लकडाउन अन्त्य पछिको पर्यटन

kbmashal के.वी. मसाल
जेठ २२, २०७७

आजभोलि धेरै पर्यटन व्यवसायीहरुको चिन्तानै अब लकडाउन अन्त्य पछि के हुन्छ पर्यटन भन्ने मात्र छ । कति लामो समयसम्म यो महामारी जाने हो भन्ने आशंका छ । महामारीले निम्त्याउने समस्या कहिले सम्म हुने हो ? जस्ता आशंकाले सबैलाई असर पारेको छ । विश्वव्यापी रुपमा भाइरस संक्रमण फैलिँदा त्यसको प्रत्यक्ष मारमा पर्यटन व्यवसायी परेका छन् । नेपालमा पर्यटन क्षेत्रमा दुई दशक अगाडि देखिनै विभिन्न समस्या देखिदै आएका छन् । सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दीले पनि पर्यटन व्यवसायीहरुलाई असर पार्‍यो ।

महामारीले समग्र विश्वलाई नै लकडाउनको अवस्थामा ल्याएको छ । लकडाउनले गर्दा पर्यटन क्षेत्र सुनसान छ । वाह्य पर्यटकहरु नेपाल आउन पाएका छैनन् । मानवीय स्वास्थ्यलाई बचाउनका लागि विश्व एकजुट भएर लागेको छ । कोरोना भाइरसको महामारीबाट विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आफ्नो देशमा आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी देशले लकडाउन लगाएका छन् । पर्यटकको आवतजावत नहुँदा यसको असर नेपाल मात्रै होइन विश्वको पर्यटन क्षेत्रमा परेको छ । पर्यटन विभागका अनुसार २६ सय ट्रेकिङ एजेन्सी बन्द छन् । झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड लकडाउनले गर्दा घरभित्रै बस्न बाध्य छन् । पर्यटक पुग्ने विभिन्न जिल्लाका ३ सय २४ वटा होमस्टे बन्द छन् । पर्यटक रमाउने ७३ वटा र्‍याफ्टिङ एजेन्सीले राफ्ट अर्थात डुंगालाई थन्क्याएका छन् । वाह्य मुलुकबाट पर्यटक ल्याउने ७ वटा जेट र आन्तरिक उडानका ५१ वटा जहाज ह्यांगरमा थन्किएका छन् । पर्यटकको उद्धार र चार्टर उडानमा जाने १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयानले पनि काम पाएका छैनन् ।

पर्यटनको व्यवसाय अब पुरानो शैलीले चल्दैन । लकडाउन पछि पर्यटन ब्यवसायमा पनि धेरै कुरा परिवर्तन हुन्छ । विगतमा जस्तो ठूलो समूहमा पर्यटक भ्रमणमा आउने सम्भावना न्युन हुन्छ । अबको पर्यटन सानो समूहलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । पर्यटन व्यवसायीले अब विज्ञापनमा भन्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने सन्देश दिन आवश्यक छ ।

