यात्रा संस्मरण : दाङबाट बैदाम पोखरा

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७१

२०७१ साल फागुन १७ गतेसम्म दाङ घोराहीमा हामी पोखरा र राप्ती अञ्चलका साहित्यकारहरू विभिन्न साहित्यिक कार्यक्रमहरूमा भाग लिइरहेका थियौं। यसै दिन ‘हेमराज पहारी स्मृति प्रतिष्ठान, पोखरा’ ले ‘हेमराज पहारी स्मृति पुरस्कार-२०७१’ समपण समारोह तथा विशेष कवि गोष्ठीको आयोजना गरेको थियो। यस प्रतिष्ठानद्वारा ‘राप्ती साहित्य परिषद्’ (२०३४) दाङलाई दोस्रो पटकको रु. एक लाखको पुरस्कार यसै समारोहमा समपण गरिँदै थियो।

उक्त पुरस्कार समर्पण समारोह “हेमराज पहारी स्मृति प्रतिष्ठान” कै अध्यक्ष रीता पहारीको अध्यक्षतामा सञ्चालित थियो। यसै प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारीद्वारा उद्घोषणको सम्पूर्ण जिम्मेवारी परिषद््का वरिष्ठ उपाध्यक्ष कपिलमणि देवकोटालाई दिइएको थियो। प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने थिए भने विशेष अतिथिको रूपमा खेम नेपाली र अनिल पौडेल। पुरस्कार छनौट समितिका संयोजक हरिप्रसाद भण्डारी -रुकुमका पूर्व प्र.जि.अ.) राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र लोकगायिका हरिदेवी कोइराला पनि विशेष अतिथिकै रूपमा मञ्चासिन थिए।

प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत मन्तव्यका क्रममा राप्ती दाङका साहित्यानुरागीहरूका समक्ष हेमराज पहारीको र समग्र पोखराको संक्षिप्त चिनारी पनि प्रस्तुत गरे। कवि एवम् नियात्राकार हेमराज पहारीलाई समाज रूपान्तरण गराउने दृढ अठोट भएका साहित्यकार एवम् विद्यार्थी जीवनमा नेपाली विषयमा सवोर्त्कृष्ट अङक प्राप्त गरेका विज्ञान विषयका आदर्श शिक्षकका रूपमा चिनाए। फागुन १७ गते उनको मृत्यु भएको दिनको स्मरण गर्दै पुरस्कार वितरण समारोहको आयोजना हुँदै आएको जानकारी दिलाए। राप्ती साहित्य परिषद्लाई पुरस्कार प्रदान गर्न यहाँसम्म आइपुग्दा हामी पोखरेलीहरू साहित्यिक पर्यटक पनि हुन पुगेका छौं। बैदाम पोखरा पनि साहित्यिक पर्यटनको क्षेत्रका रूपमा विकसित हुने प्रबल सम्भावना छ। बैदाम पोखरामा हेमराज पहारी, बाटुलेचौर पोखरामा जनकविकेशरी धर्मराज थापा, कुँडहर मियाँपाटनमा लोककवि अलिमियाँ, अर्चले पोखरामा लेखनाथ पौड्याल आदि महत्वपूर्ण कवि एवम् साहित्यकारहरूका जन्मस्थल हुन्। यी स्थानहरू प्राकृतिक रूपमै पनि आकर्षक र दर्शनीय पर्यटनस्थलहरू हुन्। पहारीले अत्यन्त संक्षेपमा परिचय सहित स्वागत मन्तव्य दिएर बिदा भए ।

काठमाडौंबाट आमन्त्रण गरिएका विशेष अतिथि अनिल पौडेलले पनि साहित्यकार हेमराज पहारीकै थप परिचय प्रस्तुत गरे। “देशको अभिभारा” कविता सङ्ग्रह र “उत्तरी गोलार्द्धको एक फन्को” नियात्रा निबन्ध सङ्ग्रहका सर्जक पहारी कम शब्द बोल्ने, अरूका धेरै कुराहरू सुन्ने, सधैँ सफासुग्घर रहने, राम्रा अक्षर लेख्ने कला भएका उदारभावना भएका व्यक्ति थिए भन्ने सुनाए। प्रतिष्ठानको अध्यक्ष रीता पहारी पनि उदात्त भावनाको व्यक्तित्व भएकै कारण रु. १५ लाखको अक्षयकोष स्थापना भइसकेको छ। उक्त अक्षयकोष आगामी दिनमा ३० लाख रकमको हुन जाने सम्भावना पनि छ। रीता पहारी मोफसलका क्षेत्रमा जगदम्बा जस्तै प्रतिष्ठित नारी बन्ने पनि सम्भावना छ। यस प्रतिष्ठानका सहभागी र सहयोगी सबैलाई धन्यवाद छ भन्दै बिदा भएका थिए अनिल पौडेल।

