कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

वर्तमान बोल्दै ‘स्वर्ग र देवता’

Avatar असफल गौतम
जेठ ९, २०७७

समाजमा रहेका मानवरूपी सन्तानले ती आमाले आफ्ना दुई स्तनलाई एकैसाथ दुई सन्तानलाई चुसाएर बचाउँदा पनि उनीहरूले आमाको ममता, मातृत्वलाई नचिनेको नबुझेको देख्दा चिन्ता पर्छ । हृदयमा दाह लाग्छ, ज्वालामुखीको सुस्केरा छुट्छ । त्यो मात्र होइन ती पुत्रापुत्री आफ्नै लागि लुछाचुडी गर्दछन् । बालुवाको घर बनाएर मन्दिर, मस्जिद, गिर्जा भन्दै झगडा गर्दछन् । स्वजाति स्वधर्म नभनेर झगडा गर्दछन् ।

सन्दर्भ
स्वर्ग र देवता हरेक मान्छेका प्रिय वस्तु हुन् । किनकि हरेकले जिउँदो छँदा आफू र आफन्तलाई देवता बनाउँछन् । मरेपछि स्वर्ग जान चाहन्छन् । यो भौतिकवादी समाजका मानवरूपी जन्तुको सुन्दर सपना हो । पंक्तिकारलाई भने हिजो २००४ सालको बालकृष्ण समको चर्चित कविता स्वर्ग र देवताको स्मरण आइरहेको छ । वर्तमान परिवेश त्यहीँ स्वर्ग र देवताको पेरिफेरिमा छ । सिङ्गो विश्व समुदाय जैविक आणविक हतियारको मारले त्राहीमाम छ । यस्तो विषम अवस्थामा देवताहरूले स्वर्गको व्याख्या गरिरहेका छन् । आफ्ना सन्तानलाई त्यही देवत्वको गुणगान गाउन र सपनामा रमाउन आह्वान गरिरहेका छन् ।

विषयप्रवेश
कतै पढेको थिएँ, काठमाडौंको ज्ञानेश्वरमा जनरल डम्बरशमशेर जङ्गबहादुर राणाको अग्ला पर्खालले घेरिएको पाँचतले सेतो घर थियो । जहाँ ‘नागलीला’ प्रदर्शनका लागि भव्य नाट्यशाला सुसज्जित थियो । घर वरिपरि बगैँचा, पोखरी, धाराका फोहरा र त्यसको रक्षाका लागि ४० बगैँचे थिए । चित्रकार, सिकर्मी, सूचीकार, डोले, बैठके, कारिन्दा, डिठ्ठा, खरदार, धोबी, भान्छेलगायत ६० जना । आठपहरिया ३० मात्र होइन सुसारे, धाई र बाहुनी गरी एकसय जना थिए । छ बग्गी, २० घोडा, ५० गाई र एक सय परेवा उक्त घरमा थिए । सोही घरमा डम्बरका नातिका रूपमा पिता जनरल समरशमशेर र माता कीर्तिराज्यलक्ष्मीका कोखबाट १९५९ माघ २४ गतेका दिन बालकृष्ण शमशेर जङ्बहादुर राणाको जन्म भएको थियो ।
बालकृष्णको औपचारिक शिक्षा महाकवि लक्ष्मीप्रसाद देवकोटाका पिता तीलमाधव देवकोटाबाट १९६३ श्रीपञ्चमीका दिन पाँच वर्ष लाग्दैमा अक्षरारम्भ गराएर सुरु भएको थियो । हुने बिरुवाको चिल्लो पात जस्तै उनले १९८७ सालमा आठ वर्षको उमेरमै पुराणमा झिंगालाई विष्णुले सृष्टी गरेको भन्ने सुनेपछि यी पंक्ति कोरेका थिए:
‘माषा मुठीको सबलाइ हेरी
राज् हुन्छ नारायण विष्णु मेरी’
