विश्वले योग दिवस मनाइरहँदा योगको विषयमा जिज्ञासा हुनु स्वभाविक पनि हो र आवश्यक पनि। योग दर्शनका प्रणेता र व्याख्याकार महषि पतञ्जलि हुनुहुन्छ। उहाँ आध्यात्मिक विद्याका रहस्यमय महापुरुष हुनुहुन्छ। पतञ्जलिलाई परम विवेकी र पूर्ण वैज्ञानिक दृष्टिकोण राख्ने तर सरसर्ती हेर्दा विरोधाभाषी देखिने युगपुरुषका रुपमा हेरिन्छ। महषि पतञ्जलिले धर्मलाई कुनै ‘प्रतीक’ मा विभाजित गर्नु भएन। उहाँले धर्मको केन्द्रविन्दु मानिसलाई नै मान्नु भयो। उहाँले मानिसलाई निरन्तररुपमा सुखःदुःख, मान-अपमान, शीत-ऊष्ण, अनुकूलता-प्रतिकूलता, जय-पराजय सबैमा समान र एकनाश हुने सल्लाह दिनु भयो। तप संघर्ष, पुरुषार्थ र कर्तव्यको निर्वाह गर्दै आत्मबोधको बाटोतिर अगाडि बढ्ने प्रेरणा दिनुभयो। यी सम्पूर्ण प्रक्रियाले मनको मैल पखालिन्छ र मनको क्लेशसमेत समाप्त हुन्छ।
महषि पतञ्जलिले कुनै मूर्ति वा प्रतिमाको ध्यान गर्नु भएन। उहाँका अनुसार क्लेशहरुको पूर्ण समाप्ति नै इश्वर प्राप्ति हो। क्रिया योगको लक्ष्य समाधि हो अर्थात् दुःख कष्टको परिसमाप्ति हो। चित्तको अशुद्धि समाप्त गर्नका निमित्त उहाँले अष्टाङ्ग योगको उपदेश दिनुभयो। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि स्वरुप अष्टाङ्ग योगको वर्णय गर्दै उहाँ भन्नुहुन्छ – अहिंसा, सत्य आदि सार्वभौम महाव्रत हुन्। यसको पालना नगरी आत्मिक एवं वैश्विक शान्ति सम्भव हुँदैन। योगको समस्त प्रक्रियाहरु एवं विद्याहरुको पछाडि उहाँको मुख्य उद्देश्य अँध्यारो र अज्ञान मेट्नु नै हो। संशय, भ्रम र आग्रहभन्दा माथि उठ्नु हो। उहाँले ध्यान, धारणा र समाधिको एकीकरणद्वारा संयम गरेर नै सिद्धि प्राप्त हुने कुरा गर्नुहुन्छ। शारीरिक क्रियाद्वारा चित्तवृत्तिलाई संयमित र नियन्त्रित गर्दै आध्यात्मिक ज्ञान प्राप्त गर्नु र सांसारिक सुख दुःख र रागद्वेषबाट मुक्त हुनु नै योग दर्शनको लक्ष्य हो, अभ्रि्राय हो। आज हामीले ‘योग’ शब्दको अर्थ जुनरुपमा बुझेका छौं, त्यो शारीरिक स्वास्थ्यका लागि गरिने व्यायाम नै हो। ‘स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कले निवास गर्छ’ भन्ने उखानलाई बुझ्ने हो भने पनि मन र मस्तिष्कलाई ऊर्जावान र अनुशासित गर्ने हेतु योगले ठूलो महत्व राख्दछ।
‘योग दर्शन हिन्दु धर्मशास्त्रको विषय हो’ भन्नेहरुले के पनि बुझ्नु पर्छ भने सनातन धर्म जसलाई आज हामीले हिन्दु धर्मकै नामले बुझ्ने गरेका छौं- यस पृथ्वीको सबैभन्दा पुरानो धर्म हो। इस्लाम र क्रिश्चियन धर्म धेरै पछि स्थापित भएका हुन्। हाम्रा प्राचीन धर्मग्रन्थ वेद, उपनिषद, गीता इत्यादि कुरान र बाइबल भन्दा पुराना हुन्। वास्तवमा आज संसारमा जे जति धर्म, मान्यता, खान-पान र रहनसहन हामी पाउँछौं। त्यसको मूलमा भौगोलिक भिन्नता नै हो। इस्लाम धर्मको पवित्र तीर्थस्थल मक्का मदिना हो। क्रिश्चियनहरुको बेटिकन सिटी मानिन्छ। खाडीका मुलुकहरु जहाँ इस्लाम धर्मलाई मानिन्छ त्यो ऊष्ण प्रदेश हो। रेतिलो उष्ण प्रदेशका मानिसहरुका लागि शीतलता महत्वपूर्ण हो। त्यो उनीहरुको आवश्यकता हो, खाँचो हो।
