राष्ट्रिय चरित्र नै सर्वोच्च शक्ति हो

प्रेमराज अधिकारी
माघ १०, २०७६

वाणीको संयम, योग्यताको कदर, अग्रजहरुको सम्मान, साधु सन्तहरुको सम्मान, परिश्रमको आर्जन शुद्धभोजन, अपेय पदार्थको परित्यागबाट चरित्रको संरक्षण गर्न सकिन्छ । जवसम्म राष्ट्रिय चरित्रको विकास हुँदैन तबसम्म राष्ट्रको विकास हुँदैन ।

मानिसले आँफु असल नागरिक, कुशल समाजसेवी, सफल नेता–राजनेता हुने आकाँक्षा राख्दछ भने सर्वप्रथम उसले चरित्रको महत्व बुझ्नु पर्दछ र आफ्नो चरित्र निर्माणको प्रयत्न गर्न पर्दछ । भनिएको छ । “सर्वमूलम चरित्रम्” अर्थात सम्पूर्ण शक्तिको मुहान नै चरित्र हो । वेद, पुराण र उपनिषदको अध्ययनबाट चरित्रको निर्माण गर्न सकिन्छ । साधु सन्तहरुको सँगतबाट पनि चरित्रको निर्माण हुन्छ ।
आत्माबोधी महापुरुषहरुले मानव समाजलाई देखाएको मार्ग यही चरित्र मार्ग नै हो । चरित्र मार्ग नै सहि र शक्तिशाली मार्ग हो भनिएको छ । मानव यात्रीको लागि असल चरित्र नै बहुमूल्य धन हो । हृदय र मस्तिष्कको शक्तिद्वारा चरित्रको निर्माण हुन्छ चरित्रलाई मानिसको सर्वस्व मानिएको छ । संसारमा चरित्र भन्दा पवित्र बस्तु अरु केही मानिएको छैन । चरित्रको बासना सुगन्धित र व्यापक हुन्छ, मनमोहक हुन्छ, चरित्र नै आत्माको प्रकाशक हो । आत्मा उत्थानको नाम चरित्र शक्ति हो । आत्मानुशासन चरित्र निर्माणको महत्वपूर्ण शुत्र हो ।
चरित्र निर्माणको लागि प्रेम, सहिष्ण्ुाता, सद्भाव, संयम, दया, करुणा, निर्भिकता, साहस, शान्ति, धैर्य, मित्रता आदि गुणहरुको आवश्यकता पर्दछ । यी गुणहरुको अभावमा कुनै पनि मानिसले आफ्नो चरित्रको निर्माण गर्न सक्दैन । यो ध्रुवसत्य हो । चरित्रबल हिमाल समान अटल हुन्छ । समुद्र समान गम्भीर हुन्छ, पृथ्वी समान सहनशील र क्षमावान हुन्छ ।
आफ्नो चरित्र निर्माण गर्न चाहने मानिसले आफ्नो मस्तिष्कमा समझदारी काँधमा जिम्मेवारी हृदयमा इमान्दारीको भावना राखी व्यवहार गर्नु पर्दछ । क्षितिज पनि फराकिलो बनाउन पर्दछ । साँघुरो क्षितिज पनि फराकिलो बनाउन पर्दछ । साँघुरो क्षितिज भएको मानिसले चरित्र निर्माण गर्न सक्दैन । यथेष्ठ चरित्रको अभावमा शक्तिको अलावा दुर्वलता अधिक हुन्छ । सौभाग्यको तुलनामा दुर्भाग्यको प्रवलता हुन्छ । सुखशान्तिको बदलामा अशान्तिको बोलबाला रहन्छ । मानिस बुद्धि र विवेकहीन हुँदै जान्छ । बुद्धि विवेकहीन मानिस र पशुमा कुनै फरक हुँदैन । त्यो मानिस पशु समानै हुन्छ ।
मानिस र पशुको भिन्नता देखाउने माध्यम भनेको उसको चरित्र र विवेक हो । चरित्र निर्माणमा इच्छा शक्ति ज्ञानशक्ति र क्रियाशक्तिको महत्वपूर्ण भूमिका रहन्छ । यी तीन शक्तिको समन्वयलाई चरित्र भनिन्छ । यी तीन चिजलाई सन्तुलनमा राखेर व्यवहार गर्ने मानिसलाई चरित्रवान पुरुष भनिन्छ । सम्पूर्ण शक्तिको मुहान नै चरित्र हो भनिएको छ । धर्म शास्त्र पुराण, वेद, उपनिषद् र महापुरुषहरुको उपदेश पनि यही छ । असल चरित्र भएका मानिसहरु जीवन पश्चात (मृत्यु) पछि विभूति भैरहेका हुन्छन् ।
