बहिनीको घरमा दाउरा काट्ने कामको चटारो रहेछ। भान्जीको स्कुल पनि बिदा रहेछ। छोरी घरमा हुँदा एउटा धरालो चाहियो। त्यसैले बहिनीले विचार गरिछ : छोरीलाई मामाघर छोड्ने। उसले आफ्नो विचार फोनबाट सुनाइ। बाआमाले नाइनास्ती गर्ने कुरै भएन। बहिनी छोरी लिएर आइ र दुर्इतीन दिनका लागि भन्दै छोडेर फर्की।
औसत केटाकेटीभन्दा जान्नेबुझने भान्जीले बहिनी जाने बेलामा भनिन्, ‘बाइ-बाई ममी, भोलि आउनोस् है।’ तब बहिनीले चेपारो पार्दै भनी, ‘ज्ञानी छोरी, म भोलि होइन पर्सि आउँछु, नचली, नरोइकन बस हैँ।’ ‘हस्’ भान्जीले मुन्टो हल्लाइन्। आखिर केटाकेटी हुन्, भर्खरैकी दूधे केटी। दिनभरि भुलिन् : खेलेर, लेखेर, किताब पढेर। अझ भनौँ, मलाई सुनाउँदै भाका मिलाएर गीत सुनाइन् : ताराबाजी लैलै, मामा आए घोडा, माइजू आइन् डोली, पापा ल्याइन् सोली, खान दिन्छिन् भोलि, बुबुमाम सुपुक्क, काफल गेडी कुटुक्क, निदाइ जाउँ लुटुक्क।
जब साँझ पर्यो। भान्जीको मुहारमा पनि साँझ पर्यो। उनले ममी खोज्दै भनिन्, ‘आमा, ममी खोइ – अहिले आउनुहुन्छ, मेरो ममी।’ सायद उनले बिर्सिछन्, ममीले बिदा दिने बेलामा ‘पर्सि लिन आउँछु भनेको। उनी आफ्नी आमालाई ममी भन्छिन्, मेरी आमा वा हजुरआमालाई ‘आमा’ भन्छिन्। त्यसपछि आमाले भन्नुभयो, ‘मेरी नातिनी, कति ज्ञानी छन्, अब बुबुसित माम खान्छिन्।’
उनी झन् अमिलो देखिइन्। सायद उनले खोजेको उत्तर नपाएर होला। पुनः रुन्चे स्वरमा भनिन्, ‘मेरो ममी आज आउनुहुन्न।ममीले भोलि आउँछु भनेर गएकी होइन, तिम्ले बिस्यौ, ममी भोलि आउँछे, अनि जाने’, आमाले सम्झाउँदै भन्नुभयो। ‘मम्मी नआउने भएपछि म कोसँग सुत्ने त नि’, उनले आफ्नो समस्या पोख्दै भनिन्। आमाले काँखमा टास्दै भन्नुभयो, ‘मसँग सुत्ने नि, म त्रि्रो आमा हैन।’
जसोतसो भान्जी मानिन्। भन्नाले रुनमात्र बँ’ाकी रहेकी उनी सन्तोकी देखिइन्। आमासँग सुत्न राजी भइन्, सुतिन पनि।आमाले ऐनकेन भुलाउनु भएछ। फेरि बिहान उठ्नेबित्तिकै भन्न थालिन्, ‘ममी खोइ -’ फेरि आमाले भन्नुभयो, ‘आमा भएपछि, मम्मी किन चाहियो, ल पापा र दूध खाउँ। मम्मी भोलि आउँछे।’ त्यस बखत भने भान्जी फकिइनन्। उल्टै भन्न थालिन्, ‘मेरी ममी खोर्इ त नि।’ आमाले काँखमा टाँस्दै भन्नुभयो, ‘ज्ञानी मान्छे रुनु हुन्न।’
उनी ३ दिनसम्म मामाघर बसिन। अक्सर दिनभरि खेल्थिन, लेख्थिन, पढ्थिन। बेलुका भएपछि अनुहार अमिलो पारेर रुन खोज्थिन्। आमाले जति काखी च्यापेर आफ्नो बनाउन खोजे पनि रत्तिदैनथिन। त्यति बेला मलाई सोच्न मन लाग्छ : बालबच्चालाई आमा भन्ने चिज सबभन्दा मन पर्ने खानेकुरा भन्दा प्रिय हुँदो रहेछ। अरुले जतिसुकै माया गरुन्, त्यसको लेखाजोखा आमासँग गर्न मिल्दो रहेनछ। त्यसैले त भनिँदो रहेछ : अरुको लाख, आमाको काख।’
तर विडम्बना, हाम्रो समाजमा बाबुआमा जिउँदै छँदा वालबालिका टुहुरा भएका छन्। त्यसरी बाबुआमाको माया, ममता र वात्सल्यबाट बञ्चित हुनेको संख्या दिनानुदिन बढ्दो छ। त्यो कसरी भने बुबाआमा विदेश जाने या विदेशबाट आफ्ना दूधे बालक स्वदेश पठाउने ‘गज्जब’को चलनबाट। यो प्रसङ्ग उजागर गर्न म एउटा प्रतिनिधि घटना प्रस्तुत गर्न चाहन्छु।