चन्द्रमा शीतलताको प्रतीक हो। चन्द्रमाले शीतलता प्रदान गर्छ। अतः इस्लामधर्ममा चन्द्रमाको बढी महत्व छ। यही कारण हो इस्लाम धर्ममा चन्द्रमाको पूजा गरिन्छ। सनातन धर्म अर्थात् हिन्दु धर्म मान्नेहरुको भूखण्ड हिमाल, पहाड र तराई भएता पनि वैविध्यपूर्ण मौसम र पर्याप्त जल, जंगल र हरियाली भएको भूखण्ड हो। यस्तो भूखण्डमा सूर्यको ताप र ऊर्जा एवं पानीको आवश्यकता हुन्छ। मौसमी परिवर्तन र खेतीपातीका लागि पानी र सूर्य महत्वपूर्ण हुन्। यही कारण हो हिन्दूहरुले पानी र सूर्यको पूजा गर्छन्। यसरी हेर्दा प्रारम्भिक चरणमा धर्म सम्बन्धित भूखण्डको भौगोलिक र मौसम सम्बन्धि वातावरण अनुसार नै स्थापित भएको पाइन्छ। समुन्द्री क्षेत्र र उपजाऊ भूमि भएका भूखण्डहरुमा क्रिश्चियन धर्मको स्थापना भयो। उनीहरुको धर्म सरल र कम खर्चिलो धर्म हो। प्रायशः ठन्डा प्रदेशहरुमा यस धर्मको प्रचार-प्रसार भएको पाइन्छ। यसरी हेर्ने हो भने भौगोलिक बनोटको हिसाबले मौसम र माटोको उर्वराशक्तिको आधारमा अन्न, फलफूल, सागसब्जीको उत्पादन र जीवजन्तुहरुको उत्पत्ति भएको र त्यही अनुसार खानपान, रहनसहन, रीतिरिवाजहरु बनेको पाइन्छ। मरुभूमिमा दूध दहीको उत्पादन सम्भव नभएको हुँदा त्यहाँका मानिसहरु बढी मांसाहारी भए। वनजंगल र हरियाली भएको भूखण्डमा मानिसहरुले दुधालु पशु पालन गरी दूध दही र घिउको प्रयोग गर्ने भए। गाईको दूध भोज्य पर्दाथको रुपमा तथा मलमूत्र औषधीय गुणका कारण प्रयोग गरियो। यही कारण हो हिन्दूहरुले गाईलाई गौ माता भनी पुज्न थाले। योग साधनामा सूर्य नमस्कारलाई लिएर भारतमा केही मुस्लिम संगठन र व्यक्तिहरुले आपत्ति उठाएको समाचार सुनिन्छ। तिनीहरुको आपत्ति आधारहीन हो। वास्तवमा यो सूर्य नमस्कार होइन, सूर्य साधना हो र यसको मुख्य उद्देश्य सौर्य ऊर्जालाई शरीरभित्र प्रवेश गराउनु हो; ऊर्जा प्राप्त गर्नु हो। सूर्य साधनामा १२ वटा विधि अर्थात् आसन गराइन्छ जुन एक प्रकारको व्यायाम नै हो। ‘ओम’ शब्दको उच्चारणमा पनि धार्मिकभन्दा वैज्ञानिक कारण नै मूल हो। ‘ओम’ शब्दको उच्चारणले हाम्रो घाँटी, छाती र मस्तिष्कलाई ऊर्जा दिन्छ, अक्सिजनको कमीलाई पूरा गर्छ। यो पनि योग हो व्यायाम नै हो। ‘ओम’ र ‘अल्लाह’ को उच्चारणमा समानता छ। ओमको उच्चारण प्रातःकाल, शुद्ध वातावरण र वायुमा गरिन्छ तर्सथ नै वायुलाई भित्र तानिन्छ। अल्लाहको उच्चारणमा वायु बाहिर निकालिन्छ। नमाज अदा गर्नुपनि योग हो, साधना हो। वास्तवमा गीता, कुरान र बाइबलको अध्ययन पूर्वाग्रही नभई रित्तो मस्तिष्कले गर्ने हो भने धेरै समानता छ र सबैको मूलभाव र उद्देश्य एउटै रहेको छ। मात्र दृष्टिभेद हो।
