अहिलेको पोखरा उपमहानगरपालिका, वडा नं. १६ बाटुलेचौरमा १९७१ सालमा जन्मेर २०४६ मा ७५ वर्षको उमेरमा ब्रह्मलिन भएका पण्डित मुक्तिनाथ तिमिल्सिना, रुढीवादी, आडम्बरी, विसंगतमयी र अन्धविश्वासी परम्परालाई उन्मूलन गरी समाजलाई सुसंगतमय बनाउने अभियानमा लागेका, आफ्नो समयका अथक अगुवा थिए। आफै यथास्थितिवादी ब्राह्मण कुलमा जन्मेका भएपनि २००१ सालमा, ब्राह्मणले हलो जोत्न हुँदैन भन्ने परम्परागत संस्कारको विरुद्ध हलो जोतेर नेपालमा सर्वप्रथम समाज परिवर्तनको विगुल फुकेका थिए। यस्तै क्रान्तिकारी अको कदम ‘को अछुत’ पुस्तक लेखेर सामाजिक विखण्डनवादी जातभात (वर्णययवस्था) को विरुद्ध अखण्ड राष्ट्रियताको लागि आह्वान गरेका थिए। २०२० सालमा मुक्ति दिवसका दिन आमसभामा दलितको हातबाट पानी पिएर, जलपान गरेर, व्यवहारबाट पनि समानताको, मानवताको व्यवहार देखाएका थिए। त्यस बेला उनी रुढीवादी समाजको व्यवहारले उपेक्षित र अपहेलित भए।
त्यसो भएता पनि, कत्ति पनि हतास नभएर समाज परिवर्तनको पहिलो खुट्किलो शिक्षा हो भनेर समाजलाई शिीक्षत र चेतनायुक्त बनाउन उनले पोखरामा स्कूल र कलेज खोल्नमा ठूलो भूमिका खेले। त्यसमध्ये बाटुलेचौरको हालको विन्ध्यवासिनी उच्च मा.वि.को स्थापना गर्ने महत्वपूर्ण कार्य थियो।
‘शिक्षा सबैको लागि हुनुपर्छ’ भन्ने उद्देश्यले त्यस बेलाको पण्डित पुरोहित समाजको विरोधको वातावराण्को असङ्ख्य प्रतिकूल परिस्थितिलाई सहेर, सामना गरेर मुक्तिनाथ लागि परे। पण्डित पुरोहित समाज र उनीहरूका समर्थकहरू हिन्दू वर्णयव्यवस्थाको पम्परा विपरित सबैलाई शिक्षा दिने कुरामा एकदम विरोधी थिए। परम्परालाई धर्म संस्कृतिको नाममा लादेर ‘शिक्षा बाहुनहरूले मात्र हासिल गर्ने हो, अरु जातले हासिल गर्न पाउँदैन’ भनेर शिक्षामा एकलौटी हालीमुहाली गरिरहन चाहन्थे। जनता शिक्षित भयो भने राणा शासनको चाँडै अन्त्य हुन्छ भनी राणालहरूले पूर्वाग्रह राखे जस्तै, उनीहरूका सल्लाहकार पण्डितपुरोहित समाज पनि, जनताले खुलमखुला शिक्षा हासिल गर्न पायो भने उनीहरूको शिक्षामाथिको परम्परागत एकाधिकार, समाज माथिको एकाधिकारको अन्त्य हुन्छ भनेर “सबैको लागि शिक्षा” भन्ने नीतीको विरोध गर्थे। खेदको कुरा छ यस्तो पूर्वाग्रह नराखेको भए आजका नेपालीहरू युगअनुसार इमान्दार बुद्धिजीवि भएर मानवीय सभ्यतामा कति अगाडि बढिसक्थ्यो। पछौटेपनमा जकडी रहनु पर्ने थिएन।
यस्तो वातावरणमा, राष्ट्रिय जागरण जागृत गर्ने, महात्मा गान्धीको ‘आधार शिक्षा पद्धति’मै आधारित गरेर ‘आधार शिक्षा योजना २००४’ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले लागु गरे। त्यही साल, पोखराको विन्ध्यवासिनी मन्दिर नेर, सायद राणा प्रधानमन्त्री रणोद्वीपसिंहको पालादेखि सञ्चालन हुँदै आएको ‘विन्ध्यवासिनी संस्कृत पाठशाला’, जहाँ ब्राह्मण परिवारका केटाहरूलाई मात्र प्रवेश दिइन्थ्यो र जहाँ दुर्गाकवच, रुद्री, अमरकोश, भागवतगीता, पुराण आदि पढाउने र कर्मकाण्ड चलाउने शिक्षा मात्र दिइन्थ्यो, त्यही पाठशालालाई ‘विन्ध्यवासिनी आधार स्कूल’ को नामबाट सञ्चालन गर्ने कोटा सरकारबाट आयो।
