मेलमिलाप : इतिहास र वर्तमान

विष्णु अधिकारी
फागुन २८, २०७५

विषेशतः अदालती मुद्दाहरूका सन्दर्भमा मेलमिलाप पद्धतिको सुरुआत भएको धेरै लामो समय भएको छैन अदालती प्रक्रियामा आएका मुद्दाहरूमा औपचारिक रूपमा मेलमिलाप गरी टुंगो लगाउने कार्य २०६० सालदेखि सुरुआत भएको हो। न्यायमा सहज पँहुच कार्यक्रम अन्तर्गत अदालत भित्रै मेलमिलापकेन्द्र स्थापना गरी २०६२ सालदेखि सवोर्च्च अदालतबाट परीक्षणका रूपमा अगाडि सारिएको थियो। यो प्रयोग अहिले प्राय सबैजसो अदालतहरूमा मेलमिलाप केन्द्रका रूपमा रहेको छ।

सवोर्च्च, उच्च र जिल्ला अदालतद्वारा गरिने मेलमिलाप सम्बन्धी कार्य गर्नका लागि मेलमिलाप सञ्चालन निर्देशिका २०६३ तयार गरी मेलमिलापको कार्य सञ्चालन भयो। यसै निर्देशिकाको आधारमा मेलमिलाप सम्बन्धी कानून तयार गरी मेलमिलाप कार्यलाई थप प्रभावकारी बनाउनका लागि २०६८ मा मेलमिलाप सम्बन्धी ऐन जारी भयो २०७० मा मेलमिलाप सम्बन्धी नियमावली तथा मेलमिलापकर्ताको आचारसंहिता २०७३ समेत आइसकेको वर्तमान अवस्थामा मेलमिलापबाट अदालती प्रक्रियामा आएर पनि मेलमिलाप गर्न चाहने पक्षहरूका लागि ठूलै राहत मिलेको पाइन्छ।

मेलमिलाप के हो?

विवाद समाधान गर्ने विभिन्न उपायहरू हुन्छन्। तिनै विभिन्न उपायहरू मध्ये सवोर्त्तम उपाय भनेको नै मेलमिलाप हो। मुद्दा वा विवादित पक्षहरूका बीच रहेको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजीकरण गर्ने वार्ता वा स्वेच्छिक र गोप्य प्रक्रियामा सामेल गराई आफुले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुबै पक्ष सहभागी भइ छलफल गरी चित्तबुझने गरी विवादको समाधान गर्ने तरीका नै मेलमिलाप हो।

कुनै पनि दुई वा बढी विवादित पक्षहरू बीचको द्वन्द्व, विवाद झगडामा तेस्रो पक्षद्वारा स्वतन्त्र, निष्पक्ष रूपमा विवादित पक्षहरूसँग एकसाथ बसी विवादित पक्षहरूलाई स्वीकार्य हुनेगरी विवादको समाधान गराउने पद्धति हो मेलमिलाप। यो त एउटा प्रक्रिया मात्रै हो यस प्रक्रियामा मेलमिलापकर्ताका रूपमा तेस्रो पक्षको उपस्थिति हुन्छ जो निष्पक्ष र तटस्थ भूमिकामा रहेको हुन्छ र विवादित पक्षहरूका बीच सहजीकरणको भूमिका खेल्दछ दुबै पक्षहरूलाई लाभ हुनेगरी विवादको अन्त्य गर्नु नै मेलमिलापकर्ताको उद्देश्य रहेको हुन्छ।

मेलमिलापकर्ता

पक्षहरू बीचको विवादलाई छलफलका लागि सहज वातावरणबाट विवादको विषयमा सहमति कायम गर्नका लागि पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै पनि विषयवस्तुमा मेलमिलाप गराउने उद्देश्यले सम्बन्धित निकायबाट तालिम प्राप्त गरेका योग्य र दक्ष व्यक्ति वा संस्था मात्रै मेलमिलापकर्ता हो जस्ले सबै अदालतका मेलमिलाप केन्द्र, गाँउपालिका, नगरपालिका, र समुदायमा सञ्चालित मेमिलाप केन्द्रमा मेलमिलापकर्ताको रूपमा सूचीकृत भएका हुन्छन। यसबाहेक घर परिवार, छरछिमेक र समुदायले पत्याएका व्यक्ति पनि तालिम नै नलिएको रहेछ भने पनि मेलमिलापकर्ताको रूपमा रहन सक्छन।

विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका कस्तो रहन्छ भन्ने विषयमा आफु मेलमिलापकर्ताको रूपमा रहँदा विवादित दुबै पक्षहरूलाई सहमतिमा पु¥याउन निष्पक्ष र तटस्थ सहजकर्ताको भूमिकामा रहन्छ र मेलमिलापकर्ताले कुनै पक्षलाइ कानूनी सल्लाह पनि दिँदैन र कसैको पक्ष पनि लिदैन पक्षहरू नै आफै निर्णयमा पुग्ने हो यसरी मेलमिलापको लागि पक्षहरूलाई सहजीकरण र सहयोग गरीदिनु नै मेलमिलापकर्ताको भूमिका रहन्छ। तर कतिपय विवादित विषयमा मेलमिलापकर्ताको रूपमा विभिन्न स्वार्थ समूह रहने र तिनै स्वार्थ समूहको कारण मेलमिलापकर्ताहरूको अवमूल्यन हुँदै गैरहेको पनि पाइएको छ यसतर्फ विवादका पक्षहरू नै सजग रहनुपर्ने हुन्छ।

कसरी शुरु हुन्छ मेलमिलाप प्रक्रिया?

मेलमिलाप कार्यमा दुबै पक्षहरूलाई आफनो विषयमा बोल्ने अवसर दिइन्छ यसपछि मेलमिलापकर्ताले आवश्यकता अनुसार विवादका पक्षहरू बीच एक्ला एक्लै र संयुक्त कुराकानी गर्न सक्छन् यसरी पक्षहरूबाट आएका तथ्यहरूलाई गोप्य नै राख्नेगरी पक्षहरू बीच भएको छलफलबाट सहमति तयार गर्न पक्षहरूलाई सहयोग गर्दछन्। र मेलमिलाप प्रक्रियाबारे पक्षहरूलाई जानकारी गराउँदछन। तर पक्षहरूलाई मेलमिलाप गर्नैपर्छ हुनैपर्छ भनेर दवाव वा बाध्यता रहँदैन तथापि मेलमिलापमा प्रवेश गरेको विषयका केही वा सबै विषयमा सहमतिमा पुग्न वा नपुग्न पनि सक्दछ। पक्षहरू बीच मेलमिलाप हुन नसकेमा नियमित सुनुवाइका लागि मुद्दा पुन अदालतमा फिर्ता गरिन्छ भने समुदायको विवाद समाधानका लागि अन्य उपाय अवलम्बन गर्न सकिन्छ।

हाम्रो समाजमा यतिबेला पारिवारिक विवादहरू बढदै गएका छन सामान्य भन्दा सामान्य घरायसी तथा पारिवारिक विवादहरूमा पनि अदालत जाने अवस्थाहरूमा मेलमिलापको पद्धतिलाई सार्थक बनाउन सकिन्छ तापनि सबै पारिवारिक विवादहरू एकै प्रकृतिको पनि नहुन सक्छ जस्ले गर्दा हेर्दा उस्तै लाग्छ पारिवारिक विवाद हो तर पनि पक्षहरू आ आफना दाबीहरूमा कुनै टसको मस हुन चाहँदैनन्। किन यस्तो स्थिति आउँछ भन्नेबारे समाजशास्त्रीय दृष्टिबाट हेरिनुपर्ने हुन्छ। यसो भनिरहँदा मेलमिलापका लागि सहभागी पक्षहरूले आफनो मान्छे भनेर ल्याइएकालाई मेलमिलाप कक्षमा बस्न नदिने हो भने मेलमिलापको वातावरण बिग्रने र बस्न दिँदा उसको भूमिकाले गर्दा हुने मेलमिलाप पनि नहुने वा नभएको अवस्था देखिएको छ।

