‘राणा, शाहहरूको देश थियो, अहिले नेताको छ, जनताको बनाउनु छ’

आदर्श समाज सम्वाददाता
असार २६, २०७२

पोखरा, २५ असार।

‘हाम्लाई यस्तो लाग्छ जनता देशका मालिक हुन्

हाम्लाई यस्तो लाग्छ जनता देशका शक्ति स्रोत हुन्

जनताको आर्जनमा यो देश बाँचेको छ

जनताको परिश्रममा यो देश चलेको छु

जनगायक रामेशलाई देशका मालिक नै जनता हुन् भन्ने लागेको पाँच दशक बितिसक्यो तर जनता मालिक भएको हेर्ने धोको उनी ७२ वर्षमा टेक्दासमेत पूरा हुन सकेको छैन। रामेश भन्छन्-‘राणा, शाहहरूको देश थियो, अहिले नेताको भयो। जनताको बनाउनु छ। यो ताकत जनतामै रहेको उनको विश्वास छ। त्यसैले त उनी गाउँछन्-‘परिवर्तनको ढोका खोल्न जुटेका छन् यी ज्यान, ओ जनता महान्।’ उसो त उनले महाकविका ‘सुनको बिहान’ र विमल निभाको ‘देश जनताको नाम हो’ गीत यसै गाएका होइनन्।

२००१ असार ८ मा राणा शासनकालमै पाल्पाको तानसेनमा जन्मेका उनी ओखलढुङ्गामा पञ्चायती शासन बुझ्दै हुर्के। सरकारी सेवा गर्ने बाबु र काङ्ग्रेस समर्थक दाजुबीच पनि विदोही स्वभावका रामेश १८ वर्ष लाग्दा नलाग्दै जनताकै गीत गाउँदै हिँडे। २०२३ पछि त जनपक्षीय गीत बन्देज भए पनि उनी गाउँ-गाउँमा डुलिरहे। नेताहरू मुलुकप्रति जिम्मेवार हुन नसकेकोमा खिन्नता प्रकट गर्छन् उनी। नागरिक समाज पोखराले शुक्रबार आयोजना गरेको साक्षात्कारमा रामेशले ६० शुभेच्छुकलाई ६० हजार बराबरको शक्तिवान् देखे। ‘तपाइँ एक जनाले हजार जनालाई उठाउनु हुनेछ। देशलाई असफल हुन नदिन जनतालाई पुनः एकपटक उठ्न आहृवान गर्छु-आशावादी पारामा जोसिदै उनले गाए-‘गाउँ-गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ।’

यस्ता गीतलाई नयाँ पुस्ताले माओवादीका क्रान्तिकारी गीतसँग जोड्ने गरेकोमा उनी प्रतिवाद गर्छन्। त्यसैले उनी जनगायक होइन जनताका गायक भनिदिएँ हुन्थ्यो भन्ने चाहन्छन्। ‘जनगायक भन्दा पार्टीको गायकजस्तो अनुभूति हुन्छ’-उनले हाँस्दै भने।

२०३९ सालदेखि उनले आफूसम्बद्ध पार्टीको सदस्यता त्याग गरे र स्वतन्त्ररुपमा नेपाली गीत स·ीतको क्षेत्रमै क्रियाशील रहे। ‘२०१९ सालदेखि जनताका गीत गायौं। गरिवको चमेली २०२९, गाउँगाउँबाट उठ २०३१ सालमा सड्ढलन गर्‍यौं। प्रजातन्त्र आएपछि मात्रै बलिदान फिल्मका लागि रेर्कर्ड गरिएको हो। माओवादी त कति पछि जन्मिएको-एकै श्वासमा रामेशले भने-‘पार्टीको गीत होइन, गरिव, शोषित, पीडित जनताको दुःख पोखेका हौं। कम्युनिष्टहरूको नाममा त एक पैसो सम्पत्ति हुन्न भनेर सम्झाउने माओवादीका नेताहरूले खबौर्ंको व्यापार, व्यवसाय गरेकोमा उनले दुःखेसो पोखे। ‘केही गर्ला भन्ने आश थियो। सत्ताको स्वादले बिग्रियो’-रामेश भन्छन्-‘अब यी दल र यही नेताहरूले देश बनाउँदैनन्।’

‘आउ मिलाउँ हाम्रा हातहरू गाउँदै उनले विदेशिएका युवालाई स्मरण गरे। अरूको देश बनाउन बिदेसिएका हातहरू आफ्नै देश बनाउन पनि सक्षम रहेको विश्वास छ उनमा। ‘नेताहरूले शासन गरेका हुन्। अरबको खाडीमा घोटिएकाहरूको रेमिट्यान्सले देश धानिएको छ। जनताको पसिना करले नेताहरू मोटाएका छन्। चेलीहरू बलात्कृत भएर, जिउँदा युवाहरू लाश भएर पनि देश बचाएका छन्। उनीहरूको गीत नगाए कसको गाउने ?’-रामेशले भने-‘आफ्नो देश बनाउन पाएनन् तर मलेसिया बनाइदिए, अरब दुर्बई बनाइदिए, कोरिया बनाइदिए। भारतको सीमाको सुरक्षा गरिरहेका छन्। अरुलाई सुख दिँदादिँदै आफ्नो मुलुक चाहिँ किन दुःखी भयो त ? कारण एउटै हो, यिनै सत्ताधारी नेताहरूले दुःखमा डुबाए।’