पण्डितले सिकाए अनुसार जुन समय बालकृष्णले ‘ख’ लाई ‘ष’ भनेर उच्चारण गर्थे । पछि १९७० सालमा ११ वर्षको उमेरमा चतुर्थ श्रेणीमा दरबार स्कुलमा भर्ना भएपछि उनको भाषामा देखिएको ष र ख बीचको अन्यौल हटेको पाइन्छ । सबैभन्दा स्मरणीय कुरा के भने १२ वर्षकै उमेरमा वर्डस्वर्थको ‘लुसिग्रे’ कविता अनुवाद गरेबाट उनको विराट र विलक्षण प्रतिभा प्रष्ट हुन्छ । १५–१६ वर्षको उमेरमा आठ कक्षामा पुगेपछि स्कुलका हेडमास्टर शारदाबाबुले शेक्सपियरका ब्ल्याङ्कभर्समा रचित नाटक पढाउन थालेसँगै प्रेरित भएर बालकृष्णले अनुप्रासरहित अनुष्टुप् छन्दमा फुटकर रचना, त्यही शैलीका नाटक र महाकाव्य लेख्दै आएको पाइन्छ । १९७६ सालमै बालकृष्णले १७ वर्षको उमेरमा ‘प्रभातस्मरण’ खण्डकाव्य, १९७७ सालमा ‘आर्यघाट’ महाकाव्य र ‘मिलीनद’ नाटक लेख्न शुरु गरेका थिए ।
बालकृष्ण १९७८ वैशाखमा नक्साल भगवतीका कर्णेल चन्द्रजंगकी छोरी मन्दाकिनीदेवीसँग दाम्पत्य जीवनमा बाँधिएका थिए । कलकत्ताबाट प्रथम श्रेणीमा म्याट्रिक पास गरेका उनले विवाहपछि पनि त्रिचन्द्र कलेजमा आई. एस्सी. पढ्दै आएका थिए । सोही क्रममा विज्ञानको पढाइले उनलाई भौतिकवादी दर्शनतर्फ आकर्षित गरेको देखिन्छ । अधुरा पाण्डुलिपि हुँदाहुँदै उनले १९७९ सालमा ‘तानसेनको झरी’ नाटक पूरा गरे । जुन उनको पहिलो नाटक थियो । १९८० वैशाख २६ गतेका दिन उनी पहिलो सन्तान अरुणकुमारीदेवीका पिता पनि बने । यसरी एकैसाथ दुवै सन्तानका पिता बनेका थिए । विधिको विडम्बना १९८१ सालमा आइएस्सीको अन्तिम परीक्षाको तयारीमा रहेका बालृकष्णलाई उनको लेखनी नै दुष्मन बनेर निस्क्यो । यसले सबै कुरा लेखेर पोल खोल्ने भयो भन्ने लागेपछि श्री ३ चन्द्रशमशेरले उनलाई देहरादूनमा तोपको काम सिक्न पठाएर पाँच महिनापछि १९८१ सालमा बर्दबहादुर गणको कप्तानीमा भर्ना गरिदिए । जसका कारण बालकृष्णको विश्वविद्यालयको औपचारिक शिक्षाको दैलो बन्द हुन पुग्यो ।
उनको लेखनलाई हतोत्साही बनाउन अनेक प्रयास भए पनि उनले लेख्न छोडेनन् । १९८४ सालबाट निकै परिश्रमका साथ अनुष्टुप् छन्दमा ‘मुटुको व्यथा’ नाटक लेख्न लागेका बालकृष्णले १९८५ सालमा पूरा गरे । जुन समय लेख्ने बित्तिकै अहिलेजस्तो प्रकाशन गर्न पाइँदैनथ्यो । फलस्वरूप गोरखा भाषा प्रकाशिनी समितिलाई छाप्ने स्वीकृतिका लागि बुझाए । समितिका अध्यक्ष राममणि आ.दी.ले भनेका थिए ‘मलाई यो नदेखुञ्जेल म पनि लेख्दछु भन्ने लागेको थियो, तर यो देखेपछि मेरो अभिमान गयो ।’ जसलाई बालकृष्णले आफ्नै खर्चमा १९८६ मा छपाएका थिए ।