पक्षले बोलाएका मान्छेहरू र अदालतमा रोजेको मेलमिलापकर्ताबीच तालमेल मिल्दैन , मेलमिलापकर्ताले आफु समक्ष आएको विवाद मिलाएर पठाउन भरमग्दुर प्रयत्न गरिरहन्छ तर पक्षसँग आएको व्यक्तिले कुनै पनि हालतमा आफनो अडान नछाड्न दवा दिइरहेको हुँदोरहेछ अनि विवाद मिल्ने कुरै भएन। कास्की जिल्ला अदालत तथा उच्च अदालतबाट मेलमिलापका लागि सिफारिस भएका धेरैजसो मुद्दाहरूमा मेलमिलाप हुन सकेको देखिँदैन तर मेलमिलापकर्ताले किन मिलेन भनेर थप अनुसन्धान गरेको पनि पाइएको छैन यसो त कानून व्यवसायीहरू पनि मुद्दा सकेसम्म मिल्न नसकोस भन्दै रहने र सोही अनुसार पक्षलाइ सल्लाह दिइरहने र पक्षको पछि लागेर आउने मान्छेले पनि पक्षको हित बेहित जेसुकै होस इगोको रूपमा मुद्दा मिलाउन भन्दा लम्ब्याउँदा नै उपयुक्त हुने भन्दै सल्लाह दिइरहने गरेका अवस्थामा नाम मात्रको मेलमिलापका लागि गरिने अर्थहीन प्रयासहरूको कुनै औचित्य देखिँदैन। यसर्थ मेलमिलाप कार्यलाइ प्रभावकारी बनाउन कानून व्यवसायी र मेलमिलापकर्ताबीच समन्वय पनि हुनुपर्ने हुनसक्छ। मेलमिलापकर्ताले विषयवस्तुको अध्ययन र पक्षहरूको हित बेहितका विषयमा प्रष्ट पारिदिन सकेमा र इगो नभइ वास्तविक र वस्तुगत आधारहरूमा पक्षहरूलाई सुसूचित गर्न सकेमा मेलमिलापबाट सार्थक परिणाम आउनेमा शंका रहँदैन। तर इगोको विवादहरूमा मेलमिलापको कुनै अर्थ रहँदैन।

मेलमिलापको यथार्थ

बर्ष ०७५। ०७६ को आ.व.मा पोखरा उच्च अदालतबाट मेलमिलापका लागि सिफारिस गरिएका ४१ थान मुद्दामा ३४ मुद्दा असफल भए ७ ओटा मुद्दा चालु अवस्थामा नै रहेका छन यसैगरी कास्की जिल्ला अदालतबाट ११० मुद्दा मेलमिलापका लागि सिफारिस भएकोमा ४० ओटा मुद्दा सफल भएका छन ७५ ओटा मुद्दा असफल र २० ओटा चालु अवस्थामा रहेको पाइएको छ। यसरी ७७ ओटै जिल्ला अदालत र ७ ओटा उच्च अदालतको तथ्याङक हेर्दा २२.०४ प्रतिशत सफल र ७७.९६ प्रतिशत मुद्दा असफल रहेको मेलमिलाप परिषदको रेकर्डमा उल्लेख भएको पाइएको छ।

निष्कर्ष

समग्रमा अदालतको इजलासबाट पक्षहरूको अनुरोधलाई स्वीकार गरेर वा इजलासको स्वविवेकले मेलमिलापका लागि पठाइएका मुद्दाहरूको विषयमा मेलमिलापमा बस्नु पहिले नै दुबै पक्षका कानून व्यवसायी र पक्षहरूका बीच विवादको अन्तर्य खोज्नु, पक्षहरूका आफन्त भनिएका व्यक्तिहरूका बीच छलफलमा सहभागी हुने अवस्था रहेमा वा र विवादका पक्ष र मेलमिलापकर्ता मात्रैको बीचबाट सम्भावना रहेको अबस्थामा मेलमिलापको सार्थक परिणाम आउनसक्छ। यस्का लागि पक्षहरूको बीच मिल्न सक्ने नियतबारे पनि बुझनु जरुरी छ। निश्चित मापदण्ड र आधारहरूमा मिल्न सक्ने अवस्था देखिएमा मेलमिलापको प्रयास गर्दा उपयुक्त हुनसक्छ अन्यथा समयको बर्बादी बाहेक केही हुनेवाला छैन।

इगो नलिइकन पक्ष अदालत आएको हुँदैन इगो साम्य गर्न मेलमिलाप मात्र पर्याप्त हुँदैन अनि सम्भावना हुँदाहुँदै पनि मेलमिलापको प्रयासले सार्थकता पाउँन सक्दैन। मेलमिलापको तथ्याङकले पनि यही देखाइरहेको छ मिल्नसक्ने सम्भावना धेरै भएका मुद्दाहरू पनि विविध स्वार्थहरूको कारण मिल्न सकिरहेको देखिँदैन यस्मा पक्षहरूका कानून व्यवसायीको पनि थप सहयोग र सदभाव आवश्यक रहन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width