नेपाली विद्यार्थी आन्दोलनको रथ निरन्तर एउटा गतिमा अगाडि बढेर पछिल्लो समय विस्तारै धार परिवर्तनतर्फ छ। विगतका राम्रा कामको सनाही फुकेरमात्रै आगाडि बढिरहदा वर्तमानसँगै भविष्यले संख चाँडै फुक्ने निश्चित जस्तै छ। वर्तमान परिप्रेक्ष्यमा विद्यार्थी आन्दोलन र विद्यार्थी नेताको भविष्य शून्य प्रायः छ। दिनभरि नेताहरूको जयजयकार गर्ने र बेलुकी बार, डान्स, दोहोरीतिर खुट्टा घुमाउने विद्यार्थी नेताको जमात ठूलै भइसकेको छ। केही सक्रिय र इमान्दार मानिने विद्यार्थी नेताबाटै पनि ठूलै छलाङ मार्ने सम्भावना पनि लगभग छैन। उनीहरू पनि रुढिवादी धार छाड्न मानिहाल्ने या सक्ने अवस्थामा देखिँदैनन्।
नेपालको ठूलो पार्टी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लामो समयदेखि आफ्नो सम्मेलन गर्न सकेको छैन। बेला-बखत घोषणा गरेको केन्द्रीय सम्मेलन पनि स्थगितकै सूचना जारी गर्दैमा टर्यो। सम्मेलन नभए पनि नेविसंघ नेस्विसंघ -नेपाल स्थगित विद्यार्थी संघ)को छवि बनाउने बाटोमा देखियो।
नेपालको ठूलो कम्युनिष्ट पार्टीनेकपा एमालेको भातृ संगठन अनेरास्ववियु रेसमा अगाडि देखिए पनि चेसमा भने पछाडि नै देखिन्छ। सम्मेलन नियमित गरेता पनि अनेरास्ववियुभित्र गलत प्रवृत्ति झाङ्गिएको छ। तीन दिन तोकिएको सम्मेलन आँठौ दिनसम्म लम्बिनु एउटा ज्वलन्त उदाहरण हो। सम्मेलनमा नेता बन्नेको होड ठूलो भए पनि यो संगठनसमेत पछिल्लो समय विद्यार्थी केन्द्रित छैन। केही झुण्ड बनाएरै राजनीतिमा झुण्डिनेहरूको बोलबाला अखिलको विशेषता नै बनेको छ पछिल्लो समय।
एनेकपा माओवादी समर्थित भातृ संगठन अखिल क्रान्तिकारी माओवादी टुक्रिएसँगै अन्यौलमा छ। एउटा संगठन टुक्रिएर चार पाँच वटै अखिल क्रान्तिकारी नामकै विद्यार्थी संगठन गठन भइदिँदा यसले विद्यार्थीमा अन्यौल देखाएको छ। आफ्नै नेतृत्व मिलाउन लागेको अखिल क्रान्तिकारीले विद्यार्थीका समस्या समाधानमा समय दिन सकेको छैन। यिनैमध्येको नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारी शैक्षिक माफिया विरुद्ध आन्दोलनमा व्यस्त देखिए पनि खासै अनुभूति दिने खालको परिवर्तन गराउन सकेको छैन।
अन्य साना राष्ट्रिय तथा क्षेत्रीय पार्टीका दर्जन बढी विद्यार्थी संगठनको कार्यक्रम र नीति भनेको भइपरी आउने संयुक्त विद्यार्थी आन्दोलनका नाममा प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने एक्लो प्रतिनिधित्व सिवाय अरु केही देखिँदैन।
बोलीमा हिरो, व्यवहारमा जिरो
विद्यार्थी संगठनहरू अहिले फेयर एण्ड लब्लीको विज्ञापन जस्तै भएका छन्। सात दिनमै अनुहारमा चमक ल्याइदिने दावीसहितको विज्ञापनजस्तै। चमक ल्याउने/नल्याउने वषौर्देखि धेरै सात दिन बिताएका दिदीबहिनीलाई मात्रै थाहा होला। बजारमा कोही सुन्दरी देखे पनि फेयर एण्ड लब्लीकै सातदिने कमाल हो कि जस्तो लाग्ने गरी देखाइएको विज्ञापनमा कति सत्यता होला प्रयोगकर्तासमेत अन्योलमै भएजस्तै विद्यार्थी संगठन