जारी विश्वकप फुटबल प्रतियोगितामा साविक विश्व विजेता स्पेनले आफ्नो प्रतिष्ठा जोगाउन सकेन। सन् २००२ मा फ्रान्स र २०१० मा इटालीले जस्तै विश्व विजेता स्पेन यसपटक पहिलो चरणबाटै विश्वकपको होडबाट बाहिरिएको छ। अब एक सान्त्वना जित निकालेर आफ्ना समर्थकहरुलाई सान्त्वना दिनु बाहेक यस विश्वकप फुटबल प्रतियोगितामा स्पेनले केही गर्न बाँकी छैन। त्यस्तै इङ्लिस प्रिमियर लिगको सफलता जति ग्राफ चढ्दो भएपनि इङ्लिश फुटबल टोलीको प्रदर्शनको ग्राफ ओर्लंदो छ। सन् १९६६ मा गृह मैदानमा विश्वकप जितेयता इङ्गल्यान्डले विश्वकपको ट्रफी उचाल्न सकेको छैन। तीव्र गतिमा आक्रामक र रोमाञ्चक शैलीको फुटबल खेल पस्केर दर्शकलाई शत प्रतिशत मनोरञ्जन दिन माहिर भनेर चिनिएको इङ्लिश फुटबल टोलीले अपेक्षाकृत खेल खेल्न नसक्दा पहिलो चरणबाटै पाखा लाउने अवस्थासम्म आइपुगेको बल्ल पत्ता पाएका होलान्। बबी चार्लटन्, ग्यारी लिनेकर, डेभिड बेकहृयाम, माइकल ओबेन जस्ता हस्तीहरुको गौरवशाली इतिहास वायर्न रुनीको पुस्तामा फितलो हुँदै जाँदा फुटबल खेलको सुरुवातकर्ता बेलायतले आफ्नो टोली र समर्थक निराश हुँदै घर र्फकनुको विकल्प फेला पार्न सकेको छैन। अन्तिम समयको ३० सेकेन्डमा अमेरिकाविरुद्ध गरेको गोलले पोर्र्चुगलले अमेरिकालाई रोकेपनि अब घानाविरुद्धको खेलमा गर्ने प्रदर्शनले उसको दोस्रो चरणको यात्राको टुंगो लगाउनेछ। दक्षिण अमेरिका, अफ्रिका र युरोपका जति टोलीहरु खेल्दै छन् उनीहरुले दर्शकलाई केही अपवाद बाहेक पूर्ण मनोरञ्जन दिंदै आफ्नो पोल्टामा नतिजा हात पार्न कुशल रणनीति र खेल शैली प्रदर्शन गर्दैछन्।
यसरी रोमाञ्चक र कुशल खेल पस्किने टोलीहरुमा दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, चिली, कोलम्बिया, इक्वेडर, उरुग्वे छन् भने युरोपबाट फ्रान्स, नेदरल्यान्डस्, जर्मनी, बोस्निया एण्ड हर्जगोभिना, इटाली छन्। अफ्रिकाबाट आइभोरी कोष्ट, नाइजेरिया, क्यामरुन र अल्जेरियाले रोमाञ्चक खेल पस्केका बेला एसियाबाट इरान र दक्षिण कोरियाले जित ननिकाले पनि दर्शकको मन जित्न कोशिस गरिरहेका छन्। कन्काकाफ अन्तर्गत मेक्सिको, कोष्टारिका र संयुक्त राज्य अमेरिकाका खेल पनि अत्यन्त दर्शनीय छन् र मेक्सिकोको खेल हेर्दा त यसपालीको विश्वकप त उसले नै चुम्नेछ। विश्वको कुनै पनि क्लबसँग आवद्ध नभए पनि विश्व फुटबलको महारथी र चारै महादेशमा विश्वकप ट्रफी जितेको आयोजक राष्ट्र ब्राजिलका सबै प्रयासहरु गोल हुनबाट रोक्ने २८ वर्षीय गोलकिपर गुलेमो ओचोवा अद्भूत गोलकिपर भएको विश्व फुटबलले मूल्याङ्कन गरेको छ। मेक्सिकोको आक्रामक र रक्षात्मक मिश्रति शैलीको फुटबल वास्तबमा सुन्दर र रोमाञ्चक भएकामा दुइमत छैन। हृयाभियर हर्नान्डेज, राउल जिमिनेज, जिओभानी दोस् सान्तोष जस्ता अग्रपङ्क्तिका खेलाडी र राफेल मार्क्वेज, कालोर्स सोल्सिडो जस्ता रक्षापङ्क्तिका खेलाडी अनि मार्को फ्याबियान, आन्द्रेय ग्वारडाडो, हृयाभिर अक्विनो जस्ता मध्यपङ्क्तिका खेलाडी भएको मेक्सिकोको टोली यस विश्वकपकै उत्कृष्ट टोली मान्नेहरुको सङ्ख्या कमी छैन। दक्षिण अमेरिकी माटो, हावापानी, ब्राजिलको परिस्थिति समेतलाई बुझेर चौथोपटक आफ्नो देशको तर्फबाट विश्वकप फुटबल टोलीको नेतृत्व गरिरहेका राफेल मार्क्वेजको टोलीबाट मेक्सिकोले विश्वकप जित्ने र विश्व विजेताको सूचीमा मेक्सिको थपिने धेरैको अपेक्षा छ।
तर ब्राजिलमा जारी २० औं विश्वकप फुटबल प्रतियोगितामा यही टोलीले विश्वकप उचाल्नेछ भनेर ठोकुवा गर्न सकिने आइनसकेको हुँदा अनुमान गर्नेहरु धेरै छन्। सन २००२ मा एसियामा विश्वकप सञ्चालन हुँदाका बखत विश्वकप जित्ने विजेता टोलीका प्रशिक्षक एवं वर्तमान ब्राजिली फुटबल टोलीका प्रशिक्षक लुइस फिलिप स्कोलारीले फाइनलमा अर्जेन्टिना र ब्राजिलको भिडन्त हुने अनि त्यसमा जित हासिल गर्दै ब्राजिलले छैटौंपटक विश्वकपको ट्रफी चुम्ने अनुमान गरेका छन्। यता इङ्ल्यान्डका पूर्वफरवार्डद्वय माइकल ओवेन र ग्यारी लिनेकरले यसपटकको विश्वकप मेसी र अर्जेन्टिनाको हुने धारणा राखेका छन्। लियोनेल मेसीको उत्कृष्ट प्रदर्शन र ब्राजिली परिस्थिति बुझ्न सक्ने फाइदाका कारण यसपल्टको विश्वकप २०१४ अर्जेन्टिनाले जित्ने विश्वास गरेका छन्। बार्सिलोनाका लागि एक पछि अर्को उपाधि जितिसकेका मेसीसामु अर्जेन्टिनाका लागि पनि यस्तै सफलता दिलाउने अवसर छ र यससँगै उनी विश्वकप इतिहासमा महान खेलाडी बन्न सक्ने ओवेनले धारणा राखेका छन्। ओवेनको विचारमा अर्जेन्टिनापछि उपाधिका लागि बलियो सम्भावना भएको टोली ब्राजिल हो। तर विश्वका चारै महादेशमा विश्वकप जित्ने कीर्तिमान रचेको ब्राजिलले अझसम्म आफ्नो गृह मैदानमा विश्वकप जितेको इतिहास छैन र वर्तमान ब्राजिली टोलीको प्रदर्शन विश्वकप ट्रफी चुम्नयोग्य नभएको मेक्सिकोसँगको खेलले पनि सङ्केत गरिसकेको छ। विश्वकपको दावेदार हुन ब्राजिलसँग जुन लय र संयम हुनुपर्ने हो त्यो देखिएको छैन।
