थिए। न जाडो, न गर्मी परिस्थिति भएको अवस्था त्यतिखेर थियो। तर आजको अवस्था त्यस्तो छैन। नगर अहिले परिष्कृत शहरको अवस्थामा परिणत भइसकेको छ। अझ झन् यस एक्काइसौं शताब्दीमा फड्को मारेको विज्ञान तथा प्रविधिको विकासले धेरै उथलपुथल ल्याइदिएको छ। यसबाट सिर्जित परिवर्तन फरक खालका छन्।

हालका दिनमा बजार क्षेत्रमा पाइने सुविधामा मात्र परिवर्तन छैन कि भवन, घरहरुका बनावटमा समेत निकै व्यापक हेरफेर भइसकेको छ। पहिले पहिले कंक्रिटका घरहरु हुँदैन्थें। आजभोलि गाउँघरमा समेत कंक्रिटमय भइसकेको छ। जाडो गर्मीको समय पनि पहिलेको भन्दा निकै फरक छ। तापक्रममा उतारचढावले पृथ्वीमा देखिएका यस्ता परिवर्तनले समस्त जीव तथा वनस्पतिमा समेतका जीवनशैलीमा बदलिएका छन्। हिमाली क्षेत्रमा जडीबुटीहरु तल्लो क्षेत्रमा पाइन्थे तर आजभोलिको अवस्था यो छैन। यी जडीबुटी हिमरेखाभन्दा माथि सरेर गइसकेका छन्। यसको साथसाथै जीवहरुको वासस्थान पनि त्यही अनुसार उपयुक्त हावापानीको सुरम्यतामा बसाइँ सरिसकेका छन्। यी सबैको परिणाम तापक्रमको अदलबदल हो।

पहाडी क्षेत्रमा भन्दा हिमाल क्षेत्रमा यस्ता परिवर्तन धेरै देखा परेका छन्। वर्तमानमा लालीगुराँस, आरु, पैयुँ आदि जस्ता फूलहरु असमयमै फुल्न थालेका छन्। चराचुरुङ्गीहरु आफू बसिरहेको स्थानबाट बसाइँ सराइँ भइरहेका छन्। जीवजन्तुहरुका गतिविधिमा पनि परिवर्तन देखिदैं छन्। यति मात्र नभइकन वनस्पतिका आकार प्रकारमा समेत केही परिवर्तन देखा परेको समेत प्रतीत हुन्छ। हिमाली, पहाडी र तराई क्षेत्रमा पनि केही गर्मी बढेको महसुस हुन थालेको छ। जाडोमा बढी जाडो, गर्मीमा अत्यधिक गर्मी भइरहेको छ।

अहिले टड्कारो देखिने समस्यामा हिमनदीको संकुचन हो। हिमाली क्षेत्र नै केही प्रभावित भइरहेको वैज्ञानिकहरुले बताइरहेका छन्। औद्योगिक विकास र जनसंख्या वृद्धिले प्रत्यक्षतः असर पुर्याइ रहेको छ। जीवावशेष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासको प्रभाव अहिले सबै वातावरणविद्को लागि टाउको दुखाइको विषय बन्न गएको छ।

नेपाल जस्तो विकासोन्मुख मुलुक पनि जलवायु परिवर्तनको चपेटाबाट उन्मुक्त बन्न नसकेको स्थिति छ। यसबाट कृषि र खाद्य सुरक्षामा जटिलता उत्पन्न हुँदे गएको छ। त्यसरी नै अनावृष्टि, अतिवृष्टि, खडेरीका कारण जमीनहरुमा समस्या देखा परेका छन्। ऊर्वरशील जमीनहरु बाँझो पल्टिदै छन्। तर बाँझो पल्टिनको कारण भने जलवायुको परिवर्तनलाई जोड्न सकिन्न तर मनसुनी वर्षामा निर्भर कृषि क्षेत्रमा समयमै खेतिपाती गर्न नसकिएको अवस्था छ। खानेपानीका मुहान दिनप्रति सुक्दै गएका छन्। अधिकांश खेतबारी खेतीपाती गर्ने युवाहरु विदेश पलायन भएका कारण पर्ती जग्गामा परिणत हुँदै छन्।