बालकृष्ण लेखनमै थिए । १९८६ मार्ग ३० मा श्री ३ चन्द्र शमशेरको देहावसानपछि बालकृष्णलाई लेखक भएकाले १९८७ जेठ २७ गतेबाट त्रिचन्द्र कलेज र ३१ गतेदेखि दरबार स्कुलमा पढाउने जिम्मा दिइयो । यसरी अगाडि बढ्दै आएका बालृकष्ण तत्कालीन गोरखा भाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समिति बनाएर त्यसको हाकिम सुपरिटेन्डेन्ट पदलाई शहीद शुक्रराज शास्त्रीको सल्लाहमा परिवर्तन गरेर अध्यक्ष बनाएका थिए ।
राणा खलकमा जन्मैकै कारणले बालकृष्णलाई अनेक अवसर र अप्ठ्यारा आइलागेका थिए । उनलाई लेखनमा मात्र समस्या आइलागेका थिएनन् । त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने समयमा पनि विभिन्न समस्या र अप्रिय घटना आइलागे । तत्कालीन बीए (स्नातक)का छात्र चक्रपाणि चालिसेका एकमात्र छोरा लक्ष्मीनन्दन चालिसेको उत्तरपुस्तिकामा ‘नपुंशक राणा’ भन्ने वाक्यांश रहेको भेटेपछि उक्त पुस्तिका प्राध्यापक गोकुलचन्द्रले बालकृष्णलाई नै जाँच्न दिएका थिए । सो कुरा श्री ३ जुद्ध शमशेर कहाँ पुगेपछि जेल परेका लक्ष्मीनन्दन जेलमा थाङने ज्वरोबाट बाँच्न नसक्ने बेला छुटेर घरमै मृत्यु भयो । जसबाट बालकृष्ण पीडित थिए । किनकि तत्कालीन राणातन्त्रको निरंकुश शासन व्यवस्थाबाट पीडित बालकृष्णमा समयको कालक्रम अनुसार आएको चेतनाको वृद्धिसँगै २००७ सालमा नेपालमा सशस्त्र जनक्रान्ति थालिँदा भारत स्वतन्त्र भइसकेको थियो । सोही बखत राणाहरूले गडबडी गरेपछि उनी जागीरबाट राजीनामा दिएर जनक्रान्तिमा लागेका बेला उनका बाबुछोरा नै पक्राउ परे । उनीसँगै पक्राउ परेका न्हुछेमानको जेलमा कुटाइकै कारणले मृत्यु भयो । जेलबाट छुटेपछि पहिला न्हुछेमानको घरमा गएर उनै शहीदको सम्झनामा क्रान्तिपछि सबैलाई समान ठानेर ‘शमशेर जङ्बहादुर राणा’ हटाई ‘सम’ मात्र लेखे । यसरी उनी बालकृष्ण शमशेरबाट २००७ सालको परिवर्तनपछि नेपाली वाङ्मयका क्षेत्र उनी बालकृष्ण समका नामले परिचित छन् ।
साहित्यलाई बौद्धिकताको छाप दिने बालकृष्णले खण्डकाव्य, महाकाव्य, कविता, नाटक, एकाङ्की, प्रबन्ध, कथा, निबन्ध, आत्मसंस्मरण लेखे तापनि उनी नाट्यसम्राट बनेर सबैका मन मन्दिरमा छन् । जिन्दगीमा कलम र बन्दुक दुवै समाउने सौभाग्यशाली सम कहिले सैनिक क्याप्टेन, लेफ्टिनेन्ट कर्णेल र मेजर भए । कहिले नेपाली जाँचपास अड्डाका प्रमुख । जीवनयात्रालाई अगाडि बढाउने