मेरो विचारमा यसपालीको विश्वकप २०१४ जर्मनीले जित्नेछ। जर्मनीले गत विश्वकपमा जस्तै मेसीको अर्जेन्टिनालाई हराएर फाइनलको बाटो तय गर्नेछ। बोस्निया र इरानसँग कठीन जित निकालेको अर्जेन्टिनी टोलीलाई जर्मनी ठूलो तगारोको रुपमा प्रस्तुत हुनेछ। विगतका दुर्इ विश्वकपका इतिहास हेर्ने हो भने अर्जेन्टिना जर्मनीसँगै हारेर क्वार्टर फाइनलबाट घर फर्केको छ। यसपाली पनि लियोनेल मेसीको टोलीले जर्मनीलाई पन्छाउने छनक छैन। बोस्निया र इरानसँग उसले खेलेका दुर्इ खेलमा उसले जुन लय, शैली र रणनीति प्रयोग गर्यो, त्यस्तो उल्लेखनीय कुरा केही थिएन जसको आधारमा यो अर्जेन्टिनी टोलीले पक्कै पनि विश्वकप जित्नेछ भनेर ठोकुवा गर्न सकियोस्। विश्वकपमा पहिलोपटक सहभागी बोस्नियाली र इरानी टोलीहरुका सामु लय समात्न नसकेको अर्जेन्टिनी टोलीले जर्मनी, नेदरल्यान्डस् जस्ता आक्रामक र टोटल फुटबल खेल्ने टोलीका सामु उसको परम्परागत शैली जसमा आक्रमण बढी रक्षात्मक कम रहँदा अप्रत्याशित गोल खाएर नक आउट चरणबाटै बाहिरन नसक्ला भन्न सकिन्न। हुन त मेसीले दुवै खेलमा एक एक गोल गरी टोलीलाई विजयी गराएका छन्, तर जुन जादु उनले प्रदर्शन गर्लान् भनेर व्यग्र प्रतिक्षा गरिएको थियो, त्यो जादु उनले देखाउन सकेका छैनन्। अर्जेन्टिनाका अर्का फरवार्डद्वय सेर्र्जियो अग्वेरो, गोन्जालो हिगुइन जस्ता चर्चित खेलाडीले अझै आफ्नो खातामा गोल लेखाउन सकेका छैनन्। उनीहरु संयमित र रक्षात्मक भन्दा आत्तिएर आक्रामक खेल खेल्दैछन्, जुन टोलीको लागि अत्यन्त घातक सिद्ध हुन सक्छ। एन्जेल डि मारिया, म्याक्सी रोडि्रगेजको मध्यपङ्क्ति जम्न नसकेको अवस्थामा मार्टिन डेमिचेलिस, पाब्लो जाब्लेटा जस्ता खेलाडीको रक्षापङ्क्ति एन्डिज पर्वत जस्तै खडा भएर विपक्षीलाई रोक्न सक्ने कुरामा अझै आशंका गरिएको छ।
विश्वकपमा सहभागी सबै जसो टोलीले रोमाञ्चक खेल पस्केर विश्वभरका दर्शकको ध्यानाकर्षण गर्न कोशिस गर्दै जाँदा कुनै कुनै टोलीले दर्शकको धेरै समर्थन पाउने हैसियत राख्छन्। स्पेनको टिकीटाका, ब्राजिलको आफ्नै शैलीको सुन्दर फुटबल, अर्जेन्टिनाको टिकीटाका र आक्रामक मिश्रति जादुमयी सुस्त फुटबल, जर्मनीको आक्रामक फुटबल, इटालीको रक्षात्मक फुटबल, नेदरल्यान्डस्को टोटल फुटबल विश्व फुटबलमा चर्चित परम्परा हुन्। यी बाहेक दक्षिण अमेरिकी, युरोपेली र अफ्रिकी शैली पनि भनेर महादेशीय शैलीको चर्चा हुँदै जाँदा यसपाली कुन शैलीको फुटबलको जादु चल्छ र कुन देशले ट्रफी उचाल्छ होला भनेर अनुमानहरु हुँदैछन्। तर