विशेष अतिथि हरिप्रसाद भण्डारीले ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’ को पुरस्कार छनौट समितिको संयोजकमा रहेर जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेका रहेछन्। अभिव्यक्तिका क्रममा उनले हेमराज पहारीसँग ललितपुर काठमाडौंमा भेट भएको र उनको ‘उत्तरी गोलार्धको एक फन्को’ पुस्तक पढ्न पाएको कुरा स्मरण गराए। छनौट समितिका अन्य दुर्इ सदस्यः कृष्णप्रसाद बाँस्तोला र फडिन्द्र अकिञ्चन समेतको सामूहिक निर्णलाई दाङ र पोखराका दुवै संस्थाहरूले स्वीकार गरिदिएकोमा हार्दिक धन्यवाद दिए र एउटा श्रद्धाञ्जली कविता पनि सुनाए। उक्त पुरस्कार समारोह कवि गोष्ठी समेत भएको हुँदा बीच-बीचमा राप्तीका पाँचवटै जिल्लाका र धरानका भीम खतिवडा लगायतका कविहरूलाई कविता वाचनको अवसर दिइएको थियो। कवि इन्दु अंशुले हेमराज पहारीकै बारेमा रचना गरी वाचन गरिएको कविताले श्रोताहरूलाई बढी प्रभाव पारेको थियो। कविता वाचनको सिलसिला सिद्धिएपछि समारोहका अध्यक्ष रीता पहारी र प्रमुख अतिथि प्रा.डा. टङकप्रसाद न्यौपानेबाट ‘राप्ती साहित्य परिषद्’ का अध्यक्ष पुरुषोत्तम खनाललाई पुरस्कार स्वरूप रु. एक लाखको चेक हस्तान्तरण गरियो। उक्त पुरस्कार प्राप्त गरेपछि अध्यक्ष खनालले भने ? “यो पुरस्कारको राशि पोखरेली मायाको चिनो हो, यसले राप्ती साहित्य परिषद्लाई उत्साह र प्रेरणा थपिदिएको छ, परिषद्का तर्फबाट आभार व्यक्त गर्दछु। राप्तीका सम्पूर्ण साहित्यिक सर्जकहरू गौरवान्वित भएका छौं। पुरस्कारको रकमलाई अक्षयकोषमा राखी अन्य सर्जकहरूलाई पुरस्कार दिने व्यवस्था गरिनेछ भन्ने जानकारी दिलाउँछु।” खनालको यो संक्षिप्त भनाई एक प्रकारको धन्यवाद ज्ञापनको भनाइ पनि हो। साहित्यिक व्यक्तिले भन्दा साहित्यिक संस्थाले प्राप्त गरेको पुरस्कार अझै बढी सार्थक र समाज उपयोगी हुने रहेछ भन्ने कुराको गवाही पनि हो। धन्यवाद छ राप्ती साहित्य परिषद््लाई र हेमराज पहारी स्मृति प्रतिष्ठानलाई पनि। भविष्यमा पनि पारखयोग्य र शुभ समाचार बनिरहून् यी दुवैका क्रियाकलापहरू ∕

शुभकामना मन्तव्य दिने र कविता वाचन गर्ने महानुभावहरू मध्ये यस पङक्तिकारको टिपोटमा रहेका थिए प्रगतिशील लेखक संघका अध्यक्ष केशव, लक्ष्मी आचार्य, गिरीराज शर्मा, यज्ञबहादुर डाँगी, कृष्णप्रसाद पौडेल, बालिका पन्त, यमबहादुर क्षत्री, उत्तमकृष्ण मजगैयाँ र हरिदेवी कोइराला। कविता वाचन पछि तत्कालै हरिदेवी कोइरालालाई पत्रकारहरूको समूहले उनको लोक प्रसिद्ध गीत “पाइन खबर” एक पटक सस्वर सुनाइदिन अनुरोध गरे, उनले ‘पाइन खबर, घर फर्की आउनूहोस् मेरो हजूर ∕’ गीत गाएर सुनाइन्, पत्रकारहरूले उनको हुवहु स्वर रेर्कर्ड समेत गरेका थिए।