विद्यार्थीमाझ जाँदा विगत सम्झाएर भविष्यको आशा बाँड्ने काम गराउन माहिर देखिन्छन्। बेला-बखतमा अभियान बनाएर वाषिर्की मनाएसरि विद्यालय पुगेर विद्यार्थी संगठित गर्दा विद्यार्थी संगठनहरू आकाशको तारा झार्नेसम्मका मनगढन्ते कुरा विद्यार्थीलाई बाडेर आफ्नो संगठनतर्फ केन्द्रित गरे पनि काम बोली अनुरुपको १० प्रतिशत पनि गर्दैनन्। विद्यार्थी संगठन र विद्यार्थी नेतृत्व बोलीमैै हिरो भए पनि वर्तमानमा व्यवहारमा भने जिरो छन्। विद्यार्थी संगठनहरूले विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक परिवर्तनको आशा बाँडे पनि रचनात्मक र सिर्जनात्मक गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन्। वास्तवमै विद्यार्थी आन्दोलनले सिमित मान्छेको वाक कला विकास गरे पनि समग्रमा विद्यार्थीको क्षमता र प्रतिभालाई बढवा दिन सकेको छैन।
आफै कुहिरोको काग
अहिले बडो तुजुकका साथ विद्यार्थीसामु शैक्षिक परिवर्तनको आशा बाड्ने विद्यार्थी नेतासमेत भाषण सकिएसँगै आफ्नो भविष्यबारे अन्यौलमा हुन्छन्। वषौर्देखि पढाइ छाडेर आन्दोलनका अभियन्ता बनेका दाजुहरूको जीवनशैलीले पाठ पढाउँछ नै, त्यहीमाथि भोलि म के गर्नेछु राजनीतिमा म कहिलेसम्म यो प्रश्नसमेत आँखावरिपरि घुमिरहन्छ। न त राजनीतिमा लागेर पछिल्लो समय विद्यार्थीले क्षमताको विकास गर्न सकेका छन्, न त उत्कृष्टताको सर्टिफिकेट। तसर्थ आफै के गर्ने भविष्यको ठेगान गर्न नसकेका मान्छेले सहपाठीलाई सही मार्गनिर्देश गर्न सक्छन् भन्ने सोचाइ नै गलत सावित भएको छ। आन्दोलनको मोर्चामा देखिने टाठाबाठाहरू आफ्नै भविष्य सुनिश्चित गर्ने दौरानमा देखिन्छन्, उनीहरूबाट विद्यार्थी आन्दोलनका लागि उल्लेख्य योगदान रहने कुरै भएन। सोझासाझाहरू कार्यक्रममा पुगेर परर ताली बजाउने कामलाई नै ठूलो उपलब्धि सम्झन्छन्।
आन्दोलनको मोर्चामा केही गर्छुभनेर लागेका क्षमतावान् शैक्षिक र योग्य नेतृत्वसमेत वर्तमानमा स्थापित हुन सकेको छैन। विद्यार्थी राजनीतिमा इमान्दार, सक्रिय र जुझारु योद्धाको खडेरी नै पर्न थालेको छ।
मागेर कहिलेसम्म चल्छ ?
नेपालमा व्यवसायी, उद्योगपतिहरू चन्दा दिँदादिँदै आजित भइसकेका छन्। धेरै झोले समूह समयान्तर मिलाएर चन्दा सङ्कलनमा तल्लीन छन्। त्यीमध्ये नियमित चन्दा सङ्कलनको सक्रिय समूह विद्यार्थी संगठनहरू हुन्। सम्झाएर, बुझाएर नदिए थर्काएर चन्दा सङ्कलन गर्न विद्यार्थी नेताहरू खप्पिस छन्। विद्यार्थी केन्द्रित कार्यक्रम केही नभए पनि नियमित समयान्तरमा आर्थिक सहयोग सङ्कलन गर्ने प्रचलन हामीकहाँ दावी हुँदै छ। विद्यार्थी रजनीतिसँगै विद्यार्थी नेताहरू एउटा प्रोफेसनमा जोडिन नसक्नु र राजनीति नै बिजनेस ठान्नु आन्दोलन सुस्ताउनुको मुख्य जिम्मेवार कारण हो। त्यस्तै विद्यार्थी नेताहरू आर्थिक रुपमा पारदर्शी बन्न नसक्नुले उज्ज्वल भविष्यको सङ्केत गर्न सक्दैन। अब विद्यार्थी संगठनहरूले सोच्नै पर्ने बेला आएको छ, मागेर कति दिन चल्छ ?