पर्यटन व्यवसायीहरु अहिलेको लकडाउन बाटनै निरास हुन पर्दैन । पर्यटन कुनै घटनाले र महामारीले रोकिदैन । व्यवसायमा केहि असहज हुन्छ, केहि समय बन्दनै होला । तर मानिसहरु घुमफिर गर्ने क्रम भने रोकिदैन । किनकी विकसित मुलुकहरुमा घुमफिरको सस्कृतिनै बसि सकेको छ । अहिले भएको लकडाउनको अन्त्य पछि क्रमश पर्यटकहरु भ्रमणको लागि निस्कन्छन् । नेपालमा आउने धेरै वाह्य पर्यटक भनेको भारत, चीन, श्रीलंका, थाइल्याण्ड, म्यानमार दक्षिण कोरिया, जापान, बंगलादेश र मलेशियाका नागरिक हुन् । पर्यटनको रुपमा नेपाल भित्रिने ती देशका नागरिकहरु मध्य धेरै तीर्थाटनका पर्यटकहरु हुन्छन् । नेपालमा बौद्ध धर्मावलम्बी पर्यटकहरु लुम्वीनी पुग्ने गर्दछन् भने हिन्दुहरु पशुपतिनाथ र मुक्तिनाथ लगायत अन्य धार्मिक स्थल हो । लकडाउनको अन्त्य पछि तीर्थाटनका पर्यटकहरु नेपाल आउने क्रम हिजो भन्दा कम होला तर रोकिन्न ।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रनै अहिले कमजोर भएको छ । आर्थिक कमजोर भएपछि युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड आदि मुलुकमा भ्रमण गर्ने सम्भावना कम रहन्छ । किनकी ती मुलुकका नागरिकहरु बिदा मनाउन वा भ्याकेसनमा भ्रमण गर्दा बढी खर्च गर्ने मुलुकमा पर्दछन् । यसको फाइदा नेपालले लिन सक्दछ । किनभने खर्चको हिसावले पर्यटकहरुलाई नेपालमा भ्रमण गर्न सस्तो मात्र होइन उनिहरुका लागि अन्य देशमा अवलोकन गर्न नपाउने विश्वकै अग्ला हिमालहरु छन् । राष्ट्रिय निकुञ्ज मात्र नभएर पर्यटकहरुलाई आकर्षित गर्ने र्‍याफ्टिङ लगायत जैविक विविधता भएका ताल तलैयाहरु छन् । तर पनि पहिलाको जस्तो पर्यटक आगमन हुनलाई समय लाग्न सक्दछ । कोरोना महामारीले गर्दा वाह्य पर्यटकहरु नेपालमा आउँदै आउँदैनन् भन्ने कुरा चाहि होइन ।

लकडाउनको अन्त्य पछि पर्यटन भित्राउन भने पर्यटनको क्षेत्रमा केहि काम भने तत्काल गर्न आवश्यक छ । अब नेपालमा वाह्य पर्यटकहरु आउदैनन् भन्ने निरासा हुनु भन्दा पनि पर्यटनसंग जोडिएका अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पर्यटन व्यवसायी र विशेषगरी पर्यटन बोर्ड निरन्तर सम्पर्कमा रहनु पर्दछ । पर्यटनको व्यवसाय अब पुरानो शैलीले चल्दैन । लकडाउन पछि पर्यटन ब्यवसायमा पनि धेरै कुरा परिवर्तन हुन्छ । विगतमा जस्तो ठूलो समूहमा पर्यटक भ्रमणमा आउने सम्भावना न्युन हुन्छ । अबको पर्यटन सानो समूहलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । पर्यटन व्यवसायीले अब विज्ञापनमा भन्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने सन्देश दिन आवश्यक छ । नेपालमा भ्रमणको लागि आउने पर्यटक लकडाउनको अन्त्य पछि लामो अवधि बसाइका लागि नआउन पनि सक्छन् । त्यसका लागि अब पर्यटकहरुलाई पदयात्रामा केन्द्रित हुने प्याकेज बनाउन पर्दछ ।

विकसित देशहरुले वाह्य पर्यटनलाई जति महत्व दिन्छन त्यति नै महत्व आन्तरिक पर्यटनलाई पनि दिने गर्दछन् । नेपालमा आन्तरिक पर्यटकहरुलाई त्यति महत्व दिने गरिदैन । कैला कपाल, कुहिरा आखाँ र अग्रेजी बोल्नेहरु मात्र पर्यटक हुन भन्ने सोच धेरैमा छ । जुन सोचका कारण पर्यटन विकासमा पछाडि परेको अवस्था छ । विकसित देशहरुमा आन्तरिक पर्यटनको पनि पर्याप्त विकास भएको पाइन्छ । आन्तरिक पर्यटन केवल मनोरञ्जनका लागि मात्र नभएर व्यापार, नोकरी स्वास्थ्य उपचार, शिक्षा, तीर्थाटन, खेलकुद आदिको लागि पनि हुने गर्दछ । प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, प्राचीन संस्कृति,जैविक विविधता लगायत आन्तरिक पर्यटकको लागि गन्तव्य हुन सक्छन् । यो बाहेक पर्यटकहरुलाई आकर्षण गर्न फनपार्क र अन्य स्थलहरु निर्माण गर्न सकिन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । यी स्थान भनेको नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्ला भित्रका पर्यटकियस्थल पर्दछन् । यो बाहेक हरेक जिल्ला र स्थानीय तहले आफ्नो ठाउमा पर्यटनको विकास गर्न अरु पर्यटकीयस्थलहरु को पनि पहिचान गरेका छन् । स्थानीय तहले पहिचान गरेका प्रकृतिक, पुरातात्विक, ऐतिहासीक संस्कृतिक र धार्मिकस्थलहरु आन्तरिक पर्यटनको लागि महत्वपूर्ण गन्तब्य हुन् । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने ती नयाँ पहिचान दिएका गन्तब्यमा पर्यटकहरु पुग्न सक्दछन् ।

पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, आन्तरिक पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएको छैन भन्दा पनि हुन्छ । अब लकडाउन अन्त्य भएपछि आन्तरिक पर्यटनको विकासको लागि धेरै कुरामा परिवर्तन हुन पर्ने हुन्छ । गाउँमा पुग्ने आन्तरिक पर्यटकहरुले अबका दिनमा सेवा सुविधा नयाँपन खोज्दछ । त्यो सेवा दिन होटल व्यवसायी अथवा होमस्टे सन्चालकहरुले आफुलाई परिवर्तन गर्न सक्नु पर्दछ । सामान्यतया व्यवसायीहरुले पर्यटकहरुलाई अब मास्क, पन्जा, स्यानिटाइजर उपलब्ध गराउनु पर्दछ । होटेल वा होमस्टे सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक छ ।

नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।

सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए पछि नेपालमा वाह्य पर्यटकहरु भित्रिने क्रम सुरु भएको हो । वाह्य पर्यटकहरु नेपालमा भ्रमण गर्ने स्थलहरु पदमार्ग, हिमाल आरोहण, निकुञ्जको अवलोकन, र्‍याफ्टिङ जस्ता क्षेत्र हुन् । तर आन्तरिक पर्यटकहरु भ्रमण गर्ने गन्तब्य नेपालमा अनगिन्ती स्थलहरु रहेका छन् । पर्यटनको क्षेत्रमा आन्तरिक पर्यटनको सुरुवात सन् १९५० को दशकपछि भएको हो । नेपालमा भने आन्तरिक पर्यटनको अवधारणाको विकास भएको धेरै भएको छैन । नेपालमा वाह्य पर्यटनले मात्र महत्व पाएको हुनाले आन्तरिक पर्यटनको विकास हुन सकेन । वाह्य पर्यटन काठमाडौ, पोखरा, मनाङ, मुस्ताङ र सोलुखुम्वु जस्ता स्थानमा केन्द्रित हुन पुग्यो । जुन कारणले धेरै जिल्लामा रहेका पर्यटकीयस्थलहरु ओझेलमा रहे ।

अब लकडाउनको अन्त्यपछि आन्तरिक पर्यटक घुमफिरको लागि निस्कने छन् । अहिले नेपालीहरु बिदाको समयमा घुमफिरको सँस्कृति बसेको छ । अब घुमफिरमा निस्कने आन्तरिक पर्यटकहरलाई पर्यटन व्यवसायीहरुले मैत्रीपूर्ण ब्यवहार गर्नु पर्दछ । वाह्य पर्यटकहरुलाई मात्र पर्यटक मान्ने गरेको मान्यतालाई परिवर्तन गरि सबै आन्तरिक पर्यटकहरुलाई सम्मान जनक पर्यटकको ब्यवहार गर्नु पर्दछ । नेपालीमा बढदै गएको घुमफिर संस्कृति र खर्च गर्न सक्ने क्षमताका कारण आन्तरिक पर्यटकलाई घुमफिर गर्दा खर्च गर्ने माध्यम हुनु पर्दछ । आन्तरिक पर्यटकहरु गाउँमा घुमफिर गर्दैमा दिगो आर्थिक विकास भने हुने होइन । दिगो आर्थिक विकास र आन्तरिक पर्यटनको विकास गर्न बस्तुको उत्पादन बढाउनु पर्दछ । अहिले नेपालमा आन्तरिक पर्यटनबाट केवल अवलोकन मात्र भएको छ । आन्तरिक पर्यटक हुनको लागि उनिहरुको घुमफिरमा खर्च गर्ने बानीको विकास हुनु पर्दछ । आन्तरिक पर्यटकहरु खर्चगर्न तयार छन् तर खर्च गर्ने बस्तु र ठाउँ भेटाएका छैनन् ।

