राजदरबार काण्ड जस्तै आरु बोटे हत्याकाण्ड?

डा. गेहेन्द्रमान उदास “पोखरेली”
जेठ १९, २०७६

२०४६ सालपछिको लोकतान्त्रिक नेपालमा त्यति धेरै हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, बेइमानी भएको पाइँदैन, जति धेरै गणतन्त्रको स्थापना भएपछि, त्यसमा पनि बहुमतको नेपाल कम्यूनिष्ट पार्टी (एमाले र माओवादी) को सरकार भएपछि भएको पाइन्छ। यसको कारण सरकार चलाउने नेतृत्व र पार्टीहरूको सत्ता र सम्पत्तिको स्वार्थ रक्षाको कारणले शासनमा सुव्यवस्था स्थापित गर्न नसक्नु हो, जसले गर्दा समाजका अनपढ–अशिक्षित देखि पढालिखा–शिक्षितहरूमा समेत घरपरिवार र टोल छिमेकदेखि राष्ट्रिय समाजसम्म अव्यवस्था र असुरक्षालाई बढाउने जीवनशैली खुलमखुला भइसकेको छ। मेरो अवलोकन, अध्ययन, अनुभूति र अनुसन्धानबाट प्राप्त उपलब्धि हो यो। जसले गर्दा नेपाली समाजको निरन्तर शान्तिको भविष्य भयावह देखिएको छ।

अघि भनियो नेकपा बहुमतप्राप्त सरकारको पालामा भ्रष्टाचारको साथै अव्यवस्था, असुरक्षाको सामाजिक वातावरण झनै विग्रिएको छ भन्दा यो सरकारलाई दोष्याउन मात्र खोजिएको होइन। नेपालको इतिहासदेखि वीउको रुपमा उम्रेको विषवृक्ष नाश हुँदै जानुको सट्टा झनै झ्याङ्गिदै मौलाएको छ। तर यो बहुमतप्राप्त सरकारले आफ्नो क्रियाकलाप– जीवनशैलीमा कार्यकतादेखि नेतासम्मले विष वृक्षलाई चिनेर आफूलाई शद्धीकरण गर्न भने खोजेको छैन। यो कुरा भने सत्यतथ्य हो।

भ्रष्टाचार आदि विसङ्गतिका कुरालाई छाडेर यस लेखको शीर्षकमाथि केन्द्रित रहेर कुरा गर्छु। सबभन्दा पहिले विगतका हत्याहिंसाका कुरालाई संक्षेपमा प्रस्तुत गर्ने अनुमति माग्छु। कुरा पोखरामा २०३७ सालमा घटेको नमिता–सुनिता हत्याकाण्डको कुरा कोट्याउँछु। ती २ किशोरीहरूका खास हत्याराहरूलाई सरकारले खोजी नै गरेन। उल्टो खोजी गर्ने निहुँपारेर पोखरामा युवा किशोरहरूलाई सिडिओ, सेना र पुलिसले अमानुषिक यातना दिए। अन्त्यमा त्यत्तिकै फासफुस भयो। हत्यारालाई सजाय दिनु त के सरकारले त्यतिकै त्यो केसलाई छोड्यो।

त्यसपछि अर्को हत्याकाण्ड भयो नारायणहिटी दरबारमा जसमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश नै भयो। तर हत्यारा पत्ता लगाइएन। केवल आत्महत्या गरी मरिसकेको भनिएको दीपेन्द्रलाई जबरजस्ती कुरा मिलाएर तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकमा बनेको आयोगले दोषी ठह्र्यायो भने सार्वभौमसत्ता र राज्यशक्तिका मालिक जनताको प्रतिनिधित्व भएको गिरिजाप्रसाद कोइरालाको सरकारले सत्ताको लोभमा परेर, सरकारले गर्नुपर्ने आयोगको गठन नगरी संवैधानिक नयाँ राजा ज्ञानेन्द्रले बनाएको उक्त आयोगलाई लाचारीसाथ समर्थन गर्यो। यस दरबार हत्याकाण्डबारे शीर्षक अनुसार आरुबोटे हत्याकाण्डको कुरामा जोडेर विशेष प्रकाश पानेर्छु।