एक शब्तादी लगाएर गरिएको एक तथ्यांक अनुसार पृथ्वीको औसत तापक्रम ०.७४ डिग्री सेल्सियस बढेको देखिएको छ। यो सन् १९०६ देखि २००५ सम्मको अवधिमा गरिएको अनुसन्धान हो। त्यसरी पृथ्वीको ध्रुवीय क्षेत्रमा भएका हिउँ क्रमशः पग्लदै गएको छ। बढ्दो गर्मीको कारण हिमाली क्षेत्रमा हिमनदीहरु पग्लने क्रम बढिरहेको छ। यसको असर गम्भीर रुपले खोलानाला बढ्ने, बाढीपहिरोका जोखिम रहने, समुद्र सतह बढ्ने, सामुद्रिक सतह वरपरका बस्तीहरु डुवानमा पर्ने खतरा भइरहेको छ।

एक तथ्यांक अनुसार हरेक वर्ष सामुद्रिक सतह १.८ मिलिमिटरको दरले बृद्धि भइरहेका देखिएको छ। यसले समुद्र सतहमा रहेका मालदिभ्स, टुभालु, फिजी टापुहरु डुबानमा पर्ने खतरा छ। अझ वैज्ञानिकहरुले सन् २१०० को अन्तमा हाल भइरहेको तापक्रम १.४ देखि ५.८ डिग्री सेल्सियस बढ्ने अनुमान गरेका छन्।

जलवायु परिवर्तन क्षणिक समयको तथ्यांक होइन यो लामो समयमा देखिएको स्थायी प्रकृतिको परिवर्तन हो। मौसमको अदलबदल छोटो समयको परिवर्तन हो तर वर्षौवर्षौको तापक्रममा देखिएको अन्तरलाई जलवायु परिवर्तन भनिन्छ। एकैछिनमा घाम लाग्ने, शीतल हुने हावा चल्ने, गर्मी हुने, जाडो हुने मौसमी परिवर्तन हुन्। लामो समयको अन्तरालमा हुने परिवर्तनले अनावृष्टि, अतिवृष्टि जस्ता परिवर्तनको आभास गराउँछन्। वातावरणीय परिवर्तन यत्तिकै हुँदैन। लामो समयको अन्तरालमा हावापानीमा भएको फरकपनको अनुभूति गर्न सकिन्छ।

पृथ्वी भन्दा करिब १० किलोमिटर माथिदेखि एक प्रकारको ग्यास रहेको छ। यो ग्यासको विभिन्न तहहरु छन्। यो ग्यासलाई ओजन तह भनिन्छ। ओजन तहले सूर्यबाट आएका हानिकारक विकिरणहरु माथि नै फर्काएर पठाइदिन्छ र पृथ्वीमा भएका समस्त प्राणी तथा वनस्पतिलाई जोगाउने काम गर्दछ। यो तह अहिलेको अवस्थामा विनाश भइरहेको छ। यसबाहेक विश्वव्यापी उष्णता, हरितगृह र अम्लवर्षा पनि जलवायु परिवर्तनका कारक तत्त्व हुन्। पृथ्वीमा निहित वनस्पतिहरुले सूर्यबाट आएको तातोपन लिने हुँदा पृथ्वीमा न्यायोपन रहिरहन्छ। यसरी तातोपन रहने हुँदा यसलाई हरितगृहको असर भनिन्छ। यसरी तापक्रम जम्मा नभएको भए पृथ्वीको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म पुग्ने हुन्थ्यो। यस अवस्थामा जीवन रहने सम्भावना कम हुन्छ।