मेरा एक मित्र पहिलो लटमा कोरिया गए। उनी गएको लगभग १२ वर्ष भयो होला। यस बीचमा उनी कहिल्यै नेपाल फर्केनन्। सायद नेपाल फर्केपछि पुनः कोरिया प्रवेश गर्न नपाइने भएर होला। उनी कोरियामा प्राप्त हुने काम तथा कमाइको अवसरबाट विमुख हुन चाहेनन्। त्यसबीचको अवधिमा उनले उतै प्रेम गरेछन्। नेपालबाट रोजगारको शिलशिलामा गएकी केटीसँग बिहे गरेछन्। र छोरो पनि पाएछन्। त्यो छोरो कोरियाको हावापानी र सामाजिक वातावरण अनुसार हुर्कर्दै गएछ, तामाको मुनाझै। जब तीन वर्ष पुगेछ, छोरोको पढाइको चिन्ता भएछ। सायद कोरियामा पिआर पाउने नियमन भएर पनि होला, उनले उतातिरको जनजीवन, वातावरण र रहनसहन छोराका लागि प्रतिकुल ठाने। तब तिनीहरूबीच छोरा नेपाल पठाउने सल्लाह भएछ। सोही अनुरुप उनीहरूले प्रक्रिया र उपाय खोजी गरे। अन्तत : एउटा नेपाल र्फकने नेपाली युवकको जिम्मा लगाएर छोरालाई नेपाल पठाउन सफल भए। कोरियामा खाई हुर्केको केटो कस्तो होला – त्यसमाथि आफ्नो अनन्य मित्रको छोरो मलाई भेटिहाल्न मन लाग्यो। आएको सुन्नेबित्तिकै म उनको घरमा भेट्न गएँ, भेटेँ पनि।
उनको नाम सफल रहेछ। मेरा मित्र कोरिया जान सफल भए, पैसा कमाउन सफल भए, विदेशमा पनि नेपाली केटीसँग प्रेम विवाह गर्न सफल भए। यो पितृसत्तात्मक सोच अनुरुपको समाजमा छोरो पाउन पनि सफल भए। यस्तै-यस्तै सफलताको कथा स्मरण गर्न, गराउन, सायद उनले छोरोको नाम पनि ‘सफल’ राखेका होलान्, मैले ठानेँ। यद्यपि उनका छोरा सुन्दर र समझदार रहेछन्, त्यस्तै टाठाबाठा पनि। म उनीसँग बोलेँ। उसो त के बोले भन्नु, तिनी नेपाली कत्ति पनि बुुझदा रहेनछन्। केबल भाषा मिल्दो हाउभाउ प्रकट गरे। मलाई उनको मुहार र अवस्था देख्दा टिठ लाग्यो। तब मैले दुर्इ हातले अङ्गालेँ। उनी फुत्त लप्सीको बियोझैँ फुत्किएर भागे। र, फुटबल हान्न लागे।
बिचरा उनको नियतिउपर अचम्म लाग्यो। साथसाथै दया पनि लाग्यो। मैले बैनीले भान्जीलाई केही दिनमात्र माइत राखेको सम्झेँ। अनि भान्जीले आमाबालाई, विशेष गरी आफ्नी आमालाई सम्झेर मलिनो मुहार बनाएको र रोएको क्षण सम्झेँ। मैले ठाने, उनले पनि पक्कै आमाबालाई सम्झेका, खोजेका होलान्। उनलाई यो पितृभूमि नौलो र अनौठो लाग्दो हो। तर के गर्नु, नयाँ ठाउँमा नरमाएर र नमानेरझ् यति बेला मलाई लाग्छ, हरेक मान्छेलाई भगवानले विकल्प दिँदा रहेछन्। समस्या र बाँध्यतासँग लड्ने क्षमता दिँदा रहेछन्। जसै सफल बाबुको घर रत्तिन, रमाउन बाँध्य भए। उनी जस्ता हजारौँ दूधमुखे बालबालिका विदेशमा जन्मेर स्वदेशमा भित्रिएका छन्। या त बाबुआमाले स्वदेशमा बच्चा जन्माएर हजुरबाहजुरआमा तथा अन्य इष्टमित्रको जिम्मा लगाएर विदेशिएका छन्। अवसर र आयआर्जनकै लागि बालबालिकालाई वात्सल्यबाट वञ्चित गराउनु जायज होला ? यो प्रश्न अहिले नेपाली समाजमा अनुत्तरित बनेको छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०