दाङका साहित्यकारहरूले पोखरेली साहित्यकारलाई अविस्मरणीय अभिव्यक्तिहरू सुनाएका छन्। दाङका लेखक संघका अध्यक्ष शंकर पौडेलले दाङको घरआँगनमा आएर समारोह जुटाइदिएकोमा यहाँका सम्पूर्ण श्रष्टाहरूले भाग लिन पाए, नौलो अभियानको थाली भएकोमा सह्राहना व्यक्त गरे। विराटनगरको वाणी प्रकाशनका अध्यक्ष खेम नेपालीले – “पूर्व नेपालमा चूडामणि रेग्मीले साहित्यिक योगदान पुर्‍याए जस्तै पश्चिम नेपालमा राप्ती साहित्य परिषद्ले विशिष्ट योगदान दिएको अनुभव भइरहेछ” भन्ने कुरा व्यक्त गरे। प्राज्ञ सदस्य अमर गिरी भन्छन् – “विदेशीको पैसाको भरमा साहित्य महोत्सव मनाउने संस्कार बढ्दै गएको बेला आफ्नै पैसा, आफ्नै लगानीमा ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’ ले गर्दै आएका क्रियाकलापहरू अत्यन्त सराहनीय छन्।” राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा को भनाइअनुसार – “पोखरा बैदामका हेमराज पहारी अमर भएका छन्। उनको श्रीमती रीता पहारीका नजरमा अश्रुधारा छन् भने ती देशसेवामा बगाएका अमृत धारा हुनेछन् ।” यिनै नारायण शर्मा रहेछन् ‘संघर्षमा बाँच, संघर्षमा मृत्युवरण गर” जस्ता उक्ति र नाराहरू दिँदै दाङ निवासीहरूलाई सजग र क्रियाशील बनाउँदै आएका व्यक्ति। समारोहका पूर्व वक्ताहरूले उनको यस भनाईलाई दोहोर्‍याइरहेका थिए ।

प्रा.डा. टङकप्रसाद न्यौपाने प्रमुख अतिथि ∕ यी हुन् आठवटा राईभाषाका अध्येता, नेपालीहरूको स्वर र ध्वनीका समेत विशेषज्ञ। लगातार ५ घण्टासम्म धैर्यपूर्वक समारोहमा प्रतिक्षारत श्रोताहरूलाई धन्यवाद दिए। नयाँ र पुराना दुवै पुस्ताका कविहरू सरिक भएको देख्दा दाङको छुट्टै विशेषता रहेछ भनी प्रशंसा गरे। आजको समारोह “कोशी, गण्डकी र राप्ती’ को त्रिवेणीको संगम भएको छ” यस संगम र संयोगलाई हार्दिक सराहना गर्दछु। यो अवसर प्रदान गर्ने दुवै संस्था (पोखराका “हेमराज पहारी स्मृति प्रतिष्ठान” र दाङको “राप्ती साहित्य परिषद्”) लाई हार्दिक आभार प्रकट गर्दछु। अनि, साहित्यकार स्वर्गीय हेमराज पहारीको विशाल हृदयप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।” साहित्य र संस्कृतिको महत्व र उपादेयताका बारेमा पनि उनले अत्यन्त सटिक शब्दमा उल्लेख गरे – “साहित्य, संस्कृति र कलाले जीवन्तता दिइरहन्छ,  त्यसकारण साहित्य भन्नु राष्ट्र हो। त्यसैको निरन्तरताका रूपमा हामी पनि यस समारोहमा धैर्यसाथ उपस्थित भइरहेका छौं।” प्रमुख अतिथिका यी शब्द पछि अध्यक्ष रीता पहारीले सबैलाई धन्यवाद दिइन्। उनले भनिन् – “हेमराज पहारी जीवित छँदै एउटा संस्था स्थापना गर्ने इच्छा राख्नुभएको थियो। उहाँको मृत्युपश्चात् त्यही इच्छाको परिपूर्तिका निम्ति “हेमराज पहारी स्मृति प्रतिष्ठान” स्थापना गरिएको हो।” यस भनाइपछि उनले सभा विर्जन भएको पनि जानकारी गराइन्।