यो कोटाको कागजपत्र र आर्थिक सहयोग समेत लिएर एकजना कर्मचारी ज्ञानमान डङ्गोल काठमाडौंबाट खटिएर आए। तर उनलाई यथास्थितिवादी पण्डित पुरोहितहरूले “यो गाई खाने विद्या हामीलाई चाहिँदैन।” भनेर ज्ञानमानलाई लखेटे। स्मरणीय छ, उनीहरूले “गाई खाने विद्या” भनी आक्षेप लगाएको अर्थ, आधार शिक्षाले, ब्राह्मणहरू मात्र पढ्न पाउने परम्पराको विपरित शिक्षाको ढोका विना भेदभाव सबैलाई खुला राखेको कारण देखिन्छ। पम्परावादी धर्मभीरु समाजलाई प्रभाव पार्नलाई ‘गाई खाने विद्या’ भनी उनीहरूले नाम राखेको बुझिन्छ, ताकि समाजले उनीहरूलाई समर्थन गरोस्। तर वास्तवमा, अंग्रेजी शिक्षा जसलाई आज उनीहरू गाई खाने विद्या भन्दछन्, त्यसको आधारशिक्षासँग केही सम्बन्ध थिएन।
ज्ञानमान डङ्गोल विन्ध्यवासिनीबाट त्यसरी लखेटिए पछि निराशा र हतासिएको मानसिकताले हालको के.आई.सिंह पुल नेरको -स्मरणीय छ, त्यस बेला, यो पुल बनेको थिएन ) लामाचौर तिर जाने चौतारमा एक्लै झोक्रिएर बसेको अवस्थामा, लामाचौर निवासी सुब्बा रणबहादुर खत्रीले ज्ञानमानलाई आफ्नो घरमा लगेर १०-१५ जना केटाहरूलाई जम्मा गरेर पढ्ने-पढाउने व्यवस्था मिलाई दिए। केही दिन यसरी विन्ध्यवासिनी आधार स्कूल सञ्चालन भएपछि, पढ्नेहरूकै सक्रियतामा सुकामोहर चन्दा उठाएर बाटुलेचौर र लामाचौरको साँध सिमाना -हाल पानी टङ्की रहेको ठाउँ), अमला विसौनीमा सामान्य कटेरा बनाई उक्त स्कूल चलाए। यहाँ पनि, ती नै पण्डित पुरोहित समाजको कारणले गर्दा ज्ञान मान टिक्न सकेनन्। स्कूल कटेरो भत्काइयो। तैपनि खुला आकाश मुनि बसेर हेला र उपेक्षाको वातावरणमा पढाउँदा पढाउँदै ज्ञानमान बिरामी भए। बिरामी अवस्थामै उनी काठमाडौं गए। त्यसपछि उनी फर्केर आएन। वर्णययवस्थावादी नेतृत्वमा चलेको समाजमा कसैले पनि विन्ध्यवासिनी आधार स्कूल र ज्ञानमानको खोजखबर लिएन। -स्मरणीय छ, उक्त विवरण ज्ञानमानसँग पढ्ने, हालका वयोवृद्ध व्यक्तिहरूबाट प्राप्त जानकारीमा आधारित छ।) त्यसबेला, पं मुक्तिनाथ काठमाडौंमा ‘आधार शिक्षा’ को तालिम लिइरहेका थिए। उनैले विन्ध्यवासिनी आधार स्कूललाई पुनस्र्थापित गरे।