हरितगृहले प्लास्टिकको घरको जस्तै काम गर्दछ। सूर्यबाट आएको तातो लिने तर उम्कन नदिने काम हरितगृहको हो। पूरै पृथ्वीलाई घर मान्दा यस प्रकारको प्रभाव देखिन्छ। तर मानवीय गतिविधिले गर्दा केही वर्ष यता पृथ्वी तात्ने गरेकोले यसको बदलामा मौसममा निकै नै हेरफेर समेत भएको छ।

कृषि उत्पादनमा कमी हुने, बाढीपहिरो, भूक्षय, खडेरी पर्ने, कुवा, मूल सुक्ने जस्ता समस्याहरु देखा परेका छन्। हरित गृह ग्यासको मात्रा एक्कासी बढेर जाँदा पृथ्वी तात्न गएको हो। यस ग्यासमा कार्वनडाइ अक्साइड, सल्फरडाइ अक्साइड, मिथेन, परफ्लोरो कार्वन्स, हाइड्रो फ्लोरा कार्बन्स, सल्फर हेक्जा फ्लोराइड कार्बन्स आदि पर्दछन्। वनविनास, औद्योगिकीकरण, कोइला, खनिज, तेल र ग्यासको चरम प्रयोगले वातावरण असन्तुलित हुन पुगेको छ। तसर्थ यस कार्यमा विकसित मुलुकहरु यसप्रति जिम्मेवार हुनु आवश्यक छ।

जलवायु परिवर्तन विशेषांकका अनुसार कार्वन उत्सर्जनमा सबैभन्दा चीन (२१.२ प्रतिशत) देखिएको छ। अमेरिका (२०.२ प्रतिशत) दोस्रो पंक्तिमा आउछ भने युरोपेली संघ (१३.८ प्रतिशत), रुस (५.५ प्रतिशत), भारत (५.५ प्रतिशत), जापान (४.६ प्रतिशत) र नेपाल (०.०२५ प्रतिशत) मा पर्दछ।

जलवायु परिवर्तन न्यूनीकरणको लागि पेट्रोलियम तथा कोइलाको कम प्रयोग, नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा, जलविद्युत विकास, वनजंगलको संरक्षण, वृक्षरोपण गर्ने जस्ता कार्यक्रम ल्याउन जरुरी हुन्छ। वायो ग्यास, वायुशक्ति तथा वायो इञ्जिनियरिंग प्रविधिको विकास, फोहोरमैलाको पुनः नवीकरण गरेर यस प्रकारको परिवर्तनमा सकरात्मक सोच ल्याउन सकिन्छ। जलवायु परिवर्तन विशेषतः प्राकृतिक स्रोतहरुको दोहन र हानिकारक रसायन उत्पादनले निम्त्याउँछ। कार्वन, नाइट्रोजन, सल्फर आदि तत्वका यौगिक, धूलाका कण आदिका मात्रा वायुमण्डलमा अत्याधिक भएपछि ताप बढ्नु पनि स्वभाविक हुन्छ।

जलवायु परिवर्तको यस अवस्थामा हामीले पनि पोखराको हावापानी राम्रो छ भनेर जथाभावी निर्माणका योजना बनाउने तर वातावरणतिर ध्यान नदिने हो भने सुन्दर पोखरा एकदिन कुरुप बन्न बेर लाग्ने छैन। तसर्थ नेपालका वातावरणविद र योजनाविदहरुको समन्वयमा कार्य गरेर बेलैमा जनचेतनाका वातावरणीय कार्यक्रम ल्याएर नै हाम्रो भूमिलाई जोगाउन सकिन्छ। समग्रमा भन्दा जलवायु परिवर्तन प्राकृतिक वातावरणमा आउने विचलन हो। यसले कृषि क्षेत्रदेखि लिएर सम्पूर्ण जीव जीवात्माहरुमा प्रत्यक्षतः असर पार्दछ। त्यसलै बेलैमा स्थानीय सरकारदेखि नै संघीय सरकारले उपयुक्त नीति र योजना बनाएर हाम्रो वरपरको वातावरणप्रति गम्भीर हुन जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width