योगाभ्यास किन ?

rinapaudel रिना पौडेल
वैशाख १४, २०७७

स्वासलाई हामी सित्तैमा पाएको जस्तो लाग्छ । तर हरेक स्वास सँग हामी हाम्रो प्राण साटेका हुन्छौं । स्वास भित्र तान्नुको अर्थ जीवन हो भने बाहिर फाल्नुको अर्थ मृत्यु हो । कसलाई के थाहा कुन सास बाहिर निस्के पछि फेरी भित्र जाने हो वा होइन ?

पृथ्वीमा रहेका हरेक जलचर, थलचर प्राणी वा रुख बिरुवाहरु सबैलाई बाँच्नका लागि आधारभूत कुरा केहि छ भने त्यो स्वास हो । बाँच्नका लागि खाना, पानी, हावा आवश्यक छ । खाना बिना हामी ६ महिना, पानी बिना केहि दिन बाँच्न सक्छौं तर हावा बिना हामी केहि मिनेट मात्र बाँच्न सक्छौं । स्वास केवल बाँच्नका लागि मात्र होईन यसले तन, मन, मस्तिष्क अनि आत्मालाई एक साथ बाँधेर राख्ने काम गर्छ । हाम्रो मस्तिष्क चंगा हो भने स्वास धागो हो । जति लामो धागो त्यति माथि उडान । डुलीरहने मनलाई एक चित्त राख्ने काम गर्छ स्वासले । यो जीवनको मूल मन्त्र स्वास, एक तालमा चल्छ । स्वासलाई हामी सित्तैमा पाएको जस्तो लाग्छ । तर हरेक स्वास संग हामी हाम्रो प्राण साटेका हुन्छौं । स्वास कसरी लिईन्छ ? कसैलाई सोध्ने हो भने, नाकबाट भित्र तान्ने अनि नाकबाट बाहिर फाल्ने । यहि हो स्वास । तर स्वास भित्र तान्नुको अर्थ जीवन हो भने बाहिर फाल्नुको अर्थ मृत्यु हो । कसलाई के थाहा कुन सास बाहिर निस्के पछि फेरी भित्र जाने हो वा होइन ? किन कि, स्वास तालमा चल्छ । त्यसैले स्वासको ताल बुझ्नु जरुरी छ किन कि हाम्रो जीवन पनि एक तालमा चल्छ । यो जीवन रुपी ताललाई लामो समय सम्म चलाई राख्नका लागि स्वासको तालसंग जीवनको ताल मिल्नु आवश्यक छ । यस हाम्रो जीवनको सबै भन्दा महत्वपूर्ण चीज स्वासको ताल मिलाउनका लागि आवश्यक छ योग ।

योगको अर्थ जोड्नु हो । हामी जून संसारमा छौं त्यहाँ दुई संसार छन् । हाम्रा बाहिरी आँखाले देख्ने संसार र भित्री आँखाले देख्ने संसार । आन्तरिक तथा बाहिरी संसार । यहि आन्तरिक तथा बाहिरी संसार जोड्नु नै योग हो । यस जगतका कुनै पनि प्राणीमा पाँच तत्वहरु हुन्छन् काम, क्रोध, लोभ, मोह र ईष्र्या । यी पाँच तत्वलाई सदुपयोग गरे जीवन सुखमय हुन्छ । शान्त हुन्छ । यसको सकारात्मक उपयोग गरे यसले हामीलाई ज्ञानी बनाउछ । कुनै पनि शब्दको दुई अर्थ हुने गर्दछन् एक शब्दको जस्ताको तस्तै अर्थ जो हर कोहिले बुझ्दछ तर अर्को भाव हुन्छ त्यो भाव बुझ्न हर कोहिको सम्भवको कुरा होइन । तर यी पाँच शब्दको भाव बुझेमा जीवन सफल हुन्छ । यसकालागि ध्यानी हुनु पर्छ । ध्यानी अर्थात योगाभ्यासक ।