तालिम पुरा गरेर, बाटुलेचौरमै उक्त ‘विन्ध्यवासिनी आधार स्कूल’ स्थापना गर्छु भनेर सरकारी तलब रु. १५ खाने गरी उनी आफ्नै घर बाटुलेचौर फर्के। २००५ साल असार महिनादेखि ओमकार वा ओमकुमार साहु -लालबहादुर श्रेष्ठ) – को घरगोठमा केटाकेटीहरूलाई जम्मा गरी पढाउन थाले। केही वर्ष त्यहाँ स्कूल सञ्चालन गरेपछि, २०१० सालभन्दा पहिले, हालको विन्ध्यवासिनी उ.मा.वि. रहेको ठाउँमा छात्रहरू र शिक्षकहरूको प्रयासले ६५ हात लामो कटेरो बनाएर स्कूल चलाए। त्यसबेला पनि गाउँका परम्परावादी सामन्त भलादमीहरूको समाजले, “यो स्कूल चाहिँदैन, यसले अछुतहरूलाई पढ्न बोलायो, सनातन धर्म फाल्यो, कम्युनिष्ट बनायो” भनी विरोध गर्यो (आत्मकथा २०४०) ज्ञानमान डङ्गोलले व्यहोर्र्नु परेको परिस्थिति मुक्तिनाथले पनि व्यहोर्र्नु पर्यो। तैपनि उनी हरेश नखाई स्कूललाई निरन्तरता दिन र उन्नति गर्न दत्तचित्त रहे। तर त्यस बेला, राणाशासन ढलिसकेको र उनी, ज्ञानमान जस्तो बाहिरको व्यक्ति नभई, स्थानीय भएकोले उनलाई समयले साथ दियो। अर्थात् यथास्थितिवादी कूपमण्डुक समाज भए पनि १-२ जना भद्र व्यक्तिहरूले भने उनलाई सहयोग गरे।
यसरी कोसे ढुङ्गाको रूपमा स्कूल सञ्चालन भइ सकेपछि पनि २००४ साल भन्दा अघिदेखि सञ्चालनमा रहेको नित्यानन्द पाठशाला, जहाँ विन्ध्यवासिनीको संस्कृत पाठशाला जस्तै बाहुन छात्रहरूलाई मात्र पढाउने, दुर्गाकवच, ज्योतिष, कर्मकाण्डको शिक्षा दिने पाठशालाका शिक्षकहरूले विन्ध्यवासिनी स्कूललाई असफल गराउन गाउँगाउँमा गएर आधार स्कूलको विरुद्ध खुबै प्रचारप्रसार गरेकोले छात्रहरू घट्न थाल्यो। यसलाई पं. मुक्तिनाथले, तत्कालिन वडाहाकिम पूर्णसिंहलाई भनेर प्राथमिक पाठशाला जुम्लेटीमा सार्ने प्रबन्ध मिलाएर छात्रहरूको समस्या समाधान गरे।
२०१८ सालमा नि.मा.वि.को रूपमा चलिरहेको विन्ध्यवासिनी स्कूललाई पं. मुक्तिनाथले तत्कालिन राजा महेन्द्रबाट हाइस्कुलको स्वीकृति गराए। तर फेरि २०२८ सालमा आएका स्कूल सर्वेक्षण टोलीले स्कूल स्थापनाका विरोधीहरूको कुरा सुनेर आधारभूत आवश्यकता नपुगेको भनेर विन्ध्यवासिनीलाई फेरि नि.मा.वि.मा झारे। यो कुरा थाहा पाएर तत्कालीन शिक्षा सहायकमन्त्री कृष्णराज अर्याललाई पार्दी गेष्ट हाउसमा भेटेर कुरा सम्झाएअनुरूप शिक्षा सचिव डाक्टर महम्मद महसिनलाई विद्यालयमा भ्रमण गराएपछि ०२८ सालमै फेरि माध्यमिक विद्यालयको रूपमा यो स्कूलले स्थायित्व पायो।
आज यो स्कूल उच्च मा.वि. भएर तथा विन्ध्यवासिनी क्याम्पसको संरक्षकत्व समेत सम्हालेर भलाम, जिम्लेटी, हर्पाक, अर्मला, लामाचौर आदि धेरै ग्रामीण भेकका, निम्न आयस्तरका र प्राइवेट बोर्डि· स्कूलमा पहुँच नभएका छात्रछात्राहरूलाई सुगम र सस्तो, तर गुणस्तरयुक्त शिक्षा दिने विद्यालयको स्तरमा यस भेकमा प्रशंसा पाइरहेछ। समयमा राम्रो काम गर्दा, राम्रो कामको लागि विपरीत परिस्थितिसँग सामाना गरेर लाग्दा अन्तमा सफल हुँदो रहेछ भन्ने जानकारी तथा प्रेरणा विन्ध्यवासिनी उच्च मा.वि. र पण्डित मुक्तिनाथले देखाएका छन्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०