उनले आफ्नो जीवन जनतामा समर्पित गरिरहेका जीवन शर्माहरू, रगतै उम्लने गरी राष्ट्रभावले ओतप्रोत गीत रचना गर्नेहरू, गाउनेहरू, सङ्गीत भर्नेहरू गोपाल योञ्जन, अम्बर गुरुङ, रायन, श्याम तमोट, विमल निभा, जसराज किराँती, ओम श्रेष्ठ, निरन, चन्द्र, जुगल, दुर्गालाल श्रेष्ठलगायतलाई पनि सम्झन छुटाएनन्। ‘यसबाहेक पनि सयौं कलाकार थिए, कति नजानिँदो रुपमै राजनीतिमा प्रयोग गरिए, कहाँ पुर्‍याइए? रामेश थप्छन्-‘जनताका गीत अरुका पनि सयौं छन्, सबै सुन्नपर्छ। भाव बुझ्नु पर्छ।’

उनले अहिलेसम्म तीन दर्जन एल्बम प्रकाशन गरेका छन् भने पाँच सय बढी गीत गाएका छन्। सर्वाधिक हिट चलचित्र बलिदानमा पनि उनकै सङ्गीत छ। धेरै गीत जनज्रि्रोमा झुण्डिएका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘सुनको बिहान’, ‘चहचह चंगा’, जिन्दगीको मौसम, नाँचू, नाँचू लाग्थ्योु, युग कवि सिद्धिचरण श्रेष्ठको ‘हिमगिरी मण्डित’, ‘संकट पर्दछ मान्छेलाई’ देखि पारिजातका ‘हिँउले कठ्याङ्ग्रिने समय’लाई सङ्गीत संयोजन गरी स्वर भरिसकेका छन्।स्वर सम्राट नारायणगोपालले गाउनुअघि नै २०३१ सालमा युगकविको ‘मेरो प्यारो ओखलढुङ्गा रामेशले गाइसकेका थिए। उनलाई पाश्चात्य सङ्गीतको पनि निकै राम्रो ज्ञान छ। आफ्ना गीतहरूको नोटेसन आफै लेख्छन्। आफै एरेन्जमेन्ट गर्छन्। दुर्इ महिना फुसदिलो समयमा उनी पोखरामा छन् र सङ्गीत कर्ममै साधनारत छन्।

पर्यटकीय गाउँ घान्द्रुकका सोझा मान्छे, हितकारी मनकारी मान्छेलाई स्मरण गरिएको गीत नै वपन उनले गाए। सङ्गीतकार, सञ्चारकर्मी टीका भण्डारी स्मरण गर्छन्-‘राल्फा आन्दोलनमा होमिएका रामेश (मञ्जुलहरूले गाउँ बस्तीमा त्यस बेलाको अन्याय, अत्याचारविरुद्ध जनचेतनाको आगो सल्काए, संकल्प अभियानले त्यस अभियानलाई उचाइमा पुर्‍यायो, आस्था परिवारले त्यसमा जीवन थप्ने कार्य गर्‍यो।) रामेश यी सबै घटनाका केन्द्रीय पात्र हुन्।’ रामेश विद्यालयका सङ्गीत प्रशिक्षक पनि हुन्। त्यसैले उनका बालगीतका पनि एल्बम छन्। नारीवादी गीतका एल्बम पनि निस्किएका छन्। उनी आशावादी व्यक्ति हुन्। सोच सकारात्मक छ त्यसैले त यो उमेरमा पनि उनी युवा जोशका साथ उत्तिकै सक्रिय छन्।

सङघर्ष हो जीवन, जीवन सङघर्ष हो

जीवनदेखि थाकेर बस्छु नभन

जीवनदेखि हारेर मर्छँ नभन

जिन्दगी हो हार-जीत भइरहन्छ

बाधा पन्छाउँदै नदी बगिरहन्छ

रामेशको साङ्गीतिक जीवन शुक्रबार बिहानै पोखराका विभिन्न क्षेत्रका व्यक्तिदेखि विद्यार्थी र युवाहरू कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा मानवअधिकारकर्मी खगराज आचार्य, नागरिक नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, नागरिक अगुवा गोकुलबहादुर कार्की, सावित्री शर्मा, गीता लामिछाने विष्टलगायतले रामेशको गीत, स·ीतको चर्चा गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width