यी दुई हत्याकाण्ड पछि दैलेखमा १३ वर्षकी बालिका निर्मला पन्तको निर्मम हत्या भयो। नमिता–सुनिता काण्ड पञ्चायतीकालमा भएको हुनाले, जनताले मुखखोल्न डराए। तर सरकारले लुकाएको दोषीलाई भने जनताले चिनिसकेका थिए। निर्मलाको हत्या भने वर्तमान सरकारकै पालामा भएको थियो। नेपाल गणतन्त्रात्मक लोकतन्त्र भइसकेकोले निर्मलालाई न्याय दिन जनस्तरमा आन्दोलन र मिडियाहरूले आँधी आउने गरी चर्चा गरे। तर अहिलेसम्म निर्मलाले न्याय पाउन सकेकी छैनन्। नमिता–सुनिताकाण्ड जस्तै भई यो पनि कालक्रममा फासफुस हुने देखिन्छ। किनभने यसमा पनि सरकार चलाउने पार्टीका प्रमुख कार्यकर्ताहरूको हात रहेकोले सरकारले दोषीलाई देखाएर दण्ड सजाय दिन चाहेको छैन भन्ने तथ्य जनस्तर र किसान–मजदूर पार्टीका नेता नारायणमान विजुक्छे समेतले सार्वजनिक रुपमा बोलिसकेका छन्।

अब आरु बोटे र राजदरबाको हत्याकाण्डको कुरा। आरुबोटे कुरा जुन परिवारको भएपनि दरबार हत्याकाण्डको जस्तै, उस्तै उस्तै प्रकृति, प्रवृत्ति, अभिप्राय र परिणामको उद्देश्य छ भन्ने कुरा देखिएको छ। फरक यति कि आरुबोटे जनसाधारणको कुरा छ भने राजदरबारको कुरा राष्ट्रप्रमुख राजा र राजपरिवारको भएको छ। दरबारकाण्डमा गोलीप्रहार भएको र आरुबोटेमा खुकुरी प्रहार गरिएको छ। तर दुवै ठाउँको परिवारको हत्याको विवरण उस्तै उस्तै देखिएको छ।

१.     जिल्ला पाँचथरको भिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा यही जेठ ६ गते सोमबार राति दुई परिवारका नौजनाको विभत्स हत्या गरिएको थियो भने २०५८ को जेठ १९ गते राति नारायणहिटी दरबारमा राजा वीरेन्द्रको वंश नै अन्त्यहुने गरी दीपेन्द्र बाहेकको विभत्स हत्या गरिएको थियो।

२.     दुवै घटनाका हत्यारा भनिएकाहरू अर्थात दीपेन्द्रले आफैले कन्चटमा गोलीहानी आत्महत्या गरिएको भनिएको छ भने आरुबोटेका हत्यारा भनी शङ्का गरिएका मानबहादुर माखिम हत्या भएको ठाउँबाट करिब डेढ घण्टाको पैदल बाटोमा झुण्डिएर आत्महत्या गरेको कुरा पुलिसले जनाएको छ।

३.     हत्यारा भनी शङ्का गरिएका दुवै, हत्या गरिएकाहरूका नातेदार (वीरेन्द्रका छोरा युवराज) र आरुबोटोका हत्यारा भनी शङ्का गरिएका मानबहादुर, बम बहादुरका कान्छो ज्वाइँ र अन्य मृतकहरूका सम्बन्धी हुन्।

४.     दुवै काण्डका हत्यारा भनिएकाहरू न्यूजफटाफट (यूट्यूव) का अनुसार दीपेन्द्रको मखुण्डो लाएको दुईजना र आरुबोटे हत्याकाण्डकाहरू पनि, घाइते भई भाग्न सफल भएकी १२ वर्षे बालिकाको भनाइ अनुसार मखुण्डो लगाएका थिए।