क्रममा सम कहिले रेडियो नेपालका निर्देशक, कहिले गोरखापत्रका सम्पादक भए । कहिले रोयल नेपाल एकेडेमीको सदस्य, कहिले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको उपकुलपति, आजीवन सदस्य पनि भए । यस्तै राजसभा स्थायी समिति सदस्यसमेत भएर उनले राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली, भाषा, संस्कार र संस्कृतिको रक्षा गर्दै आए ।
कविताबाट साहित्य लेखन यात्रा थालनी गरेका समको प्रथम प्रकाशित नाटक कृति भने ‘मुटुको व्यथा’ (१९८६) हो । यसरी सुरु भएको उनको नाट्ययात्रा २०३५ सालसम्म चलिरह्यो । यसक्रममा उनले डेढ दर्जन बढी नाटक प्रकाशन गरे । यसका साथै एक–एक खण्डकाव्य, महाकाव्य र कविता, १६ नाटक, छ एकाङ्की र तीन प्रबन्ध कृति प्रकाशन भए । जसमा ‘आगो र पानी’ (खण्डकाव्य २०११), ‘चिसोचूल्हो’ (महाकाव्य, २०१५), ‘बालकृष्ण समका कविता’ (२०३०) कृति रहेका छन् । नाटकतर्फ ‘मुटुको व्यथा’ (१९८६), ‘प्रह्लाद’ (१९९५), ‘धु्रव’ (१९८६), ‘अन्धवेग’ (१९९६), ‘मुकुन्द–इन्दिरा’ (१९९४), ‘भक्त भानुभक्त’ (२०००), ‘म’ (२००२), ‘प्रेमपिण्ड’ (२००९), ‘अमरसिंह’ (२०१०), ‘भीमसेनको अन्त्य’ (२०१२), ‘तलमाथि’ (२०२३), ‘तानसेनको झरी’ (२०२६), ‘अमितवासना’ (२०२७), ‘स्वास्नीमान्छे’ (२०३३), ‘मोतीराम’ (२०३३), ‘ऊ मरेकी छैन’ (२०३५) छन् ।
समका नाटकमध्ये मुटुको व्यथा, मुकुन्द–इन्दिरा, म सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य ऐतिहासिक । त्यस्तै, धु्रव, प्रह्लाद पौराणिक र स्वास्नीमान्छे स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो । अन्त्यका हिसाबले हेर्दा धु्रव, प्रह्लाद, मुकुन्द–इन्दिरा संयोगान्त र मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड दुःखान्त रहेका छन् । यस्तै एकाङ्कीतर्फ ‘बोक्सी’ (१९९९) ‘भतेर’ (२०१०), ‘तपोभूमि’ (२०१४), ‘चार एकाङ्की’ (२०२०), ‘माटोको ममता’ (२०२६), ‘बिरामी र कुरुवा’ (२०२७), नालापानीमा र रणदुल्लभ रहेका छन् । यस्तै प्रबन्धतर्फ ‘नियमित आकस्मिता’ (२००५), ‘मेरो कविताको आराधन उपासना–१’ (२०२३) र २, (२०२९) रहेका छन् ।
