रूपान्तरणको लागि शिक्षा

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७०

मानवमा अन्तरनिहित चेतनाको कारणले ऊ अन्य प्राणीभन्दा फरक छ। त्यो चेतनाले गर्दा उसले अग्रगामी विकासको परिकल्पना गर्न सक्छ र विश्वमा जति पनि विकास भएको छ त्यो मानवमा निहित त्यही गुणको कारण भएको हो। मानिसको चेतनालाई विकास गर्नेक्रम नै वास्तवमा सिकाइ हो। यसको व्यवस्थित रूप शिक्षा हो। शिक्षा के का लागि भन्ने विषयमा धेरै बहसहरू भएका छन्। यसै बहसमा विद्वानहरूले आफ्ना धेरै समय र दिमाग पनि खर्च गरेका छन्। विभिन्न दर्शनमा शिक्षाको कार्यलाई व्यख्या गरिएको पाइन्छ। आदर्शवादमा शिक्षाको उद्देश्य अध्यात्मिक विकासबाट एक असल नागरिकका निर्माण गर्ने हो। आदर्शवादीहरू भन्छन्-’चेतना भौतिक वस्तु होइन त्यो त अध्यात्मिक हो।’ त्यसैले शिक्षाको कार्य भनेको ज्ञानको मध्यमले आध्यात्मिक मूल्य प्राप्त गर्नु नै हो। पेस्टालोजी र हाबर्ट स्पेन्सर जास्ता विद्वानहरूले सिकाइलाई प्राकृतिक स्वभाव भनि व्याख्या गरेका छन्। प्रकृतिवादको सारमा शिक्षाको मुख्य उद्देश्य आत्म-अभिव्यक्ति र आत्म संरक्षण गर्दै वर्तमानमा सुखपूर्ण जीवनयापनको लागि हो भन्ने व्याख्या गरेको पाइन्छ। यसैगरी यथार्थवादमा शिक्षाको उद्देश्य मानिसलाई वास्तविकताको पहिचान गराउँदै नयाँ मूल्य र मान्यताको खोजी गर्न सक्ने नागरिक सहितको एक असल समाज निर्माण गर्नु रहेको पाइन्छ। जोन डिवे भन्छन्-’ ‘प्रयोजनवाद मानवीय प्रकृतिको दर्शन हो।’ प्रयोजनवादीहरू शिक्षाको पूर्व निर्धारित उद्देश्यहरूमा विश्वास गर्दैनन्। शिक्षा जीवन हो र शिक्षा दर्शनको प्रयोगशाला हो। त्यसैले हरेक मानिसले आफ्नो मूल्य र मान्यता आफै निर्धारण गर्दै वैज्ञानिक दृष्टिकोणले प्रजातान्त्रिक मूल्य प्राप्त गरी असल र निपूर्ण समाजको निर्माण गर्नसक्ने हुनुपर्छ भन्ने मान्यता राख्छन् प्रयोजनवादीहरू।

शिक्षाको उद्देश्य विशेष गरी दुर्इवटा देखिन्छन्। सूचना उपलब्ध गराउनु र त्यही सूचनाको आधारमा समाजमा सकरात्मक रूपान्तरण ल्याउनु। सु-सूचित हुनु र रूपान्तरित हुनु दुर्इ भिन्न विषयहरू हुन्। ज्ञान आर्जन गर्नु सूचना संकलन गर्नु हो भने आर्जित ज्ञानको आधारमा आफूलाई परिवर्तन गर्नु रूपान्तरण हो। सूचना संग्रह गर्नु जति सजिलो छ त्यो सूचनालाई जीवनमा सही रूपान्तरणको लागि प्रयोग गर्नु त्यतिनै गाह्रो छ। रूपान्तरण भनेको एक लामो शैक्षिक क्रिया हो। मानिसले जीवन शैलीमा परिवर्तनको लागि एउटा असहज र अति नै कठिन परिस्थिति पार गर्नुपर्छ। स्टिफन कोभे लेख्छन्मानिसलाई यथास्थितिबाट रूपान्तरण हुनको लागि एउटा अदम्य सहासको जरुरत पर्छ। त्यो शक्ति एक अन्तरिक्ष यानलाई पृथ्वीको गुरुत्त्वाकर्षण क्षेत्र पार गर्न लाग्ने शक्ति जतिकै वा त्यो भन्दा पनि कयौं गुणा बढी सहासको आवश्यकता पर्दछ। आज समाज, परिवार र व्यक्ति विखण्डित छ। समाजका मूल्य र मान्यताहरूको पुस्तासार गर्ने परिवारका ज्येष्ठ सदस्यहरू र नयाँ पुस्ताहरू विखण्डित छन्। जीवनोपार्जनको कारणले गर्दा परिवारको मूल सदस्य र अन्य सदस्य एक साथ बस्ने अवस्था छैन। समयको परिवर्तनसँगै नयाँ मूल्य र मान्यताहरूको उदय भइरहेको छ। यस्तो अवस्थामा शिक्षा मात्र एक यस्तो प्रक्रिया हो जसले व्यक्तिमा सकरात्मक रूपान्तरको लागि अहम भूमिका खेल्न सक्छ। हाम्रो समाजको स्थापित मूल्य र मान्यताहरूलाई नयाँ पुस्ता सम्म सिँचित गर्न पनि सोही अनुसारको शिक्षाको आवश्यकता पर्दछ।

