रवीन्द्र अधिकारीः सम्भावना बोकेको युवानेताको अवसान

तिलक पराजुली तिलक पराजुली
फागुन १७, २०७५

१५ फागुन २०७५, बुधवारको दिनै अँध्यारो। सिमसिम पानी पररहेको थियो। उच्च अदालतमा बहस गर्नु पर्ने मुद्दा पनि हटेछ। कार्यकक्ष ल फर्ममा आदर्श समाज दैनिकमा नियमित लेख्ने शुक्रवारको लेख संबन्धमा सोच्दै थिएँ। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको राजधानी हनोईमा हुँदै गरेको शिखर वैठक र छिमेकी भारत पाकिस्तानबीच बढ्दो तनावले सृजना गर्ने प्रभाव, नेपाल र शेष विश्वमा के होला? यसै विषयमा लेख्नु पर्ला भन्ने सोच बनाएँ। विदेश मामिला मेरो रुचिको विषय पनि हो।

यस्तैमा मेरा साथी अधिवक्ता रमेश शर्माजीको फोनमा अनलाइन खबरको संकेत आएछ। ‘ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना। त्यसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जना यात्रु रहेको। यो कुरा गृहसचिवले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई जानकारी दिए। ’ अनलाइनको खबर यस्तै थियो। केही समय पछि रवीन्द्रजी सहित सबैको मृत्यु भएको दुःखद तथा अनहोनी कुरा आइहाल्यो। मन उद्वेलित पनि बनायो। मेरो लेखको विषय पनि परिवर्तन भयो।

रवीन्द्र अधिकारी नेपालको राजनीतिमा एक सम्भावना भएका युवा नेता हुन्। हुन त मेरो उनीसँग कुनै वैयक्तिक सान्निध्यता त्यति घनिष्ठ केही होइन, तर उनका पिताजी इन्द्रप्रसादजी राजनीतिक रुपमै २०३६ सालदेखि मसँग नजिक रहे। २०३६ सालको विद्यार्थी आन्दोलन, त्यसले ल्याएको जनमतसंग्रहको नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाससम्म एउटा महत्व राख्ने परिघटना हुन्। २०१७ साल पुस १ गतेको शाही कदमले सृजित निरंकुशतालाई समाप्त पार्ने यो एक प्रस्थानबिन्दु पनि थियो।

बहुदल र सुधारिएको पञ्चायतबीच छनोट गर्न पाइने यस अभियानमा हामीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको एउटा प्रचार सभा भरतपोखरीमा राखेका थियौ। सभाको मुख्य व्यवस्थापन गर्ने शालिकरामजी थिए, जोपछि लेखनाथ नगरपालिकाको प्रथम मेयर पनि भए। बडो इमान्दार र लगनशील व्यक्ति हुन्–शालिकरामजी। यस प्रचार सभामा वक्ता नेतृ साहना प्रधान, त्यस समयको बडो चर्चित विद्यार्थी नेता शरणविक्रम मल्ल र म पनि थिएँ।

इन्द्रजीसँग यहाँबाट मेरो घनिष्ठता आरम्भ भएको हो। हामीले त्यो दिन बिहानको खाना शालिकरामजी कै घर खाएका हौं। र, त्यहाँ इन्द्रजीको छोरा रवीन्द्रको चर्चा भएको मलाई सम्झना छ। मलाई लाग्छ, त्यतिबेलादेखि नै रवीन्द्र नेकपा मालेसँग लागेको हुनुपर्छ। माले पार्टीले जनमतसंग्रहमा बहुदल–निर्दल जुनले जिते पनि केही फरक पदैर्न भन्ने सोच राखेर जनमतसंग्रह बहिष्कारको नीति लिएको थियो। यसैले हुनुपर्छ, हाम्रो सभामा रवीन्द्रजी आएका थिएनन्।

यसै सन्दर्भमा पार्टीको कामले म र एक जुझारु साथी हरिश्चन्द्र आचार्य पोखरा केन्द्रित भयौं। हाम्रो डेरामा इन्द्रजी नआउने कुरै भएन। नेपाली विषय विद्यालयमा पढाउने भएर हामी उनलाई इन्द्र गुरु भन्थ्यौ। इन्द्रजी माक्र्सवादी पार्टीमा पछिसम्म रहनुभयो। २०४७ सालमा माले र माक्र्सवादीबीच एकीकरण भएपछि त एमाले भयो। सबै एकै ठाउँमा।

मैले पृथ्वीनारायण क्याम्पस पढाउँदा (२०४३–४४) तिरका रवीन्द्र, खगराज, झलक सुवेदी जल्दाबल्दा विद्यार्थी नेता थिए। शिक्षाशास्त्रतर्फ पढ्न कृष्णबहादुर महरा (वर्तमान सभामुख) पनि त्यहीँ थिए। अखिल छैटौंका थिए महरा। यसैबेला मैले रवीन्द्रका भाषणहरु सुनेको हुँ। बडो प्रभावकारी शैलीमा बोल्थे, उनी।

२०४६ सालको संयुक्त जनआन्दोलनमा वाममोर्चाको तर्फबाट विरोध प्रदर्शन गर्न हाम्रो मालेपाटनको निवासबाट टेकनाथ बराल, सोमनाथ अधिकारी, नन्दमोहन भट्टराई समेत भएर नालामुख चोकमा गएका थियौं। हामी गिरफ्तार भयौं। आन्दोलन केही सेलाउँदा हामी निराश हुन्थ्यौं। आन्दोलन बाहिर चर्क्यो, साथीहरु गिरफ्तार भएर आए। थुनिन भने हामी उत्साहित हुन्थ्यौ।