भारत, पाकिस्तान, चीन, जापान, बर्मा, जर्मन, फ्रान्स, इटाली, बेलायत, रुस र अमेरिका जस्ता देशको भ्रमण गरेका समले भ्रमणका क्रममा पाएका शिक्षाबाट पनि उनको लेखनमा टेवा पुगेको थियो । यसरी नेपाली वाङ्मयको क्षेत्रमा पु¥याएको योगदानको कदर अनुरूप उनलाई गोरखा दक्षिणबाहु तेस्रो (१९९९) गोरखा दक्षिणबाहु दोस्रो (२००९), गोरखा दक्षिणबाहु प्रथम (२०२८), रत्नश्री स्वर्णपदक (२०२३), साझा पुरस्कार (२०२८), त्रिभुवन पुरस्कार (२०२९), पृथ्वी प्रज्ञापुरस्कार (२०३५), दीर्घसेवा पदक, भूकम्प पदक, त्रिभुवन जयन्ती पदक, एकेडेमी पदक जस्ता सम्मान पुरस्कार प्राप्त भए । साथै उनको नाममा ‘बालकृष्ण सम फाउन्डेसन’ स्थापना भएको छ भने नई प्रकाशनले त्रिमूर्ति निकेतनको स्थापना गरेर विभिन्न अनुष्ठान गर्दै आइरहेको छ । काठमाडौंमा मात्रै सामान्य उनको साहित्यिक योगदानको चर्चा हुने गरेकोमा पछिल्लो समय २०७६ सालमा पोखरामा जरोटुप्पो संरक्षण समितिले नेपाली नाटकका जरो समको नाट्यकारिताबारे चर्चा गरेको थियो ।
वाङ्मयका विविध विधामा कलम चलाएर नेपाली शेक्सपियरका रूपमा परिचित समको प्रस्तुत आलेखमा भने कवित्वको चर्चा प्रयास गरिएको छ । किनकि उनले पहिलोपटक कविताबाटै आफ्नो साधना थालेका थिए । २००४ सालमा पहिलो पटक शारदा पत्रिकामा प्रकाशन भएको उनको ‘स्वर्ग र देवता’ मानवतावादी कविता हो । जुन कवितामा कविले प्रकृतिलाई मानवीकरण गरेर तत्कालीन विश्व परिवेशलाई देखाएका छन् । जहाँ आमारूपी पृथ्वीले बाबुरूपी सूर्यसँग पृथ्वीवासी दुष्ट मानिस अर्थात आफ्ना छोराछोरीको व्यहोरा देखेर दिक्क परेर वार्तालाप गरेको सन्दर्भ देखाइएको छ । सो क्रममा दिनप्रतिदिन मौलाउँदै गइरहेको हत्या, हिंसा, अन्याय, अत्याचार, अराजकताका सन्दर्भलाई कविले १० अनुच्छेद र एक सय ५५ पङ्क्तिमा संरचित कविताका माध्यमबाट देखाएका छन् । उनका कविताका पंक्ति एक शब्ददेखि नौं शब्दसम्मका रहेका छन् ।

देशका देवता मानिएकाहरूले जनतालाई भकुण्डो बनाएर फुटबल खेलिरहेका छन् । आफ्नै मोजमस्तीमा रमाइरहेका छन् । उनीहरूकै स्वर्गको सपनामा रमाइरहेका छन् । जनता प्यासमा पानी, भोकमा भोजन नपाएर तड्पदै मरिरहेका छन् ।

समको प्रस्तुत कविता आम नेपालीले पढ्दै गर्दा हरेक सचेत नेपाली नागरिकलाई लाग्छ, देशमा २००७ सालको परिर्वतन आउनुभन्दा अगाडि समले लेखेको कविता आज सातदशक पार गर्दा पनि उत्तिकै बेजोड छ । वर्तमान परिवेश सुहाउँदो छ । यसबाट के आँकलन गर्न सकिन्छ भने, विश्व समुदायका सन्तानरूपी मानव हिजोदेखि नै असहिष्णु भएकोमा कविको चिन्ता कवितामा आएको छ । उनीहरू दूध पिउन छाडेर रगत चुस्नमा दाँत गाडिरहेका छन् । यसैले कवि भन्छन् :
करौडौं मुहानबाट दुग्धामृतको फोहोरा म चलाइरहेछु
दूध पिउन छोडी ती सहोदरको
रगत चुस्न घोक्रोमा दाँत गाड्छन् !