५.     दुवै काण्ड हुनुमा सत्ता र सम्पत्तिको उद्देश्य हुनसक्छ। राजाको मात्र होइन जनसाधारण पनि अधिकार (सत्ता) र सम्पत्तिको लागि यस्तो षडयन्त्रपूर्ण अप्रिय घटना हुन सक्छ।

६.     जनस्तरमा गरिएका गुनासो पनि उस्तै छ। जनसमाज भन्छन् दरबार हत्याकाण्डमा एकजना दीपेन्द्र, त्यो पनि नशा लागेका व्यक्तिले त्यत्रो नौजनाको कसरी हत्या गर्न सक्छ भनेजस्तै एकजना मानबहादुरले कसरी नौजनाको विभत्स हत्या गर्न सक्छ? भन्ने प्रश्न उठाईरहेका छन्।

७.     न्यूजफटाफट (यूट्यूव) का अनुसार दीपेन्द्रको नकाव लगायतका दीपेन्द्रले नै खास दीपेन्द्रलाई कञ्चटमा गोली हानी मारेको भने जस्तै दीपेन्द्रलाई दोषी देखाउन स्वचालित् हतियार समेत मृतक दीपेन्द्रको सँगै राखेको र उस्तै प्रकारले मानबहादुरलाई दोषी देखाउन रगत लागेको खुकुरी र रगत लागेको लुगासमेत नजिक राखेर हत्याराहरूले रुखमा झुण्ड्याएर मारेको हुन सक्ने तर्क गर्न सकिन्छ।

८.     दरबार हत्याकाण्डमा नरनारायण मानिएको नयाँ राजा ज्ञानेन्द्रले बनाएको छानवीन आयोगलाई समर्थन गरेर श्री ५ को सरकारले सत्ता र सम्पत्तिको लोभमा परेर लाचारी साथ संलग्न भयो भने आरुबोटे काण्डमा पनि सरकारले उस्तै परिणाम ल्याउन सक्छ भनी, छिटो हत्यारा पत्तालाउन स्थानीयले आवाज उठाइरहेछ।

९.     राजदरबार हत्याकाण्डमा प्रयोग गरेको टेक्निक (प्रविधि) जन–स्तरमा, आरुबोटे हत्याकाण्डका योजनाकारहरूले प्रयोग गरेको देखियो। नेपाली समाजमा यो ठूलो खतराको सङ्केत भएको छ।

संक्षेपमा दुवै काण्डमा मिल्दोजुल्दो मुख्य कुरा यी नै हुन्। जस्तो लाग्छ। दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र समेतका मृतकहरूले यथार्थमा न्याय पाउन नसके जस्तै आरुबोटे हत्यामा मारिएकाहरूले पनि सरकारबाट संरक्षणभयो भने हत्यारा पत्ता नलगाउने निश्चित छ, मारिनेहरूले न्याय पाउन सक्तैनन् भन्ने आशङ्का जनताले गरेका छन्।

तर एउटा कुरा के सत्य छ भने मरेर जाने वा मारिएकाहरूले आफ्नो इतिहास लेख्न सक्दैनन् भन्न सक्तैनन्, तर बाँचेकाहरूले आफ्नो इतिहास फूलबुट्टा जोडेर पनि लेख्न सक्छन्, भन्न सक्छन्। दीपेन्द्र र मानबहादुर बाँचेको भए पक्कै सत्यतथ्य इतिहास लेख्थे होला, भन्थे होला। समाजको लागि ज्ञान र बुद्धि विकासको एउटा स्रोत हुने थियो जसले गर्दा समाजको जीवन शैलीमा दण्डहीनता र हत्याहिंसाको परम्परा बढ्ने थिएन, न्यूनीकरणहुन्थ्यो।

Related News

सम्बन्धित समाचार

hero news full width