आधुनिक युगसम्म पनि राजतन्त्रात्मक देश जापान, बेलायत आदिका राजारानीले युगको माग अनुसार जनताको इच्छा र चाहना अर्थात् आधुनिक युगको शब्दाबलीमा सार्वभौम जनताको भावना र चेतना अनुरुप देश र जनताको भविष्य र अधिकारका लागि प्रमुख भूमिका खेलेकोमात्र होइन, व्यक्तिगत भावना र जीवनशैली पनि देखाएका छन्। त्यसैले गर्दा ती देशमा आजसम्म पनि राजतन्त्र शान्त र स्थिर छ। त्यस्तै, भावना र जीवनशैली दिवंगत राजा वीरेन्द्र र युवराज दीपेन्द्रले पनि देखाएका थिए।
तर दुःखको कुरा हाम्रो नेपालमा भने जनतालाई देशको मालिक ठान्ने र आफूलाई जनताको सेवक भन्ने भावना भएका राजाले साशनमात्र होइन, जीवन नै गुमाउनु परेको छ। यस्तो विडम्बना दिवंगत राजा वीरेन्द्र र युवराज दीपेन्द्रमाथि २०५८ साल जेठ १९ गते राती साक्षात्कार भयो। त्यही घटना म सम्झिदै छु। यद्यपि मैले राजा वीरेन्द्रसँग कुरा गर्ने अवसर पाइनँ, तैपनि दीपेन्द्रसँग भने मेरो १० वर्षको बूढानीलकण्ठ (आवासीय) स्कूलमा सामाजिक शिक्षाको शिक्षक पुमोरी हाउसको हाउस मास्टर र अन्त्यमा प्राज्ञिक पक्षको सहायक प्रधानाध्यापक भएर काम गर्दा प्रत्यक्ष साक्षात्कार भएको थियो। अभिभावकका रुपमा राजा वीरेन्द्र बेला-बेलामा स्कूलमा आउँदा वीरेन्द्रको व्यक्तित्व, व्यवहार र विचारको अनुभूति गर्न पाएको थिएँ।
वीरेन्द्रका बारेमा असाध्यै घतलाग्दो र अद्वितीय प्रसङ्ग मैले बेलायतमा सुनेको थिएँ। बूढानीलकण्ठ स्कूलबाट सन् १९७४-७५ सम्म लिड्स युनिर्भसिटीमा शिक्षामा डिप्लोमा गर्न म एक वर्ष बेलायत बसेको थिएँ। त्यहाँ एक जना अँग्रेजसँग भेट भएको थियो। उनले मलाई त्यो घतलाग्दो कुरा सुनाएँ। उनले मलाई अङ्ग्रेजीमा प्रश्न गरेका थिए, ‘तपाईको राजा वीरेन्द्र यहाँको इटन कलेजमा पढ्दा एक पत्रकारले उनलाई सोधेको प्रश्नको जवाफमा उनले दिएको उत्तर तपाइले थाहा पाउनु भएको छ -’ मैले भने, ‘मलाई केही थाहा छैन।’
उनले भने-’वीरेन्द्रलाई त्यो पत्रकारले ‘के नेपालमा गणतन्त्र आउन सक्छ -’ भनी सोधेका थिए।’ जवाफमा उनले, ‘नेपालमा गणतन्त्र आयो भने म पहिलो राष्ट्रपति हुनेछु भनी बडो घतलाग्दो जवाफ दिएका थिए।’ स्मरणीय छ, इटन कलेजमा वीरेन्द्र १४ वर्षको छँदा २०१६ सालमा भर्ना भएर २०२१ सालसम्म अध्ययन गरेका थिए।
यो कुरा थाहा पाएपछि मलाई लाग्यो, जनतालाई जन्तु र राजालाई नरनारायण भन्ने दरवारिया वातावरणमा हुर्केको व्यक्तिमा यस्तो जनमुखी भावना जन्मन सक्छ र ? किनभने वीरेन्द्रको जवाफमा जनताले चाह्यो भने शान्तिपूर्ण रुपले राजगद्दी त्यागेर राष्ट्रपति हुन्छु भन्ने भावना भएको मलाई अनुभूति भयो। जसप्रति त्यस बेला मलाई विश्वास नै लागेन। नेपालमा फर्केपछि मैले केही बुद्धिजीवी मित्रहरूसँग यसबारे सोधेँ। सबैले त्यो कुरा न्यूयोर्क टायम्समै छापिएको थियो भने। मलाई तैपनि वीरेन्द्र राष्ट्रपति हुन्छु भन्ने भावनाप्रति विश्वास लागेन। बेलायत लोकतान्त्रिक देश भएकाले सुनाउनको लागिमात्रै त्यहाँ त्यस्तो भनेको होला भन्ने