समाजमा रहेका मानवरूपी सन्तानले ती आमाले आफ्ना दुई स्तनलाई एकैसाथ दुई सन्तानलाई चुसाएर बचाउँदा पनि उनीहरूले आमाको ममता, मातृत्वलाई नचिनेको नबुझेको देख्दा चिन्ता पर्छ । हृदयमा दाह लाग्छ, ज्वालामुखीको सुस्केरा छुट्छ । त्यो मात्र होइन ती पुत्रापुत्री आफ्नै लागि लुछाचुडी गर्दछन् । बालुवाको घर बनाएर मन्दिर, मस्जिद, गिर्जा भन्दै झगडा गर्दछन् । स्वजाति स्वधर्म नभनेर झगडा गर्दछन् । यसैले स्वर्गरूपी विश्व समुदायमा शान्ति, सहकार्य, एकता र मेलमिलाप भन्ने कुरा नभएको देख्दा चिन्ता परेको छ । मान्छेले आफ्नो कर्तव्य र दायित्व बिर्सेर मारकाटमा लाग्ने, हत्या, हिंसा, आतङ्कमा रमाउन लागेकाले लेख्छन् :
लुछाचुँडी खोसाखोस गर्छन्, अनि बाँझ्छन् जुध्छन्
हात हालाहाल गर्छन्, अनि चाचाको निम्ति
यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको
भोको पेटमा पटुकी कसेर आफूले दशधारा दूध चुसाएका छोराछोरी आज आमाकै छातीमा रगतको होली खेल्ने आँगो सल्काइरहेका छन् । तर आमाले ती आफ्नै सन्तानलाई सम्झाउन सकेकी छैनन् । लागेको आगो निभाउन सकेकी छैनन्, आफ्ना छोराछोरी आफै लैजानुहोस् भनेर चित्कार गरेको भाव कवितामा अभिव्यक्त गरेका छन् । संवादात्मक शैलीमा रहेको कवितामा सूर्यले उक्त चित्कार सुनेपछि प्रिया नरोऊ धैर्य गर, बालक यस्तै हुन्छन् तापनि तिनीहरू हामी नमर्दै हुर्कलान् । तिमी बुढी भएकी छौ । धेरै चिन्ता नगर पृथ्वी तिमी चाउरी परेकी छौं, छ्याकटी छौं भनेर सम्झाउँदै भन्छन् :
जब कोटिसूर्यसमप्रभ अर्कै सूर उल्लाई वर मिल्ला
त्यहाँ हाम्रा पनाति देवताहरू जन्मलान्
उनको आयु इलेक्ट्रनकै जति अथवा इच्छा मरण होला
त्यो बेला ती सच्चिदानन्द भै सुखसमाधिमा डुब्नेछन् ।
सम पृथ्वीलाई सम्झाउने क्रममा सन्तान निरन्तर विकसित हुँदै छन् । उनीहरूले कोटि जगत्का ब्रह्माण्ड कोरल्ने छन् । बुढेसकालमा हामीलाई सन्तोष दिनेछन् धन्दा नमान प्रिय भनेर सम्झाएका मात्र छैनन् । पूर्वीय एवम् पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहासको गम्भीर विवेचना गर्ने सामथ्र्य थियो । जसका कारण उनले प्रस्तुत कवितामा १७ पंक्ति संस्कृतका सुक्तिलाई समाहित गराएका छन् । जहाँ उनी भन्छन् :
पश्येम शरदः शतम् !
जीवेम शरदः शतम् !
बुध्येम शरदः शतम् !
रोहम शरदः शतम् !
यसरी संस्कृत साहित्यका सुक्तिलाई कवितामा उनेर उनले यी पंक्तिका अन्तिममा भनेका छन् :
सर्वे सन्ति सुखिन :
सर्वे सन्ति निरामयाः !
