मोदीको जादू

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७१

भारत-पाकिस्तान, रुस-अमेरिका वा उत्तरकोरिया-दीक्षिणकोरिया बीचको जस्तो प्रतिस्पर्धी नभए पनि नेपाल-भारत बीचको सम्बन्ध इतिहासदेखि नै विवादास्पद रहँदै आएको छ। शत्रुतापूर्ण नै त भन्न मिल्दैन तर हार्दिकतापूर्ण भन्न पनि सकिँदैन। सीमा विवाददेखि जलस्रोतको विषय, व्यापार तथा पारवाहन सन्धिदेखि लिएर सपुर्दगी सन्धिसम्मका कुनै न कुनै कुराले नेपालभारत सम्बन्ध निरन्तर उतारचढावपूर्ण रहँदै आएको छ। यस्तो उतारचढावकै बीच पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे। उनको भ्रमणले नेपाल-भारत सम्बन्ध बीचको शंका उपशंकालाई केही हदसम्म राहत दिएको छ। खासगरी मोदीले संविधानसभामा गरेको सम्वोधनपछि नेपाल-भारत सम्बन्धलाई अब नयाँ शिराबाट परिभाषित गर्नुपर्छ भन्नेहरूको एउटा ठूलै जमात देखिन थालेको छ।

नेपाल आएकै दिन मोदीले नेपालको संविधानसभालाई संवोधन गरे। संवोधन मात्र भएको भए सामान्य हुन्थ्यो, तर उनको भाषण जादूमय मात्र होइन पूरै कवितात्मक पनि रह्यो। नेताहरूकै भाषामा भन्ने हो भने मोदीले अत्यन्तै उत्साहप्रद संवोधन गरे। धेरैको बुझाइमा मोदी नेपालको विकासमा सकारात्मक देखिए। उनको जादुमय संवोधनमा हाम्रा नेता लठ्ठै भए मानौँ हाम्रा नेताहरूले आजसम्म त्यस्तो भाषण सुनेकै थिएनन्। आफ्नो भाषणमा विपक्षीहरूमाथि सधैँ विष वमन गर्ने नेताहरूले हार्दिकतामय र अर्थपूर्ण भाषण सुन्दा भाङ खाएको मान्छे झैँ लठ्ठ हुनु कुनै नौलो कुरा पनि थिएन।

नरेन्द्र मोदी वाक्पटुता भएका नेता हुन्। वाक्पटुताकै कारण उनी गुजरातको मुख्यमन्त्री मात्र होइन सिंगो भारतको प्रधानमन्त्रीको पदभार समेत सम्हाल्न पुगेका हुन्। त्यसो त उनी नेपालका नेताको जस्तो कुरा मात्र होइन काम पनि गर्छन्। मोदी जे बोल्छन् त्यो गर्छन् जे गर्न सक्छन् त्यति मात्र बोल्छन् भन्ने कुरा उनले छोटो समयमा गुजरातमा गराएको ठूलो परिवर्तनले देखाइसकेको छ। तर मोदीको यो जे बोल्ने त्यो गर्ने र जे गर्ने त्यो मात्र बोल्ने कुरा नेपालको सर्न्दर्भमा पनि लागू होला कि भारतको सर्न्दर्भमा मात्र होला भन्ने कुरा चाहिँ अलि विचारयोग्य नै छ।

मोदीको संविधानसभाको संवोधनपछि नेपाल भारत सम्बन्धका धेरै सवालहरूमा सकारात्मक धारणाहरू आइरहेका छन्। हिजो भारतीय नेताहरूको सत्तोसराप गर्नेहरू रातारात परिवर्तन भएका छन्। एक किसिमले मोदीको जयजयकार गरिरहेका छन् मानौँ कि मोदी अब हाम्रा विधाता हुन्। कतिपयका अभिव्यक्ति त यस्ता पनि लाग्दै छन् कि अब मोदीले नेपाललाई भारत जति विकसित मात्र नभएर पूरै युरोप अमेरिका नै बनाइदिन्छन्। उनी नेपालीहरूलाई शस्त्रको अन्धकारबाट शास्त्रको उज्यालेमा पुर्‍याउने सारथी हुन्।