भयो। तर मेरो त्यो तर्क दीपेन्द्रलाई बूढानीलकण्ठ स्कूलमा भर्ना गरेपछि झुटो देखियो। नौ वर्षका बालक दीपेन्द्रलाई, त्यो पनि आवासीय शिक्षार्थीका रुपमा राख्ने वीरेन्द्रको इच्छा अद्वितीय लाग्यो। प्रत्येक जिल्लाबाट छात्रवृत्ति दिएर ल्याएका बालकहरू, विकास र सभ्यताको स्तरमा धेरै पछि परेका थिए। साच्चै भनाँै भने शौचालय कहिल्यै देख्न नपाएका, दालभात कहिल्यै खान नपाएका, स्कूलमा आउँदा फाटेको र टालैटालोले छोपिएका लुगा लगाएका, मयल कट्कटिएका पनि थिए। अमानवीय परम्पराले मान्दै आएको छोइछिटो लिनुपर्ने तथाकथित अछुत जातका बालकहरू पनि थिए। त्यस्ता निरीह, फोहरी बालकसँग बसेर पढ्ने, खाने-पिउने, खेल्ने गरेर तत्कालीन युवराज दीपेन्द्रलाई आवासीय शिक्षार्थीका रुपमा त्यस स्कूलमा भर्ना गर्नु तत्कालीन राजा वीरेन्द्रको अद्वितीय भावना, अद्वितीय साहस र अद्वितीय उदारता मैले अनुभव गरेँ।
स्मरणीय छ दीपेन्द्रलाई भर्ना गर्ने हल्ला सुनिएका बेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रका छोरा पारस र राजाका निजी सचिव नारायणप्रसाद श्रेष्ठका छोरालाई पनि भर्ना गर्ने हल्ला भएको थियो। तर पारसलाई दार्जिलिङमा लगेर भर्ना गरियो भन्ने सुनियो। नारायणप्रसादका छोरालाई भने भर्ना त गरे तर दोस्रो वर्षमै स्कूलबाट झिकेर दार्जिलिङ लगे। त्यस बेला हेडमाष्टर केनजोन्स लामो बिदा लिएर बेलायत (घर) गएको हुनाले प्राज्ञिक क्षेत्रको कामकुरा हेर्नमा मलाई र प्रशासन हेर्नेमा सुङ्मा तुलाधरलाई का.मु. हेडमास्टर दिएका थिए।
एक दिन नारायणप्रसादको घर पाटनमा स्कूलको कामकुरा गर्न गएको बेला, ‘हजुरले छोरालाई स्कूलबाट किन निकाल्नु भयो -’ भनी सोधेको थिएँ। जवाफमा उनले ‘बूढानीलकण्ठको अँग्रेजी राम्रो छैन’ भने। नेपाली विभागमा बाहेक सबै विभागमा ब्रिटिस नै विशेषज्ञका रुपमा विभागीय प्रमुख रहेको र पूर्ण रूपले अङ्ग्रेजी माध्यममा पढाउने-पढ्ने र बोल्ने वातावरण भएको स्कूलमा, अङ्ग्रेजीको स्तर राम्रो छैन भनेको सुन्दा मलाई शड्ढा लाग्यो तर राजा वीरेन्द्रले भने, शायद विभिन्न व्यक्तिको दवाब र परिस्थितिको सामना गरेरै पनि दीपेन्द्रलाई बूढानीलकण्ठमै पढाउन निरन्तरता दिए।
तत्कालीन राजा वीरेन्द्रको उदार भावना, नौ वर्षका बालक दीपेन्द्रलाई आवासीय शिक्षार्थीका रूपमा स्कूलमा राखेका बेला हेडमास्टर केनजोन्समार्फत् पठाएको निर्देशन झनै अद्वितीय लाग्यो। हेडमाष्टरले शिक्षकहरू, कर्मचारीहरू र क्याटरिङ स्टाफसमेतलाई जम्मा गरेर राजा वीरेन्द्रको निर्देशन यसरी सुनाउनु भयो ‘राजा वीरेन्द्र के चाहन्छन् भने युवराज दीपेन्द्रलाई कसैबाट पनि औपचारिक -शाही स्तरको) सम्बोधन, व्यवहार र विशेष व्यवस्था नगरियोस्। अरु बालकलाई जस्तै सम्बोधन र व्यवहार गर्ने, माया-ममता देखाउने गरियोस्। जनताका छोरालाई जे खानलाउन दिइन्छ, त्यही नै दीपेन्द्रलाई पनि दिइयोस्। विशेष व्यवस्था नगरियोस्। त्यस कारण हामी सबैले मौसुफको सदिच्छा बमोजिम दीपेन्द्रसित व्यवहार गर्नुपर्छ।’ शायद यसै समयदेखि बूढानीलकण्ठका शिक्षार्थीलाई उनीहरूको पहिलो नामबाट मात्रै सम्बोधन गरियो। पारिवारिक नामबाट बोलाइएन। बरु भर्ना भएको नम्बर प्रयोग गरियो। दीपेन्द्रको भर्ना नम्बर ८३२ थियो।
