मैले भेटेकी वास्तविक लोकगायिका

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७२

प्रसङ्ग २०६९ सालको बडा दशैँ’को भोलिपल्टबाट सुरु हुन्छ। मैले विद्यावारिधिको लागि नाम दर्ता गरेर एक वर्ष अघि देखि नै फिल्डमा प्रवेश गरेको थिएँ। मलाई मेरा शोध निर्देशक डा .कुसुमाकर न्यौपानेको कडा निर्देशन थियो- लोकगीतको विद्यावारिधि तथ्यपूर्ण फिल्ड वर्क विना सम्भव छैन। अहिले पनि मलाई उहाँ त्यसै भनिरहनु हुन्छ। दशैँको टिका लगाएर झोलामा क्यामरा, भ्वाइस रेर्कर्डर, विभिन्न फारामहरू, डायरी तथा आवश्यक कपडा, औषधि लगायतका सामग्रीहरू हालेर स्याङ्जाको वालिङबाट कच्चीबाटो हुँदै मोटरसाइकलमा आफ्नो कठीन यात्रा प्रारम्भ गरेको थिएँ।

फिल्डको त्यति राम्रो अनुभव भैनसकेको मलाई सबैभन्दा पहिला त मैले खोज्ने गीतहरू पाइने क्षेत्र र गायकगायिकाको बारेमा सूचना लिनु थियो। वालिङ, भुम्रेबाट आँधीखोलाको पुल तरेर म सिधै बायँखोलातर्फ लागेँ। मलाई स्नातक तहमा नेपाली पढाउने गुरु अनन्त अर्याललाई भेट्ने र उहाँबाट केही सूचना पाउने आशाले म उहाँको घरमा पुगेँ। गुरुबाट आशीर्वाद सहित केही सूचना मलाई प्राप्त भयो। त्यसमध्ये उहाँले बताउनु भएको एउटा सूचना थियो -लोकगायिका देवी आचार्य बारेको सूचना जसको बारेमा म यहाँ चर्चा गर्न गैरहेको छु।

म अनन्त गुरुले दिएको सूचनालाई पछ्याउँदै पर्वत, त्रिवेणी गा.वि.स.को आम्बोट भन्ने ठाउँमा पुगेँ। देवी भन्ने नाम लिनासाथ त्यस ठाउँका मानिसहरूले मलाई उहाँको घर नै देखाइदिए। कसैले सेती , कसैले आम्बोटे देवी भनेर पनि उनलाई चिन्दा रहेछन्। त्रिवेणी बजारबाट अलिकति उकालो चढेपछि एउटा सानो गाउँ रहेछ जसलाई आम्बोट भन्दा रहेछन् त्यहीँ एउटा सानो र चिटिक्कको गाउँले पाराको घरमा पहिलो पटक भेटेको थिएँ मैले लोकगायिका देवी आचार्यलाई।

त्यस्तै ३५,३६ वर्षको उमेर, गोरो वर्णयअनि हँसिलो अनुहार। बोली पिच्छे हाँसो र उखान टुक्काहरूको प्रयोग देवी आचार्यका मौलिक विशेषता रहेछन्। मैले आफ्नो परिचय र भेट्नाको उद्देश्य बताइसकेपछि उनी आफैले योजना बनाउन थालिन्। आफ्नै घरमा त्यसै रात गाउँका अन्य मानिसहरू समेत बोलाएर रोधी बस्ने कुराको निर्णय भयो। श्रीमान् विदेशमा र दुर्इ छोराछोरीकी आमा देवीले यस्ता योजना बनाइरहँदा मलाई भने उनैको घरमा बस्दा कुनै अप्ठ्यारो पो पर्ने हो कि – भोलि गाउँलेहरूले कुरा काट्ने पो हुन् कि भन्ने डर लाग्न थाल्यो। उनीसँग मेरो डर पनि व्यक्त गरेँ। उनले त्यसमा मलाई आश्वस्त पारिन्। मैले वालिङ रेडियोबाट गोपाल जि.टी.दाइलाई पनि बोलाएँ। उनैको घरमा खाना खाएपछि मानिसहरूको आउने क्रम सुरु भयो। साँझ आठबजेबाट त्यहाँ खेलीदोहोरीको घम्साघम्सी सुरु भयो। उनका दोहोरी गाउने दौँतरीहरूको घर अलि टाढा परेकोले त्यसदिन सहभागी हुन सकेनन् तर पनि त्यसै गाउँका ७० वषीय दत्तु काफ्लेले लगभग रातभर नै दोहोरीमा साथ दिए।