आजसम्मका खेल र विगत, टोलीको फिटनेश पक्ष, व्यवस्थापकीय पक्ष, खेलाडीको तालमेल र एवं गोल गर्ने क्षमताका कारण यसपटकको विजेता जर्मनी हुनसक्छ। सबैभन्दा धेरै विश्वकपका खेल खेलेको राष्ट्र जर्मनी हो। उसले ७ पटक फाइनल र दर्जन पटक सेमीफाइनल खेलेको छ। आक्रमण, तत्काल प्रत्याक्रमण, विपक्षीको गोलपोष्ट वरिपरि बल घुमाइ घुमाइ गोल गर्ने रणनीति बुन्नु र गोल गर्नु जर्मन टोलीको विशेषता नै हो। यस्तो विशेषता यसपाली जर्मनी बाहेक अरु टोलीमा देखिंदैन। जर्मनी सँग फाइनल खेल्ने अर्को राष्ट्र नेदरल्यान्डस् हुनेछ। आर्जेन रोबेन, रोबिन भान पर्सि, वेस्ले स्नाइडर सम्मिलित नेदरल्यान्डस्को यस पटकको टोली उसको परम्परा तोड्दै चौथोपटकमा विश्वकपको ट्रफी चुम्ने प्रयासमा हुनेछ। टोटल फुटबल र अट्याकिङ् फुटबलको महासंग्राममा जर्मनीले जितेर चौथोपटक विश्वकपको ट्रफी उचाल्ने छ। उसका एक मात्र स्टा्रइकर मिरोस्लाभ क्लोजले आफ्नो सवाधिक गोलकर्ताको इतिहास बनाउने मात्र होइन सर्वाधिक गोल हान्ने र गोल्डेन बुट जित्ने पनि उसकै टोलीका १३ नं जर्सीरी थोमस मुलर हुनेछन्। कप्तान फिलिप ल्हाम, मेसुट ओजिल, सामी खडेरिया, वास्टियन स्वायनस्टायगर, लुकास पोडोल्स्की, थोमस मुलर, मिरोस्लाभ क्लोज जस्ता स्टारहरुले भरिएको जर्मन टोलीलाई सदावहार टोली मानिएको छ र यो टोलीले सन् १९५४, १९७४ र १९९० पछि २०१४ को विश्वकप उचाल्ने पक्का छ भन्ने धेरैको अनुमान छ। जर्मन टोलीको खेल, विपक्षी टोलीको कमजोरी पत्ता लगाई सोझै सही समयमा सही दिशा लिंदै आक्रमण गर्ने रणनीतिका कारण उसले आजसम्म विश्वकप फुटबलको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने टोलीको इतिहास बनाउन सफल भएको छ। यस विश्वकपले उसको फुटबल संस्कृति, धर्म, परम्परा अझ सशक्त बन्नेछ। कसरी एक ढिक्का भएर आक्रमणमा लाग्दा सफलता हासिल हुन सक्छ विश्वले देख्नेछ।
विश्वकप जर्मनीले जिते पनि नेदरल्यान्डस्ले जिते पनि वा अन्य कुनै राष्ट्र अर्जेन्टिना वा ब्राजिल वा भनौं मेक्सिको वा फ्रान्सले जितेछ भने पनि केही फरक पर्ने छैन जबकि त्यहाँ अरु कसैको विजय भन्दा विश्वमा सर्वाधिक रुचाइएको खेल फुटबलकै विजय हुनेछ। खेलको जित फुटबलकै हुनेछ भने स्वार्थ, अनुशासनहीनता, जातीय भेद, रङ्ग भेद लगायत सबै नराम्रा कुराको हार हुनेछ। यो कुनै टोली विशेषको जित हारको भन्दा फुटबलको विजय मानेर आनन्द लिनु नै सबैको हितकर हुनेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०