यस्तो निर्देशन सुनेर ममात्र होइन, सबै छक्क परे। हामी सबैले निर्देशनलाई अक्षरशः पालना गर्यौँ। दीपेन्द्र पनि त्यही वातावरणमा स्कूलमा रहे, अध्ययन गरे, हुर्के। मैले पाँच वर्ष अर्थात् २०४० सालसम्म दीपेन्द्रलाई पढाएँ। उनको स्कूल जीवनसँग प्रत्यक्ष भएँ। त्यति अवधिसम्म दीपेन्द्र मैले सज्जनता, संवेदनशीलता, मृदुता आदि सकारात्मक चरित्र र विचार भएको किशोरका रुपमा पाएँ। लागुपदार्थका नाममा चुरोटसम्म खादैनथे। तर कक्षा ९, १० मा पुगेपछि ड्रग्स लिन्छ भन्ने हल्ला सुने। म आर्श्चर्यमा परे कसरी उनले ड्रग लिन थाले ? त्यस बेला मै बूढानीलकण्ठ छोडी पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गर्थे। दीपेन्द्रलाई ड्रग लिन सुरु गराउने दरवारसँग आवद्ध, एक जना त्यस बेलाका ठूला मान्छे थिए भन्ने गाइगुइ पनि सुन्नमा आएको थियो। यदि त्यो कुरा हो भने जेठ १९ गतेको नारायणहिटी हत्याकाण्ड वषौर्देखि योजना गरिएको ग्राण्ड प्लान भएको देखिन्छ। अर्थात् दीपेन्द्रलाई प्रयोग गर्ने बहानाको योजना भएको देखिन्छ।
किनभने, दीपेन्द्र पनि जनमुखी थिए। त्यसै कारण वीरेन्द्रपछि राजा हुने दीपेन्द्र पनि जनमुखी, जनताको शाश्वत हक, अधिकारका पक्षपाती, जनतालाई जन्तु नठान्ने र सम्मान गर्ने, स्वाभिमानी, राष्ट्रवादी भएकाले दीपेन्द्रद्वारा नै हत्याकाण्डको नाटक गर्ने योजना अनुसार जेठ १९ गतेको घटना उपसंहारका रुपमा भएको देखिन्छ। त्यसैले दीपेन्द्रले नै हत्या गरेको हो भन्ने कुरालाई स्वीकार गर्न नेपाली जनता अझै पनि तयार भएको देखिँदैन। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अन्योलको वातावरण देखिन्छ। त्यसैले औपचारिक रूपले तत्कालीन राजा ज्ञानेन्द्रबाट बनाएको पूर्व न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा तारानाथ रानाभाट भएको समितिले औपचारिक रूपले दीपेन्द्रलाई हत्याको दोषी ठहर्याई प्रतिवेदन दिएकाले इतिहासमा दीपेन्द्र नै दोषी भएको भनेर लेखिने देखिएको छ। यहाँ एउटा आर्श्चर्य र लाजमदो कुरा के छ भने त्यस बेलाको सार्वभौमसत्ताधारी जनताले आफ्नो अधिकार प्रत्यायोजन गरी आमचुनावद्वारा चुनिएको सार्वभौमसत्तायुक्त संसदले आफ्नै निर्देशन र नीतिमा हत्याकाण्डको जाँच गरी प्रतिवेदन तयार गर्ने समिति नबनाएर राजा ज्ञानेन्द्रले बनाएको समितिलाई किन मान्यता दियो ? यो प्रश्नको जवाफ अझै पनि कसैले सोचेको देखिँदैन। मर्ने मरेर गए पनि समाज र देशका लागि मर्नेको इतिहासबाट देश र समाजको लागि न्याय-अन्याय, राम्रो- नराम्रो पाठ के हो भन्ने खोज, खबर लिने लोकतान्त्रिक देशको समाजको उत्तरदायित्व होइन र ? यो प्रश्नको जवाफ खोज्न किन कसैले पनि वास्ता राख्दैनन् ?
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०