म सहित केही साथी गैह्रापाटन जिल्ला प्रहरी कार्यालयमा थुनामा थियौ। म र पृथ्वीनारायण क्याम्पसका प्राध्यापक सोमबहादुर बोगटी एउटै कोठामा थियौँ। पिसाब गर्न प्रहरी साथ बाहिर निस्कँदा मैले रवीन्द्र र झलक सुवेदीलाई कोठाभित्र हत्कडी लगाएर राखेको देखेँ। यो कुरा बोगटीलाई बताएँ। पछि, बुझ्दा सराङकोट पञ्चायतको सचिवलाई कुटपिट गरेको आरोपमा पक्डिएको रहेछ। सुवेदी थरका यी पञ्चायत सचिव आन्दोलनको प्रतिकार गर्ने, अञ्चलाधीशको धाक लगाई गाउँलेलाई हतोत्साहित र पीडित गर्ने गर्दा रहेछन्। उनलाई तह लाएपछि त्यहाँबाट आन्दोलनमा मानिसहरु जुट्न थाले।

अँ, यसै सन्दर्भमा एउटा रोचक कुरा मेरो सम्झनामा छ। डिएसपी थुनुवाको कोठा निरीक्षण गर्दै आएका थिए। मैले उनलाई सोधेँ–विद्यार्थी नेताहरुलाई किन हत्कडी लगाएर राख्नु भएको हो? कोठामा थुन्दा पनि हत्कडी लगाउनु पर्छ? डिएसपीले भने–हत्या गनेर्लाई सजाय नगरेर कसलाई गर्ने? उल्टै प्रश्न गरे। मैले भनेको थिएँ–राजनीति गर्ने हुन्। पछि मन्त्री पनि हुन सक्छन् , विचार गर। पछि के लाग्यो उनले भने माथिको आदेशले हो। उनको कुरा सुनेपछि बोगटीले त नराम्रैसँग भने डीएसपीलाई। मेरो कुरा चरितार्थ पनि भयो। रवीन्द्र मन्त्री पनि भए।

अर्को एउटा रमाइलो कुरा छ। एकदिन मनमोहन अधिकारी, भरतमोहन अधिकारी र म एउटा कोठामा गफ गर्दै थियौ। यही पोखरामा पार्टीको मिटिङ थियो। साथीहरु आइ नपुगेकोले प्रतीक्षारत पनि थियौँ। कुरा गर्दै जाँदा विराटनगरका अधिकारी र कोइराला परिवारको कुरा चल्यो। भरतमोहनले यसै प्रस·मा के कुरा उठाए–‘कोइरालाहरुको पछिल्लो पिंढी पनि राजनीतिमा छ, तर हाम्रो त दाइ, म र मोहनचन्द्र बाहेक कोही राजनीतिमा आएनौं। ’ मैले भने–पूर्वका अधिकारी हराए पनि पश्चिममा अधिकारी उदाएका छन्–सोमनाथ, खगराज, रवीन्द्र सबै अधिकारी हुन्। पार्टी एकता भएको थिएन। यो २०४६ सालको परिवर्तन लगत्तैपछिको कुरा हो। तर, भरतमोहनले सोधे–यी तीनमा राम्रो को छ? मैले अनायासै भनी दिएँ–रवीन्द्र। रवीन्द्रका गुण दोष पारख गरेर त होइन तर मैले यो भनेको राम्रै सम्झना छ। कारण जे सुकै होस्। अहिले सोच्दा ठीकै भने झैं लाग्छ।

रवीन्द्रजीसँगको अर्को ठट्यौलो सम्झना छ। एक दिन पृथ्वीनारायण क्याम्पसको चमेना गृहमा भेट भयो। रवीन्द्रले खैरो रंगको ज्याकेट र कालोटोपी लगाएका थिए। मैले उनलाई व्यङ्ग्य गरें। किन मदन भण्डारी बनेका हौ? टोपी ज्याकेट उस्तै छ। भाषण गर्दा हात हल्लाउने पनि उस्तै अभिनय। उनले प्रत्युत्पन्नमतिका साथ जवाफ दिए–मेरो हिरो मदन हुन्। उनको सिको नगरे कस्को गर्ने? अहिले त्यो सम्झना एउटा होनहार युवा नेता षड्यन्त्र र अर्को नियतिले अस्ताए।

रवीन्द्र अधिकारी चुकेको वाइडवडी विमानकाण्डमा हो। उनले राष्ट्रिय ढुकुटी अपचलन गरे भनेर त त्यो प्रमाणित छैन। नहुन सक्छ तर सार्वजनिक प्रश्न उठिसकेपछि नैतिकताको आधारमा मन्त्रिपदबाट राजीनामा दिएको भए राजनीतिमा नैतिकताको प्रश्न आउँदा एउटा अविस्मरणीय उदाहरण बन्ने थिए।

अन्त्यमा, मेरा परममित्र इन्द्र गुरु र म्याडम लक्ष्मीलाई पर्न गएको पुत्रशोकको पीडा म आफैलाई परेको ठानेको छु। एक सम्भावना बोकेको होनहार युवानेताको अवसान राष्ट्रको ठूलो क्षति हो।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width