अबको पर्यटन आन्तरिकको क्षेत्रमा नेपालीको पहुँच विस्तार गर्नु पर्दछ । नेपालमा आन्तरिक पर्यटकहरुलाई घुमफिर गर्न जाने स्थलहरु धेरै छन् । पर्यटनको रुचि भनेकै नयाँ ठाउमा घुमफिर गर्नु हो । नेपालमा मात्र समुन्द्र छैन, अरु कुरा नेपालमा सबै छ । हिमाल, पहाड र तराई मिलेको भूमी, हिमाल देखि तराई सम्म रहेका ताल तलैया, विभिन्न तीर्थाटनका धार्मिकस्थल, विभिन्न जनजातीका भाषा र सस्कृति मात्र होइन जैविक बिविधतामा रमाउनेहरुका लागि पनि आन्तरिक पर्यटनको माध्यमबाट धेरै ठाउमा घुमफिर गर्न सकिन्छ । लकडाउनको अन्त्यपछि अब आन्तरिक पर्यटकहरुलाई ट्राभल तथा टुर एजेन्सीहरुले घुमफिरको लागि सहजीकरण गर्न पर्दछ । आन्तरिक पर्यटनले स्थानीय स्तरमा रोजगारीका अनेक अबसरहरु सृजना गर्दछ । धनीहरुको पैसा गरिबहरुसम्म पुर्‍याउन, रोजगारी श्रृजना गर्न एवं राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन आन्तरिक पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ ।

आन्तरिक पर्यटनको विकास गर्न होमस्टेको महत्व हुन्छ । पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवालाई होमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थालेको हो । नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला स्याङजा हो । स्याङजाको सिरुवारी होमस्टेको उद्गम थलोको रुपमा परिचित छ । यसको प्रभावले लमजुङ जिल्लाको घलेगाउँ हुदै होमस्टे अहिले देशव्यापी रुपमा फिँजिएको छ । अहिले बन्द भएका होमस्टे लकडाउन अन्त्य भएपछि पर्यटकहरुको सेवा, सुविधा देखि स्वास्थमा समेत ख्याल राख्दै सन्चालनमा आउनु पर्दछ ।

अर्थशास्त्रमा भनाइ मान्ने हो भने मानिसले जति बढी आर्जन गर्छन ! खर्च गर्ने प्रवृति बढेर जान्छ । यो स्वभाविक पनि हो, पैसा भएपछि मानिसलाई कहा खर्च गरौ भन्ने हुन्छ । पैसाको प्रयोग मानिसले मनोरञ्जन, लुगाफाटो, र अन्य आवस्यक किनमेल, घुमफिर अर्थात पर्यटनमा खर्च गर्छन् । नेपालको सन्दर्भमा यो भनाइ पूर्णतया लागू भएको छैन भन्दा हुन्छ । नेपाल वा दक्षिण एशिया क्षेत्रमा पैसा भनेको जसरी पनि जोगाउनु पर्ने र खर्च गर्न हुदैन भन्ने मान्यता रहेको छ । जुन कारणले यस क्षेत्रमा व्यापारको राम्रो विकास हुन सकेको छैन । तर विकसित देशहरुमा पैसाको जन्म नै खर्च गर्नका लागि भएको भन्ने धारणा छ । जुन कारणले गर्दा ती देशमा व्यापारको पर्याप्त विकास हुन सकेको छ । तर अव नेपालमा पनि हुनेले पैसा खर्च गर्नु पर्छ भन्ने धारणाको विकास हुन थालेको छ । यो धारणाको विकालाई पर्यटन क्षेत्रमा राम्रो मान्नु पर्दछ ।

हाम्रो सुझाव