देवी आचार्य मैले हालसम्म भेटेका लोकगायिकाहरूमा एउटी अद्भूत क्षमता भएकी कलाकार हुन्। गाउन, नाच्न र बजाउन सबै कुरामा उनी निकै नै सिपालू छन्। दोहोरी गाउँदा पुरुषले गीत निकाल्न नसकेको अवस्थामा उनी आफै पुरुषको तर्फबाट गीत निकालेर दोहोरीको आफ्नै प्रतिद्वन्द्वीलाई पनि सघाउँछिन्। बाजा बजाउने कोही नभए आफै मादल बजाउन तम्सन्छिन् र राम्रैसँग बजाउँछिन् पनि। नाच्न पनि उनी कोही भन्दा कम छैनन्। कहिलेकाहीँ त उनी मादल कम्मरमा भिरेर आफै बजाउने, नाच्ने र गीत समेत आफै निकाल्ने अनौठो क्षमता प्रदर्शित गर्छिन्।

वास्तविक लोकगायक त्यो हो जसले लोकमै रहेर लोकका भावना, पीडा, मर्म आदिलाई गीतका माध्यमबाट अभिव्यक्त गर्ने गर्दछ। समाजका परिवेशभित्र रहेर त्यहीँको जनज्रि्रोले सधैँ सधैँ बोलिरहने लवजमा कुनै कृत्रिमताको आभास नआउने गरी तत्काल जसले गीतहरू प्रस्तुत गर्न सक्दछ त्यसैलाई नै वास्तविक लोकगायक/गायिका भन्न सकिन्छ। देवी आचार्यमा एउटी लोकगायिकामा हुनुपर्ने यी सबै गुणहरू भरिपूर्ण भएकाले यस वर्षको अलिमियाँ सम्मानले सम्मानित गर्न लागिएको हो।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठान र श्रष्टा सम्मान

वि.सं. १९७५ साल फागुन महिनाको १५ गतेका दिन हालको पोखरा उपमहानगरपालिका -१३, मियाँपाटनमा पिता दिन मोहम्मद मियाँ र माता जहुरा मियाका कोखबाट यस धर्तीमा पहिलो पटक आँखा उघारेका अली मियाँ लोककविका नामले सर्बत्र परिचित छन्। शिक्षाको नाममा स्वाध्यायनबाट साँवा अक्षर मात्र छिचोलेका मियाभित्र लोकगीतको भण्डार नै थियो। उनी घण्टौँसम्म गीत गाउन  सक्थे। गीतमै कुराकानी गर्न सक्थे। उनलाई नजिकैबाट चिन्नेहृरू उनीभित्र अद्भूत प्रतिभाको खानी रहेको कुरा आज पनि स्मरण गर्छन्। उनले पोखरा आसपासका प्राकृतिक सुन्दरताको बयान गर्दै र आफ्नै जीवनका अनुभूतिहरूलाई गीतका माध्यमबाट गुञ्जाउँदै गए। उनले गाएका कैयौँ गीतहरू पोखरेली आकाशमै बिलाएर गए भने केही पुस्तकाकार कृतिका रुपमा समेत प्रकाशित भए। उनका प्रकाशित कृतिहरूमा विरक्तलहरी(२००६), महेन्द्रलहरी-(२००९), न्याउलीको पुकार(२०११), पहाडको उद्गार(२०१३), सेतीको सुस्केरा-२०२९), आत्मकथा अली मियाँ(२०३८), उज्यालो भैसक्यो(२०३९), सम्झनाको दियो(२०५१),अली मियाँको आवाज-२०५८) रहेका छन्।