तसर्थ योजनाबद्ध ढङ्गबाट संगठन सञ्चालनका लागि आर्थिक योजना निर्माण र कार्यान्वयनमा लाग्नु श्रेयस्कर देखिन्छ। संगठन अथोर्पार्जन गर्ने खालका काममा लाग्ने साथै फुल टाइमर र पार्टटाइमर कार्यकर्ता गरी विभाजन गरी फुल टाइमरलाई निश्चित खर्च संगठनले दिएरै सांगठनिक काममा लगाउँदा मागेर चल्ने, चलाउने भाइरल विस्तारै कम हुनेछ। यसबाट आम कार्यकर्तामा समेत काम गर्ने वातावरण सिर्जना हुन्छ।
विद्यार्थी संगठनले आफ्ना नेता-कार्यकर्तालाई आर्थिक रुपमा पारदर्शी बनाउन ठोस कदम चाल्न सकेमा यो कदम विद्यार्थी आन्दोलन पुनः उदाउनका लागि कोसेढुङ्गा बन्नेछ।
नेपालका सानादेखि ठूला राजनीतिक पार्टीका देखिने जुगाको लडाइँ भातृ संगठनमा समेत देखिन्छ। व्यक्ति जतिसकै क्षमतावान होस् केही अर्थ राख्दैन, उसले समाएको जुँगा कतिको बलियो छ भन्ने भरमा नेता बनेका विद्यार्थी नेताहरू विद्यार्थीको काममा भन्दा पनि जुँगा बलियो बनाउन ब्यस्त देखिन्छन्। आफ्नो गुट, उपगुट बलियो भए जे पनि गर्न सकिने भरोसाको भर्याङ चढिरहेका छन् विद्यार्थी नेताहरू। आधार भूमी विनाको भर्याङको यात्रा कहिलेसम्म – चिन्तन र छलफल सुरु गर्नु जरुरी छ। गुटको कार्यकता बन्दा नेता भइने प्रचलन मौलाउनु विद्यार्थी आन्दोलन पतनको बाटोमा जानुको अको कारण हो। गुटको भागबण्डाको आधारमा कमजोर नेतृत्व स्थापित हुने र गुटकै कार्यकर्ता बनाउन केन्द्रित रहने वर्तमान विद्यार्थी नेतृत्वले नेता धेरै जन्माए पनि क्षमतावान, इमान्दार कार्यकर्ता उत्पादन गर्न चुकेको छ। क्षणिक देखाउने गुटको कमालले कालान्तरसम्मको राजनीति र परिवर्तनको लक्ष्य जोगाउन सक्छ/सक्दैन बेलैमा सोच्ने पो हो कि ?
सर्भिसिङ बिना मोटरसाइकल कुदाउँदा एक दिन इन्जिन सिज हुने पक्का छ। विद्यार्थी संगठनहरूले समेत नियमित बैठक, अधिवेशन, भेला सञ्चालन गर्न नसक्नुले आन्दोलन कमजोर बनाएको छ। विद्यार्थी संगठनको सर्भिसिङ मानिने बैठक नियमित गर्न सकेमा आफैभित्र वैचारिक बहस हुनुका साथै नीति केन्द्रित कार्यक्रम एवम् कार्यान्वयनमा सहज हुने थियो। यसले संगठन एकल नेतृत्वबाट सामूहिकतामा जान्छ र आन्दोलन क्रियाशील बनिरहन्छ। विद्यार्थी संगठनमा नियमित सर्भिसिङ हुन छाडेकाले संगठनको नीति एकातिर कार्यक्रम, अर्कातिर भएको कुरा नजरअन्दाज गर्न सकिँदैन। आजका विद्यार्थी आफनो नेता राजा र आफू रैती जस्तै रहेर काम गर्न रुचाउँदैनन्। तसर्थ विद्यार्थी आफ्नै सहभागितामा परिवर्तन आत्मसात गर्न चाहन्छन्। यसका लागि नियमित भेला, बैठक, सम्मेलन प्रभावकारी देखिन्छन्।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१