पुरस्कार समारोह र कवि गोष्ठीबाट बिदा भई बाहिर आउँदा साँझको ६ बज्न लागिरहेको हुँदो हो, तापनि नीजि गाडीको व्यवस्था भएको हुनाले हामी दाङ घोराहीबाट सबैसँग बिदा भयौं। कपिलवस्तुको चन्द्रौटामा आइपुगेर एउटा होटलमा बास बस्यौं। बिहान सबेरै उठेर बुटवल हुँदै नवलपरासीको रजहर चोकमा आइपुग्यौं। त्यहाँबाट ५ मिनेटको दुरीमा अवस्थित “सामुदायिक प्राकृतिक चिकित्सालय” मा पुग्यौं। धनी गरिब सम्पूर्ण नेपाली जनता र पूरै मानव जातिका लागि यो उदाहरणीय र उपयोगी हस्पिटल हो। शरीरलाई उल्टो असर पार्ने कुनै पनि आधुनिक औषधीको प्रयोग नगरी केवल प्राकृतिक पद्यति र प्राकृतिक खानपानका माध्यमबाट यस चिकित्सा पद्यतिले हरप्रकारका रोगहरूबाट मुक्ति दिलाउँछ। यो हस्पिटल शुरुमा डा. चन्द्रकान्त सुवेदीको सक्रियतामा पोखरामै सञ्चालित थियो, पछि यसलाई स्थानान्तर गराउने सवालमा नवलपरासी रजहरका समाजसेवीहरू आर्थिक/भौतिक सबै प्रकारको सहयोग जुटाउन तत्पर भए, त्यसपछि रजहरका जनताको सक्रियतामा र पोखरेलीहरूको स्वीकृतिमा उक्त हस्पिटल त्यहाँ स्थापित हुन गएको हो। यसकारण पनि पोखरेलीहरूले यसलाई ममताका रूपमा हेर्ने गर्दछन्। हामीले पनि यसको पूर्वाधार संरचना, उपचार पद्यति आदिको जानकारी लिएर त्यहाँका व्यवस्थापक हरि सापकोटा र अन्य निर्देशक, डाक्टरहरूसँग मित्रवत् भेटघाटपछि हामी गैंडाकोट नारायणी नदीको किनारमा आइपुग्यौं।

साहित्यिक यात्राबाट र्फकदै गरेका यात्री सहभागीहरू नवलपरासीको उच्च थुम्कोमा अवस्थित मौलाकालिका देवीको दर्शन गर्ने र कालिका मन्दिरको अवालेकन गर्ने कुरामा एकोमत हुन गए। पैदल बाटो हिँडेर हामी उकाला लाग्यौं सिमेन्टेड सिडीको व्यवस्था मिलाइएको यो बाटो निकै राम्रो र आरामदायी रहेछ  बाटो निर्माणमा विभिन्न व्यक्ति, संघसंस्थाहरूको सहयोग जुटेको रहेछ। प्रहरी सेवाका उच्च तहका अधिकृत ज्ञानेन्द्र विक्रम महतको विशेष पहल भएका कारणले हुनसक्छ बिसौनीहरूमा समेत ‘महत विसौनी’ नामाकरण भएको देख्न पाइन्छ।

त्यो उच्च भूभागमा अवस्थित मौलाकालिका मन्दिरको अवलोकन पछि हामी तल ओल्यौर्ं र मध्य-दिनमा खाना खायौं । भरतपुर र मुगलि·को बाटो हुँदै बेलुका साँझ ६ बजे पोखरा आइपुग्यौं । यसरी,  ‘हेमराज पहारी स्मृति’ प्रतिष्ठान र ‘हरिदेवी कोइराला साहित्य-संगीत सम्मान कोष’ दुवै संस्थाको साहित्यिक सहयात्रा फागुन १५ गते बिहान पोखरा बैदामबाट शुरु भएको थियो । चार-चार दिनको हाम्रो सहयात्रा फागुन १८ गते साँझ ६ बजे बैदाममै आइपुगेर समाप्त भएको थियो । एक हप्तापछि यस यात्राको समीक्षा बैठक बस्यो । हतारमा सोच्नुपरेका अवस्थाहरू र यथासमयमा सूचना सम्प्रेषण गराउन नसकिएको तथाकथित कमजोरी बाहेक साहित्यिक यात्रा समग्रमा सफल र फलदायी भएको निष्कर्ष निकाल्यो । आगामी वर्षहरूमा पूर्व तयारीका साथ पूर्व नेपाल र सुदूरपश्चिम नेपालको भ्रमण गर्ने अपेक्षा राख्दै हाम्रो समीक्षा बैठकको पनि समापन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width