जीवनभर लोकगीत गाएर बिताएका अली मियाँ धार्मिक साहिष्णुताका पनि आदर्श व्यक्तित्व  हुन्। आफू मुस्लिम समुदायको भएर पनि रामायण, कृष्णचरित्रका गाथाहरू उनी कष्ठस्थ सुनाउँथ्ो। उनको बोलीचाली र व्यवहारमा समेत सबै धर्म एक हुन्  भन्ने विचार झल्कन्थ्यो। मानव जातिको उत्थान र गरीबीको अन्त्य हुनुपर्ने चाहना उनका हरेक जसो गीतका आवाज हुन्थे। नेपालका चर्चित गायक, गायिकाहरूका स्वरमा उनका गीत रेर्कर्ड समेत भएका छन्।

अली मियाँले आफ्नो जीवनको उत्तरार्धमा प्रशस्तै पुरस्कार तथा सम्मानहरू समेत प्राप्त गरेका छन्। इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (२०४७) कविशिरोमणि पुरस्कार (२०५२) नारायणगोपाल सम्मान -२०५८) वीरेन्द्रऐर्श्वर्य सेवा पदक (२०५८) सार्वजनिक अभिनन्दन एवम् रथारोहण (२०५८) आदि उनले प्राप्त गरेका प्रमुख सम्मान र पुरस्कारहरू हुन्। यस बाहेक पनि उनलाई स्थानीय स्तरबाट अनेक सम्मानहरू प्राप्त भएका थिए। जीवनभर लोकगीत फलाकेर लोकभाकामै जीवनका अनुभव र अनुभूतिहरूले सबैलाई रुवाउने र हँसाउने यस्ता लोक सर्जक अली मियाँ अन्ततः वि.सं. २०६३ साल श्रावण १८ गतेका दिन सबैलाई रुवाउँदै बिदा भए। उनी आज यस धर्तीमा नभए पनि उनको सर्वत्र चर्चा भइरहेको छ।

अलीमियाँको एउटा सपना थियो -एउटा संस्था खोलेर लोक साहित्य क्षेत्रका पर्दा पछाडि रहेका श्रष्टाहरूको सम्मान गर्दै जाने। त्यही सङ्कल्पलाई मूर्त रुप दिनको लागि लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र हाजी हनिफ मियाँ र अली मियाँका शुभचिन्तकहरूको सक्रियतामा वि.सं २०५९ जेठ ९ गतेका दिनबाट विधिवत दर्ता भई अली मियाँ लोकवाङ्मय प्रतिष्ठान स्थापना भएको हो। पोखरामा स्थापना भएका प्रशस्तै वाङ्मयिक संस्थाहरूमध्ये अग्रणी भूमिका निर्वाह गरिरहेको यस प्रतिष्ठानले वर्षैपिच्छे विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्दै आएको छ। समय -समयमा साहित्यिक तथा संस्कृतिसँग सम्बन्धित कार्यक्रमहरू गरेर अली मियाँको सपनालाई रङ्गीन बनाउँदैछ यस प्रतिष्ठानले। यस प्रतिष्ठानको अर्को अत्यन्तै सबल पक्ष भनेको यसले प्रदर्शन गरिरहेको धार्मिक सहिष्णुताको नमुना हो। समय- समयमा यस संस्थाले आयोजना गर्ने गरेका कार्यक्रमहरू र सहयोगहरूबाट यस कुराको पुष्टि हुन्छ। कट्टर मुस्लिम समुदायसँग सम्बन्धित संस्था भएर पनि हिन्दूधर्मका दशावतार बालनको प्रदर्शन, बालनेहरूलाई गरेको सहयोग, गोपीचन लोकनाटकका कलाकारहरूलाई गरेको सम्मान लगायत सम्बन्धित क्षेत्रमै गएर गरिएका सम्मानहरूले गर्दा यो संस्था सबैको नजरमा सम्मानित हुन पुगेको छ। त्यही क्रमको निरन्तरता स्वरूप अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाको वाषिर्कोत्सवको अवसरमा प्रत्येक वर्ष गर्दै आएको श्रष्टा सम्मानबाट माथि चर्चा गरिएकी लोकगायिका देवी आचार्य सम्मानित हुनुहुने भएको छ। देशमा आइपरेको वर्तमान महाविपत्तिलाई मध्यनजर गर्दै यही शनिबार सम्मानित हुनुहुने देवी आचार्यको घर आसपासमा रहेका भूकम्प अति प्रभावित केही घरपरिवारलाई राहत वितरण समेत गर्ने कार्यक्रम आयोजना गरिएको छ। श्रष्टाले जुन भूमिमा रहेर आफ्नो सिर्जनाकार्य गरिरहेको त्यसै भूमिमा पुगेर सम्मान गर्नु र आफ्नै घर आँगनमै आफन्तहरूको साथमै सम्मानित हुने अवसर पाउनु दुवैको लागि यो महत्त्वपूर्ण अवसर हो।