योग परिचयः
भगवान शिव द्वारा अनुशरण गरिएको पद्धती योगको अर्थ सम्बन्ध हो । तर महर्षि पतञ्जलीको सिद्धान्त अनुसार चित्तको बृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा विचारहरु आइनै रहन्छन् । भनिन्छ २४ घण्टामा मानिसको मस्तिष्कमा करिवन ५६,००० सोचहरु आउने जाने गर्छन् । यी सबै साँेचहरु सकारात्मक हुन जरुरी छैन । तर मानव मस्तिष्कले अधिकाँश नकारात्मक सोँचलाई छिटो तान्ने गर्दछ र त्यसैमा रोमलेर राखिदिन्छ । हाम्रा मनमा आउने तिनै नकारात्मक सोचहरुले हामीलाई मानसिक रोगी तथा अन्य शारिरीक रोगी समेत बनाउन सक्छ । यस पवबृत्तिबाट जोगिन मात्र एउटै उपाय योग हो । योग मानिस भित्र रहेको रोगलाई प्रतिरोध गर्छ । योग अज्ञानताबाट ज्ञान तर्फ, जड बाट चेतना तर्फ, निर्बलताबाट सवलता तर्फ, जीवनबाट ब्रम्ह, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असिमित तर्फको आध्यात्मिक यात्रा हो । केही विद्वान ऋिषिमुनीले योगको अर्थ मिलन पनि हो भनेका छन् । संक्षेपमा भन्नुपर्दा आफ्नो इच्छा शक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नु, जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो ।

योग परापूर्व काल देखि नै अनुसरण गर्दै आइएको छ । श्रीमद्भगवतगीतामा पनि योगलाई मुख्य तीन प्रकारमा बाडिएको छ । कर्मयोग, ज्ञानयोग र भक्तियोग । यसरी गीतामा कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । यसैगरि यदि कोहि व्यक्ति भगवानको सानिध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नु पर्छ ।

कोब्राआसन (भुजङ्आसन)

योगले के गराउँछ ?
कुनै समस्या बिना जीवनभर तन—मन बाटै स्वस्थ्य, तन्दूरुस्त, सुरक्षित रहन सिकाउँछ । यसका लागि मात्र शरिरका केहि क्रियाकलापहरु र स्वास लिने तरिकाका नियमहरुको पालना अनि अभ्यास गरे पुग्छ । हर बिहान योगअभ्यासले अनगिन्ति शारिरीक तथा मानसिक बीमारिहरुबाट बचाउँछ अनि मानसिक स्वास्थ्य सन्तुलन गर्छ जसले गर्दा आध्यात्मिक ज्ञानको माध्यम हुँदे आन्तिरिक शान्तिको माध्यमबाट शारिरीक शक्ति प्राप्त हुन्छ जसले काममा निखारता ल्याउँछ । योगका बिभिन्न आसनहरुले मानसिक अनि शारिरीक शक्ति साथमा असल हुन पनि सिकाउछ । यसले बौद्धिकतामा बृद्धि गराउँछ । भावनाहरुलाई उच्च गराउँदै कुनै पनि क्षेत्रमा एकाग्रता ल्याउन मदत गर्दछ ।

योगका प्रकार र फाइदाः
योग धेरै प्रकारका छन्ः राजयोग, कर्मयोग, ज्ञानयोग, भक्तियोग, अनि हठयोग । तर अधिकांश जव योगका कुरा गर्छन् त हठ योग हुने गर्छ । जसमा ताडासन, धनुषासन, भुजंगाशन, कपालभाँती अनि अनुलोम—बिलोम जस्ता केहि व्यायाम हुन्छन् । केहि मानिसमा सामान्य शरिर झुकाउनु औला हल्लाउनु स्वासलाई कण्ट्रोल गर्नु मात्र पनि गाह्रो हुन्छ । तर लगातार योग गर्नाले केहि समयमै यसको प्रभाव आफै महसूस गर्न सकिन्छ । आजकलको खानपान तथा रहनसहनका कारण मनिस रोगी बन्दै गइरहेका छन् । सामान्य रुपमा समेत अधिकांशमा देखिने जोडहरुको दुखाई घुडाको दुखाई जस्ताबाट समेत मुक्ति दिलाउछ योगले । हामीले जे ताकत होओस भन्ने चाहन्छौं त्यसै प्रकारको ध्यान योग गर्नु जरुरी छ । जस्तो कुनै फलामको काम गर्ने मानिसको हात लामो अनि बलियो हुन्छ भने पहाडका कुलीहरु वा हिमाल चढ्ने मानिसको खुट्टा बलियो हुने गर्छ । किनकी पेशा अनुसारको व्यायाम त्यहि अंगहरुमा हुने गर्दछ । अधिकांश विद्यार्थी वा कुर्सीमै बसेर दिनभरी काम गर्नु पर्ने मानिसको पूरा शरीर कमजोर हुने गर्दछ । त्यसैले शरिर बलिष्ठ गराउन व्यायाम अनि मन मस्तिष्क बलियो गराउन दैनिक योग गर्नु अति आवश्यक छ ।