वास्तवमा धर्मको स्थापना गर्नेहरुले मानव मात्रको हितलाई ध्यानमा राखेर स्थापना गरेका हुन् तर पछि आएर धर्मको व्याख्या गर्नेहरुले आ-आफ्ना तरिकाले आ-आफ्ना वर्गको हित र व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर व्याख्या गरिदिनाले धार्मिक असहिष्णुता फैलिदै गएको हो। आज धर्म एउटा व्यवसाय भैदिएको छ र पूजा स्थलहरु व्यापारिक केन्द्र बनेका छन्। राजनीतिको व्यवसायीकरण भए झै धार्मिक क्रियाकलापहरुको पनि व्यवसायीकरण गरिएको छ। धर्मका प्रचारकहरु धर्मका ठेकेदार भैदिएका छन्। आज धर्मले राजनीति र राजनीतिले धर्मलाई हस्तक्षेप गरिरहेको छ। धर्मले मानिस मानिसलाई लडाउँछ भने, धर्मले मानव समाजमा घृणा र द्वेष फैलाउँछ भने त्यस्तो धर्म किन मान्ने ? धर्मले भ्रम सृजना गर्छ भने धर्मलाई किन मान्ने ? पूजा स्थलहरु भ्रष्टाचार व्यभिचारका अखडा बनेका छन् भने त्यहाँ किन जाने ?
इस्लाम धर्म मान्ने मुलुकहरुमा पनि योगा सिकाइन्छ, योगा गरिन्छ। नेपाल एउटा ‘जम्बुद्विपे भारत खण्डे’ भएको मुलुक, केही समय पूर्वसम्म विश्वको एक मात्र हिन्दू राष्ट्रको रुपमा सम्मानित, प्रतिष्ठित र आफ्नो छुट्टै पहिचान भएको मुलुक हो। ‘योग’ बारे नेपालले के गर्दैछ त ? योग बारे सबभन्दा बढी प्रचार-प्रसार र चासो राख्नुपर्ने मुलुक हो नेपाल। नेपालका जनता र नेपालको सरकारले के गरिरहेका छन् त ? विचारणीय विषय भएको छ।
योग कुनै धार्मिक अनुष्ठान होइन। धर्मसित योगको कुनै सम्बन्ध छैन। धर्म छुट्टै विषय हो। योग पद्धति युग युगादि देखि भारतीय उपमहाद्वीपमा चलिआएको जीवनशैली हो, दैनिक क्रिया हो, आस्था र विश्वास हो। योग कुनै एक धर्मको विषय होइन। यो सत्य हो कि योगको प्रारम्भ ‘जम्बुद्विपे भारत खण्डे’ मा नै भएको हो। संस्कृत सबैभन्दा प्राचीन भाषा भएको हुँदा योग दर्शनको प्रचार-प्रसार संस्कृतमा नै भएको पाइन्छ। सबै धर्महरुमा भिन्नता भनेको भाषा हो।कुरान संस्कृतमा वा वेद, गीता अरबी-फारसीमा लेखिएको भए के हुन्थ्यो – गिलास आधा भरिएको छ भन्नु वा आधा खाली छ भन्नु दुबै सत्य हुन्। तर गिलास आधा छ भन्नु निराशाजनक र नकारात्मक सोचको परिचय हो भने गिलास आधा भरिएको भन्नु सकारात्मक र आशाजनक प्रवृत्ति र सोचको परिचायक हो।
खानपान र पूजा पद्धतिहरुमा भिन्नता छ भन्दैमा धर्म र धार्मिक प्रक्रिया विरोधाभाषी हुँदैन। चिकित्सा शास्त्रकै कुरा गर्ने हो भने आयुवेदिक, होम्योपेथिक वा एलोपेथिक चिकित्सा पद्धति अपनाइएको पाइन्छ।यी तिनैको आफ्नै महत्व छ, तीनै आफूमै पूर्ण चिकित्सा पद्धतिहरु हुन् र तीनैको उद्देश्य मानिसको शरीरलाई स्वस्थ बनाउनु हो। धर्मलाई पनि यसै अर्थमा किन स्वीकार गरिदैन ? निहित स्वार्थले गर्दा होला।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०