अली मियाँको सपनालाई यसैगरी पूरा गर्दै अझै पर्दाभित्र लुकेर रहेका लोक प्रतिभाहरूलाई खोजी खोजी सम्मान गर्न सकेमा अली मियाँको आत्माले सबैलाई आशीर्वाद प्रदान गर्नेछ। हुन पनि लोकगायनमा लागेर आफूले  झैँ दुःख कसैले भोग्नु नपरोस् भन्दथे अली मियाँ। अली मियाँको त्यही चाहना, कामना र सपना पूरा गर्ने महान् अभियानमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठान अनवरत लागिरहेछ। प्रतिष्ठानको १३औँ वार्षिकोत्सवको सर्न्दर्भमा लोककवि अली मियाँप्रति हार्दिक श्रद्धाञ्जली र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानलाई मुरी-मुरी  शुभकामना। साथै सम्मानित हुनुहुने लोकगायिका देवी आचार्यलाई बधाई।

अन्तमा, देवी आचार्यद्वारा गाइएका केही खेली गीतहरूको नमूना प्रस्तुत छन् :

दाइको दैला मुनि

फूल खेलेको पतना

आउँछु कैलै कतान।।१।।

भोलि पनि आए,

डुम्रेभञ्ज्याङ कपासे

अन्त कतै नपसे।।२।।

सेदीमुनि सीला

सीलामुनि कालिका

बुझे कुरा जालीका।।३।।

आधा बारी तोरी

आधा बारी सरसिम

आउँछु भोलि पर्सिमा।।४।।

सन्चो छैन मलाई

यो अहिलेको सालमा

खाली अस्पतालमा।।५।।

कपाल कोरी सिउँदो

सिउँदो माथि सिम्रिक

रोइछन् घर त्रि्री त।।६।।

आँधीखोले दाइको

टाउको काटी फुबाल

छाला काडी सुवाल।।७।।

ए मेरो हजुर

अचम्मैको थियौ नि

जोवन कल्लाई दियौ नि।।८।।

तिम्लाई जति माया

सम्पत्तिलाई लाछैन

भन्दै हिँड्न भा छैन।।९।।

धन्नै आउनु भयो         ठाडो बाटो उकाली

लाको जुत्ता फुकाली ।।१०।।

उचबखबकतगकिष्२थबजयय।अom

(लेखक नेपाली खेलीगीतमा पि.एच.डी. अनुसन्धानरत छन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width