यस्तो अवस्थामा आज हाम्रो सामाज र त्यहाँ भएका सामाजिक गतिविधिको सूक्ष्म परिदृष्य हेर्दा एउटा गहन प्रश्न उठ्छ कतै हाम्रो शिक्षा प्रणाली सूचनामूलक मात्र त भएन – हाम्रा बालबालिकाले अध्ययन गर्ने सम्पूर्ण पाठ्यक्रमले उनीहरूमा रूपान्तरणको भूमिका खेल्न सकेको छ कि छैन – के विद्यमान शिक्षाले कोरा सैद्धान्तिक किताबी ज्ञानमात्र उपलब्ध गराएको त छैन – हाम्रा किताबभरि छरिएका ज्ञान र सूचनाहरू वास्तविक जीवनको कुन समयमा प्रयोग हुन्छन् ? कुनै जमानामा कालो पाटीमा कम्प्युटरको चित्र बनाएर कम्प्युटर विषय अध्यापन गराइन्थ्यो भने आज चार्ट पेपरमा कम्प्युटर र त्यसका पार्टपुर्जाका चित्र बनाएर कम्प्युटर कक्षामा टाँगेर अध्यापन गराउने गरिन्छ। एउटा विद्यार्थीलाई कुनै आयातकार वस्तुको लम्बाई र चौर्डाईको नाप दिएर त्यसको परिमिति निकाल भन्दा तुरुन्तै २(ल.-चौ.) सूत्र प्रयोग गरेर परिमिति पत्ता लगाई हाल्छ तरर्र् इन्च टेप दिएर एउटा टेबलको सतहको परिमिति पत्ता लगाऊ भन्यो भने धेरै कम विद्यार्थीले मात्र त्यो कार्य गर्न सक्ला। हाम्रो समाजका अधिकांश सदस्य आज सुसूचित छन् तर त्यसको व्यवहारिक पक्ष अति नै कमजोर रहेको पाइन्छ। मद्यपान/धुमपान स्वस्थ्यको लागि हानिकार छ। त्यसैले यसको प्रयोग गर्नु हुन्न भन्ने जानकारी प्राप्त गर्नु सुसूचित हुनु हो। यी वस्तुहरू साँच्चै जीवनमा प्रयोग नगर्नु वा प्रयोग गरीरहेको भए उप्रान्त प्रयोग नगर्नु रूपान्तरण हुनु हो। आज हामी समाजमा देख्छौं  धेरै मानिस सु-सूचित छन तर रूपान्तरित छैनन्। एउटा युवकलाई लागु पदार्थ प्रयोग गर्दाको परिणाम के हुन्छ भन्ने थाह छ। ऊ पूर्णरूपमा सचेत पनि छ तर फेरि पनि ऊ त्यो प्रयोगरिरहेको हुन्छ। एउटी युवतीलाई परिनियोजनको साधन त्यसको प्रयोगको विषयमा राम्रो ज्ञान छ तर आवश्यक समयमा उनी त्यो प्रयोग गर्दिनन् परिणाम भयड्ढर पनि हुन सक्छ। हाम्रो समाजमा भइरहेका यी घटनाको कारणका जरा विभिन्न ठाँउमा पुगेका छन् जस मध्ये एक प्रमुख हो शिक्षा।