चरित्र नै जीवनको सर्वस्व हो । चरित्रवान व्यक्तिले आफ्नो परिश्रमले धन र मान दुवै कमाउँछ । चरित्रहीन व्यक्तिले धन त कमाउलान् तर अवैध लेनदेनको कारणले कमाएको धनबाट उसले आफ्नो मान प्रतिष्ठा मात्र हैन जीवनको सर्वस्व गुमाउँछ । मानवीय मूल्य विनाको धनराशि व्यर्थ हुन्छ । सारा पृथ्वी नै आफ्नो बनाई चक्रवर्ती भएका राजाहरु पनि उनीहरु आफ्नो देहावसान हुँदा न एक टुक्रा जमिन न दुई पैसा धन साथमा लान सके यो कुरा मानिस किन बुझ्दैनन् । मानिसले कमाउने भनेको कीर्ति हो धन हैन । धन भन्ने चिज आजसम्म कसैको हुन सकेको छैन ।
चरित्र निर्माण र विकासमा नैतिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ तर हाम्रोे शिक्षा प्रणालीमा नैतिक शिक्षाको पढाइ छैन । विना नैतिक शिक्षाको जीवन अधुरो हुन्छ । शिक्षा जीवन परक हुनुपर्छ, जीविका परक हैन । अधुरो जीवनबाट चरित्र निर्माण असम्भव हुन्छ । मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, आदि वैदिक वाक्यको अध्ययन मनन र अनुसरणगर्न अति आवश्यक छ । यसबाट सात्विक र आर्दशभाव जागृत हुन्छ । वेद, पुराण, उपनिषद आदि धर्म शास्त्रका अध्ययनबाट चरित्र निर्माण र विकास गर्न सकिन्छ । वैदिक वाक्यहरुबाट सदाचार, स्नेह, पवित्रता निर्भयता, निरभिमान सर्वात्मा भावको अभ्युदय हुन्छ । चरित्र निर्माणमा सहयोग पु¥याउने यिनै गुणहरु हुन् ।
अतः हाम्रो शिक्षा प्रणालीमा चरित्र निर्माण सम्बन्धी पाठ्यपुस्तकको अभाव छ । किन भने वर्तमान शिक्षा प्रणालीमा आधुनिकताको नाममा पश्चिमी प्रभाव परेकोले हाम्रो आदर्श संस्कृतिको छायासम्म छैन । हाम्रा वैदिक शिक्षापद्धतिलाई पाठ्यक्रमा समावेश गर्र्नु नितान्त आवश्यक देखिन्छ । जसबाट भविष्यका कर्णाधार देशका खम्बा वर्तमानका छात्रछात्राहरुको चरित्रनिर्माणमा राम्रो सहयोग सिद्ध हुन सकोस् ।
चरित्र विज्ञान
हरेक मानिसले आफ्नो चरित्र बडो यत्नपूवर्क संरक्षण गुर्न पर्दछ । धन आउँछ, जान्छ फेरि आउँछ फेरि जान्छ तर चरित्र एक पटक गएपछि गयो गयो । फेरि फर्कदैन । असल चरित्र दैवी सम्पत्ति बराबर हो । यसलाई चरित्र विज्ञान अुनसार मानिसको सर्वस्व भनिएको छ । मानिसको चरित्र विकास र संरक्षणमा सतसंगतको ठूलो प्रभाव परेको हुन्छ ।
असल मानिसको संगतले असल र खराब मानिसको संगतले खराब नै हुन्छ । असल मानिसको संगतले चरित्रको निर्माण हुन्छ भने खराव मानिसको संगतले चरित्रको ह्रास हुन्छ । मानिस जस्तो हुन चाहन्छ, उस्तै हुन सक्दछ, केवल दृढ संकल्प र अठोट हुनुपर्दछ । शुभ संकल्पले चरित्रको संरक्षण गर्दछ । हरेक मानिसले प्रत्येक क्षण शुभ संकल्प गरिरहनु पर्दछ । शुभ संकल्पको परिणाम शुभ नै हुन्छ । अशुभको अशुभ नै हुन्छ । यसैले को शत्रु को मित्र , कसैको निमित्त पनि अशुभ संकल्प गर्न हुदैन । कसैको निमित्ति अशुभ संकल्प गरिन्छ भने त्यसले आफैलाई अशुभ गर्दछ । जीवन पद्धति नै स्वर्ग र नर्कको परिचायक हो । ं