योग र कसरतमा फरकः
कतिपय मानिसमा यो सोंच छ कि योग, व्यायाम, जिम, जुम्वा, साँझ बिहानको हिँडाई घरको काम जे गरे पनि एकै समान हो । जसरी पनि शरिरलाई चलाउनु पर्छ । तर त्यसो होइन । योग कसरत अनि जिम सबै एकै हुन् भन्नेहरु पनि पाईएको छ । तर यी सबै निकै फरक छन् । एक एउटै अर्थमा छन् कि जे गरे पनि शरिर नै प्रयोग हुन्छ । तर योगमा शारिरीक, मानसिक, अनि भावनात्मक प्रक्रिया हुन्छ ।

योगसँग अन्य शारिरीक व्यायामको फरकः
ब्यायाम हरेक उमेरका मानिस अनि बिरामी, गर्भवती, बृद्धले गर्न सक्दैनन् । तर योग सबैले गर्न सक्छन् ।
योग गर्दा आफ्नो सास अनि आसनमा ध्यान गर्नु पर्ने हुन्छ जसले गर्दा शरिरप्रति जागरुकता बढ्ेको हुन्छ तर ब्यायाम गर्दा स्वासमा केन्द्रित हुनु पर्दैन ।
योग गर्दा शारिरीक उर्जा बिस्तारै खर्च हुदै न थाकीकन हाम्रो उर्जा शरिरले नै सोस्न थाल्दछ तर व्यायाम गर्दा शरिरको शक्ति चाडो खर्च हुन्छ र थकान महसूस हुन्छ ।
योगका लागि मात्र एक चकटी अनि थोरै ठाउँ भए पुग्छ शरिर जमीन संग टासिन्छ अनि जमीन संगको सामीप्यताको महत्व त सबैलाई थाहा छ । तर व्यायामका लागि अत्यधिक साधन सामान र स्थान पनि आवश्यक पर्छ ।
योगले साँसमा ध्यान दिन अनि सन्तुलन कायम गर्न सिकाउँछ जसले शरिरको पनि सन्तुलन हुन्छ । तर व्यायाममा साँसमा ध्यान दिनु पर्दैन ।
योगले शारिरीक, मानसिक तथा भावनात्मक रुपमा मानिस बलियो हुँदै जान्छन् । तर व्यायाममा मात्र शारिरीक बलिष्ठताको बृद्धि हुन्छ ।
योग गर्नाले पाचन शक्ति बढाउछ र बिस्तारै खानाको उर्जा शरिरमा पठाउछ अनि भोक कम लाग्छ जसले मानिस थोरै खान थाल्छ । तर व्यायामले खाना चाँडो पचाउँछ जसले मानिस अधिक खाने गर्छ ।
योग बिस्तारै गरिन्छ जसले सहनशीलता बढाउँछ । योग गर्नाले मांसपेशी कमजोर हुदैनन् । व्यायाम गर्नेले चाँडो प्रतिफल चाहन्छन् जसकारण मांसपेशीमा हानी पनि हुन सक्छ ।

नाडीसोधना प्रणायाम

योगका बिश्व बिख्यात हस्तिहरुः
योगलाई संसारमा बिगत ५००० बर्ष देखि परिचित गराइएको छ । विगतमा योग गराउने व्यक्तिलाई जोगी वा योगी भनिन्थ्यो तर अहिले योग गुरुहरु एक विश्व विख्यात सेलिब्रेटी बन्नुभएको छ ।

तिरुमालाई कृष्णमाचार्य
उहाँले ह्रिदयलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरालाई भारत बर्षमा परिचित गराउनु भयो । उहाँले योगा र आयुर्वेद प्रयोग गरेर मानिसलाई निरोगी गराउन हाथा योगा को प्रतिपादन गर्नु भयो ।