आजका किताबहरूले हाम्रा बालबालिकालाई कोरा सैद्धान्तिक ज्ञान मात्रै दिलाई रहेको कुरा समाजमा हुने विविध घटना परिघटनाले प्रष्ट पारेको छ। आजको युवा पुस्ता विशेष गरेर दश जोड दुर्इमा अध्ययनरत विद्यार्थीमा परेको असर र उनीहरूको सोँचमा देखिएको परिवर्तनलाई गहिरोसँग अध्ययन गर्ने हो भने भोलिको कुरूप समाजको परिकल्पना गर्न त्यति गाह्रो छैन्। सूचना प्रविधिको विकास जुन रफ्तारमा भयो र भूमण्डलीकरण जुन गतिमा भयो हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र समग्र मानसिक विकास त्यो गतिमा हन सकेन। त्यसको प्रत्यक्ष वा परोक्ष प्रभाव समाजमा देखिन थालि सकेको छ। आधुनिक प्रविधिको दुरूपयोग, जीवन शैलीमा देखा परेको परिवर्तनले हामीमा सूचना भएर पनि त्यसको जीवनोपयोगी प्रयोग भएको पाइदैन। अबको शिक्षाले यसलाई सम्बोधन गर्न सक्नुपर्छ। जीवन जीउन अत्यावश्यक सीपहरू विकास गराउने खालको शिक्षा हुनुपर्छ। शिक्षामा वैदिक आदर्श मान्यता र आधुनिक विज्ञानको फ्युजन हुनु जरूरी छ। आज आधुनिक पाश्चात्य दर्शनमा आधारित शिक्षा केही हद्सम्म असफल भई सकेको छ। विशेष गरेर अस्तित्ववादी चिन्तनले विकास गरेको मूल्य र मान्यताको कारण मानव चेतनामा आएको परिवर्तनले हामीलाई कुन दिशातिर लगिरहेको छ भन्ने प्रश्न उठेको अवस्था विद्यमान छ। मानिसलाई व्यक्तिवादी चिन्तनबाट मुक्त बनाई सामाजिक र राटि्रय धर्मप्रति जागरुक बनाउने शिक्षाको व्यवस्था गर्नुपर्छ। समुदाय, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्न सक्ने शिक्षाको विकास गर्नुपर्छ। अझ हाम्रो सर्न्दर्भमा त राष्ट्रवादी चिन्तन कमजोर भएर गएको छ। भूमण्डलीकरणको नाममा आजका पुस्ताले आफ्नो मातृभूमिको महत्त्वलाई कम आँक्न थालेको पाइन्छ। कालापानी र सुस्तामा देश दुख्दा आम युवाको मुटु दुख्नुपर्ने हो तर आज त्यस्तो भएको छैन। सगरमाथाको उचाई घटाइँदा प्रत्येक नेपालीको गौरव घटेको महसुस गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन।

त्यसैले अबको शिक्षाले मानिसलाई सकरात्मक रूपान्तर तिर डोर्‍याउन सक्ने हुनु आवश्यक छ। शिक्षाले मस्तिष्क, शरीर र हृदयको एक साथ विकास गराउन सक्नुपर्छ। त्यसको लागि हाम्रा शैक्षिक नीति तथा शिक्षाको राष्ट्रिय उद्देश्यमा परिवर्तन साथै पाठ्यक्रममा सुधार गर्नुपर्छ। यसै गरी शिक्षाको व्यपारिकरणमा रोक लगाउनुपर्छ। यस क्रममा  सरकारले ल्याएको ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ लाई सर्वसाधारण जनताद्वारा कालो बादलमा देखिएको चाँदीको घेरा महसुस गरिएको छ। यसलाई लागू गर्नको लागि सकरात्मक सहयोग गर्नु सबै सरोकारवालाको जिम्मेवारी हो। आशा गरौं अबको शिक्षाले माथि उठाइएका समस्याहरूको समाधा गर्न सकोस्।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width