वाणीको संयम, योग्यताको कदर, अग्रजहरुको सम्मान, साधु सन्तहरुको सम्मान, परिश्रमको आर्जन शुद्धभोजन, अपेय पदार्थको परित्यागबाट चरित्रको संरक्षण गर्न सकिन्छ । जवसम्म राष्ट्रिय चरित्रको विकास हुँदैन तबसम्म राष्ट्रको विकास हुँदैन । जो निर्विवाद छ । कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकास हुनको लागि त्यस राष्ट्रको राष्ट्रिय चरित्रको विकास हुनु अति आवश्यक छ । यो सर्वमान्य सिद्धान्त हो ।
हाम्रो अहिलेको अवस्थामा इमान्दारी कसैसँग देखिएन । भित्रभित्रै राजनैतिक दलको काम गर्ने, मानवअधिकारवादी हुँ भनी संस्थालाई ढाल बनाई दलगत हिसाबले मानव अधिकारको परिभाषा गरी आँफु चरित्रवान बन्न खोज्नेहरुको संख्या पनि हामो मुलुकमा कम देखिएन । के यो द्वैत चरित्र हैन र ? यस्तो चरित्रबाट राष्ट्रिय चरित्र बन्दैन अहिले हाम्रो देशमा नैतिकताको खडेरी परेको छ । शासन प्रणाली विधिले हैन व्यक्तिको निर्देशनमा चलेको छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्नेमा व्यक्तिको निर्देशनमा शासन चलिरहेको छ । हत्या हिंसा बलात्कार, बलात्कार पछि हत्या दैनिक सुनिँदै आएका छन् । पीडितले न्याय पाउन सकेका छैन ।
यस्तो अवस्थामा राष्ट्रिय चरित्रको निर्माण असम्भव देखिन्छ । हाम्रा देशका विधायकहरुको चरित्र पनि त्यति सन्तोषजनक देखिएन । आ–आफ्नौ स्वार्थमा रुमलिएको अवस्था देखियो । मुलुक प्रतिको चिन्तन पाइएन । राजनैतिक दलहरुमा षडयन्त्र र दाउपेचको बाहुल्यता छदैछ । यस्तो अवस्थामा रहिरहेमा राष्ट्रिय चरित्रको निर्माण हुन सक्दैन । राष्ट्रिय चरित्रको निर्माणको सन्दर्भमा कुरा गर्दा हाम्रो मित्र राष्ट्र भारतका नेताहरु मौलाना आजाद, महात्मा गान्धी, जवाहरलाल नेहरु आदिलाई सम्झने गर्नु पर्ने हुन्छ । किनभने जस्को चरित्रले अंग्रेजको शासन हटाएर स्वतन्त्र भारतको निर्माण गर्न सके ।
कुनै पनि राष्ट्रको सम्मान त्यस राष्ट्रको राष्ट्रिय चरित्रको आधारमा गरिन्छ । राष्ट्रिय चरित्र उच्च भएको राष्ट्रलाई कुनैपनि राष्ट्रले अपमान गर्न सक्दैन । राष्ट्रको उन्नतिको लागि राष्ट्रिय चरित्रको निर्माण हुन अति आवश्यक छ । राष्ट्रिय चरित्रको निर्माण विना राष्ट्रको उन्नति असम्भव हुन्छ । यदि हाम्रो राष्ट्रको राष्ट्रिय चरित्रको अभाव भयो भने प्रजातन्त्र या लोकतन्त्र जे भनौं कुनै हालतमा सफल हुदैन । देशको वागडोर समेतका राजनेताहरुले समयमा नै होस पु¥याउन अति अवाश्यक छ । समयको सिङ पुच्छर हँुदैन । अस्तु !

Related News

सम्बन्धित समाचार

hero news full width