स्वामी शिवानन्द
उहाँका अनुसार एक योगीले योगमा हास्य, गीत, जीवनका गुण समावेश गर्नु पर्छ अनि योगी एक डाक्टर पनि हुनु पर्छ भन्नुभएको छ । उहाँले हठयोग, कर्मयोग र मास्टरयोगलाई जोडेर ट्रिनिटी योग अर्थात त्रिमुर्ति योगको प्रतिपादन गरेर सिकाउनु भयो ।

बि के यस ल्याएंगर
टी कृष्णमाचार्यका शिष्य जसले योगलाई विदेशमा लोकप्रिय गराउने प्रथम मानिस हुनुहुन्छ । वचपनमा धेरै रोगहरुसँग सामना गरेका बि के यस शारिरीक रुपमा निकै कमजोर हुनुभयो । पछि पतंजलीका योगाभ्यास सूत्रहरुले आफू पनि स्वस्थहुनु भयो साथमा संसारलाई अयंगर योगा दिनुभयो । उहाँ ९५ बर्षको उमेरमा ब्रम्हलीन हुनु भयो ।

के पत्ताभी जोइस
अष्टांग भिनासा योगाका प्रतिपादक जुन कोरुण्टा भन्ने पुरानो सिकाईमा आधारित छ । उहाँको यस योगा विधिले मडोना, स्टिंग र ग्वेनेथ पाल्त्रो जस्ता प्रतिष्ठित व्यक्तिहरुलाई आकर्षित गरेको छ ।

महर्षि महेश योगी
उहाँले पारदर्शी ध्यान प्रबिधिको विकास गर्नुभयो । आँखा बन्द गरेर मन्त्रमा ध्यान दिदै एकाग्रता हुनु यसको बिशेषता हो । यसले एकाग्रता शक्ति बढाउँछ । यसले मस्तिष्कलाई आराम दिन्छ र तनावको स्तर कम गर्दछ ।

परमहंस योगानन्द
उहाँले पश्चिमा मुलुकलाई ध्यान र योगक्रियाको शिक्षा दिनुभयो । उहाँको योग क्रियाले मानिसको अनन्तको साथ र एकतामा जोड दिन्छ ।

जग्गी वासुदेव (सद्गुरु)
कर्नाटकबाट आउनुभएको परोपकारी मानिस जसले इशा फाउण्डेसनको स्थापना गरी विश्वभरी योगका कार्यक्रमहरु प्रदान गर्नुभएको छ । उहाँको सबैभन्दा राम्रो कुरा जीवनभरी कैदिहरुको लागि कार्यक्रमहरु संचालन गर्दछ ।

श्री श्री रवि शंकर
आर्टअफ लिभिङ फाउण्डेशनका संस्थापक जसले लयबद्ध सासको अभ्यासलाई लोकप्रिय बनाउनुभएको छ । यस अभ्यासलाई सुदर्शन क्रियाको नामले चिनिन्छ । उहाँका क्रियाहरु मध्ये एक कर्नाटकको भद्रा नदिको किनारमा गरिने १० दिन लामो अवधिको कवितामय स्वास प्रक्रियाको मौन अभ्यास उहाँको प्रचलित क्रिया रहेको छ ।

बाबा रामदेव
उहाँको आगमन बर्तमान युगमा संसारका लागि महत्वपूर्ण अंग साबित भएको छ । उहाँले सबै भन्दा पहिला टिभीको माध्यमबाट सर्ब प्रथम एक साथ संसारलाई बिहान ५ बजे उठाएर योग गर्न सिकाउनु भयो र योगलाई घरेलु बनाइदिनुभयो । हामीलाई कपालभाँती र अनुलोम बिलोमको धार्मिक अभ्यास गर्न सिकाउनुभयो । उहाँले सिकाएको अर्को कुरा योग गर्न सिकाउनु योगी वा जोगीको मात्र ठेक्का होइन यो सर्बसाधारणको पनि काम हो भन्दै योग गुरुहरु टोल टोलमा उत्पादन गर्नु भयो । उहाँले प्राक्रितिक घरेलु चीजहरु प्रशोधन गरेर औषधि पनि प्रस्तूत गर्नु भयो ।

त्यसैले यति लामो इतिहास तथा हस्तिहरुले् धानेको यस योगको संसार अवलम्बन गरि आफूलाई सुखि खुशी राखौं । जय योग ।

हाम्रो सुझाव