हिजोसम्म नेपाललाई भारतले खत्तमै पार्छ, स्वात्तै खान्छ, विकास हुन दिँदैन, राजनीति निकास निस्कनै दिँदैन, सरकारलाई काम गर्नै दिँदैन भन्ने नेताहरूका दिमागलाई मोदीले मात्र ४५ मिनेटको भाषणबाट परिवर्तन गरिदिएका छन्। यसबाट के पुष्टि हुन्छ भने हाम्रा नेताहरूको भारतलाई हेर्ने दृष्टिकोण कति सतही रहेछ, कति क्षणिक रहेछ र कति साँगुरो रहेछ। हिजो जो नेताहरूको दिमागमा भारतले नेपाललाई सघै’ पैतालामुनि राख्छ भन्ने भ्रम थियो आज तिनै नेताहरूमा भारतले नेपाललाई त गुजरात झैँ झिलिमिली पो बनाइदिने रहेछ भन्ने झनै ठूलो भ्रम उत्पन्न भएको छ। स्मरण रहोस् मोदीको एजेण्डा नेपाललाई गुजरात बनाउने होइन सम्पूर्ण भारतलाई गुजरात बनाउने हो, अझ सकिन्छ भने युरोप, अमेरिका र सिंगापुर नै बनाउने हो।

मोदीले नेपालको धेरै प्रसंशा गरे। नेपालीको पनि प्रशंसा गरे। बुद्ध र पशुपतिको नाम लिन पनि छाडेनन्। नेपाललाई धेरै दिने कुरा पनि गरे। सीमा विवाद जस्तो गम्भीर विषय बाहेक मोदीले नेपालको बारेमा एक एक ज्ञान भए झैँ गरी नेपालीलाई चकित पारे। तर हाम्रा नेताले बुझ्नुपर्ने कुरा के भने कुटनीतिमा अरुको प्रशंसा नै गरिन्छ, कसैले पनि लिन्छु भन्दैन दिन्छु नै भन्छ। त्यसैले कुरा प्रशंसा गर्‍यो कि गरेन वा दिन्छु भन्यो कि भनेन महत्वपूर्ण होइन। बरु प्रशंसा किन गर्‍यो ? किन दिन्छु भन्यो ? दिन्छु मात्र भन्यो कि दियो ? भन्ने हो। सँगसँगै दियो नै भने पनि अरुले दिएर देश बन्छ त भन्ने पनि हो। त्यसैले भाषण सुनेकै भरमा विना विश्लेषण मोदीले सब थोक दिन्छन् भनेर कोही भ्रममा नपरे हुन्छ। मोदीले दिएछन् नै भने पनि मोदीको निगाहले देश बन्दैन। जबसम्म नेपालीका पौरखी हातहरू एठ्दैनन् तबसम्म मोदीले त के अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसम्म र रुसका राष्ट्रपति पुटिनदेखि चिनिया राष्ट्रपति हु जिन्ताओसम्मकाले आफ्नो देशको सबै ढुकुटी नेपालमा खन्याए पनि नेपाल बन्नेवाला छैन। संसारमा कतै पनि यस्तो उदाहरण छैन जुन देश विदेशीले बनाइदिएको होस्। यसले बरु परनिर्भरता बढ्दै जान्छ।

बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल जलस्रोतमा धनी छ जसले बिजुलीका माध्यमबाट भारतलाई समेत उज्यालो बनाइदिनसक्छ जस्ता मोदीले भनेका कुराबाट नेपालका नेताहरू ज्यादै प्रभावित भएको देखियो। मोदीले सर्वसाधारणसँग हात मिलाएकोदेखि लिएर नेपाली भाषामा गरेको भाषणको पनि सर्वसाधारणमा ज्यादै प्रशंसा सुनियो। तर यसमा के तुक छ ? बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल जलस्रोतमा धनी छ जसले भारतलाई समेत बिजुली दिन सक्तछ भन्ने कुरा अकाट्य सत्य हुन्। यी कुरा मोदीको मुखारविन्दबाट निस्केपछि मात्र बुद्ध नेपालमा जन्मेको हुने र नेपाल जलस्रोतमा धनी हुने हो र ? होइन। न त नेपालमा आएर मोदीले ५ मिनेट नेपाली भाषामा बोल्दैमा नेपाल र नेपाली भाषाको सम्मान नै हुने हो। नेपालीमा बोलेर मोदीले कुनचाहिँ अलौकिक काम गरे जबकी हाम्रा नेताहरू भारत जाँदा हिन्दीमै बोल्छन्, बेलायत वा अमेरिकातिर पुगे भने अंग्रेजीमै बोलेर फर्किन्छन्। त्यसैले कसैले कसैको भाषा बोलिदिँदैमा हामीले खुशीले खुट्टा उचालेर उफ्रिनु पर्दैन।

मोदीले सर्वसाधारणसँग हात मिलाएको कुरा पनि कुनै नौलो होइन। जनताको शक्तिमा विश्वास गर्नेहरू जहिले पनि जनतालाई सम्मान गर्दछन्। जहिले पनि जनताकै माझमा रमाउँ’छन्। जो मोदी पनि एक हुन्। हाम्रा नेता चुनावमा बाहेक जनतासँग हात मिलाउन घिन मान्ने भएकाले मोदीले सर्वसाधारण नेपालीसँग हात मिलाएको कुरा हामीलाई अलिकति नौलो लाग्नु चाहिँ स्वाभाविक हो तर अलौकिक चाहिँ होइन। नेपाली जनता हुन् वा नेता यस्ता तपसिलका कुरालाई आधार मानेर मोदीलाई अलौकिक ठान्छौँ भने ती सबै हाम्रा दरिद्र मानसिकताका उपज मात्र हुन्।

मोदी एउटा सफल नेता हुन्। हुन सक्तछ राजनेता नै किन नहुन्। तर स्पष्ट छ, नेता वा राजनेता जे भए पनि मोदी नेपाललाई दिन आएका होइनन् नेपालसँग लिन आएका हुन्। कुनै पनि राष्ट्रले आजको दुनियाँमा अरुलाई जति दिन्छ त्यो भन्दा बढी नै लिन्छ। खासगरी शक्तिशाली राष्ट्रले अल्पविकसित मुलुकसँग त लिने नै हो। भ्रम नहोस् लिने दिने धन मात्र हो र लिने गरिबले र दिने धनीले मात्र हो। कुटनीतिमा धन बाहेक पनि लिने धेरै कुरा छन्, जो धनीले गरिबसँग लिन्छन्। मोदी पनि नेपाललाई दिनेमा भन्दा लिनेमा पर्छन्।

शिकार गर्नको लागि चारो चाहिन्छ। चारो विना शिकार हात लाग्दैन। नेपालबाट केही प्राप्त गर्न भारतले पनि नेपालमा चारो नछरी हुँदैन। मोदीले पनि नेपालबाट ठूलो कुरा प्राप्त गर्न संविधानसभामा सानो सानो चारो फालेका हुन्। “चारो” शब्द कुटनीतिमा अलि तीतो हुनसक्तछ, तर वस्तुगत यथार्थ यही हो। यो यथार्थलाई नबुझी मोदीले नेपाललाई संसारै दिन लागेको भनी कसैले भ्रम पालेको छ भने त्यसले कुटनीतिक भाषा नबुझेको हुन्छ। कुटनीति अलि जादूमय नै हुन्छ। संसारमा जादुमय भाषण धेरै हुन्छन्। तर जतिसुकै मिठो भए पनि भाषणले पेट भर्दैन र जादूले एकछिन आँखामा भ्रम छरे पनि भित्री वास्तविकता अर्कै हुन्छ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width