हिजो कृष्ण, राम, अशोक जस्ता तेजिला, बुद्ध, गान्धी, इसा जस्ता साधु, सेक्सपियर, माक्र्स, आइन्स्टाइ जस्ता प्रतिभाशाली, फ्राई नाइटिङ्गेल, हरिततारा जस्ता छोरी पाएकाले सुख, शान्ति थियो । यी थोरै भए पनि भोलि यिनैले तिम्रो नाम संसारमा चम्काउने छन् । चित्त बुझाऊ, आँसु पचाऊ सहूँ भनेर गालाको आँसु पुछिदिन लागेका बेला हिमालजस्ता दाँत देखाई पृथ्वी हाँसेसँगै कविताको समापन भएको छ । कविताले भन्न खोजेको मुख्य भाव भनेको आज पृथ्वीमाता यस्ता पृथ्वीका भार भएर बाँचेका सन्तानप्रति दिक्क भएकी छन् । थोरै आफ्ना असल सन्तानको कर्म सम्झेर दिन बिताउनु परेको भनेर चित्त बुझाउन बाध्य भएको परिवेशलाई देखाइएको छ ।

निष्कर्ष
सिर्जनाका विषयवस्तु चाहे ऐतिहासिक, पौराणिक वा सामाजिक जे सुकै हुन् त्यसको मुख्य उद्देश्य आदर्शवान् पात्र वा चरित्रका माध्यमबाट अनैतिकता, विध्वंस, अराजकता, अव्यवहारिकता माथि बोल्नु नै हो । चाहे नाटक, एकाङ्की, कथा जुन सुकै विधाको लेखन होस् । नाट्यसम्राटको सोही प्रकृतिको लेखन प्रस्तुत कवितामा पनि पाइन्छ । जहाँ उनले आदर्श बाबुआमालाई रूपक अलङ्गकारका माध्यमबाट देखाउँदै खराब छोराछोरीको यथार्थ चित्रण गरेका छन् । कवितामा सरल, सरस, सहज भाषाशैलीका साथै संस्कृत, तत्सम र आगन्तुक शब्दावलीको प्रयोग पाइन्छ । रूपक र आवश्यकतानुसार उपमा, उत्प्रेक्षा, भविष्य, कारणमाला, प्रतिवस्तुपमा अलङ्कारको प्रयोग पाइन्छ । कविताको मुख्य आसय भनेको भोलिको आसामा बाँच्न विवश आम जनमानस हत्या हिंसाको मार्ग त्यागेर विज्ञान र अध्यात्मका मार्गलाई अवलम्बन गरेर अगाडि बढ्ने हो भने मानवीय सभ्यताको छिटो विकास र प्रगति हुने देखाइएको छ । संख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली वाङ्मयका सर्वोच्च प्रतिभा हुन् । कवितात्मक–गद्यात्मक, संयोगान्त–दुःखान्त, एकाङ्की–पूर्णार्ङ्की, लघुदेखि महानाटक जस्ता कृति वाङ्मयका क्षेत्रमा अर्पण गर्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार मात्र नभएर आधुनिक नेपाली नाटकका प्रारम्भकर्ता हुन् । नेपाली शेक्सपियरका रूपमा परिचित समले आफ्नै आत्मस्वीकृतिमा भनेका छन्, मलाई प्रभाव पार्ने शेक्सपियर एकजना मात्र होइनन्, विदेशका अन्य लेखकका साथै स्वदेशका कालिदास, लक्ष्मीप्रसाद देवकोटा मेरा प्रिय लेखक हुन् । अनि भानुभक्तको भाषा र लेखनाथको शैली चौपट्टै मनपर्छ । वेदबाट पनि धेरै प्रभावित भएको छु । यद्यपि सम वाङ्मयसेवी साधक मात्र थिएनन् । चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तकसमेत थिए । जसको २०३८ साउन ६ गते, पशुपति आर्यघाट काठमाडौंमा निधन भयो । उनको भौतिक शरीर नभए तापनि उनको योगदान हामीमाझ चिरस्मरणीय रहेको छ । वर्तमानमा पनि उनको स्वर्ग र देवता उत्तिकै सार्थक छ । देशका देवता मानिएकाहरूले जनतालाई भकुण्डो बनाएर फुटबल खेलिरहेका छन् । आफ्नै मोजमस्तीमा रमाइरहेका छन् । उनीहरूकै स्वर्गको सपनामा रमाइरहेका छन् । जनता प्यासमा पानी, भोकमा भोजन नपाएर तड्पदै मरिरहेका छन् । यसैले सम नेपाली नाटकका नाट्यसम्राट मात्र थिएनन् उनी त दूरद्रष्टा थिए उपज नाट्यसम्राटले हिजो देखे भोगेको ‘स्वर्ग र देवता’को कथा वर्तमान परिवेशमा जस्ताको जस्तै रहेकाले उनी विराट प्रतिभा थिए । यसैले वर्तमान परिवेशमा धेरैले उनको प्रस्तुत कवितांश सम्झिरहेका छन्:
हाम्रो नाम राखेको सम्झी
चित्त बुझाऊ
आँसु पचाऊ
सहूँ !
सहूँ ! है !

हाम्रो सुझाव